धेरै मान्छे यसो भन्दैछन्– विश्वमा यति छिटो कोरोना भाइरस महाव्याधीको संक्रमण फैलिनुको मुख्य कारण भूमण्डलीकरण हो । यो प्रकोपलाई अझ धेरै फैलिन नदिने हो भने वि-भूमण्डलीकरण गर्नुपर्दछ । पर्खालहरु निर्माण गरौं, भ्रमणहरु रद्द गरौं, वैदेशिक व्यापार कम गरौं । यस्ता अनेक व्यवधानहरु सिर्जना गरौं भन्ने धारणा आइरहेका छन् ।
यद्यपि अल्पकालका लागि क्यारेन्टाइन जरुरी छ तर दीर्घकालसम्म विश्वलाई अगलावमा राख्ने हो भने त्यसले रोग विरुद्धको सुरक्षा पनि प्रत्याभूत गर्ने छैन साथै थाहै नपाई आर्थिक महापतन निम्याउने छ । यसको ठीक विपरित महामारीको वास्तविक औधषी विभाजन हैन, अझ बढी सहकार्य हो ।
अहिलको भुमण्डलीकरणभन्दा धेरै अगाडि लाखौं मानिस महामारीले मरेका थिए । १४ औं शताब्दिमा न अहिलेको जस्तो हवाईजहाज थियो न यात्रुवाहक पानीजहाज नै थिए तर ‘ब्लाक डेथ’ एक दशकभन्दा कम समयमा पूर्वी एसियादेखि पश्चिम युरोपसम्म फैलिएको थियो । यसले ७५ मिलियन भन्दा बढी मानिस मरेका थिए, जो युरेसियाको कुल जनसंख्याको एक चौथाई बराबर थियो । बेलायमा मात्र प्रति १० जना जनसंख्यामा ४ जना मरेका थिए । फ्लोरेन्सका १ लाख बासिन्दामध्ये ५० हजा मरेका थिए ।
सन् १५२० को मार्चमा एक बिफर बिमारी फ्रान्सिस्को डे इगुवा मेक्सिको पुगेका थिए । त्यो समय मध्य अमेरिकामा न रेल थियो, न बस थिए र गधाको सवारी नै चल्थ्यो । डिसेम्बर लाग्दा नलाग्दै सम्पूर्णमध्ये एसियाभरि बिफर फैलिएको थियो । कुल जनसंख्याको करिब एकतिहाई मानिस मरेका थिए ।
सन् १९१८ मा एक विशेष प्रकारको फ्लु विश्वका कुनाकुनासम्म फैलियो । त्यसले करिब आधा अरब मानिसलाई प्रभावित गर्यो, त्यो त्यतिखेरको कुल जनसंख्याको आधा जति थियो । त्यसले भारतमा मात्र ५ प्रतिशत मान्छे मारेको थियो । टहिटीको टापुमा १४ प्रतिशत मानिस मरेका थिए भने सोमायोमा २० प्रतिशतसम्म । अर्को एक महामारीमा करिब १ करोड मानिस एक वर्षभित्र मरेका थिए । अर्थात् ४ वर्षको भीषण पहिलो विश्वयुद्धमा मारिए भन्दा पनि बढी ।
सन् १९१८ यता विश्व महामारी फैलिनका लागि झनै सजिलो मैदान बन्यो । यसको कारण भने बढ्दो जनघनत्व र यातायातको राम्रो प्रबन्धन नै हो । टोकियो वा मेक्सिको सिटीजस्ता आधुनिक महानगरले मध्ययुगको फ्लोरेन्सले भन्दा बढी महामारीको शिकार हुन सक्ने सम्भावना प्रदान गर्दछ । सन् १९१८ यता विश्वको यातायात प्रणाली कता हो कता छिटो भइसकेको छ । कुनै भाइरसले पेरिसदेखि टोकियो हुँदै मेक्सिको सिटीसम्मको यात्रा २४ घण्टाभन्दा कम समयमा गर्न सक्दछ । तसर्थ, हामी अहिले एकपछि अर्को घातक महामारीको नर्कमा बाँच्न राजी हुनु परेको छ ।
तर हामीले यो भुल्नु हुँदैन कि दुर्घटना र महामारीको प्रभाव दुवै पहिलेको तुलनामा नाटकीय तबरले कमी आएको छ । एडस र इवोलाजस्ता भयानक भाइरसका बाबजुद एक्काइशौं शताब्दिमा महामारीबाट मारिनेको संख्या ढुंगे युगदेखि यताका कुनै पनि शताब्दिको तुलनामा निक्कै कम छ । यो सामूहिक प्रतिरक्षाको कारण सम्भव भएको हो, अगलावको कारणले हैन । त्यसको मुख्य पक्ष हो– सूचना ।
मानव जातिले महामारी विरुद्धका लडाईहरु जितिरहेको छ किनकी रोगहरु अन्ध दौडमा छन् भने डाक्टरहरु सूचनाको वैज्ञानिक विश्लेषण गरिरहेका छन् । सन् १९१८ सम्म इन्फुन्जा शिविरहरुमा बिमारीलाई ताजा हावाले उपचार गरिन्थ्यो ।
जब १४ औं शताब्दिमा ब्लाक डेथ फैलियो । यो कसरी भयो, कहाँबाट आयो र के गर्ने ? मान्छेलाई केही त थाहा थिएन । आधुनिक युगसम्म पनि रोगका लागि मान्छेले देवताको रिस, दानवको दुष्कर्म र खराब हावाको बहावलाई दोष दिन्थे । ब्याक्टेरिया र भाइरसको अस्तित्वबारे पनि मान्छे जानकार थिएन । मान्छेहरु देवदूत र परीको अस्तित्वमा विश्वास गर्थे तर यो कल्पनासम्म गर्दैनथे कि एक थोपा विषाक्त पानी शिकारीको प्रहारभन्दा बढी प्राण घातक हुन सक्दछ ।
जब ब्लाक डेथ र बिफर देखा परेका थिए, अधिकारीहरुसँग देवता र सन्तहरुको सामूहिक प्रार्थना आयोजन गर्नु बाहेक अरु उपाय हुन्थेन । महामारीविरुद्ध लड्न यसले कुनै मद्दत गर्थेन । बरु उल्टै जब मान्छे प्रार्थनाका लागि भेला हुन्थे, सामूहिक संक्रमणको शिकार बन्दथे ।
विगत शताब्दि यता वैज्ञानिक, डाक्टर र नर्सहरुले महामारीका कारण र त्यसलाई प्रतिकार गर्ने साधनबारे सूचना र ज्ञान आदान प्रदान गर्न थाले । रोगहरु कसरी उत्पति हुन्छन् र कस्ता रोगहरु बढी बिषाक्त हुन्छन भन्ने विश्लेषण गर्ने सिद्धान्तहरु बने । वंशाणु विज्ञान वैज्ञानिकहरुलाई रोगहरुको निर्देशन पुस्तिकाको जासुसी गर्न सजिलो बनायो । मध्ययुगको ब्लाक डेथ के कारणले भएको थियो, कहिल्यै पत्ता लागेन तर कोरोना भाइरसको वास्तविकता वैज्ञानिकहरुले २ हप्ता नबित्दै पत्ता लगाए । दुई हप्ताभित्रै संक्रमित मानिसलाई भरपर्दो परीक्षण गर्न सकिने विधि फेला पारे ।
वैज्ञानिकहरुले जब महामारीको कारण पत्ता लगाउँछन्, महामारीविरुद्ध लड्न धेरै सजिलो हुन्छ । सोपहरु, एन्टिबायोटिकहरु, अन्य सुधारिएका स्वास्थ्य साधनहरुले महामारी विरुद्धको मानवताको संघर्षलाई नयाँ उच्चाईमा पुर्याउँदछ । सन् १९६७ मा १५ मिलियन मान्छेहरु बिफरबाट प्रभावित भए र त्यसमध्ये २ मिलियन मरे । तर तुरुन्तै बिफर विरुद्धको खोप पत्ता लाग्यो । सन् १९७९ मा विश्व स्वास्थ्य संगठनले बिफरमाथि मान्छेले विजय हासिल गरेको घोषणा गर्यो । सन् २०१९ को तथ्यांकमा विश्वमा एकजना पनि मान्छे बिफरबाट मरेन ।
यो इतिहासले हामीलाई अहिलेको कोरोना भाइरस महामारीको बारे के सिकाउँछ त ?
पहिलो– बोर्डर बन्द गरेर मात्र आफुलाई स्थायीरुपमा जोगाउन सकिँदैन । हामीले यो बिर्सनु हुँदैन कि भूमण्डलीरकण नभएको मध्ययुगमा पनि महामारी द्रुत गतिमा फैलिएको थियो । यदि कसैलाई आफ्नो वैश्विक सम्पर्कलाई सन् १३४८ को इंगलैण्डको तहमा झार्यो भने पनि त्यो पर्याप्त हुँदैन । यदि हामी अगलावबाट यो समस्या हल गर्न चाहन्छौं भने मध्ययुगमा फर्किएर पनि हुँदैन, ढुंगे युगमा नै पुग्नु पर्ने हुन्छ । के त्यो गर्न सकिन्छ ?
दोस्रो– इतिहासले यो बताउँछ कि वास्तविक प्रतिरोध र सुरक्षा उपयुक्त वैज्ञानिक सूचनाहरुको आदानप्रदान र विश्वव्यापी ऐक्यबद्धताबाट मात्र सम्भव छ । जब कुनै देश कुनै महामारीमा पर्दछ, उसले बिना कुनै आर्थिक षडयन्त्रको सोच अरु देशलाई सही सूचना दिनु पर्दछ र अरु देशले पनि त्यसलाई पत्याउनु पर्दछ । सबैले एकअर्काप्रति सहयोगको हात फैलाउनु पर्दछ । आज चीनले बाँकी विश्वलाई कोरोना भाइरसबारेका महत्वपूर्ण सुचना र अनुभवहरु बाँकी विश्वलाई बाँड्न जरुरी छ । तर यसका लागि उच्चस्तरको अन्तर्राष्ट्रिय विश्वास र सहकार्य आवश्यक छ ।
प्रभावकारी क्वारेन्टाइन मापकहरु निर्माण गर्न पनि अन्तर्राष्ट्रिय सहकार्य चाहिन्छ । यो आधारभूत बिषय हो । तर देशहरुले एकअर्कालाई विश्वास गरेनन् भने त्यो पनि सम्भव हुने छैन । यदि कुनै देशमा १०० जनामा कोरोना संक्रमण देखियो भने के त्यो देशलाई तुरुन्तै बन्द गर्नु राम्रो हुन्छ ? निश्चय नै त्यो कुरा अरु देशको व्यवहारमा निर्भर गर्दछ । कुनै शहरलाई बन्द मात्र गर्दा आर्थिक संकट आइलाग्ने हुन्छ । अरु देश तपाईलाई सहयोग गर्न आउँछन् भने उनीहरुका मानक पनि मान्नु पर्ने हुन्छ । तर कसैलाई लाग्दछ कि अरु देशले तपाईलाई पुरै वेवास्ता गरेका छन्, तपाईलाई अरुको मापकहरु लागू गर्न हिचकिचाहट हुनेछ ।
कुनै पनि देशमा महामारी फैलिनु भनेको पुरै मानवजाति जोखिममा पर्नु हो । किनकी भाइरस विकसित हुँदै जान्छन् । कोरोनाजस्ता भाइरसको उत्पति थलो चमेराजस्ता पशु हुन् । जब ती पशुबाट मान्छेमा हामफाल्छन्, शुरुवातमा पर्याप्त अनुकुलन भएका हुँदैनन् । प्रारम्भिक अवस्था कम जोखिमपूर्ण हुन्छ । तर जति धेरै समय ती मान्छेमा रहन्छन्, उति नै मान्छेभित्र बलिया हुँदै जान्छन् । तिनी मान्छेको प्रतिरोध प्रणालीसँग लड्न सक्ने हुँदै जान्छन् । त्यसो भयो भने ती मानव जनसंख्यामा झनै छिटो फैलिन सक्दछन् ।
यो कुनै अनुमान नभएर एक तथ्य हो । सन् २०१४ मा इबोला फैलिहरेको बेला रिचार्ड पिटर्सनले प्रकोपहरुको श्रृंखलावद्ध वर्णन गरेका थिए । इबोला चमेरोबाट मान्छेमा हामफालेको थियो । तर त्यो मानव शरीरमा भन्दा चमेरोमा आश्रय लिन बढी उपयुक्त थिए । शुरुवातमा मान्छेको शरीर त्यसलाई अनुकूल भइरहेको थिएन । जब इबोलाको मोकाना संस्करण तयार भयो, त्यो शुरुवातको इवोलाभन्दा मानव शरीरमा ४ गुणाले बढी संक्रामक थियो ।
ठीक यही कुरा कोरोनाको बुहान, मिलान र तेहरान संस्करणमा हुन सक्दछ । तर त्यो चिनियाँ, इटालियन र इरानीहरुलाई मात्र नभएर तपाई हामी सबैका लागि जोखिम हो । तसर्थ हामीले प्रत्येक देशको प्रत्येक मानिसलाई जोगाउने तरिकाबाट सोच्नु पर्दछ । सन् १९७० मा बिफरको भाइरस विरुद्धको खोपले विश्वभरि नै त्यो हरायो तर एउटा मात्र मान्छे बाँकी रहेको भए सबैका लागि खतरा रहिरहन्थ्यो ।
पछिल्लो शताब्दिमा जति मानव जातिले बोर्डरलाई बलियो कहिल्यै बनाएको थिएन । तर स्वास्थ्य सेवा प्रणालीका बोर्डरहरु भनेका डाक्टर, नर्स र वैज्ञानिकहरु नै हुन जसले महामारीलाई भौतिक सीमानाले भन्दा बढी प्रभावकारी रुपले रोक्न सक्दछन । हामी धेरैजसो स्वास्थ्य सेवाको कुरा गर्दा राष्ट्रिय स्वास्थ्य प्रणाली बारे सोच्दछौं तर स्वास्थ्य राष्ट्रिय भन्दा बढी अन्तर्राष्ट्रिय प्रणाली हो ।
आज मान्छेले जेजस्ता गम्भीर संकट समाना गरिरहेको छ, त्यो कोरोनाको कारणले मात्र नभएर मानवबीचमा विश्वासको कमीले सिर्जना भइरहेको छ । महामारीलाई पराजित गर्न मान्छेले वैज्ञानिक विशेषज्ञहरुलाई, नागरिकले सार्वजनिक प्रशासनलाई र एउटा देशले अर्को देशलाई विश्वास गर्न जरुरी छ । बितेका केही वर्षहरुमा गैरजिम्मेवार राजनीतिज्ञहरुले जानाजान यस्तो विश्वासलाई कमजोर बनाएका छन् । परिणामस्वरुप हामी एउटा त्यस्तो विश्व नेताको अभावमा छौैं जसले कोरोना विरुद्धको लडाईलाई उत्प्रेरित गर्न, संगठित गर्न र वित्तिय जिम्मेवारी बीच समन्वय गर्न सकोस् ।
सन् २०१४ को इवोला महामारीको बेला अमेरिकाले त्यसप्रकारको नेतृत्व गरेको थियो । सन् २००८ को आर्थिक मन्दीको बेला समेत अमेरिकाले त्यो भूमिका खेलेको थियो । तर पछिल्ला वर्षहरुमा अमेरिकाले आफ्नो विश्व नेताको भूमिकाबाट आफै राजीनामा दिएको छ । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको अनुदान कटौती मात्र गरेको छैन, उसले यस्ता विषयमा आफ्नो विश्वस्तरको रुचि नभएको सन्देश दिने गरेको छ ।
जब कोरोना शुरु भयो, अमेरिका किनारमा बस्यो । र, अहिले प्रमुख भूमिका खेल्नबाट आफैं बञ्चित भयो । अब अमेरिकालाई अरुले विश्वानीय ढंगले पछ्याउन सक्ने अवस्था रहेन । त्यस्तो नेतालाई कसले पछ्याउँछ जसलाई आफ्नो मात्र चिन्ता हुन्छ ।
अमेरिकाले विश्व नेताको ठाउँ त खाली छोड्यो तर त्यो खाली कसैले भर्न सकेको छैन । बरु ठीक उल्टो जातिवादको भय, अगलाव र व्यवधानहरु अन्तर्राष्ट्रिय प्रणालीका बिशेषता बन्न पुगे । अन्तर्राष्ट्रियस्तरको विश्वास र ऐक्यबद्धता विना कोरोनालाई रोक्न सकिँदैन । भविष्यमा पनि हामीले यस्ता महामारीहरु सामना गर्नु पर्नेछ । प्रत्येक संकट एक अवसर पनि हो । आशा गरौं कि वर्तमान महामारीले मानवजातिलाई विश्वको जोखिमपूर्ण विखण्डनको अनुभूति दिनेछ ।
उदाहरणका लागि यो महामारीले युरोपियन युनियनलाई एक अवसर दिएको छ । यदि युरोपियन युनियनले कोरोना प्रभावित देशहरुमा पैसा, साधन र स्वास्थ्यकर्मीहरु पठाउन सक्ने हो भने युनियनको कमजोर हुँदै गएको भूमिका फेरि महत्वमा आउने छ । त्यसले के पुष्टि गर्ने छ भने युरोपियन युनियनको व्यवहारिक उपदेयता हज्जारौं भाषणको भन्दा बढी छ । यदि हरेक देशलाई आआफ्नो संकटको सामना गर्न एक्लाएक्लै छोडियो भने त्यो युनियनको लागि मृत्युको अँध्यारो सुरुङ बराबर हुनेछ ।
संकटको यस घडीमा एक जटिल लडाईं स्वयम् मानवताभित्र हुनेछ । यदि यो महामारीको परिणाम मान्छे-मान्छेबीच अविश्वास र विभाजन बन्न पुग्यो भने भाइरसले महान विजय हासिल गर्नेछ । जब मानिस एक आपसमा भिड्ने छन् भाइरस बढेर दोब्बर हुनेछ । ठीक विपरित यदि मान्छे मिले भने यो कोरोना विरुद्धको जीत मात्र हुने छैन, भविष्यमा आउने सबै जिवाणु विरुद्धको जित हुनेछ ।
(हरारी विश्व प्रसिद्ध लेखक, दार्शनिक तथा विश्लेषक हुन् । टाइम्समा प्रकाशित उनको एक लामो आलेखको संक्षेपीकृत भावानुवाद हामीले शीर्षक परिवर्तनसहित प्रकाशन गरेका छौं- सं.)
The post महामारीको वास्तविक औषधि विभाजन होइन अझ बढी सहकार्य हो appeared first on Sajha Post.