पानी जहाजको सौखिन प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई वर्ष अगाडी उडान भरेको सत्ताधारी नेकपा नामको जहाज यतिबेला भुमरीमा परेको छ ।
दुई पाईलटले संयुक्त रुपमा हाँक्ने गरी उडान शुरु गरिएको जहाज राष्ट्रवादी छाल र भारतीय छालको टक्करको कारण महासागरमै डुब्ने खतरा बढ्दै गएको छ । यदि दुवै पाईलटले होस् गुमाउने हो र दिशा बदलेर अगाडिको यात्रा तय नगर्ने हो भने जहाज दुर्घटना नजिक छ । दुवै पाईलटको उस्तै दम्भ र घमण्ड अनि ‘म नहुँदा जहाज डुब्छ’ भन्ने भ्रमले नेकपा नामको जहाजको पार्टपुर्जा हल्लिएको छ । प्वाल परेको छ । हावाको वेगले अनियन्त्रित बनाईदिएको छ । जसले गर्दा अब धर्मराउँदै अगाडि बढ्ने वा झ्याप्पै डुब्ने वाहेक तेस्रो विकल्प छैन ।
जसरी १९१२ अप्रिल १० मा युरोपबाट अमेरिकाको लागि निस्किएको टाइटनिक जहाज १५ अप्रिल बिहानै समुद्री पिंधमा पुगेर विलय भयो त्यसैगरी नेकपा नामको जहाज पनि विलय हुने खतरामा पुगिसकेको छ । टाइटनिकलाई कहिल्यै नडुब्ने जहाज भनिएको थियो भने नेकपालाई कहिल्यै नफुट्ने भनेर २ वर्ष अघि मात्रै घोषणा गरिएको थियो ।
नेकपामा गम्भीर संकट आउँदैछ भनेर पाईलट केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई तीनका नेताहरुले भने जस्तै टाइटनिक जहाज दुर्घट्नामा पर्दैछ भन्ने जानकारी क्याप्टेन स्मिथलाई ६ पटक सम्म सहकर्मीले गराएका थिए । जसरी ओलीले कसैका कुरा सुनिरहेका छैनन् त्यसैगरी पाईलट स्मिथले सहकर्मीका कुरा सुनेका थिएनन् । पाईलट स्मिथलाई सबैभन्दा छिटो अमेरिका पुग्ने र सर्वाधिक छिटोे कुद्ने पानीजहाज भनेर विश्व रेकर्ड बनाउने महत्वकांक्षा थियो केपी ओलीलाई आफु मात्रै राष्ट्रवादी हुँ भन्ने रेकर्ड राख्नु छ ।
नेकपा मात्रै होईन नेपाली राजनितिमा सबैजसो पार्टीमा वृद्ध नेताको नेतृत्व छ ।
एक वृद्धलाई अर्को वृद्धले युवा जोस निकालेर भन्दैछ- तपाईंले सक्नुभएन अब म सक्छु । रोग सबै पार्टीमा उस्तै छ । अनि रोगको उपचार त्यही मिति गुज्रिसकेको औषधिबाट खोजिँदैछ ।
अहिले राजनीतिक दलमा हेर्ने हो भने सबै दलमा ६० वर्ष उमेर कटेका त्यागी, अनुभवी र निखारिएका नेताले नेतृत्व गरिरहेका छन् । नेकपा मसाल नामको पार्टीमा त ८७ वर्ष भैसकेका मोहनविक्रम सिंहले झण्डै ५० वर्षदेखि नेतृत्व गरिरहेका छन् ।
आज नेकपामा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई पार्टी वा सरकारको जिम्मा दिएर अनावश्यक भारी बोकाउने युवा नेताहरु सजायको भागिदार बन्नुपर्ने हो की होईन ? उमेर कटिसकेका नेताहरुलाई अनावश्यक पार्टी र सरकारको जिम्मा लगाउनु जेष्ठ नागरिकप्रतिको अपमान हो र सामाजिक रुपमा अपराध पनि हो ।
अरु पार्टीमा हेर्यौं भने पनि राणा शासनदेखि पञ्चायत, झापा विद्रोह, २०४६ सालकोे जनआन्दोलन, बहुदलीय व्यवस्था, सशस्त्र जनयुद्ध, ०६२/०६३ को आन्दोलन, मधेस आन्दोलनमा योगदान गरेका नेताहरुले देश र पार्टी हाँकी रहेका छन् । तर, एउटा प्रश्न कहिले पनि उठ्दैन की कर्मचारीमा ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेर हद कायम गरेजस्तै नेताको उमेरहद किन हुँदैन ?
मानिसको उमेर बढ्दै गएपछि स्वभाविक हो धेरै शारीरिक र मानसिक तनाव लिनु हुँदैन । परिवारका अन्य सदस्यले पनि उमेर पुगेका अभिभावकलाई आराम गर्न लगाउने र विश्राम दिने हो ।
अझै यस्तो उमेरका जेष्ठ नागरिकलाई काम लगायो भने दण्डीत हुनुपर्ने समेत हुन्छ । उमेर बढ्दै गएपछि रोगले च्याप्ने, दिमागले अनेकौं कुरा सोंच्ने, झर्किने, रिसाउने, परिवारका अन्य सदस्य बोल्दा उल्टो अर्थमा बुझ्ने स्वभाविक हो । सायद अहिले हाम्रो नेताहरुलाई यी सबै समस्या देखिएको हुनुपर्छ । त्यसैले बोलीको भर नहुने र बोलेको कुरा नपुर्याउने गरेको उदाहरण धेरै छन् ।
आज नेकपामा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई पार्टी वा सरकारको जिम्मा दिएर अनावश्यक भारी बोकाउने युवा नेताहरु सजायको भागिदार बन्नुपर्ने हो की होईन ? उमेर कटिसकेका नेताहरुलाई अनावश्यक पार्टी र सरकारको जिम्मा लगाउनु जेष्ठ नागरिकप्रतिको अपमान हो र सामाजिकरुपमा अपराध पनि हो ।
तीनका युवा पुस्ताले यो कुरा किन बुझ्दैनन् ? उमेर पुगिसकेर राज्यकोषबाट वृद्ध भत्ता वा पूर्व विशिष्टको सुविधा लिएर सुखको जीवन बाँच्न पाउने तीनको अधिकार हनन् गर्ने योगेश भट्टराई, गोकर्ण विष्ट, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, ठाकुर गैरे, रामकुमारी झाँक्रीहरुलाई कानुनी कारबाही किन नगर्ने ? अब पनि ६० कटेका वृद्धले नेता बनेर पार्टी र सरकारको नेतृत्व गरिदिन्छन् र आफु युवा नै भैरहन्छु भन्ने अनि जिम्मेवारी नलिने तिमीहरुलाई नालायक भन्न किन नहुने ?
अनि काँग्रेस पार्टीलाई पञ्चायतदेखि एउटै व्यक्ति वा परिवारले कहिले सम्म धानिराख्नुपर्ने ? शेरबहादुरको विकल्प रामचन्द्र वा गोपालमानको विकल्प गच्छदार कहिलेसम्म हुने ? के बोल्न हुन्छ के हुँदैन थाहा नहुने, आफुले गर्दा उत्तम अर्कोले गर्दा खत्तम भनिरहने बुढ्यौलीले छोएका नेताले मात्रै प्रजातन्त्र र समाजवाद जोगाई दिनुपर्ने ?
उमेर खाईसकेका र दुःख पाईसकेकालाई अझै काँग्रेसको बोझ बोकाईरहन गगन थापा, विश्वप्रकास शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेल, धनराज गुरुङलाई लाज लाग्नुपर्ने होईन ?
यता भर्खरै पार्टी एकीकरण गरेर तेस्रो शक्ति भएको जनता समाजवादी पार्टीमा पनि उस्तै अपराध किन ? मधेस, पहाड, हिमाल मात्रै होईन जाती, जनजाती, मधेसी, थारु, दलित, महिला, अल्पसंख्यकमा पारिएकाको साझा ईन्द्रेणी राष्ट्रवादको कुरा गर्ने जसपाको झण्डा ७८ वर्षे वृद्ध महन्त ठाकुरले नै कहिलेसम्म बोकिरहने ?
उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र महतोले जनयुद्ध, जनजाती आन्दोलन, मधेस आन्दोलनमा धेरै गरिसके । अब यिनले पार्टी बनाउने होईन, अनुभव र ज्ञान बाँड्ने हो । पार्टी बनाउने जिम्मेवारी लालबाबु राउत, डम्बर खतिवडा, मोहम्मत ईस्तियाक राई, गंगा श्रेष्ठहरुले लिने की नलिने ?
अनि राप्रपामा सधैं लोकेन्द्र बहादुर चन्द, पशुपति शमसेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले नै धानी राख्नुपर्ने हो ? परिवारमा बाबु आमा वृद्ध हुँदै गएपछि हुर्केका अन्य सदस्यले जिम्मेवारी लिनुपर्छ की पर्दैन ?
यसर्थ, आजको आवश्यकता भनेको स्वास्थ्य सबल भएको, मानसिकरुपमा ठीकठाक रहेको, शारीरिकरुपमा तन्दुरुस्त र दिमाग तेज चल्ने व्यक्तिले नेतृत्व सम्हाल्न आवश्यक भएको छ ।
यसको मतलब पुराना वृद्ध नेताहरुको स्वास्थ्य, दिमाग वा शारीरिक अवस्था ठीक छैन भन्न खोजिएको होईन । तर, उनीहरुले धेरै गरेका छन् । तीनले कार्यकारी भूमिका भन्दा बाहिर रहेर अझै धेरै गर्न सक्छन् ।
त्यसैले अब उनीहरुको अनुभव, योग्यता, क्षमता, दृढता, परिपक्वता सबै कुराको जिम्मेवारी पनि युवाले लिनु पर्दछ । जो ६० वर्ष उमेर पूरा गरेका छन् र ३० वर्षदेखि राजनीतिमा दुःख गरेका छन्, तिनलाई स्वेच्छिक र जसले ६५ वर्ष पूरा गरेका छन तीनलाई अनिवार्य अवकाश दिईनुपर्दछ ।
उनीहरुलाई विगतमा गरेको योगदानको कदरस्वरुप प्रजातन्त्र सेनानी, गणतन्त्र सेनानी, विद्रोहका नायक, जनआन्दोलनका जिउँदो सहिद के–के नाम र सम्मान दिनुपर्छ दिउँ । सम्मानसँगै बाँकी जीवन सुखद बनाउनको लागि राज्यको तर्फबाट आवास र केहि सामान्य सुविधा थपेर राजनीतिको दाउपेच, रस्साकस्सी, घम्साघम्सी, लुछाचुँडीबाट चाहिँ टाढा राखौं ।
The post वृद्धलाई विश्राम appeared first on Sajha Post.