Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

‘स्वतन्त्रता त पायौं तर यसलाई के गर्नुपर्ने हो थाहा पाएनौं’

$
0
0

करिब २० वर्ष अघिको कुरा हो । सिने पत्रकार संघले कलकत्तामा ‘दुई बिगाह जमिन’ सिनेमाका निर्देशक विमल राय र उनका साथीहरु हामीलाई सम्मान गर्न गइरहेका थिए । त्यो एक सामान्य तर रुचिकर समारोह थियो । बढो राम्राराम्रा भाषण भएका थिए । तर सबै विमल रायलाई सुन्न उत्सुक थिए ।

म विमलको छेउमा बसेको थिएँ । मलाई प्रष्ट अनुभूति भइरहेको थियो कि उनको बोल्ने पालो आउँदै गर्दा उनको बेचैनी झनै बढेको थियो । जब उनको पालो आयो, उनले उठेर हात जोड्दै भने, ‘ जे भन्नु छ म मेरा सिनेमा मार्फत् भन्छु, मसँग भन्नका लागि अरु कुरा केही छैन ।’ त्यसभन्दा बढी उनी केही बोलेनन् । मानिस हेरेको हेरै भए ।

कृपया मलाई गलत नसम्झिनु होला । ममा विमल दाईका गुणहरु छन् । म शिष्टताका लागि देखावटी कुरा गर्न जान्दिनँ । आजसम्म मैले जे बोलेको छु, आफ्नो हृदयको कुरा बोलेको छु । आगामी दिनमा जे बोल्छु, त्यो पनि मनको कुरा बोल्छु । मेरो कुरा कसैलाई मन परोस् वा मन नपरोस् ।

तपाईहरुलाई थाहा हुनु पर्दछ- शैक्षिक संस्थाहरुसंग मेरो सम्बन्ध टुटेको २५ वर्षभन्दा बढी भयो । मैले कहिल्यै यसरी विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गरेको छैन ।

यो कुरा पनि मानौं कि शैक्षिक जगतसँग मेरो सम्बन्ध टुट्नुको कारण मेरो इच्छा थिएन । यो दूरीका लागि हाम्रो देशको सिनेमा बनाउने दशा जिम्मेवार थियो । हाम्रो देशमा सिने अभिनेताहरुले या त यति कम काम पाउँछन् कि उनीहरु भोकै पर्नुपर्ने हुन्छ । कि त यति धेरै कमाउने बन्छन् कि अरु सबैतिरबाट कट्न पुग्दछन् ।

बितेका २५ वर्षमा मैले करिब सवा सय फिल्मका काम गरे । यति समयमा अमेरिका युरोपतिर एक सिने अभिनेताले ३०–३५ वटा फिल्मका काम गर्दछ । यसबाट तपाईहरु अनुमान गर्न सक्नु हुन्छ कि मेरो जिन्दगीको कति धेरै अंश रिलमा दफनिएको छ । यसबीच त्यस्ता धेरै किताब थिए, जो म पढ्न चाहन्थेँ तर पढ्न पाइन । त्यस्ता धेरै कार्यक्रम आयोजना भए जहाँ म जान सकिनँ ।

कहिलेकाँही म आफूलाई एकदमै पिछडिएको मान्छे अनुभूत गर्दछु । त्यतिखेर मेरो कुण्ठा झनै बढ्छ जब सोच्छु कि यी सवा सय फिल्म कति नै महत्वपूर्ण छन् ? यसलाई कति नै स्मरण गरिएला ? सायद एकदमै कम, एउटा हातको औंलामा गन्न सकिने बराबर । ती पनि या त मान्छेले बिर्सन थालेका छन् या त छिट्टै बिर्सने छन् ।

फिल्म ‘दो बीघा ज़मीन’ मा बलराज साहनी (०१ मे १९१३ – १३ अप्रिल १९७३) (फोटो साभार: सिनेस्तान)

 

त्यसैले मैले भनेको मेरो भाषणले कुनै विद्धताको प्रमाण दिएन भने कृपया निराश नहुनु होला । मलाई माफ गर्नु होला । विमल दाई विल्कुल ठीक थिए । एउटा कलाकारको क्षेत्र उसको काम नै हुन्छ । आफ्नो जीवन अनुभवको क्षेत्रभन्दा बाहिर मलाई यहाँ केही बोल्नु छैन ।

यसबेला मलाई मेरो विद्यार्थी जीवनको एक घटना याद आइरहेको छ । म मेरो परिवारसँग गर्मीको छुट्टी मनाउन रावलपिन्डीबाट कश्मिर गइरहेको थिएँ । अघिल्लो रात भारी वर्षा भएको कारण पहाडमा पहिरो गएको थियो, सडक अवरुद्ध थियो । पहिरोको दुवैतिर मोटरमा लामो लाइन लागेको थियो । न खानेको कुनै बन्दोबस्त थियो न सुत्नको ठेगान ।

पिडब्लुडीका कर्मचारी सडक मर्मत गर्न सकेसम्मको प्रयास गरिरहेका थिए । तैपनि ड्राइभर र यात्रीहरु उसलाई ढिलो गरेको, निकम्मा गरेर गाली गर्दै थिए । यो क्रमले लामो समय लियो । अलपत्र मानिसले आसपासका गाउँमा शरण लिए । यहाँसम्म कि गाउँलेहरु पनि शहरीया यात्रुहरुको व्यवहारले दिक्क भइसकेका थिए ।

आखिरमा एक दिन सडक खुल्यो । ड्राइभरहरुलाई हरियो झण्डा देखाइयो । तब त्यहाँ बढो अनौठो दृष्य देखियो । कुनै पनि ड्राइभर त्यो कच्ची बाटो आफू पहिलो भएर जान राजी थिएनन् । सबै एक अर्काको मुख ताक्न थाले । एकातिर भयानक पहाड थियो । अर्कोतिर हिलोले भरिएको झेलम नदीको छेउमा ठूलो खाडल । आधा घण्टा बित्यो कोही अघि बढेन ।

अघि भर्खरैसम्म ती जो कर्मचारीको अकर्मण्यताको कुरा गर्दै थिए, अहिल सबै अकर्मण्य थिए । यत्तिकैमा पछाडिबाट एउटा सानो स्पोर्टस कार आयो । त्यो एक अंग्रेजले चलाइरहेको थियो । सबै गाडी त्यतिकै खडा देखेर त्यो अंग्रेज आफै हैरान भयो । त्यसले मलाई सोध्यो–‘के भयो ?’ मैले उसलाई सबै कुरा भने । त्यसपछि त्यो अंग्रेज जोडले हाँस्यो । मज्जाले हर्न थिच्यो र कार अगाडि बढाएर लिएर गयो ।

अब एकै छिनमा सबै गाडीका हर्न बज्न र स्टार्टको आवाज आउन थाले । यति धेरै हापझाप भयो कि फेरि बाटो केही बेर बन्द भयो । त्यो घटनालाई मैले आफ्नै तरिकाले हेरे कि गुलाम देशमा जन्मे हुर्केको र आजाद देशमा जन्मे हुर्केको मान्छेमा के फरक हुन्छ ।

स्वतन्त्र देशका स्वतन्त्र मान्छेभित्र आफैंले सोच्ने, निर्णय लिने र लागू गर्ने इच्छाशक्ति हुन्छ । गुलाम देशका मान्छेको हृदयमा त्यो शक्ति मरिसकेको हुन्छ । उनीहरु सधैं अर्काको विचार अपनाउन खोज्दछन् । हामी त्यस्तै घिसेपिटे बाटोमा हिड्दै आयौं । यसैलाई आफ्नो जिन्दगीको हिस्सा बनायौं । जब जीवनमा कुनै निर्णय आफैं लिन्छु, म अचेल खुबै खुशी हुन्छु । आफूलाई साँच्चै स्वतन्त्र अनुभूत गर्दछु । जीवनलाई सार्थक अनुभूत गर्दछु । लाग्छ– जीवनको खास अर्थ छ । तर नढाँटी भन्दा मलाई पनि सबै निर्णय आफै गर्न अझै डर लाग्छ ।

देशको स्वतन्त्रतालाई हेर्ने मेरो नजर पनि यही हो । स्वतन्त्रतापछि भारतमा केही भएन भन्ने हैन । अझ कला क्षेत्रमा त धेरै विकास भयो । सिनेमा क्षेत्रमा सत्यजीत रे, विमल रायको विश्वस्तरमा चर्चा छ । कलाकार तथा प्राविधिकहरु विश्वस्तरका छन् । स्वतन्त्रताभन्दा अघि हाम्रो देशमा मुश्किलले १०–१५ वटा सिनेमा बन्थे । आज हाम्रो सिने उद्योग महसुर छ । संसारमै सबैभन्दा धेरै सिनेमा बनाउने देशमा पर्छ । हाम्रा सिनेमा विश्वका धेरै देशमा हेरिन्छन् । हामीले बलिउडको एकाधिकारलाई तोडिदिएका छौं ।

तर समस्या कहाँ छ भने अहिले पनि हामी बलिउडको नक्कल गर्छौं । हामी विदेशीबाट उधारो लिएको घिसेपिटे फर्मूलामा सिनेमा बनाउँछौं ।आफ्नो देशको जनजीवनलाई आफ्नै तरिकाले प्रस्तुत गर्न डराउँछौं । हाम्रा सिनेमामा अंग्रेजीका अतिरिक्त इटली, फ्रान्स, स्वीडेन, पोल्याण्डअदि देशका फेसनको गहिरो छाप हुन्छ ।

म थोरै साहित्यमा पनि रुचि राख्छु । त्यहाँ पनि म यही हालत देख्छु । युरोपेली साहित्यको प्रवृति नै हाम्रा उपन्यासकार, कथाकार तथा कविहरुमा छिट्टै हावी हुन्छ ।

सोभियत संघलाई छोडेर विश्वमा भारतीय साहित्यको कुनै आकर्षण र बजार छैन । मलाई चित्रकलाको खासै जानकारी छैन । तर यति थाहा छ कि यो क्षेत्रमा पनि पश्चिमा फेसनको बेलाबाला छ । यो शैक्षिक जगतको बारे त म के बोलुँ ?

यो वर्ष मलाई मेरो मातृभूमि पञ्जावको गुरुनानक विश्वविद्यालयको सिनेट सदस्यमा नामांकित गरियो । जब मलाई त्यसको पहिलो बैठकमा उपस्थित हुन बोलाइयो, म पञ्जावकै प्रितनगरमा थिए । जब मैले मेरा साथीलाई अमृतसार बैठकमा जानुपर्ने कुरा गरेँ, कसैले भन्यो, ‘हामीसँग त तिमी लुङ्गी र कुर्ता मै हुन्छौ, त्यहाँ त सुटबुट लगाएर साहेब बहादुर बनेर जान्छौ होला ।’

भोलिपल्ट म लुङ्गी, कुर्ता लगाएरै सिनेट बैठकमा गएँ । मैले कल्पना पनि गरेको थिइन कि त्यसले त्यहाँ त्यत्रो खल्लीबल्ली मच्चिएला । म पुग्न लाग्दा बाहिरपट्टी नै गाउन लगाउन भन्नको लागि एक प्रोफेसर खडा थिए । पहिलो कुरा त उनले मलाई चिन्दै चिनेनन् । जब चिने, मलाई देखेर हैरान भए ।

बैठकपछि छात्र–छात्रासँग भेट्दा थाहा भयो, मेरो लवाई उनीहरुका लागि हाँसो र मनोरन्जनको चिज बनेछ । उनीहरु यो भन्दै थिए कि मैले लुङ्गीसँग जुत्ता लगाएको छु । मैले त्यहाँ पेन्टसंँग चप्पल लगाएका थुप्रै केटा देखेँ । तर, उनीहरु हाँसोको पात्र बनेका थिएनन् ।

मलाई यो पनि थाहा छ कि सबैतिर स्थिति यति बिग्रिसकेको छैन । अहिले पनि बंगाली वा तमिलहरु आफ्नो परम्परागत पोशाक लगाएर हिंड्छन तर कुनै हिनभावना राख्दैनन् ।स्वतन्त्रतापछि पनि हामीले त्यही शिक्षा प्रणाली अपनायौं जुन मैकालेले क्लर्क र मानसिक गुलाम उत्पादन गर्न बनाएका थिए ।

यहाँनेर म आफ्नो एउटा अनुमान बताउन चाहन्छु । हुन सक्छ म गलत छु । म ठीक पनि हुन सक्छु । पण्डित जवाहरलाल नेहरुले आफ्नो आत्मकथामा यो स्वीकार गरेका छन् कि देशको स्वतन्त्रताको लडाई जुन राष्ट्रिय कांग्रेसले गर्‍यो, शुरुवातदेखि नै त्यसमा सम्पन्न र पुँजीपति वर्गको वर्चश्व थियो । त्यसो भए यो स्वभाविक थियो कि स्वतन्त्रतापछि समाजमा त्यही वर्गको वर्चश्व बन्यो । आज कसैले यो अस्वीकार गर्न सक्दैन कि स्वतन्त्रतापछि पनि त्यही वर्चश्वशाली वर्ग झन धनी र शक्तिशाली बन्यो । मजदुर किसान झन निरीह र लाचार हुँदै गए ।

नेहरु यो अवस्था बदल्न चाहन्थे तर सकेनन् । आज उनकी छोरी इन्दिरा गान्धी यो स्थितिलाई बदल्ने र समाजवाद ल्याउने कुरा गर्दैछिन् । उनी कति सफल होलिन् भन्न सकिन्न । राजनीति मेरो बिषय हैन । केवल यति भन्न सक्छु कि स्वतन्त्र देशमा अंग्रेज पुँजीपतिहरुको बेलाबाला थियो, आज भारतीय पुँजीपतिहरुको बोलवाला छ ।

सन् १९३० मा महात्मा गान्धी गोलमेच सम्मेलनमा भाग लिन बेलायत गएका थिए । उनले अंग्रेज पत्रकारलाई सम्बोधन गर्दै भने, ‘हिन्दुस्तानी जनता अंग्रेज सरकारका बन्दुक र मेसिनगनलाई यसरी हेर्छन् जसरी दिपावलीको दिन बच्चाले पटकालाई लिन्छन् ।’ गान्धीले यसो किन भने होलान् ? किनकी उनको उद्देश्य हिन्दुस्तानीको हृदयबाट अंग्रेजको डर निकालेर फाल्नु थियो ।

यदि हामी चाहन्छौं कि हाम्रो देशमा साँच्चै समाजवाद आओस्, हामीले ती पुँजीपति र तिनको पैसाको आकर्षणबाट जनताको हृदयलाई स्वतन्त्रता दिलाउन जरुरी छ । तर अहिलेको स्थिति ठीक उल्टो छ । समाजमा इज्जत उसकैको छ जोसँग पैसा छ । बोलाबाला उसैको छ मोटर छ, बंगला छ । यसरी पनि समाजवाद आउँछ ?

समाजवाद ल्याउने हो भने पहिलो कुरा त यस्तो सोच र माहौल बनाउनु पर्छ कि सम्मान र सामाजिक भूमिकाको आधार धनदौलत वा पैसा नहोस् । सबैभन्दा धेरै सम्मान मजदुरको होस् ताकी उसले धेरै शारीरिक तथा मानसिक श्रम गरेको छ ।

कौशलले होस् वा प्रतिभाले, कलाले होस् वा आविष्कारले जसले देशको सेवा गरेको छ, उसको सम्मान होस् । यसका लागि पुरानो सोचलाई जरैदेखि उखेलेर फ्याँक्न सक्नु पर्दछ । के हामी त्यस्तो क्रान्तिका लागि तयार छौं ? यदि छैनौं भने यो समाजवादको कुरा किन गरिएको होला ?

(सहानी एक प्रतिष्ठित सिने कलाकार हुन् । उनले यो भाषण सन् १९७२ मा जवाहरलाल नेहरु विश्वविद्यालयको दिक्षान्त समारोहमा दिएका थिए । प्रत्येक वर्ष अगष्ट १५ का दिन धेरै भारतीय पत्रपत्रिकाले उनको यो चर्चित भाषण पुनर्मुद्रण गर्दछन् । हामीले यो सामग्री द वायरबाट संक्षेपीकरणसहित भावानुवाद गरेका हौं)

The post ‘स्वतन्त्रता त पायौं तर यसलाई के गर्नुपर्ने हो थाहा पाएनौं’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles