Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

ज्यासिन्डाझैं ओली नाँच्ने दिन आउला र ?

$
0
0

संसदमा प्रमुख प्रतिपक्षी दलका युवा नेता तथा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका छन्– ‘ज्यासिन्डाझैं हाम्रो प्रधानमन्त्री नाँच्ने दिन कहिले आउँला ?’ ज्यासिन्डा अर्डन न्यूजिल्याण्डकी प्रधानमन्त्री हुन् । न्यूजिल्याण्ड भर्खरै ‘कोरोनामुक्त देश’ घोषित भएको छ । यस्तो घोषणाको अवसरमा ज्यासिन्डा खुशीले नाँचेकी थिइन् ।

हाम्रा प्रधानमन्त्री ओली यसरी नै नाँच्ने दिन आउन नेपाल कोरोनामुक्त हुनुपर्दछ । तर, नेपालमा कोराना संक्रमण झनै तीव्र हुँदैछ । थाहा छैन– ओलीकै कार्यकालमा नेपाल कोरोनामुक्त हुन्छ वा हुँदैन । यस्तो सम्भावना पनि छ कि ज्यासिन्डाझैं नाँच्ने दिन नै नआई ओली पदमुक्त भइसकेका पनि हुन सक्दछन् । प्रधानमन्त्री पदमै रहेर उनले त्यसरी नाँच्ने अवसर नपाउन पनि सक्दछन् ।

यतिखेर असल तथा सक्षम राजनीतिक नेतृत्व र कोरोना नियन्त्रणबीच कुनै सम्बन्ध छ कि छैन भनेर अनेक विश्लेषण भइरहेका छन् । अक्सर ती देशमा कोरोना संक्रमण दर तीव्र देखिन्छ जहाँ राष्ट्रवादी डेमागगहरु शासनमा छन् । अमेरिका, ब्राजिल, रुस, बेलायत र भारत त्यसका प्रष्ट उदाहरणहरु हुन् । अन्त्यमा यिनै ५ देश कोरोना क्षतिको उच्च सूचीमा हुने लभगभ निश्चितझैं देखिएको छ ।

दर्शन, पृष्ठभूमि र पार्टी फरक भए पनि अमेरिकाका ट्रम्प, ब्राजिलका बोल्सोनारो, रुसका पुटिन, बेलायतका जोहन्सन र भारतका मोदीको राजनीतिक दृष्टिकोण एउटै हो । सन् २०१० यता विश्वव्यापी रुपमा चलेको विभूमण्डलीकरणको दक्षिणपन्थी हावाले यस्ता शासकहरुलाई बलियो बनाएको थियो । यसको अर्थ यो हैन कि कोरोनाले राजनीतिक दर्शन हेर्छ । फरक कहाँनेर हो भने राजनीतिक दर्शनले कोरोनासँग लड्ने दृष्टिकोण, तरिका, गम्भीरता र संवेदनशीलताको मात्रा फरक बनाउँछ । असल र संवेदनशील शासकहरु छन् भने बेलैमा राम्रो योजना बनाउन सक्दछ ।

ठीक त्यस्तै उदाहरण बनेकी छन्– न्यूजिल्याण्डकी ज्यासिन्डा अर्दन । न्यूजिल्याण्ड विश्व राजनीतिमा त्यतिधेरै महत्व राख्ने र चर्चामा आइरहने देश हैन । तर, ज्यासिन्डाको उदयसँग न्यूजिल्याण्ड बारम्बार चर्चामा छ । उनी समकालीन विश्वमा सफल र संवेदनशील राजनीतिक नेतृत्वको मानक बनेकी छन् । कोरोनाकालअघि पनि उनी जनमुखी र उत्तरदायी शासन-प्रशासनका लागि प्रशंसनीय थिइन् । तर, कोरोना नियन्त्रणमा राम्रो गरिरहेको न्युजील्याण्ड एक मात्र देश भने हैन । ताइवान, दक्षिण कोरिया र सिंगापुरले कोरोना क्षतिलाई निक्कै कम गर्न सफलता हासिल गरेका छन् । स्वयं चीन यो दिशामा अग्रसर छ ।

नेपालमा ओली सरकारले अहिलेसम्म ५ वटा प्रष्ट देखिने र ठूला गल्ती गरिसकेको छ । पहिलो – चीनको वुहानमा कोरोना देखिनेबित्तिकै टोली पठाएर सूचनाहरु लिन, विश्लेषण गर्न र चीनको अनुभव सिक्न सकिन्थ्यो । तर ओली सरकारले त्यसो गरेन । बरु नेपाल ‘ग्रिन जोन’मा रहेको र भ्रमण बर्ष–२०२० सफल पारिछाड्ने भन्नेतिर लाग्यो । यदि चीनबाट ठीक समयमा सही सूचना, अनुभव र रणनीति सिक्न सकेको भए जनवरी र फेब्रुअरीमा पर्याप्त तयारी गर्न सकिन्थ्यो ।

दोस्रो– विश्वका सबै देशले लकडाउन गर्दै आएपछि ओली सरकारले अर्ली लकडाउन गर्‍यो । ७ दिनको समय दिएर पर्याप्त तयारीसहित लकडाउन गर्न सकिन्थ्यो । त्यसो गरिएन । फलतः लकडाउन व्यवस्थित भएन । अर्ली लकडाउनको कारण नागरिकको लकडाउन धान्न सक्ने क्षमता सकिँदै गयो । संक्रमण तीव्र भएको बेला लकडाउन खोल्नुपर्ने अवस्था आयो ।

तेस्रो– नेपाल-भारत खुल्ला सीमाको यथार्थलाई बुझिएन । भारततिर संक्रमण कम हुँदै मानिसलाई नेपाल पस्न दिनु पर्‍थ्यो । सीमामा रोकिएको कारण मानिसले दुःख पनि पाए । अन्ततः संक्रमित भएर पनि नेपाल आए ।

चौथो– सरकारले स्वास्थ्य सामग्रीको राम्रो तयारी गर्न सकेन । सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा लगाउनुपर्ने बेला सरकार राजनीतिक षड्यन्त्र, विभाजन र भ्रष्टाचारको खेलतिर लाग्यो । कोरोनाकालको आन्तरिक स्वास्थ्य नीति, योजना र व्यवस्थापन प्रभावकारी देखिएन ।

पाँचौं – कोरोना कालबारे सरकारको विश्लेषण र कल्पनाशीलताको स्तर सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत् प्रष्ट भयो । यी दुबै दस्तावेज निरन्तरतामा आए । कोरोनाकालबारे सरकारको कुनै ठोस, भिन्न र विशिष्ट बुझाई देखिएन । न त ३ महिना लकडाउनबाट भएको आर्थिक क्षतिबारे सरकारले कुनै आर्थिक राहत तथा स्टिमुलस प्याकेज नै ल्याउन सक्यो । अरु बेलाझैं सामान्य बजेट र आर्थिक नीतिमै सरकार हिँड्यो ।

अन्ततः प्रधानमन्त्री ओली यार्सागुम्बा, शिलाजित, हिमाली हावा, अदुवा-बेसार र नेपालीहरुको रोगप्रतिरोधक क्षमतामा विश्वास गर्नुपर्ने विन्दूमा पुगे । तर, वस्तुगत यथार्थ अलिक फरक छ । भारतमा कोरोना संक्रमण असाध्यै तीव्र छ । आउँदा केही दिनभित्र अमेरिका, ब्राजिल र रुसपछि भारत चौथों स्थानमा हुने लभभग निश्चित देखिएको छ । कोरोना महामारीको अन्त्यसम्म पुग्दा भारत कोरोनाले सबैभन्दा धेरै क्षति गर्ने देशमा पुग्न सक्ने सम्भावना छ । भारतको विशाल जनसंख्या, कमजोर व्यवस्थापकीय क्षमता र नेपालसँगको खुल्ला सीमानाको कारण नेपालको जोखिम उच्च छ ।

भारत र नेपालको जीवनशैली एकै प्रकारको हो । भारतमा पनि हिमाल र पहाड छन् । त्यहाँ पनि मानिसले अदुवा, बेसार, जिरा, धनियाँ खान्छन् । योग, ध्यान, व्यायाम र प्राणायाम गर्ने प्रचलन नेपालभन्दा भारतमा कैयौं गुणा बढी छ । तर भारतमा प्रतिदिन १० हजार बढी संक्रमितहरु थपिँदै गएका छन् । ८ हजार बढीको मृत्यु भइसकेको छ ।

यी तथ्यलाई आधार मान्दा प्रधानमन्त्री ओलीको तर्क पत्याउन सकिने कुनै आधार देखिँदैन । प्रधाममन्त्री ओलीले सिल्ली कुरा गरेर जनताको ध्यान अन्यत्र मोड्न खोजेको र आफ्नो शासकीय असक्षमतालाई लुकाउने प्रयास गरेको प्रष्टै छ । ओलीको शासनशैलीलाई ज्यासिन्डाको संवेदनशील र जवाफदेही शासनशैलीसँग तुलना गर्ने आधार देखिन्न । ओली ट्रम्प, बोल्सोनारो, पुटिन, जोहन्सन र मोदीकै नेपाली संस्करणजस्तो लाग्दछन् । उनको जीब्रो राम्रो चलेको देखिन्छ, अरु इन्द्रीय, कर्मेन्द्रीयले खासै काम गरेको देखिन्न ।

कोरोना तबाहीबीच ट्रम्प अमेरिकी समाजलाई ‘काला’ र ‘गोरा’ ध्रुवीकरण गराउने र चुनावी फाइदा लिने रणनीतिमा छन् । ओलीले यही प्रयोजनका लागि नक्सा प्रकरण प्रयोग गर्न खोजेका थिए । बाँस्कोटा, यति, अध्यादेश र ओम्नी प्रकरणपछि प्रम ओलीको सरकार संकटमा परिसकेको थियो । पार्टीभित्र र बाहिर चौतर्फी राजीनामाको माग भइरहेको थियो । नक्सा प्रकरणले उनको सरकारले केही दिन त्राण पायो ।

नक्सा प्रकरणमा पनि ओलीको राजनीतिक रणनीति असफल भएको छ । एक दिनअघिसम्म ‘मैले चुच्चे नक्सा कहिल्यै पढिनँ’ र ‘भारतले कालापानीमा बाटो बनाएको मलाई कसैले थाहा दिएन’ जस्ता तर्क गरिरहेका ओली चुच्चे नक्सा प्रकाशनपछि विपक्षी पार्टीहरु त्यसको विरुद्धमा लाग्लान् र राष्ट्रवादको ढ्याङग्रो एक्लै ठोक्न पाइएला भन्ने दाउमा थिए । तर, देशभक्तिको सवालमा अभूतपूर्व राजनीतिक एकता देखियो । राष्ट्रवाद र नक्सा अब ओलीको मात्र मुद्दा र पराक्रमको बिषय रहेन । त्यो साझा बिषय बन्यो । सँगसँगै भारतसँग गम्भीर कुटनीतिक प्रयास अगाडि बढाउनुपर्ने जिम्मेवारी उनको काँधमा थपियो ।

चुच्चे नक्सा प्रकाशन र निशानछाप संशोधनपछि अब फेरि सबैको ध्यान आन्तरिक बिषयतिर मोडिएको छ । लकडाउनको ३ महिना पुग्न लागेको छ । एकातिर संक्रमण व्यापक बृद्धि भइरहेको छ । लकडाउन यतिखेर चाहिँ सबैभन्दा जरुरी देखिएको छ तर आर्थिक हिसाबले देश र जनता थप लकडाउन धान्न सक्ने अवस्थामा छैनन् । यो स्थितिलाई ओली सरकारले कसरी सामना गर्ला ?

ज्यासिन्डाले न्युजील्याण्डलाई सजिलै त्यो सफलता दिलाएकी हैनन् । खुशीले नाँच्ने अवसर सृजना गर्नका लागि उनले उत्तिकै मेहनत र लगनशील भएर काम गरेकी थिइन् । उनी अभूतपूर्व विनय, नम्रता, संवेदनशीलता र व्यवस्थापकीय क्षमता भएकी नेतृ हुन् । ओलीमा झैं ‘सबैथोक मैले जानेको छु’ भन्ने अहंकार उनमा थिएन ।

क्षमतावान मानिसको समूहकार्यमा उनको ठूलो विश्वास थियो, जो ओलीसँग हुँदै नभएको पक्ष हो । एक त ओली अहंकारी छन् । आफ्नो अल्पज्ञानलाई नै सर्वज्ञाता ठान्दछन् । थाहा भएका, नभएका, सबै बिषयमा सस्तो प्रतिक्रिया दिन प्रधानमन्त्रीजस्तो पदमा आसीन व्यक्तिका लागि सुहाउने गुण हैन । प्रधानमन्त्रीले सबै कुरा जानेकै हुनु पर्दछ भन्ने छैन । नजानेको बिषयमा बोल्नुपर्छ भन्ने छैन ।

कमै सम्भावना छ कि ओली प्रधानमन्त्रीको पदमा हुँदै नेपाल कोरोनामुक्त होला र उनले ज्यासिन्डालेझैं खुशीले रमाउँदै नाँच्ने अवसर पाउलान् ।

The post ज्यासिन्डाझैं ओली नाँच्ने दिन आउला र ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles