Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कोराना भाइरस र ट्रम्पका मुर्खताहरु

$
0
0

भियतनाम युद्धको बेला अमेरिकीहरुको ब्रिफिङ राती हुन्थ्यो । राती ५ बजे । ती ब्रिफिङमा अमेरिकी सैन्य नेताले अनेक तथ्यहरु प्रस्तुत गर्थे । निष्कर्ष एउटै हुन्थ्यो – अमेरिकाले युद्ध जित्दैछ । ती ब्रिफिङमा प्रस्तुत गरिने प्रतिवदेनहरु भ्रामक र झुठले भरिएका हुन्थे । जुन युद्ध उनीहरु जित्दैछौं भनेर बारम्बार दोहोर्‍याउँथे, यथार्थमा त्यो युद्ध अमेरिकाले हार्दै थियो । तर युद्ध मोर्चाका वास्तविकता ब्रिफिङसम्म आइपुग्दैनथे ।

त्यो स्थितिलाई चित्रण गर्दै एसोसिएट प्रेस साइगन ब्यूरो प्रमुख रिचार्ड पायलले एक प्रेस सम्मेलनमा भनेका थिए- ‘दक्षिणपूर्व एशियाको अस्पष्ट थियटरमा एक त्रासद हाँस्य लामो समय मञ्चन गर्ने प्रयास भइरहेको छ । ह्वाइट हाउसको जेम्स ब्रेडी रुमबाट हुने पत्रकार सम्मेलन भने त्यो त्रासद हाँस्य नाटकका सही विवरणहरु हुन् ।’

अहिले हामी ट्रम्पको ठीक त्यस्तै मुर्खताको समयमा छौं । ट्रम्पलाई अधिकांश ब्रिफिङहरु राती गरिन्छन् । उनलाई दिइने जानकारीहरु झुठले भरिएका छन् । कोरोनाको विश्वव्यापी महामारीले स्वयं उनको राष्ट्रपतीय जिम्मेवारीप्रति जोखिम उत्पन्न गरिसकेको छ तर ट्रम्पले अझै त्यसको पत्तो पाएका छैनन् । ट्रम्पका अभिव्यक्तिहरु सत्यबाट अलगथलग गरिएका शोकमग्न विचारजस्ता लाग्दछन् ।

जसरी भियतनाम युद्धका ब्रिफिङहरु अमेरिकी सरकारको गैरजिम्मेवारी र असफताका मानक बने, ठीक त्यसरी नै भोलि इतिहासकारहरुले ट्रम्पसँग यस्तो संगीन घडीमा झूठा प्रेस सम्मेलन गर्दै हिँडेकोबारे प्रश्न अवश्य सोध्नेछन् । ट्रम्प अमेरिकी इतिहासमा नेतृत्व विफलताको दृष्टान्त बन्नेछन् नयाँ पुस्ताका लागि । ट्रम्प–विफलताको मानक स्थापित गर्न कुनै गाह्रो हुने छैन । यस हप्ताको पहिलो ३ दिनका वर्णनहरु ४० हज्जार शब्दभन्दा बढी भारी हुनेछन् ।

केही हप्ता अघिदेखि जब कोरोना महामारीबारे ट्रम्पले नियमित पत्रकार सम्मेलन गर्न थाले- उनका अधिकांश स्मरणयोग्य लाइनहरु कोरोना र त्यसको प्रतिरोधसँग हैन, उनमाथि गरिएका राजनीतिक आक्रमणको प्रतिउत्तरमा सीमित हुन्छन् । उनी भन्छन्- ‘म यो स्थितिको लागि जिम्मेवार छैन ।’ बुधबार कोरोना टास्कफोर्सका सदस्यहरु सबै पत्रकार सम्मेलनमा एक साथ थिए । त्यहाँ ट्रम्पले भने- ‘ हामीले एक नरकतुल्य काम गरिसक्यौं, यस्तो काम जुन आजसम्म कसैले गरेका थिएनन् ।’ उनको तर्क टास्कफोर्स गठन र उनीहरुले तदारुकतापूर्वक काम गर्ने आशासँग जोडिएको थियो ।

यसले के देखाउँछ भने ‘ट्रम्पियन वास्तविकता’ र ‘वास्तविक वास्तविकता’ बीच गहिरो खाडल छ । यो महामारीको वास्तविक तस्वीर न्यूयोर्कमा देख्न सकिन्छ । शहर शोकमग्न छ । अस्पताल खचाखच भरिएको छ । पर्याप्त भेन्टिलेटर र मास्क पठाइदिन गभर्नरले संघीय सरकारसँग अनुरोध गरिरहेका छन् । केही हप्ताअघि इटालीबाट एक व्यक्तिले अमेरिकीहरुलाई जुन हृदयविदारक अपील गरेका थिए, त्यो अहिले यही न्यूयोर्कमा सादृष्य भएको छ । इटली त्यतिखेर विश्व महामारीको इपिसेन्टर थियो । अब त्यो अमेरिका भएको छ । र अब सायद जेम्स ब्राण्ड प्रेस ब्रिफिङबाट अमेरिकी सरकार र विश्व स्वास्थ्य संगठनका झुठा वक्तव्यहरु सुन्नु बाहेक कुनै काम बाँकी रहने छैन ।

केही हप्ताअघिसम्म यस्तो लाग्थ्यो कि कम्तीमा अमेरिकामा यस्तो हुनै सक्दैन । भाइरस संक्रमणको प्ररम्भिक चरणमा ट्रम्प प्रशासनले यस्तो स्थिति आउने सम्भावना इन्कार गरेको थियो । सायद यो इन्कारसँगै तयारीहरु ढिला र कमजोर भएका थिए । जब कोरोनाको ताण्डब नृत्य हाम्रो बोर्डरभन्दा बाहिर थियो, लागेको थियो कि हाम्रो राज्य, ट्रम्प प्रशासन पक्कै जनस्वास्थ्यप्रति गम्भीर र संवेदनशील होला ।

जब देशभित्र छिर्न थाल्यो ट्रम्पले ‘राष्ट्रिय आपतकाल’ घोषाण गरे । मार्च १६ मा १५ दिने स्थानीय लकडाउनको प्रस्ताव आयो तर राम्रो लागू भएन । विगत १५ दिनयता जब कोरोना संक्रमणको दर तीव्र देखियो तब मात्र ट्रम्पले घटनाको गम्भीरता र संवेदनशीलता सायद थोरै बुझे । तर अहिले पनि संसारको सबैभन्दा धनी र शक्तिशाली देशमा नागरिक मर्नका लागि तयार भएर बस्नु बाहेक अरु कुनै विकल्प छैन ।

मार्चको लामो र अनौठो अबधि हामीले वितायौं । ट्रम्प उही सैन्य भाषामा बोल्दै रहे – ‘यो लडाइँ हो, लडिन्छ, जितिन्छ, वलिदान साझेदारी गर्नु पर्दछ, यो अदृष्य दुश्मनलाई पराजित नगरी हामी छोड्ने छैनौं’। तर लडाइँका कमाण्डर अफ चिफले यो हप्ता आएर आफै आत्मसपर्मण गरे । ट्रम्पले भने कि – यो भाइरससँग लड्न म इच्छुक छैन, भाइरससँग लड्न नसकिने रहेछ ।

आइतवार उनले फक्स न्यूजमा भने- ‘ देश नै बन्द गर्ने कामले रोगले गर्ने क्षतिभन्दा धेरै क्षति हुन सक्दछ । अर्थतन्त्र समाप्त हुन सक्दछ । अमेरिका बन्द हुन बनेको देश हैन ।’ सोमबारको मुर्ख–वर्णन जो ठीक ५ बजे भएको थियो त्यहाँ उनले बारम्बार त्यही दोहोर्‍याए – ‘हामी समस्याभन्दा पनि खराब उपचार लागू गर्न सक्दैनौं, अमेरिका खुल्ला व्यापारका लागि बनेको देश हो ।’

मंगलवार उनले गरेको ट्वीट जुन आज बदनाम ट्वीट बन्न पुगेको छ, त्यो ट्वीट भएको ठीक एक महिना भएको छ, जसमा ट्रम्पले भनेका थिए – ‘अमेरिकामा कोरोना भाइरस पूर्ण नियन्त्रणमा छ ।’ उनी अझै भन्दै थिए – ‘ सबै चिज विस्तारै ठीक हुँदै जान्छन्, अप्रिल १२ सम्ममा सम्पूर्ण अमेरिका ठीकठाक हुनेछ, खुल्ला हुनेछ ।’

त्यसको ठीक ४ घण्टापछि सिएनएनले उनको मनमौजी टाइम टेबलबारे सोधेको थियो । क्याटलिन कोलिनले सोधिन – ‘इस्टरसम्मको समय तपाईंलाई कसले सुझायो ?’ ट्रम्पले बिना हिचकिचाहट भने – ‘यसै मलाई लाग्यो कि त्यो सुन्दर समय हुनेछ ।’ फेरि कोलिनले सोधिन् – ‘ के त्यो समय त्यसो भए कुनै तथ्यांक वा विश्लेषणमा आधारित छैन ?’ ट्रम्पले भने – ‘छैन, कुरा यति हो कि त्यो मलाई सुन्दर समय लाग्दछ।’

यो एक पीडादायी तथ्यको अनावरण थियो । राष्ट्रपति जस्तो मान्छे विना कुनै वैज्ञानिक आधार बोलिरहेका थिए । केही मिनेटभित्रै देशका वैज्ञानिक र विज्ञहरुले भने की यो सोच निक्कै खतरनाक र पागलतापूर्ण छ । तर बुधबार पनि ट्रम्प त्यही इस्टरको समय दोहोर्‍याउँदै थिए । उनी यतिसम्म लचिलो भएर भने – ‘ तर म हतार चाहिँ गर्दिन, त्यो उपयुक्त समय बन्यो भने मात्र हो ।’

फेरि बिहीबार बिहान ५.३० बजे ट्रम्प क्यामेराको अगाडि देखा परे । यतिखेरसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८१ हज्जार कटीसकेको थियो र अमेरिका चीनभन्दा पनि धेरै कोरोना संक्रमित देश बनिसकेको थियो । जब यो तथ्यांक ट्रम्पको सामु राखियो उनले निर्लज्ज तरिकाले भने – ‘ हामीले धेरैको जाँच गर्‍यौं, धेरै फेला परे, चिनियाँहरुले सबैको जाँच गरेनन् होला । यो जाँचमा हामीले पाएको सफलता हो ।’

बरु यो खराब समाचारको बीच पनि ट्रम्प प्रशासनले भन्यो कि अमेरिकामा बेरोगजारी दाबी गर्नेको संख्या इतिहासमै सबैभन्दा धेरै पुग्यो । उनको स्वरमा कुनै शोक थिएन । बरु उनी जी–२० सँगको नेताहरुको टेलिफोन वार्ता सुनाउन थाले । संसदमा रहेको २० ट्रिलियन डलरको राहत कोषको कुरा गर्न थाले । उनले यो भन्न भ्याए कि जे हुन्छ, राम्रो हुन्छ, संकटको अन्त्यमा पुग्दा विश्व अझ राम्रो हुनेछ ।

बिहिबारपछि भने उनका बोली फेरियो । उनले सबै काउन्टीमा संघीय सरकारले पत्राचार गरिसकेको, आवश्यक कार्यहरु तीव्र पारेको, मापदण्ड निर्धारण गरेको, मापदण्ड लागू गर्न स्थानीय प्रशासनलाई भनिएको आदि कुरा गरे । भने– ‘अब ढिलो गर्नु हुन्न, अब हामीले काम गर्नै पर्छ ।’ यसपटक उनले ‘इस्टरको सुन्दर समय’ शब्द प्रयोग गरेनन् ।

राष्ट्रपति ट्रम्पका दिनदैनी वक्तव्यहरु जनताको बीचमा धेरै विवादास्पद भएका छन् । न त वासिङ्गटन पोष्ट, न त टाइम म्यागजिनले यस्ता भनाइहरुको स्वास्थ्य विज्ञानसँगको सत्यता तुलना गरेका छन् । यहाँसम्म कि त्यस्ता पत्रकार सम्मेलनमा नै सामाजिक दूरीको मापन प्रयोग गरिएको हुँदैनथ्यो जो सरकारले अरुलाई गर्नु भनेको थियो । धेरै सञ्चारमाध्यम भन्छन् कि उनीहरु अब राष्ट्रपतिका भनाइहरु प्रसारण नगर्ने मनस्थितिमा छन् तर उनीहरुले त्यसो गरेका भने छैनन् । एक पूर्व स्तम्भकार मार्गरेट सुलिभान भन्छिन – ‘राष्ट्रपतिका पत्रकार सम्मेलन मूलतः आत्मप्रसंशा, झुठ र अतिशयोक्तिपूर्ण हुन्छन् ।’

एक दशक लामो मूर्खतापूर्ण भियतनाम युद्धमा ५८ हज्जार अमेरिकी मरे । विज्ञहरुको भनाइ छ कि अहिले कोरोना भाइरसले जुन प्रकारको कोर्स पक्रेको छ, त्यसबाट मर्नेको संख्या भियतनाम युद्धको भन्दा धेरै हुन सक्दछ । तर यो संख्या ट्रम्प र ट्रम्प प्रशासन सम्बद्ध नेताहरुले लिने निर्णयमा भर पर्नेछ । तर यो हप्ताले के देखायो भने हामी एउटा मुर्ख नेताको भरमा छौं जो यो युद्ध लड्न चाहँदैन वा युद्धसँग जोडिएका तथ्यहरु स्वीकार गर्न सक्दैन । उनी अहिले युद्धकालको कार्टुनमा देखाइएको क्यारिकेचर राष्ट्रपति जस्ता प्रतीत भएका छन्, युद्धको मैदानमा वास्तविक सेनापति जस्तो हैन ।

आशा गरौं बिहीबारयता फेरिएका ट्रम्प अब साँचो राष्ट्रपति बन्ने छन् ।

(द न्यूयोर्करमा प्रकाशित)

The post कोराना भाइरस र ट्रम्पका मुर्खताहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles