विद्यालयमा शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण मानिन्छ । अझ खुशीको कुरा के भने शिक्षण भनेको एउटा सिकाउन सकिने सीप हो ।
आकर्षक ड्रेस र सानो कक्षाकोठाबारे एकछिन भुलौं । उत्कृष्ट कक्षाकोठा तथा विद्यार्थीको वृद्धि विकासको केन्द्रमा शिक्षक नै रहेको हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनले उत्कृष्ट १० प्रतिशत शिक्षकले एकवर्षमा निम्न कोटीका शिक्षकभन्दा ३ गुणा बढी सिकाई क्रियाकलाप गर्ने देखाएको थियो । त्यस्तै अर्को एउटा अध्ययनले अफ्रिकन मुलका विद्यार्थीलाई सबैभन्दा क्षमतावान शिक्षकले बढाउने हो भने अश्वेत र श्वेत विद्यार्थीबीच रहेको सिकाई उपलब्धीको खाडल स्वतः हट्ने देखाएको थियो ।
तर हरेक शिक्षकले राम्रो पढाउन सक्छन् भनेर गरिएका प्रयासहरु शिक्षकहरु जन्मजात हुन्छन् वा उनीहरुलाई उत्पादन गर्न सकिँदैन भन्ने कठोर मान्यताद्वारा कुण्ठित भएको पाइन्छ । नायकको रुपमा रहेका साहित्यिक पात्रहरु पनि जन्मदाखेरी नै अद्वितीय प्रेरणामयी क्षमता लिएर जन्मेका हुन्छन् भनेर प्रस्तुत गरिएको पाइन्छ । सरकारी नीतिपनि यही मान्यताबाट थालनी भएका हुन्छन् । यस्ता नीतिले शैक्षिक पेशामा क्षमतावान मानिसहरुलाई आकर्षण गरेर र खराब शिक्षकलाई पेशा छोड्न मनाएर शिक्षणको गुणस्तरलाई सुधार्न वा उकास्न खोजिरहेका हुन्छन् । त्यस्तै शिक्षक युनियनले पनि आफ्ना सदस्यलाई सरकारको नियन्त्रणबाट मुक्त पार्ने हो भने उत्कृष्ट नतिजा हासिल गर्न सकिने कुरालाई जोड दिइरहेको देखिन्छ ।
शिक्षण क्षमता ‘तपाईसँग जन्मदादेखि नै हुने वा नहुने क्षमता हो’ भन्ने आधार निकै त्रुटिपूर्ण छ । किनभने शिक्षक प्रशिक्षकको एउटा नयाँ पुस्ताले शिक्षणशास्त्रको एउटा व्यावहारिक विज्ञानको विकास गरिरहेको छ । यो पुस्ताको उद्देश्य भनेको कोचले खेलाडीको व्यक्तिगत क्षमतालाई सुधार गरेर उसलाई उत्कृष्ट बनाएझैं सामान्य शिक्षकलाई पनि उत्तम बनाउने हो । यदि यो नयाँ शैलीलाई राम्रोसँग लागू गर्ने हो भने विद्यालयमा निकै ठूलो क्रान्ति आउने र मानिसको जीवनस्तर परिवर्तन हुनेछ ।
शिक्षाको इतिहास एक जादुमय समाधान वा उपायबाट अर्को जादुमय समाधानतर्फ जाने अनियन्त्रित इतिहास हो भन्दा फरक नपर्ला । यी मध्ये उत्कृष्ट समाधानले राम्रै गरेको पनि भेटिन्छ । ‘टिच फर अमेरिका’ भन्ने कार्यक्रम र यसले उत्प्रेरित गरेका अन्य संस्थाहरुले शिक्षण पेशामा महत्वकांक्षी, उर्जाशील र नयाँ ग्राजुयटलाई ल्याएको छ । कार्यसम्पादन खराब भएका शिक्षकलाई हटाउने कार्यले वाशिङ्टन तथा अन्य ठाँउमा शैक्षिक नतिजालाई सुधारेको पनि देख्न सकिन्छ । तर हरेक विधिको आ-आफ्नै सीमा हुन्छ । शिक्षण एउटा आम व्यवसाय हो । यो पेशाले हरेक वर्ष आउने सर्वोत्कृष्ट ग्राजुयटलाई भर्ती गर्न सक्दैन । जब अयोग्य शिक्षकलाई पेशाबाट हटाइन्छ तब नयाँ शिक्षकको आवश्यक पर्दछ । तर नयाँलाई पनि त्यही पुरानो प्रणालीभित्र नै रहेर तालिम दिइने गरिन्छ जुन प्रणालीले उनीहरुभन्दा पहिला पढाइरहेका शिक्षकलाई उत्तम शिक्षक बनाउन असफल भएको थियो ।
यसको ठीकविपरीत यदि औसत शिक्षकको क्षमतालाई सुधार्ने हो भने सम्पूर्ण पेशामा नै आमूल परिवर्तन आउन सक्दछ । विश्वभर यो पेशामा संलग्न केही शिक्षकमात्र राम्रोसँग तयारी गरेपछि विद्यार्थीलाई पढाउन कक्षाकोठामा प्रवेश गर्दछन् । कम विकसित मुलुकमा प्रायः शिक्षकले हरेक पक्षमा पर्याप्त तालिम पाएका हुँदैनन् । हालैको एक प्रतिवेदनअनुसार ३१ वटा मुलुकमा प्राथमिक तहमा अध्यापन गराइरहेका एक चौथाई भन्दा बढी शिक्षकले न्यूनतम राष्ट्रिय मापदण्ड पनि पूरा नगरेको पाइएको छ । विकसित मुलुकमा यो समस्या झन जटिल रहेको पाइन्छ । त्यहाँ एउटा लामो र विशिष्टिकृत कोर्सपछि शिक्षकहरु छान्ने गरिन्छ । यस्तो कोर्समा सिद्धान्तमाथिको बहसलाई समावेश गरिएको हुन्छ । विशेषगरी इको पेडागोजी अथवा राजनीतिक तथा सामाजिक अवस्थाबारे बहस हुने गर्दछ । यी कोर्समध्ये एमएडसहितका केही कोर्सहरुले ग्राजुयट विद्यार्थीमाथि के कति प्रभाव पारेका छन् भनेर प्रष्ट देख्न सकिँदैन ।
राम्रा शिक्षकले प्रष्ट लक्ष्य राख्दछन्, व्यवहारको उच्चतम मापदण्डलाई लागू गर्दछन् र आफ्नो पाठलाई समयअनुसार नै व्यवस्थापन गर्दछन् ।
जुन विषयलाई विश्वविद्यालय वा शिक्षक तालिम कलेजमा सिक्न सकिँदैन त्यो विषयलाई पेशामा प्रवेश गरेपछि सिक्न वा सुधार्न निकै कठिन हुन्छ । शिक्षकहरु पेशामा प्रवेश गरेको केही वर्ष भने कक्षाकोठामा रहेका वास्तविक विद्यार्थीसँग सम्पर्क हुनेहुदाँ राम्रै पढाइरहेका हुन्छन् । तर पछि उनीहरुको सुधारमा विस्तारै कमी हुँदै जान्छ । शिक्षक नै सबैभन्दा महत्वपूर्ण विद्यार्थी हुन भन्ने कुरालाई विद्यालयले बेवास्ता गरेका कारण यस्तो हुने गर्दछ । ओइसिडिमा रहेका विकसित मुलुकका ४० प्रतिशत शिक्षकले अर्को शिक्षकले पढाउने बेलासँगै बसेर सिक्ने मौका कहिल्यै नपाएको गुनासो गर्दछन् । आफ्ना सहकर्मी शिक्षकको शिक्षणबारे उनीहरुलाई फिडब्याक दिन पनि प्रोत्साहित गरिँदैन ।
यो अवस्थालाई फेर्नका लागि कसरी ज्ञान दिने र त्यस्तो ज्ञानलाई प्राप्त गर्न तथा दीगो बनाउन कलिला केटाकेटीलाई कसरी तयार पार्ने भनेर शिक्षकले सिक्नु आवश्यक हुन्छ । राम्रा शिक्षकले प्रष्ट लक्ष्य राख्दछन्, व्यवहारको उच्चतम मापदण्डलाई लागू गर्दछन् र आफ्नो पाठलाई समयअनुसार नै व्यवस्थापन गर्दछन् । उनीहरुले सबै विद्यार्थीलाई पूर्ण व्यस्त राख्ने कुरालाई सुनिश्चित गर्न परीक्षण र प्रमाणित भएका सिकाई विधिहरु अवलम्बन गरेका हुन्छन् । जस्तैः उनीहरुले उत्सुक विद्यार्थीलाई हात उठाउन भनेर होइन कि कक्षाकोठामा आफैले प्रश्न सोधेर शिक्षण सिकाई गरिरहेका हुन्छन् ।
यो विधिलाई लागू गर्न भनेजस्तो सजिलो छैन ।

अन्य कठिन सीप झैं शिक्षण सीपमा निपूर्ण हुने बाटो भनेको जटिल सिद्धान्त होइन, विषयगत ज्ञान र शैक्षिक विधिमा आधारित व्यापक र निर्देशित व्यवहार हो । तालिम लिइरहेका प्रशिक्षार्थीले कक्षाकोठामा बढी भन्दा बढी समय बिताउनु पर्दछ । विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गर्ने स्थानहरु जस्तैः फिनल्याण्ड, सिङ्गापुर तथा सांघाईमा नयाँ शिक्षकहरु कठिन एप्रेन्टिससिप (सिकाई अवधि)बाट गुज्रनुपर्दछ । अमेरिकामा पनि राम्रो छवि बनाएका चार्टर स्कुलले कक्षाकोठामा नै तालिम दिने गर्दछन् र तालिमपछि पनि कोचिङ र फिडब्याकमार्फत सुधारको क्रम जारी राखिन्छ ।
एक शताब्दीअगाडि मेडिकल स्कूलले व्यवस्थित पाठ्यक्रम लागू अनि क्लिनिकल अनुभव प्रदान गरेर डाक्टरहरुको क्षमतालाई अभिवृद्धि गरेझैं शिक्षकलाई तालिम प्रदान गर्ने संघसंस्थाहरु पनि अरुबढी व्यवहारिक हुनु आवश्यक देखिन्छ । शैक्षिक तालिम दिने कलेजहरुले तालिमपछि ग्राजुयटले कक्षाकोठामा कस्तो कार्यसम्पादन गरेका छन् भनेर डाटा संकलन गर्ने र प्रकाशित गर्ने कार्यलाई तत्कालै शुरु गर्न आवश्यक देखिन्छ । विद्यार्थीको सिकाईलाई सुधार गर्न नसक्ने वा अति न्युन सुधार गर्ने शिक्षक उत्पादन गर्ने कोर्सलाई अनुदान दिनुहुँदैन वा यस्ता कोर्स पढेका ग्राजुयटलाई शिक्षण पेशामा प्रवेश गरुन् भनेर सोच्नु हुँदैन । यदि यो पेशामा टिकिराख्ने हो भने त्यस्ता ग्राजुयटले आफूलाई निरन्तर सुधार्नु पर्दछ ।
साथै पेशामा रहुन्जेल हरेक शिक्षकले आफूलाई सुधार गर्छन् भन्ने कुरालाई प्रत्याभूत गर्न विद्यालयमा निकै ठूलो परिवर्तनको खाँचो छ । कुनै पनि राम्रो शिक्षकले अवलोकन तथा कोचिङमार्फत आफ्नो सीपलाई तिर्खाछ । उनीहरुले आलोचनात्मक फिडब्याकलाई स्विकार्छन् । शिक्षकले यसो गर्दा युनियनले विरोध जनाउँनु हुँदैन बरु शिक्षणजस्तो महत्वपूर्ण पेशामा रहेको मानिसले यो व्यवहार देखाउनु उचित भन्दै स्वगत गर्न सक्नुपर्दछ ।
असल प्रधानाध्यापकले नयाँ शिक्षकको हात समातेर बाटो देखाउँछन् । यस्ता प्राध्यापकले नयाँ र सिकारु शिक्षकलाई गुणस्तरीय पाठ योजना दिन्छन् अनि नयाँ शिक्षकका लागि थप अध्ययन तथा अभ्यासको आवश्यकता भएमा उनीहरुलाई सहयोग गर्न अनुभवी शिक्षकलाई खटाउँछन् ।
तलवको सोचेभन्दा कम महत्व रहेको हुन्छ । तर कुनै कुनै देशमा उत्कृष्ट ढंगबाट अध्यापन गर्ने पक्षलाई बढी तलबले सुनिश्चित गरेको हुन्छ । तलबलाई हेरफेर गर्ने हो भने उत्कृष्ट शिक्षकलाई खराब विद्यालयमा आकर्षित गर्ने कार्य अझ सजिलो हुन्छ ।
क्षमतावान ग्राजुयटलाई आकर्षित गर्न एउटा असल चक्रको व्यवस्था गर्दै औसत शिक्षकको गुणस्तर सुधार्ने हो भने शिक्षण पेशाको प्रतिष्ठा नै बढ्छ । यद्यपि, सबैभन्दा ठूलो उपलब्धी नयाँ शिक्षकलाई राम्रोसँग तयार गर्दा र बहालवाला शिक्षकको क्षमतालाई अभिवृद्धि गर्दा प्राप्त गर्न सकिन्छ । अर्थात शिक्षणलाई नै सिकाउनु पर्दछ भन्ने कुरा नै सबैभन्दा ठूलो कुरा हो ।
(यो लेखलाई दि इकोनोमिस्टबाट लिइएको हो । यसमा समावेश भएका विषयहरु विकसित देशमा विद्यमान शैक्षिक प्रणाली वरपर केन्द्रित छन् । तर केही विषयहरु नेपाली सन्दर्भमा पनि उपयुक्त भएकोले प्रकाशित गरिएको हो । -सम्पादक) भावानुवाद : एसबी नेपाली
The post शिक्षकलाई असल कसरी बनाउन सकिन्छ ? appeared first on Sajha Post.