संकटहरु दुईवटा रुपमा आउँछन्- एउटा अनपेक्षित हुन्छन् जसको कुनै तयारी नै गरिएको हुँदैन र अर्को भनेको अपेक्षित हुन्छन् जसको तयारी गर्नुपर्छ । कोभिड-१९ पछिल्लो वर्गमा परेको संकट हो । आफ्नो जिम्मेवारीबाट पन्छिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड संकटको विषयमा जस्तोसुकै अभिव्यक्ति दिएता पनि कोभिड-१९ एउटा अपेक्षित संकट थियो । कोरोना भाइरस एउटा नयाँ भाइरस हो र यो प्रकोप फैलिने समय कसैले पूर्वानुमान गरेको थिएन तर स्वास्थ्यविज्ञहरुले यो महामारीलाई पहिचान गरेर यो फैलन सक्ने कुरा जानकारी गराएका थिए ।
एसएआरएस, एमईआरएस, एच वान नाइन वान, इबोला र अन्य विभिन्न महामारीको पर्याप्त चेतावनीहरु दिइएका हुन् । २००३ मा एसएआरएस प्रकोप फैलिएपछि त्यस्ता प्रकोपको समयमा विश्वले दिने प्रक्रियाका कमजोरीहरुलाई सम्बोधन गर्न विश्व स्वास्थ्य संगठनले प्रकोपलाई प्रतिक्रिया दिने ग्लोबल फ्रेमवर्कको अपग्रेड तथा पुनरावलोकन गरेको थियो ।
२०१६ मा विश्व स्वास्थ संगठनले अन्तरसीमा स्वास्थ संकटको समयमा न्यून आय भएका मुलुकहरुलाई वित्तिय सहायता गर्न महामारी आपतकालीन वित्तिय सुविधा सार्वजनिक गरेको थियो ।
यसबीच एउटा आश्चर्यको कुरा के छ भने चीनको वुहानमा कोभिड-१९ को महामारी फैलिनुभन्दा केही महिनाअघि मात्र अमेरिकी सरकारको एउटा रिपोर्टले अमेरिकी प्रशासनलाई सयौं वर्षअघि पाँच करोड मानिसहरुको ज्यान जानेगरी फैलिएको एउटै प्रकृतिको स्वास्थ प्रकोप पुनः देखापर्ने भन्दै चेतावनी दिएको थियो ।
मौसम परिवर्तनजस्तै कोभिड-१९ को संकट पनि देखा पर्नलाई पालो पर्खिरहेको थियो । अमेरिकामा यो महामारीप्रतिको सरकारको प्रतिक्रिया एकदमै भयावह र दयनीय रह्यो । हप्तौंसम्म ट्रम्प प्रशासनले यो महामारीको गाम्भीर्यतालाई नजरअन्दाज गरिरहे । त्यस समयसम्म संक्रमण र अस्पतालमा बिरामीको संख्या व्यापकरुपमा बढिसकेको थियो । अमेरिकामा त्यसैसमय परीक्षण किट, मास्क, भेन्टिलेटर र अन्य स्वास्थ सामग्रीहरुको अभाव देखियो ।
विश्व स्वास्थ संगठनले उपलब्ध गराएको परीक्षण किट पनि अमेरिकाले माग गरेन । साथै आफ्नै परीक्षण किट पनि समयमै उत्पादन गर्न सकेन ।
ट्रम्प प्रशासनले निजी उत्पादकहरुले उत्पादन गरेको स्वास्थ सामग्रीहरुको माग गर्न अस्वीकार गर्दै सार्वजनिक अस्पताल तथा उत्पादकहरुलाई चाँडो र प्रतिस्पर्धामा सुरक्षित स्वास्थ सामग्री उत्पादन गर्न दबाब दियो ।
लकडाउन र परीक्षणमा ढिलाई गर्दा युरोपले पनि ठूलो मूल्य चुकाउनु पर्यो । इटाली, स्पेन, फ्रान्स र बेलायत जस्ता मुलुकहरुले ठूलो मूल्य तिर्दैछन् । पूर्वी एशियाका केही मुलुकहरुले भने यो प्रकोपलाई राम्रो तरिकाले प्रतिक्रिया दिएका छन् । दक्षिण कोरिया, सिंगापुर र हङहङले टेस्टिङ, ट्रयाकिङ र कडा क्वारेन्टाइनको नीतिले यो प्रकोपको राम्रो रोकथाम गरेका छन् ।
तर एउटै देशभित्र पनि धेरै भिन्नता देखिएको छ । उत्तरी इटालीको भिनिटोले त्यहीँ नजिकको लोमबार्डीको तुलनामा धेरै राम्ररी यो प्रकोपको समाधान गर्दैछ । उसले व्यापकरुपमा परीक्षण गर्नुका साथै चाढै नै यात्रामा कडा प्रतिबन्ध लागू गर्यो । अमेरिकामा केनटुकी र टेनेसिस छिमेकी मुलुकहरु हुन् । कोभिड १९ को पहिलो मामिला यी दुबै छिमेकी राज्यमा संगसँगै देखा परेको थियो । तर मार्चको अन्त्यसम्म आईपुग्दा केनटुकीमा कोरोना संक्रमणको मामिला टेनेसिसको तुलनामा करिब एक चौथाईले घट्यो । यसपछाडीको कारण भनेको केनटुकीले आफ्नो राज्यमा चाढै नै आपकाल घोषणा गर्दै सबै सार्वजनिक स्थललाई बन्द गरायो ।
विभिन्न मुलुकहरुको सरकारको ताल देख्दा प्रकोपको यो अवस्था पहिले देखि नै पूर्वानूमानित थियो । डोनाल्ड ट्रम्पको अकण्मर्यता, अनाडीपन र अहंकारी स्वभावले यो प्रकोपलाई व्यवस्थापन गर्न नसक्ने पहिलेदेखि नै तय थियो । यसकारण अमेरिकामा अहिले देखा परिरहेको मानव संकट कुनै आश्चर्यको विषय होइन । यस्तै ब्राजिलका अहंकारी र अस्थिर राष्ट्रपति जायर बोल्सोनारोले पनि उनको प्रकृतिअनुरुप अपेक्षित रुपमा यो जोखिमलाई नजरअन्दाज गरे ।
तर दक्षिण कोरिया, सिंगापूर र ताइवान जस्ता मुलुकहरुमा सरकारको तीव्र र प्रभावकारी प्रतिक्रियाका कारण त्यहाँ संकट छिटै नै मोचन भयो जुन कुनै आश्यर्चको कुरो होइन ।
चाइनाले पनि चिनियाँ किसिमकै प्रतिक्रिया यो प्रकोपलाई दियो । पहिले त भाइरसको जानकारीलाई लुकायो तर यो खतराको खुलासा भइसके पश्चात उसले उच्च डिग्रीको सामाजिक नियन्त्रण र संसाधनहरुको व्यापक परिचालन गर्यो । तुर्किमिनिस्तानले कोरोना भाइरस र मास्कको प्रयोगलाई नै प्रतिबन्ध लगायो ।
यसबीच हंगेरीका भिक्टोर ओर्बानले यो संकटको ठूलै फाइदा उठाए । उनले संसदलाई बिघठन गरेर आफूमा अनिश्चितकालका लागि आपकालीन शक्ति केन्द्रित गरेर सबै शक्ति हातमा थिए ।
यो संकटले सबै मुलुकहरुको बर्चस्वशाली गुणहरुलाई थप स्पष्टरुपमा देखाएको छ । देशहरु अहिले आफ्नो अतिरन्जित संस्करण देखा पर्न थालेका छन् । यसकारण वैश्विक राजनीति तथा अर्थतन्त्रमा बाहिर चर्चा भएजस्तो यो संकट ठूलो कोशेढुंगा बन्नसक्ने छैन । यसले विश्वलाई अर्कै स्वरुपमा लानुको सट्टा अहिलेकै वर्तमान ट्रेण्डहरुलाई थप तेज बनाउने छ ।
छोटकरीमा भन्नुपर्दा कोभिड १९ ले यो संकट अघिको अवस्थालाई पूर्णरुपमा उल्टाउसक्ने छैन तर यसलाई केही परिवर्तन भने अवश्य नै गर्नेछ । नवउदारवाद सुस्त मरणले निरन्तरता पाउनेछ । पपुलिस्ट सर्वसत्तावादीहरु अझै तानाशाह बन्दै जानेछन् । राष्ट्रिय राज्यहरुले पोलिसी स्पेस दाबी गरिरहँदा हाइपर ग्लोबलाइजेसन रक्षात्मक अवस्थामा रहनेछ । चीन र अमेरिका द्वन्द्वात्मक अवस्थामा नै रहनेछ । राष्ट्र राज्यभित्रका ओलीगार्की, सर्वसत्तावादी पपुलिस्ट र लिबरल इन्टरनेश्नालिस्टहरुबीचको युद्ध थप तीव्र बन्ने छ । अर्कोतिर वामपन्थीहरु भने अधिकांश मतदाताको मत जित्ने कार्यक्रमहरु तयार गर्नमा नै संघर्षरत रहने छन् ।
(ड्यानी रोडरिकको यो आलेख प्रोजेक्ट सिन्डीकेटबाट लिएर भावानुवाद गरिएको हो)
The post कोरोनाले विश्वको पुननिर्माण गर्ला त ? appeared first on Sajha Post.