Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

लकडाउनले कोरोना भाइरस मर्दैैन, यसो गर्ने कि ?

$
0
0

सरकारले २१ दिने लकडाउन लागू गर्ने निर्णय गर्दा मैले भनेको थिएँ, ‘लकडाउनले भाइरस मर्दैन ।’ मेरो कुरालाई कतिपयले अन्यथा बुझे । मैले सरकारको विरोध गरे भन्ने ठाने । सरकारको विरोध वा समर्थन गर्नु मेरो सरोकारको बिषय हैन । मैले आफ्नो ज्ञान र अनुभव भन्ने हो ।

सरकार आफ्नो निर्णय लिन स्वतन्त्र छ । जस्तो कि लकडाउन भयो पनि । तर संक्रमण त रोकिएन । तथ्यांक हेर्ने हो भने भारतमा लकडाउनपछि पनि संक्रमण संख्या धेरै बढेको छ । म यो मान्छु कि अनुपात घटेको छ । लकडाउन अघि करिब २०% को संक्रमण थियो । पछि १७% मा झर्‍यो । लकडाउन कोरोना संक्रमण रोक्न ३% को कमी ल्याएछ भनेर मानौं तर त्यसको क्षति चाहिँ कति भयो ?

यसको अर्थ सानो उपलब्धिको लागि ठूलो मूल्य चुकाउनु पर्‍यो । म अहिले पनि भन्छु, ‘लकडाउन कोरोनाविरुद्ध लड्ने सही रणनीति हैन । कतिपय देशमा लकडाउनले राम्रो काम गरेको पनि छ । जस्तो कि न्यूजिल्‍याण्ड । त्यहाँ लकडाउन गर्नु तीन दिनअगाडि नै सूचना गरिएको थियो । लकडाउनमा के गर्नु पर्छ, कस्तो तयारी गर्नु पर्छ भनेर जनतालाई राम्ररी सुसुचित गरिएको थियो । त्यहाँ लकडाउन सजिलै लागू भयो । परिणाम पनि ठीकै रह्यो ।

तर भारतमा लकडाउन लागू गर्न सजिलो छैन । एक त भारतीयहरु भाइरस भनेको के भन्ने नै बुझ्दैनन् । भाइरसको चरित्र अधिकांशले बुझ्ने हो भने लकडाउन प्रभावकारी हुन्थ्यो । हामी सामाजिक स्वभावका छौं । विभिन्न भीडभाडमा जान्छौं । सामाजिक दूरीको महत्व बुझ्दैनौं ।

त्यसो हुँदा लकडाउनले भारतजस्तो देशमा केही फाइदा पनि गर्दछ । लकडाउनले जनतामा एकैपटक सूचना पुर्‍याउँछ । भाइरस के हो ? यसको चरित्र कस्तो हुन्छ ? भीडभाडमा किन जानु हुँदैन भन्ने जानकारी जनतामा पुग्छ । जनताको सतर्कताको स्तर बढ्छ ।

दोस्रो- लकडाउनले भाइरस संक्रमणको दर सुस्त बनाउँछ । यो छिटो सर्न पाउँदैन । बिमारीको ठूलो संख्या एकैपटक अस्पतालहरुले सामना गर्नु पर्दैन ।

तेस्रो- लकडाउनले तयारीको अवसर दिन्छ । महामारी आउँदा अस्पतालहरुले कसरी सामना गर्ने ? के के तयारी गर्ने ? जनशक्ति कसरी व्यवस्थापन गर्ने ? स्वास्थ्य सामग्रीको उपलब्धता कसरी गर्ने ? यस्ता कुरा तयारी गर्ने समय दिन्छ ।

लकडाउनका राम्रा पक्ष यी हुन् । तर लकडाउनले कोरोना भाइरस त मर्दैैन । त्यसैले मैले भनेको हुँ यो दीर्घकालीन समाधान हैन । लकडाउन कतिन्जेल गर्ने ? मानौं कि १ वर्ष, २ वर्ष लकडाउन गर्दा कोरोना भाइरसका संक्रमण चक्र तोडिने भयो, के त्यति लामो लकडउन गर्न व्यवहारिक रुपमा सम्भव हुन्छ त ? पक्कै हुँदैन ।

कल्पना गरौं, यदि लामो लकडाउन भयो भने तल्लो र गरिब परिवारको हालत के होला ? अहिलेले ५० प्रतिशत बढीले रोजगारी गुमाई सकेका छन् । उनीहरुलाई खानापिनाकै समस्या पर्न थालिसक्यो । सबैको आवास पनि कहाँ राम्रो छ ? सधैं घर वा कोठाभित्र बस्न त्यही अनुरुपको घर, कोठा सबैसंग हुँदैन । तसर्थ लकडाउन धेरै लामो गर्‍यो भने भोकमारी शुरु हुन्छ । लकडाउन उल्लघंन हुन थाल्छ । दोहोरो बेफाइदा हुन्छ । लकडाउनको उद्देश्य पनि पूर्ति हुँदैन । जनताले ठूलो आर्थिक क्षतिपनि व्यहोर्नु पर्दछ । लकडाउन कोरोनासँग लड्ने तरिका हैन भाइरसबाट लुक्ने तरिका हो ।

अब प्रश्न उठ्छ, त्यसो भए के गर्ने त ? यसको सही समाधान के हो ? मेरो विचारमा यसको सही बाटोे हर्ड इम्युनिटी नै हो । सामूहिक प्रतिरोध क्षमता अभिवृद्धि नै सही बाटो हो । धेरैले भन्छन्- यो सही रणनीति हैन । यो रणनीतिबाट हिड्दा करिब ८० % बिमारी हुनु पर्दछ । २०%ले जीवन गुमाउनु पर्दछ । यस्तो रणनीति कसरी अबलम्बन गर्न सकिन्छ ?

सामूहिक प्रतिरोध क्षमता अभिबृद्धि अर्थात् हर्ड इम्युनिटी कुनै रणनीति हो भन्ने मलाई लाग्दैन् । यो रणनीति नै हैन, सही कित गलत भन्ने प्रश्नै उठ्दैन । यो त भाइरसको प्राकृतिक चक्र हो । नेचुरल जर्नी हो । हामीले चाहे पनि नचाहे पनि त्यो स्थिति सामना गर्नै पर्छ । अरु के उपाय छ त ? लकडाउनमा केही समय संक्रमण कम होला तर हामीलाई थाहा छ लामो लान सकिन्न, फेरि खोलेको दिन उस्तै हुन्छ भने यो दीर्घकालीन समाधान त हैन रहेछ ।

हर्ड इम्युनिटीेको यात्रा तय गर्न हामीले भाइरसको चरित्र बुझ्न जरुरी छ । भाइरसले सामान्यतया ३ प्रकारको असर गर्दछ । भाइरस सर्दैमा सबै बिमारी हुँदैन । बिशेषतः युवाहरुलाई त्यसले खासै प्रभावित गर्दैन । त्यस्तो अवस्थालाई ‘मिल्ड केस’ भनिन्छ । भाइरस पोजिटिभ पनि हुन्छ । तर मान्छेलाई केही हुँदैन । यस्ता मान्छेलाई होम क्वारेन्टाइनमा राख्न सकिन्छ ।

दोस्रो भनेको भाइरस संक्रमित हुने, बिमार हुने तर गम्भीर हुने अवस्था हा । यस्ता बिमारीलाई सामान्य उपचार गर्दा पुग्छ । यस्तो अवस्थालाई ‘ क्लिनिकल केस’ भनिन्छ । उनीहरुलाई डाक्टरको निगरानीमा राख्नु पर्दछ । साधारण वेडमा उपचार गर्दा हुन्छ । सघन उपचार कक्ष आवश्यक पर्दैन । केही युवाहरु र अधवैशे मानिसमा यो स्थिति हुन्छ ।

तेस्रो भनेको ‘सिरियस केस’ हो । अहिले युके वा अरु युरोपेली देशको तथ्यांक हेर्यो भने यस्तो अवस्था ६० वर्ष माथिकालाई हुन्छ । अहिले कोरोनाबाट मर्ने मध्ये ८० प्रतिशत ६० वर्ष माथिका छन । हो, यस्ता बिमारीहरुलाई सघन उपचार चाहिने हो । भेन्टिलेटर चाहिने हो । हामीले हाम्रो अस्पताल क्षमतालाई यस्ता बिमारीमाथि केन्द्रित गर्नु पर्दछ । तसर्थ फरकफकर तरिकाबाट फरक उमेर समूह र रोगको अवस्था अनुरुप हर्ड इम्युनिटी विकास गर्न मद्दत गर्नु नै कोरोना भाइरससंग लड्ने एक मात्र दीर्घकालीन समाधान हो ।

अहिले दुविधा कहाँ छ भने लकडाउन खोलेर हर्ड इम्युनिटीको यात्रामा जाउँ मृत्यु धेरै हुन्छ , नखोलौं, यो समाधान पनि हैन, कहिलेसम्म कायम राख्ने ? मेरो विचारमा हामीले त्यस्तो नीति तय गर्नु पर्दछ, जहाँ हर्ड इम्युनिटीको बाटोमा हिड्न पनि सकियोस् र मृत्यु पनि कम भन्दा कम होस् । त्यो भनेकै उमेर र बिमारीको अवस्था अनुरुप फरक रणनीति लिने, लकडाउन खुकुलो बनाउने तर सामाजिक दूरी कायम राख्ने तरिका हो ।

भारतको जनसंख्यामा करिब ९० प्रतिशत मान्छे ६० वर्षमुनिका छन भने १० प्रतिशत मात्र ६० वर्षभन्दा माथिका छन् । यसको अर्थ युरोपको भन्दा हाम्रो जोखिम कम छ । त्यहाँको जनसंख्यामा बृद्धबृद्धाको धेरै संख्या हुन्छ । यदि हाम्रो युवा जनशक्तिले एकपटकलाई कोरोना भाइरस पचायो भने जीवनभरि कोरोनाले उनीहरु तिर फर्केर हेर्न सक्दैन । भाइरसको आम चरित्र के हुन्छ भने जसको शरीरले त्यसलाई जित्छ,त्यस शरीरमा फेरि संक्रमित हुँदैन वा भए पनि हानी गर्न सक्दैन ।

त्यसैले मेरो भनाई कति मात्र हो भने– हामीले ढिलोचाँडो हर्ड इम्युनिटीको तरिका अनुशरण गर्नै पर्दछ । लकडाउनले मात्र समाधान दिँदैन ।

(भारतमा काम गरिरहेका महामारी विज्ञ डा. मुलियीलका विभिन्न अन्तर्वार्ताहरुको संक्षेपीकरण)

The post लकडाउनले कोरोना भाइरस मर्दैैन, यसो गर्ने कि ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles