Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

आफैं बर्बाद अमेरिकाले चीनको कुरा काट्न कति सुहाउला ?

$
0
0

निक्सन पुस्तकालयको प्रवचनमा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले दाबी गरे कि चीन दरिद्र दर्शनको बाटोमा हिंडिरहेको छ । यदि चीन साँच्चै दरिद्र दर्शनको पथयात्री हो भने उसको प्रष्ट देखिने आर्थिक विकासलाई कसरी बुझ्ने ? अनि अमेरिका चाहिँ सफलताको महायात्रामा छ भन्ने हो भने कोभिड–१९ को सेरोफेरोमा उत्पन्न सामाजिक समस्याहरुलाई कसरी लिने ?

पोम्पिओका व्यक्तिगत धारणा र एजेण्डालाई छोड्ने हो भने उनको दावी यथार्थमा आधारित देखिन्न । सन् १९७८ मा चीनको जिडिपी प्रतिव्यक्ति आए १५६ डलर मात्र थियो । गत वर्षसम्म आइपुग्दा १० हजार डलर पुगेको छ । यदि खरिद क्षमताका आधारमा भन्ने हो भने बेइजिङ्ग र साङ्घाईका बासिन्दाहरुको प्रतिव्यक्ति आए युरोपियन युनियनका सदस्य राष्ट्रका नागरिकको भन्दा बढी छ ।

यदि चीन हामीले दाबी गरेजस्तै सर्वसत्तावादी राष्ट्र हो भने किन त्यति धेरै चिनियाँ विद्यार्थीहरु पश्चिमको स्वतन्त्र दुनियाँमा पढिसकेर फेरी करिअरको खोजीमा चीन नै फर्किन्छन् ? यति ठूलो कोराना महाव्याधिका बीचमा त्यतिधेरै चिनियाँ विद्यार्थीहरु किन आफ्नै देश फर्किए ?

पश्चिमा टिभी कार्यक्रमहरु पूर्वी जर्मनीमा सजिलै प्रसारण हुन्थे । पक्कै तिनले जर्मनीको एकीकरणमा सहयोग पुर्‍याएका थिए । पश्चिमा टिभी कार्यक्रम उत्तर कोरियाामा प्रतिबिन्धत छन्, तर किमको शासन, परिवार र यसको आन्तरिक वृत्तलाई भने मान्छेले हेर्न छोड्दैनन् ।

हङकङ र दक्षिण कोरिया हुँदै पश्चिमा सिनेमाहरु चीन पुग्दछन् । सबै पश्चिमा टिभी त्यहाँ प्रतिबन्धित छैनन् । अहिले चीनको सबैभन्दा लोकप्रिय टिभी सिरियल ‘नो थिङ बट थर्टी’ मा ३० वर्षमा तीन महिला साङ्घाईमा दक्षिण कोरियाली नाटकमा भन्दा बढी पोजहरु दिइरहेका हुन्छन् ।

चीनको कम्युनिष्ट पार्टी सन् १९७७ को भन्दा अहिले निक्कै फरक भइसकेको छ । चीनले आफ्नो पुरानो कमजोरी र असफलताबाट शिक्षा लिइसकेको छ । ऊ अहिले भ्यागुतोझैं उफ्रेर साम्यवादमा पुग्ने मनस्थितिमा छैन । उसको आफ्नै भनाईमा पनि चीन अहिले समाजवादको प्रारम्भिक चरणमा छ । चिनियाँ समाजवादको आर्थिक ढाँचा विस्तारै विकास हुन थालेको छ ।

चीनले आफ्नो विचारधाराको थोत्रो ज्याकेट दशकौं अघि नै उतारिसकेको छ । देङ सियाओ पिङले उहिल्यै बिरालोको योग्यता रंगले हैन, मुसा मार्ने क्षमताले निर्धारण गर्दछ भनिसकेका थिए । चीनको अर्थतन्त्र अहिले साम्यवादी विचारधारामा आधारित नभएर व्यवहारिक र प्रयोजनशील सारसंग्रहवादी छ । कम्युनिष्ट पार्टीको अस्तित्व त्यहाँ विचारले हैन, विकासशील गतिशीलताले थेगेको छ ।

विशेष आर्थिक क्षेत्रको अवधारणाबाट देङले आर्थिक सुधारको प्रक्रिया प्रारम्भ गरेका थिए । बेइजिङको जोङगुवाउकुन क्षेत्रबाट सन् १९८८ मा यो अवधारणा लागू गर्न थालिएको थियो । अहिले चीनमा १७० भन्दा बढी हाईटेक विशेष क्षेत्रहरु छन् । प्रादेशिक र स्थानीय आर्थिक क्षेत्रहरु झनै धेरै छन् ।

सन् २०१३ र १८ को बीचमा चीनले स्वतन्त्र व्यापार क्षेत्रको झनै विस्तार गरेको छ । हेनान टापुलाई अर्को सिंगापुर बनाउने प्रयत्न हुँदैछ । चीनको आर्थिक उदारीकरणका प्रयासको परिणाम बहुआयामिक छ । देङले शुरु गरेको चार विशेष क्षेत्रहरु सबै उत्तिकै सफल भएका भने छैनन् । तर अहिले चीनले उत्तर पश्चिम क्षेत्रमा आर्थिक क्रियाकलापलाई निरन्तर बढाउने प्रयास गर्दैछ ।

विन्स्टन मक

चीनको प्रगति कुनै सुनिश्चत योजनामा भन्दा बढी प्रयोगात्मक प्रयासमा आधारित छ । उनीहरु स्थानीय पार्टी कार्यकर्तालाई उत्साहित गर्दछन् । अनेक प्रयोग गर्न लगाउँछन् । सफल हुनेलाई पुरष्कृत गर्दछन् । सफल मोडेलहरु अन्यत्र फैल्याउने गर्दछन् । चिनियाँ प्रशासनले असफलताहरुलाई खुम्च्याउने र सफलताहरुलाई देशव्यापी रुपमा फैलाउने गर्दछ ।

अमेरिकाको चीन सम्बन्ध रिचार्ड निक्सनबाट शुरुवात भएको ठान्नु भुल हुनेछ । चिनियाँ साम्राज्यको युगमा नै अमेरिका र चीनबीच आर्थिक सम्बन्ध थियो । अमेरिकी गृहमन्त्री जोन ह्यारीले सन् १८९९ मा चीनका लागि खुल्ला द्वारनीतिको पैरवी गरेका थिए । रुजबेल्टको समयमा यो समबन्धलाई अझ विस्तार गर्न खोजिएको थियो ।

अमेरिका–चीन सम्बन्धको पछिल्लो आधार छात्रवृत्तिमा अमेरिका पढ्न आउने चिनियाँ विद्यार्थी थिए । बक्सर छात्रवृतिले चीनमा राम्रो प्रभाव पर्‍यो । सिन्ह्वा विश्वविद्यालय त्यसैको परिणाम थियो । आधुनिक चीनको निर्माणमा अमेरिकाको ठूलो योगदान छ, भलैकी यहाँ कम्युनिष्ट पार्टी शासनमा छ । पोम्पिओभन्दा अगाडि ७० विदेशमन्त्रीले त्यो काममा योगदान गरेका छन् । आफ्नो पूर्वजहरुको योगदानलाई अस्वीकार गर्ने अधिकार पोम्पिओसँग छैन ।

निरपेक्ष बजारवाद वा वित्तिय स्वतन्त्रताजस्ता चीजहरु अहिले अमेरिकामा नै कहाँ बाँकी छन् र ? अमेरिकामा वास्तविक ज्याला दशकौंदेखि स्थीर छ । अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले नागरिकका लागि ठूलो समस्या सृजना गर्दैछ । अमेरिकी संघीय सरकारले दिँदै आएको ६०० डलरको बेरोजगार भत्ता कटौती हुने स्थितिमा छ । यसले धेरै अमेरिकीलाई खिन्न बनाएको छ । ट्रम्प प्रशासनले हल्ला गर्ने बाहेक आर्थिक राहत प्याकेजलाई कानुनी व्यवस्था र व्यवहारिक कार्यान्वयन गर्न सकेको छैन ।

अमेरिकाले धम्कीको भरमा चीनसँगको नयाँ शीतयुद्ध जित्न सक्दैन । त्यसले लागि आफ्ना कचल्टिएका पुराना सामाजिक आर्थिक समस्याहरु पर्गेल्न र समाधान गर्न सक्नु पर्दछ । मनोविभाजनको राजनीतिले पनि यो काममा खासै सहयोग गर्न सक्दैन । पहिलो अमेरिकाले आफ्नो घर नै राम्रोसँग सम्हाल्ने काम गर्नु पर्दछ ।

अमेरिकामा ५० लाख बढी कोरोना संक्रमित भइसके । १६० हजार बढीले जीवन गुमाइसके । यस्तो बिषम स्थितिमा पनि देशभरि ‘ब्लाक लाइभ म्याटर्स्’ आन्दोलनको त्यत्रो प्रदर्शन भयो । अमेरिकामा अहिले विधिको शासनमा समेत सम्झौता गर्नुपर्ने अवस्था छ । आगामी नोभेम्बरको निर्वाचनअघि शक्ति संक्रमणको अवस्था कस्तो रहन्छ ? यसै भन्न सकिन्न ।

अहिले अमेरिका आफैं टाट पल्टेजस्तो अवस्थामा छ । अनि चीनको कुरा काटेर मात्र के हुन्छ ?

(द साउथ चाइना मोर्निङ पोष्टमा प्रकाशित आलेख संक्षेपीकरणसहित भावानुवाद गरिएको)

The post आफैं बर्बाद अमेरिकाले चीनको कुरा काट्न कति सुहाउला ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles