Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

अब पालो फिक्सिङरहित राजनीतिको

$
0
0

गत असोजमा सार्वजनिक लेखा समितिले भ्रष्टाचारको आरोप लगाएपछि एन्फाका सदावहार अध्यक्ष गणेश थापाले चेतावनी दिँदै भनेका थिए, ‘ममाथि कारबाही भए नेपाली फुटबल दुर्घटनामा पर्न सक्छ । यस्तो कदमले खेलाडीको भविष्य समेत अन्धकार हुनेछ ।’ सार्वजनिक लेखा समितिले ५८ करोड भ्रष्टाचार गरेको आरोपमा पद स्थगन राख्न सरकारलाई निर्देशन दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए ।

तर थापाको यस्तो चेतावनी र हजार प्रयासहरुले पनि उनीमाथिको कारवाहीलाई रोक्न त सकेन नै । बरु उनको चेतावनीविपरित नेपाली फुटबलमा नवयुगको सुरुवात भएको छ । लगत्तै ‘म्याच फिक्सिङ’को गम्भीर अपराधमा मुछिएका राष्ट्रिय टोलीका कप्तानसहित सिनियर खेलाडीहरु पक्राउ परेपछि नेपालको राष्ट्रिय फुटबल पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण भयो । पर्दा पछाडिका हिरोहरु रंगमञ्चमा देखिन थाले र नयाँ–नयाँ इतिहास रच्न थाले ।

जब वैकल्पिक राजनीति र पुरानो पुस्ताको विकल्पको कुरा सुरु हुन्छ, तब राजनीतिका ‘गणेश’हरु सिंहझै कुर्लिन थालिहाल्छन्, ‘खबरदार ! हाम्रो विकल्प खोजिए पृथ्वी घुम्न छोड्छ, हावा चल्न छोड्छ र सबैकुरा अबरुद्ध हुन्छन् ।’

यहाँ सजिलै बुझ्न सकिन्छ, मैदानमा भाइरसहरुको हालीमुहाली भइन्जेल नेपाली फुटबलाकाशमा अँध्यारो छाइरह्यो । जब एसएसपी सर्वेन्द्र खनालको अगुवाईमा भाइरस स्क्यान गरियो, तब ‘सिस्टम’को ‘ह्याङ’ सर्लक्कै रोकियो ।

कुनैबेला जसरी फुटबलमा गणेश थापाहरुको विकल्पबारे सोच्नु नै दुस्साहस मानिन्थ्यो त्यसरी नै अहिले नेपाली राजनीतिमा विद्यमान पार्टी र प्रमुख नेताहरुको विकल्प खोज्नु दुस्साहस नै मान्ने गरिएको छ । जब वैकल्पिक राजनीति र पुरानो पुस्ताको विकल्पको कुरा सुरु हुन्छ, तब राजनीतिका ‘गणेश’हरु सिंहझै कुर्लिन थालिहाल्छन्, ‘खबरदार ! हाम्रो विकल्प खोजिए पृथ्वी घुम्न छोड्छ, हावा चल्न छोड्छ र सबैकुरा अबरुद्ध हुन्छन् ।’ ‘हामी अमर अजर छौं, हामीलाई सकेजति आदर्शीकरण गर, आलोचना होइन’ जस्ता आशयका निशुल्क अर्तिका फोहोरा छुट्न थाल्छन् ।

Sudarshan Khatiwadaनेताका कुरा छाडौं, तिनै पुराना नेताहरुको आसपास हुर्किएका नयाँ पुस्ताका नेताहरु समेत पार्टीको विद्यमान संरचना र नेतृत्व प्रणालीलाई निर्विकल्प र अपरिवर्तनीयको रुपमा व्याख्या र विश्लेषण गर्न आफ्नो सम्पूर्ण युवा जोश–जाँगर, बुद्धि–क्षमता लगाइरहेका भेटिन्छन् । हामी भाषणमा नेतृत्वले अर्को चुनाव होइन, अर्को पुस्तालाई सम्बोधन गर्नुपर्छ भनिरहन्छौं रत्नपार्कको सस्तो जुत्ता पसलको माइकिङजस्तै तर हामी आफैं पुरानो पुस्ताका पदाधिकारी नेताहरुको आशिर्वादबिना चुनाव नजितिने भयले उनीहरुको महिमागानमा मस्त हुन्छौं । यसलाई पनि एकप्रकारको आत्मसमर्पण र फिक्सिङ नै मान्न सकिन्छ ।

हामीलाई थाहा छ, राजनीतिमा पनि खेलाडीहरु पुराना छन्, प्रदुषित पनि छन् । जब खेलाडी खराब हुन्छन्, खेल खराब हुने भइहाल्यो । अनि हामीलाई यो पनि थाहा छ कि यो जसरी पनि बदल्न जरुरी छ । तर कसले बदल्ने ? कसरी बदल्ने ? कसै न कसैले सुरुवात गर्नुपर्ला ! कसै न कसैले बनिबनाउ पुरानो व्यवस्था र अवसरसँग सम्बन्ध विच्छेद गर्ने हिम्मत गर्नुपर्ला ! नयाँ सुरुवात गर्दा पुरानाबाट स्कूलिङबाट दिक्षितहरुको स्वभाविक र तिव्र आलोचनाको शिकार हुनुपर्ला । तर के सोफेन्हावरले भनेजस्तै सत्यका तीन चरणहरुबाट गुज्रन हामी तयार छौं ? पहिला अस्वीकार गरिने, त्यसपछि प्रतिरोध गरिने र अन्त्यमा स्वयम्सिद्ध सत्यको रुपमा स्वीकार गरिने सत्यको कठिन यात्रामा हामी हिँड्न सक्छौं त ?

फुटबलमा भ्रष्टाचारविरुद्ध अभियान चल्यो । म्याच फिक्सिङ पत्ता लाग्यो । तर राजनीतिमा यो कहिले सम्भव होला ?

बसमा, चिया पसलमा, चौतारीमा, घरमा, अफिसमा, माइतमा, ससुरालमा जहाँ पनि राजनीतिक गफ हुन्छ, जहाँ दल र दलका नेताहरुलाई गाली गरिन्छ । उनीहरुप्रति अविश्वास व्यक्त गरिन्छ । राजनीतिक दलका पुराना कार्यकर्ता पनि सार्वजनिक स्थानमा बसेर आफ्नो दलको पक्षमा छाती पिटेर बचाऊ गर्न सक्ने अवस्थामा छैनन् । तर पनि पुरानोप्रतिको आवद्धता कमजोर धागोको त्यान्द्रो जतिले भने पनि जोगाइरहेको छ ।

आखिर कसले छिनाउन सक्ला पुरानोप्रतिको त्यस्तो कमजोर आवद्धता ? के राजनीतिमा ‘सर्वेन्द्र खनाल’ हरु पस्नुपर्ने बेला भएको हो ? कि विमल घर्ती र नवयुगहरु ओझेलमा पार्ने गरेर अल्छी पाराले ‘गोठ ओगटिरहेका’ बुढा पुस्ताहरु आफैं किनारामा जालान् ? दिवंगत सुशीलको कुरा नगरौं । प्रचण्ड अझै १०–१५ वर्ष पार्टीको नेतृत्व कब्जा गर्ने मनस्थितिमा छन् । केपी ओलीहरुको बोली हामीले सुनेकै छौं । यहाँको राजनीतिक समिकरण फेर्न र नयाँलाई स्थान दिन कसले खेलिदिने क्याटालिस्टको भूमिका ?

उभिन त सबै उभिएकै छन्, हामी सतिसाल बनेर उभिनुपर्नेछ । पुराना भित्ताहरु सबैले कोतरिरहेका छन् बिस्तारै, अब हामीले केही प्रयासमै त्यसलाई भत्काउनुछ । सबै हिँडिरहेकै छन्, तर हामीले दौडनुपर्नेछ ।

खोइ कसैले तत्काल यो आँट गर्ने हिम्मत उठाउला जस्तो लाग्दैन । किनकी हामी अहिलेसम्म डरद्वारा शासित भयौं । जब डरभन्दा सपना ठूलो हुन्छ हामी डरलाई जित्न सक्छौं । हामी साँच्चिकै पराजित मानसिकताको दास बनेर बाँचिरहन्छौं जुन भाग्यको भन्दा ‘म्याच फिक्सिङ’को ग्रहणमा अँधेरिएको छ । हामी फगत बुख्याचाजस्तो जीवन बाँचिरहेका छौं । किनकी हाम्रो मानसपटलमा नयाँको चाहनाले घर गर्छ तर योजना र सपनाले घर गर्न सक्दैन । मध्यम वर्ग बढ्दै गएको हाम्रोजस्तो समाजमा मासु खान चाहने तर रगत देख्न नचाहने भिडको बाहुल्यता बिस्तारै बढ्दो छ । यसको प्रतिफल त्यही हो, जे हामी दैनन्दिन भोगिरहेका छौं ।

फुटबलमा भ्रष्ट नेता गलहत्याइए, म्याच फिक्सर खेलाडी निकालिए, नवयुगको सुरुवात भयो । अब त्यसरी नै राजनीतिमा पनि तत्काल त्यस्तै कठित तर सम्भव काम सुरु गर्नु जरुरी छ । हामीले विगत धेरै बिगारिसक्यौं । हामीले हाम्रो आगत धेरै उज्यालो बनाउनुछ । समृद्धिमा हामीभन्दा कोषौं टाढा पुगिसकेका राष्ट्रहरुलाई हामीले भेट्टाउनु छ आफ्नो मौलिकता नगुमाइकन ।

उभिन त सबै उभिएकै छन्, हामी सतिसाल बनेर उभिनुपर्नेछ । पुराना भित्ताहरु सबैले कोतरिरहेका छन् बिस्तारै, अब हामीले केही प्रयासमै त्यसलाई भत्काउनुछ । सबै हिँडिरहेकै छन्, तर हामीले दौडनुपर्नेछ । राजनीतिमा त्यो असाधारण उत्कृष्ट हामी किन हुनसक्दैनौं यदि आवश्यक नै छ भने जस्तो कि फुटबलमा सम्भव भयो । आउनुहोस्, फुटबलमा जस्तै राजनीतिमा पनि पर्दाफास गरौं पुराना नेताहरुको म्याच फिक्सिङ । पट्यारलाग्दो पुरानो खेल्ने तरिका फेरौं । हामीसँग स्रोत, साधन र अथाह सम्भावना छ । यसलाई परिचालन गरेर समृद्धिको गोल गर्न सक्ने नयाँ पुस्तामा यो जिम्मेवारी हस्तान्तरणको प्रयासमा जुटौं । राजनीतिमा पनि नवयुग जन्माऊँ । राजनीतिमा पनि ‘नवयुग’ सम्भवछ ।

The post अब पालो फिक्सिङरहित राजनीतिको appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles