नेपाल कृषिमा अथाह सम्भावना भएको देश हो । किनकी यहाँ प्रचुर पानीको स्रोत छ । यहाँ सस्ता श्रमिक पाइन्छन् । क्षेत्रीय बजारका लागि रणनीतिक अवस्थिति पनि अनुकूल छ । त्यस्तै, भौगोलिक र हावापानीको विविधता पनि कृषिका लागि अनुकूल छ ।
नेपाल सरकारले कृषिलाई रणनीतिक महत्व दिई कृषि क्षेत्रमा आधुनिकीकरण, विविधीकरण, यान्त्रीकीकरण र बजारीकरणमा जोड दिने नीति लिएको छ ।
कृषिका उत्पादनका साधनहरु खासगरी रासायनिक मल, उन्नत बीउबिजन, सहज र सहुलियत कर्जाको पनि व्यवस्था गर्ने सार्वजनिक प्रतिवद्धता आइसकेको अवस्थामा नेपालमा कृषि क्षेत्रमा लगानी गर्नका लागि वातावरण बन्दै गइरहेको मान्न सकिन्छ । तर उद्योगधन्दामा भन्दा एक चौथाई मात्र श्रम उत्पादकत्व भएको अवस्थामा कृषि क्षेत्रमा श्रमिकहरुको उल्लेख्य आकर्षण छैन । व्यवसायिक कृषि क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुका लागि सुझबुझपूर्ण निर्णय गर्न सकेमा यस क्षेत्रबाट राम्रो आम्दानी हुन सक्नेछ ।
कृषि क्षेत्रमा लगानी भन्नासाथ कृषि तथा पशु उत्पादनमा लगानी भन्ने आम बुझाई रहेको देखिन्छ । कृषिमा लगानी गर्नका लागि आफ्नै जग्गाजमिन हुनुपर्छ वा भाडामा लिएर पनि गर्नुपर्छ भन्ने परम्परागत सोचभन्दा माथि उठेर नयाँ नयाँ कुरामा लगानीको सम्भावना बढ्दै गएको छ ।
यस लेखमा हामी कृषि क्षेत्रभित्र पनि तुलनात्मक लाभको दृष्टिकोणबाट कुन कुन सम्भावित लगानीको अवसर रहेका क्षेत्रहरु हुन सक्छन् भन्ने कुरा प्रस्तुत गर्नेछौं ।
कृषि तथा पशुपालन स्रोत केन्द्र
नेपालमा कृषि प्राविधिकहरुको सेवा गाउँगाउँका किसानसमक्ष पुग्न नसकेको कटुसत्य हाम्रा सामु धेरै अघिदेखि नै छ । देश संघीयतामा गए पनि कृषि ज्ञान केन्द्रहरु प्रदेश सरकारको माताहतमा रही गाउँपालिका वा नगरपालिकाहरुमा कृषि प्राविधिकहरु पुग्न सकेको छैन । यस्तो अवस्थामा अधिकांश सानादेखि मध्यम स्तरका किसान हुन् वा व्यवसायिकरुपमा नै कृषि उत्पादनमा लाग्न चाहने किसानका लागि भरपर्दो प्राविधिक सेवाको टड्कारो आवश्यकता खडकिएको छ ।
कृषि उत्पादनका लागि आवश्यक उत्पादनका साधनहरुकाे सुनिश्चितता आधारभूत शर्त हो । व्यवसायिक कृषि उत्पादनका लागि आवश्यक तरकारीका गुणस्तरीय बेर्ना वा अधिक उत्पादकत्व भएका फलफूलका बिरुवा उत्पादन गर्ने नर्सरीको स्थापनाका साथै नयाँ-नयाँ प्रविधिहरु, नयाँ-नयाँ कृषिबालीहरुमा लगानीको सम्भावना छ ।
सामान्यतया किसानका लागि आवश्यक मलबिउ, बेर्ना वा बिरुवा लगायत पूर्णरुपमा सबै प्राविधिक सेवा एकै स्थानबाट प्रवाह गर्न सकेमा प्राविधिक ज्ञान न्यून रहेका वा आफैंमा प्राविधिक रुपमा आत्मविश्वास नभएका किसानहरुले सेवा लिन सक्छन् ।
कृषि क्षेत्रमा सम्भावना देखेर लगानी गर्न आउन चाहने व्यापारिक समूह लगायत कृषि समूह वा सहकारीहरुलाई मध्यनजर गर्दै प्राविधिक सेवासहितको भरपर्दो र गुणस्तरीय सेवामा लगानीको राम्रो सम्भावना देखिन्छ । यसै अवधारणामा आधारित रही कृषि तथा पशुपालन क्षेत्रमा राम्रो प्राविधिक ज्ञान भएकाहरुले कृषि तथा पशुपालन स्रोतकेन्द्रको स्थापनामा लगानी गर्ने राम्रो अवसर हुन सक्छ ।
तुलनात्मक लाभ तथा माग भएका उपजहरुमा लगानी
नेपालमा विगत १० वर्षको अवधिमा आयात भएका कृषि उपजहरु र निरन्तर निर्यात गरिएका कृषि उपजहरुको पनि व्यवस्थित विश्लेषण गर्ने हो भने तुलनात्मक रुपमा राम्रो बजार सम्भावना भएका कृषि उपजहरु ठम्याउन सकिन्छ ।
उदाहरणका लागि शहरी नेपाली भान्छामा आजकल भारतको चामल, तान्जानियाको मुसुरोको दाल, अमेरिकाको भटमास वा अनार, पाराग्वेको खानेतेल, चिनको लसुन र प्याज, ग्वाटेमालाको सुकुमेल आदि प्रयोग भइरहेको छ ।
आयात भएको आधारमा विश्लेषण गर्ने हो भने नेपालमा धान, बाख्रा वा खसीको मासु, तरकारी, फलफूल, मसलाबालीहरु, दलहनबालीहरु जस्तै चना, भटमास, दाल आदि पर्दछन् भने निर्यात भएका बाली तथा उत्पादनहरुमा तेल तथा घिउ, मुसुरोको दाल, अलैैंची, अदुवा, चिया तथा कफी आदि पर्दछन् ।
यसरी तुलनात्मक लाभको क्षेत्र विश्लेषण गरेपछि त्यस उपजको उत्पादन, प्रशोधन वा बजारीकरणका क्षेत्रमा लगानीको व्यापक सम्भावना रहन्छ । आफ्नो सिप तथा क्षमता आदिलाई विचार गर्दै जोखिम विश्लेषण गरी कुन कुन क्षेत्रमा लगानी गर्ने हो, त्यसको पहिचान र व्यवसायीक कार्ययोजना निर्माण अनिवार्य हुन्छ ।
गर्दै जाउँ, हेर्दै जाउँ भनेर हचुवाको भरमा सिक्दै गर्दै जाने नेपाली प्रवृत्तिले लगानी डुब्ने मात्र हैन, यस्तो व्यवस्थापकीय कमजोरीका कारण भएको असफलताका कारण अन्य सम्भावित लगानीकर्ताहरु पनि कृषि क्षेत्रमा लगानी गर्न हुँदैन भन्ने धारणा बनाउन बाध्य हुन्छन् ।
कृषिमा लगानीको मोडल तथा स्रोत
व्यवसायीक रुपमा उत्पादन तथा प्रशोधन गर्नका लागि कुनै एक किसान, किसानको समुहहरु, कृषि सहकारी, वा पब्लिक कम्पनी खोलेर शेयर निश्कासन गरी लगानी जुटाउने आदि विभिन्न मोडलहरु नेपालमा प्रचलित छन् । त्यसका अलावा कृषि तथा पशुपालनमा लगानी गर्ने विभिन्न सरकारी तथा गैरसरकारी परियोजनाहरुबाट परियोजना प्रस्ताव स्वीकृत गराई आंशिक तथा पूर्ण आर्थिक सहयोगमा सञ्चालित कृषि तथा पशुपालनका फार्महरु पनि देख्न सकिन्छ ।
पछिल्लो समयमा व्यवसायीक कार्ययोजना निर्माण गरी लगानीकर्ताको विश्वास जितेर उक्त लगानीको योजनाअनुसार उत्पादन गरिने मोडल पनि आएको देखिन्छ । यी सबै लगानी जुटाउने मोडलहरु हुन् जसका आआफ्नै फाइदा तथा बेफाइदा देखिन्छ ।
बाह्य जोखिम कम गराउने, उत्पादनदेखि बजारीकरणसम्म नै आफ्नो पूरा नियन्त्रण गर्ने र किसान समूहहरुसँग उत्पादन सम्झौता गरी वर्षभरी आवश्यक सबै कृषि उपजहरुको उत्पादन तथा बजारीकरण गर्ने मोडल पनि हाल आइरहेका छन् । नीतिगत रुपमा सरकारले सबै बैक तथा वित्तिय संस्थाहरुलाई कृषि क्षेत्रमा अनिवार्य १० प्रतिशत लगानी गर्ने र सहुलियत कर्जा ५ प्रतिशतमा उपलब्ध गराउने भने पनि यसको कार्यान्वयन नभएको तितो सत्य छ ।
झन्झटिलो कार्यविधि तथा खास किसानी गर्न चाहने युवा समूहहरुका लागि धितोका लागि जग्गाजमिन आवश्यक पर्ने प्रावधानका कारण यो रणनीति असफल हुने देखिन्छ । व्यवसायीक कार्ययोजना तथा टिमको लिखित अवधारणा, प्रतिवद्धता, प्राविधिक ज्ञान आदिलाई विश्लेषण गरी सहुलियत दरमा ऋण दिने व्यवस्था हुन आवश्यक रहन्छ ।
बजारलाई विचार गरौं
खुला बजार अर्थनीति अहिलेको नेपालको अर्थव्यवस्था हो जसमा बजारले माग, मूल्य र आपूर्तिको आधारमा आयात निर्यातलाई विश्लेषण गर्छ । चाहे जुम्लाको गाउँमा उत्पादन होस् कि भारत चीन वा अमेरिकामा, सस्तो मूल्यमा उही गुणस्तरको उत्पादन काठमाडौंको उपभोक्तामा आउँछ भने उपभोक्ताले उसको इच्छाले उत्पादन खरिद गर्छ । विश्व व्यापार संगठनको सदस्य वा दक्षिण एशियाली निर्वाध व्यापार क्षेत्रको सदस्य भएयता नेपाल क्रमशः सस्तो कृषि उपज आयातस्थल बन्न पुगेको छ ।
यसका लागि अरु देशका सरकारले किसानलाई उत्पादन तथा अन्य प्रयोजनका लागि दिइएको सुविधा तथा सहुलियतको तुलनामा नेपालको सरकारले आन्तरिक उत्पादन बचाउनका लागि दिइनुपर्ने न्यूनतम सहयोग पनि दिन नसकेको तितो अवस्था छ । नीतिगत रुपमा जति व्यवस्था गरेपनि खुला बजार अर्थनीति अवलम्बन गरेको देश भएकाले गर्दा नेपालमा कृषिमा लगानी गर्नका लागि कुनै पनि व्यापारीक समुह, विदेशी लगानीकर्ता वा बैंक तथा वित्तिय संस्था तयार देखिँदैनन् ।
यसर्थ, नेपालमा कृषिको विकासका लागि तथा आन्तरिकरुपमा बढी भन्दा बढी कृषि व्यवसायीहरु उत्पादन गर्न र कृषिलाई व्यवसायको रुपमा विकास गर्ने हो भने आयातित कृषि उपजहरुमा नियमन गर्नका लागि लगाउन सकिने अधिकतम कर लगाउनु आवश्यक छ । खाद्य तथा पोषण सुरक्षाको आन्तरिक आवश्यकतालाई विचार गर्दै कृषि र पशुपालनलाई स्थानीयकरण गरी आवश्यक कृषि उत्पादन, प्रशोधन तथा यससँग सम्बन्धित उद्योगहरुलाई आवश्यक पुँजि, प्राविधिक सहयोग र बजार प्रदान गर्ने तथा तुलनात्मक लाभका केहि क्षेत्रहरुमा निर्यातमुखी उत्पादनका लागि सरकारी तथा वित्तिय संस्थाहरुबाट रणनीतिक लगानी गर्ने र गाउँगाउँमा रोजगारी सिर्जना गर्ने अभियान अगाडी ल्याउनुपर्ने आवश्यकता देखिन्छ । अन्यथा कोभिड-१९ को महामारी पछि कृषि क्षेत्रको सम्भावना बारेका हजारौं बहस र छलफल निरर्थक हुनेछन् ।
‘कृषि र जीवन’ स्तम्भमा यसअघि प्रकाशित सामग्रीहरुः
नेपाली कृषिको अबको बाटो: रणनीतिक लगानी र सुनिश्चित बजार
साना किसानका लागि सस्तो पोष्टहार्भेष्ट प्रविधिः शून्य शक्ति शित भण्डार र गमला फ्रिज
नेपालका हेपिएका बालीहरु र यसको बहुआयामिक महत्व
जंगली च्याउ: पहिचान, सचेतना र अनुसन्धानको आवश्यकता
जंगली उपजको संकलन र उपभोगः संरक्षणको प्रश्न र मानव स्वास्थ्यको जोखिम
कृषि उपजमा उत्पादनपछिको क्षति न्यूनीकरण र गुणस्तर व्यवस्थापन
कृषिमा उद्यमशिलताः आवश्यकता र अवसर
कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता
नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत
यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक
महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान
एकीकृत कृषि फार्म: एक युवा अनुभव
‘अर्थतन्त्र थप धरासायी हुनबाट रोकौं, खाद्य प्रणालीको स्थानीयकरण गरौं’
व्यवसायिक कृषिका अनिवार्य शर्तः बजार, प्रविधि र रणनीतिक लगानी
किसानका लागि उन्नत कृषि प्रविधिमा पहुँचः कहिले र कसरी ?
The post नेपाली कृषि क्षेत्रमा लगानीको अवसर विश्लेषण appeared first on Sajha Post.