Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

यसकारण ट्रम्पले फेरि चार वर्षका लागि जित्न सक्छन्

$
0
0

अमेरिकी राष्ट्रपति निर्वाचन जति नजिकिँदैछ । लाग्दैछ यो चुनावमा ‘अमेरिकी आत्मा’ को लागि लडाइँको प्रतीक्षा हुँदैछ । यो चुनाव अरु चुनावजस्तो सामान्य हैन । यो चुनावका विशेषताहरु फरक छन् । महामारी, सामाजिक सञ्जालमा व्यक्त असन्तुष्टि, ह्वाइट हाउसमा चार वर्षको असंगत कार्यव्यवहार र असफलताको रटान बावजुद अगामी नोभेम्बरको चुनावमा ट्रम्पले थप चार वर्षका लागि मतदातालाई अश्वस्त गर्न सक्दछन् । यसको कारण अरु केही हैन, उनका प्रतिस्पर्धी जो वाइडनका कमजोरीहरु हुन् जसले दोस्रो कार्यकालका लागि मतदाता अन्तिम बेला ट्रम्पतिर सोहोरिन सक्दछन् ।

कुटनीतिक नोक्सानी र उपद्रव ट्रम्प कार्यकालका प्रमुख विशेषता हुन् । रुढीवादीहरुको समर्थन हासिल गर्न पुरातनपन्थी विचारलाई प्रगतिशील आन्दोलनविरुद्ध प्रोत्साहित गर्दा ट्रम्प नीतिले अमेरिकी समाजमा कलह बढाएको छ । चुनावले यो विभाजनलाई अझ गहिरो बनाउँछ । तर, यसपाली पनि सन् २०१६ मा जस्तै हुन सक्दछ । मानिस र मिडियाले त्यो सम्भावनालाई बिर्सेका छन् । सन् २०१६ बाट उचित पाठ सिक्नुको साटो मिडिया वाइडनको जितको एकहोरो रटान लगाउँदैछन् । उनीहरुले ट्रम्पले फेरि जित्ने कुनै विवेकपूर्ण कारण देखिरहेका छैनन् ।

यसपालीको चुनाव ट्रम्पको जित हैन, वाइडनको हार हुन सक्ने सम्भावना धेरै छ । वाइडन र कमला ह्यारिस ट्रम्पका कमजोरीहरुको अतिरिक्त डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा भनिएका कम आय भएका परिवारको लागि कलेज शुल्कको अन्त्य, विश्व तापमान वृद्धिको मुद्दामा पहलकदमी, न्यूनतम ज्यालाको वृद्धि, प्रमाण नपुगेका र नागरिकताविहिन भएकाहरुलाई नागरिकता र सबैका लागि स्वास्थ्य सेवाजस्ता मुद्दामा चुनाव लड्दैछन् । गत अप्रिलको सर्वेक्षणमा यी सवालले ६९ प्रतिशत समर्थन पाएको थियो । साथै जलवायु परिवर्तन र बेरोजगारहरुका लागि रोगजारीको मुद्दा उठाइरहेका छन् ।

ट्रम्पले भने सन् २०१६ मा जस्तै यसपटक पनि ‘मेक अमेरिका ग्रेट एगेन’ को नारा दिएका छन् । स-साना समूहलाई लक्षित गर्दै आफूलाई सडकका मानिसको उद्धारक बनाउने उनको रणनीति हुन्छ । उनले डेमोक्र्याटिक कन्भेन्सनका सबै मुद्दाहरुलाई गहिरो गरी नियालेका छन् ।

राजनीतिक मूलधारमा बनिरहने उनको आफ्नै तरिका छ । उनले चीनसँगको प्रतिस्पर्धा र नेटोको सवलीकरणको मुद्दालाई पनि चर्काउने छन् ।

ट्रम्पको मानसिकता अहिले पनि निक्कै दृढ छ । हुनतः सत्ताविरोधी लहरको सामना गर्नु सजिलो हुँदैन । तर सन् १९०० यता अमेरिकामा जम्मा ५ जना मात्र सत्तासिन राष्ट्रपतिले चुनाव हारेका छन् । पछिल्लो पटक सन् १९९२ मा चमत्कारिक युवा नेता विल क्लिन्टनसँग जर्ज डब्लु बुस हारेका थिए ।

पूर्व उपराष्ट्रपति र सिनेटरको वाइडनसँग राम्रै अनुभव छ तर ट्रम्पलाई प्रतिस्थापित गर्न अमेरिकी जनतालाई विश्वासमा लिने जुन गुरुत्व हुनु पर्दछ, त्यो व्यक्तित्व भने वाइडनमा छैन । कमला ह्यारिसलाई अगाडि सारेर काला र अल्पसंख्यक समूहको भोट पाइन्छ भन्ने डेमोक्र्याटिक पार्टीको धारणा हो भने त्यो गलत रणनीति हो ।

यदि ट्रम्पलाई हराउने गरी लोकप्रिय छनौट गर्नु थियो भने डेमोक्र्याटिक पार्टीले वाइडनको साटो एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई छान्न सक्नु पर्दथ्यो । सार्वजनिक स्वास्थ्य सेवा प्रणालीका बारेमा डेमोक्र्याटिक पार्टीले पाउने समर्थन वाइडनसँग हैन स्यान्डर्ससँग जोडिन्छन् । स्यान्डर्सले भुईतलासम्म आफ्ना समर्थकहरुको पङ्क्ति निर्माण गरेका थिए ।

वाइडनलाई छनौट गरेर डेमोक्र्याटिक पार्टीको संस्थापनले समाजवाद अभिमुख अर्थनीति र सम्पतिको पुनर्वितरणको लोकप्रिय स्यान्डर्स नीतिका विरुद्ध आर्थिक यथास्थितिवादको पक्षपोषण गरेको छ । स्यान्डर्ससँग अधिकतम् युवाहरुको समर्थन थियो जुन उमेर समूह सबैभन्दा स्वीङ मतदाता भएको समूह मानिन्छ ।

ट्रम्पको सवलता भनेकै वाइडनका कमजोरीहरु खोतल्नु हो । सामाजिक सञ्जालमा भएको व्यापक नियन्त्रण र प्रत्यक्ष सन्देशमार्फत् ट्रम्पले वाइडनका कमजोरीहरु प्रसारण गर्न र मानिसको ध्यान आफूतिर तान्न सफल हुन सक्ने सम्भावना धेरै छ । त्यस्ता कमजोरी भित्र वाइडनका औंसीपूर्णे असंगति, युद्ध र सामाजिक सुरक्षाप्रतिको कपटी मतदान, महिला विरुद्धमा अप्रिय व्यवहार र छोरा हन्टर वाइडनका निजी र व्यापारिक मामिलाहरु हुन सक्ने छन् ।

वाइडनका सबै कंकालहरु अहिल्यै देखिएका छन् तर त्यसको राम्रो दोहन अहिलेसम्म भएको छैन । महान्याधिवक्ताका रुपमा कमला ह्यारिसका कयौं विवादस्पद फैसला र अभिव्यक्तिहरुको उत्तिकै चुनावी दोहन हुन सक्दछ । जब यस्ता प्रश्नहरुको उत्तर दिन वाइडन र ह्यारिसलाई गाह्रो हुनेछ, ट्रम्पको चार बर्षे असफलता धुमिल हुने छ ।

ट्रम्प आवश्यकताअनुसार तल्लो स्तरमा उत्रिएर विपक्षीलाई आक्रमण गर्न तयार हुनेछन् । उनले निम्नकोटीका टिप्पणीहरु गर्न कुनै कसर बाँकी राख्ने छैनन् । सायद वाइडन र कमला यो स्तरमा उत्रिन सक्दैनन् । सन् २०१६ मा हिलारी क्लिन्टनले अपनाएको झैं डेमाक्र्याटिक उच्च नैतिकताको अग्लो भूमि अप्रभावी हुन सक्दछ ।

एस. जर्ज म्यारानो

अमेरिकी राज्यसँग रिसाएका मानिसले राज्यलाई माफी गर्दिन सक्दछन् । अन्तिम कुरा अगामी नोबेम्बरको चुनावमा ट्रम्प फेरि पनि एक बलिया उम्मेद्वार हुने कारण उनका धेरैजसो पुराना फोहोर लुगाहरु अहिले सुकिसकेका छन् । रसियागेट कान्ड आयो, गयो । महाअभियोगको प्रयास असफल भयो । अब ट्रम्पका विरुद्ध उधिन्न सकिने कुरा निक्कै कम बाँकी छन् ।

चुनाव नजिकिदै जाँदा सामना गर्नुपर्ने तीनवटा बहसमा वाइडन सजिलै चुटिने छन् । सन् २०१६ को त्यो घटनाक्रम सम्झिन  जरुरी छ, साँच्चै भन्दा हिलारी क्लिन्टनलाई ट्रम्पले चुनावको अन्तिम दिन आउट गरेका थिए । चुनावभन्दा अगाडिको दिनसम्म त सबैले हिलारीले नै जित्छिन् भनेकै थिए ।

यद्यपि अहिले नै केहीले वाइडनको जीत निश्चित भएको आंकलन गर्दैछन्, हामीले बुझ्नु पर्दछ भने हामी पूर्वानुमान गर्न नसकिने अनिश्चितताको युगमा छौं । निश्चय नै अमेरिका अहिले सामाजिक कलह र आर्थिक सुख्खापनको दोहोरो मारमा छ तर ट्रम्पले डेमोक्र्याटिक कमजोरीका प्वालहरु पत्ता लगाउने र त्यही प्वालबाट छिर्ने प्रयत्न गर्ने यथार्थलाई बिर्सिहाल्न मिल्दैन ।

चुनाव अभियान जति गरम हुँदै जान्छ, ट्रम्पले आफूलाई उत्तिनै अमेरिकाको उद्धारकर्ताको रुपमा प्रस्तुत गर्दछन् । नोभेम्बरको चुनावको दिनसम्म स्वीङ भोट उनी तिरै ढल्किने र फेरि चार वर्षका लागि ट्रम्पलाई अनुमोदन गर्दिन बेर छैन ।

(द साउथ चाइना मोर्निङ पोष्टबाट संक्षेपीकरणसहितको भावानुवाद)

Illustration: Craig Stephens/scmp

The post यसकारण ट्रम्पले फेरि चार वर्षका लागि जित्न सक्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles