प्राणघातक कोराना भाइरसको संक्रमण चीनमा द्रुत गतिले घट्न थालेका छ । महिनाको शुरुवातमा एक भयावह स्थिति थियो । यो अपेक्षा बढेको थियो कि राष्ट्रपति सीले चाँडै कोराना फैलिएको हुवेई प्रदेशको राजधानी शहर बुहानको भ्रमण गर्ने छन् ।
नभन्दै मंगलवार राष्ट्रपति सी बुहान आए । उनी बुहान आएकोमा आश्चर्य मान्नुपर्ने कारण बाँकी थिएन । यो भ्रमण यस कुराको प्रष्ट सन्देश थियो कि चीनले गत डिसेम्बरदेखि यता करिब ८० हजार मानिसमा संक्रमण भएको र तीन हजार भन्दामाथि चिनियाँहरुको ज्यान लिएको कोरोनामाथि जनयुद्ध जितिसकेको छ ।
उनले भने कि करिब ६० मिलियिन जनसंख्या भएको पूरै प्रदेशलाई बन्द गर्नु, प्रदेशको आन्तरिक अवस्थालाई सामान्य राख्नु र स्थितिमाथि नियन्त्रणको पूर्ण प्रत्याभूति हुनु आवश्यक पर्दा कठोर कदम चाल्न सक्ने चीनको क्षमताको प्रतिफल हो ।
सीलाई यो विजय चाहिएको थियो । यहाँसम्म कि आधिकारिक समाचार पत्र सिन्ह्वाले उनको शासनकालको ८ वर्षमा कोरोनाले सृजना गरेको सार्वजनिक स्वास्थ्य समस्यासंगको लडाइँ सबैभन्दा कठोर परिक्षा थियो भनेर स्वीकार गर्यो । यसले चीन कसरी शासित भइरहेको छ भन्ने प्रष्ट संकेत दिन्छ । सीलाई माओत्से तुपछिका सर्वाधिक शक्तिशाली नेता त्यसै भनिएको हैन भन्ने पुष्टि पनि गर्दछ ।
यो विजयले कोरोना फैलिएको प्रारभ्भिक दिनका असन्तुष्टिहरुलाई कमजोर बनाएको छ । साथै यो सिद्ध गरेको छ कि कर्मचारीतन्त्रको जडशैली र सूचना प्रवाहको समस्याका बाबजुद एक समर्पित राज्य आफ्ना दायित्वहरुबाट विमुख हुन सक्दैन ।
तर कोरोनामाथिको युद्धमा चीनका दायित्वहरु यतिमा मात्र सीमित छैन । अब चीनले बाँकी विश्वलाई पनि कोरोना विरुद्धको लडाई कसरी लड्न सकिन्छ भनेर अनुभव र पाठहरु बाँड्नु पर्ने भएको छ । बुधबार चीन सरकारले घोषणा गर्यो कि ७ सदस्यीय मेडिकल टिम चीनले इटाली पठाउँदैछ । इटाली अहिले कोरोनाबाट सबैभन्दा प्रताडित देश बन्न पुगेको छ । त्यो देश पूर्णतः बन्द छ भन्ने समाचार आइरहेका छन् ।
ठीक त्यही दिन विश्व स्वास्थ्य संगठनले अब कोरोना भाइरस एक विश्वव्यापी महाव्याधी बनेको करिब १ लाख २५ हजार मानिसमा संक्रमण भइसकेको र हजारौंको ज्यान गइसकेको तथ्यांक सार्वजनिक गरेको थियो । जबकी चीन भने करिब दुई महिनाको राष्ट्रिय जीवन र अर्थतन्त्रमाथिको अवरोधपछि सामान्य अवस्थातिर फर्किरहेको छ ।
यो राष्ट्रिय संकटको वेला चिनियाँ नेतृत्वले अनेक प्रकारका तर्कहरु धैर्यतापूर्वक सुन्न सक्यो । कोरोना फैलिएका प्रारम्भिक दिनहरुमा असन्तुष्टिहरु व्यापक भएका थिए । देश बाहिर मात्र हैन, देशभित्रै नेतृत्वको क्षमताबारे अनेक प्रश्न उठ्न थालेका थिए । मान्छेहरु सन् २००२ को सार्स फैलिएको समय सम्झिन थालेका थिए ।
सार्स एक प्रकारको श्वासप्रश्वासमा समस्या सृजना गर्ने सिन्ड्रम थियो । विचरा सरकार, त्यतिखेर आफै झुक्किएको थियो । तर यसपटक सरकार झुक्किएन ।
चिनियाँहरु सार्स र कोविद एउटै परिवारका भाइरस हुन भन्ने विश्वास गर्दैछन । आज स्थिति बिल्कुल फरक छ । कोरोना भाइरसको महासंकट चिनियाँ कम्युनिष्ट पार्टी र यसको नेतृत्व वृत्तको उच्चतालाई सिद्ध गर्ने अवसर बनेको छ ।
एक लोकप्रिय चिनियाँ उखान छ– एउटैचीज तीनपटक हुँदैन । प्रारम्भिक अनुसन्धान र जनसूचनाका लागि सरकारले गरेका लापरवाहीहरु फेरि दोहोरिन्छन् भन्ने थिएन । सरकारमाथि जनताको विश्वास पुनर्स्थापित गर्न त्यो दुर्भाग्यलाई लामो जान दिनु हुँदैनथ्यो । यसपटक सरकारले अलिक फराकिलो तरिकाले काम गर्यो । झट्टै आधिकारिक निकायहरु बनायो । सरकारी अधिकारी, स्वास्थ्य समस्या अन्वेषक, मेडिकल प्राक्टिसनर, औषधि व्यवसायी, अन्य सरोकारवाला यहाँसम्म कि बिमारी परिवारका सदस्यहरुको समेत प्रतिनिधित्व हुने गरी एक आयोग बनायो ।
हुनत चिनियाँ अधिकारीहरु शुरुवातमा खासै गम्भीर थिएनन् । उनीहरु आफ्ना कमजोरीलाई लुकाउने र पार्टीको हितमा सरकारी कदमहरुको प्रोपागण्डा गर्ने मनस्थितिमा देखिन्थे । तर प्रोपागण्डको राजनीति सधै फलदायी हुन्थेन । जनताका गुनासालाई जति नै रोक्न खोजे पनि ती कुनै न कुनै रुपमा अभिव्यक्त भइरहेकै थिए । यहाँ सम्मकी सामाजिक सञ्जालमा लागू गरिएको नरम सेन्सरसीपले पनि कुनै फाइदा भइरहेको थिएन ।
गत महिनाको अन्त्यतिर जब देशका अधिकांश भाग बन्द थिए, मानिस घरमै बस्न बाध्य थिए, चिनियाँ अधिकारीहरुले ५ भाषामा ‘महामारी विरुद्धको चिनियाँ लडाइँ’ नामको एक पुस्तिका प्रकाशित गरी बाँड्न खोजेका थिए । त्यस पुस्तिकामा कोराना विरुद्ध लड्न चिनियाँ सरकारले के गर्दैछ र चीनको समाजवादी प्रणाली त्यसका लागि किन उपयुक्त छ भन्ने बुझाउन खोजिएको थियो । यो पुस्तिकाकोे उद्देश्य पार्टी र राज्यको शक्ति कोरोना विरुद्ध लड्न सक्षम छ भनेर जनतामा विश्वास जगाउनु थियो ।
तर अधिकारीहरुले राष्ट्रिय मुडलाई ठीक ढंगले आकलन गरिरहेका थिएनन् । यसबारे एउटा सरकारी टेलिभिजनमा एक प्रेस वक्तव्य आइसकेको थियो । तर जब अनलाइनहरुले यसबारे आलोचना गरे, त्यो काम रोकियो । मार्च ६ मा नगरका नवनियुक्त पार्टी सचिव वाङ जोङलिङले कोरोना विरुद्ध लड्न ‘सीलाई सुन, पार्टीलाई पछ्याउँ, पार्टी नीतिको अनुशरण गर’ अभियान चलाउन खोजेर उपहासको पात्र बनेका थिए ।
यो मुर्खतापूर्ण अभियानबाट जनता क्रुद्ध थिए । सामाजिक सञ्चालमा आक्रोस र उपहास व्यक्त भइरहेका थिए । उनीहरुले सरकारी अधिकारीलाई वाङको अभिव्यक्ति अनलाइनबाट हटाउन माग गरेका थिए ।
वाङको यो गलत कदम जनसम्पर्क कार्यप्रति उनको असक्षमता मात्र थिएन, बरु चिनियाँ ब्युरोक्रेसीको सोच्ने तरिकाको भद्दा भण्डाफोर थियो । सायद उनी यही सामन्ती सोचबाट प्रेरित थिए कि जनता सधै राज्यप्रति अनुगृहित भइदिनु पर्दछ र सरकारी अधिकारीहरुको काम राज्यको पक्षमा प्रोपागण्डा गर्नु मात्र हो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले अधिकारीहरुलाई ठीक ठाउँमा हिर्काएका हो । उनीहरुले भने– यस्तो महामारीको बेला के को राज्य र पार्टीको गुणगानका लागि प्रोपागण्डा ? सरकारले रोग विरुद्ध जे गर्नु पर्ने हो भटाभट गरोस् । त्यसो गर्ने उत्तरदायित्व र अधिकार दुवै राज्यको हो । त्यसबापत जनताले राष्ट्रपति, पार्टी र राज्यका नाममा भजन गाइदिनु पर्दछ भन्ने छैन ।
बुहान भ्रमणको क्रममा राष्ट्रपति सीले शहरका बासिन्दाको प्रसंशा गरे । उनले बुहानबासीलाई चिनियाँ भावनाका जिउँदाजाग्दा नायकहरु भने । कोरोना विरुद्ध बुहानबासीको योगदान, बलिदान र समर्पणको गुणगान गरे । अन्ततः सीले भने, ‘कम्युनिष्ट पार्टी र चिनियाँ राज्य बुहानबासीप्रति कृतज्ञ छ ।’
सीको यो सहिष्णु अभिव्यक्तिले क्वारेन्टाइनमा लामो समय बस्नु पर्दाका पीडाहरु भुल्न मान्छेलाई मद्दत गर्यो । अझ चाखलाग्दो कुरा सी बुहानमा हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाइनहरुले कोरोना विरुद्ध शहरबासीहरु कसरी लडेका थिए भन्ने चोटिला उदाहरणहरु पेश गर्न व्यस्त रहे । एक डाक्टरले त्यो फोटो समेत देखाएकी थिइन जसमा एक बिमारी उनको सामु हात फैलाउँदै मरेका थिए र त्यो फोटो सरकारी अधिकारीहरुले सेन्सर गरेर हटाइ दिएका थिए ।
सामाजिक सञ्जाल र अनलाइनमा ती लेखहरु पुन संस्करण गरिएका थिए जुन सेन्सर गरेर सरकारी अधिकारीहरुले हटाएका थिए । ती मध्ये कतिपय हिब्रु लगायत विदेशी भाषामा पोष्ट गरिएका लेख समेत थिए । यसरी के देखियो भने बुहानमा सामाजिक सञ्जाल आफैमा एक जनप्रदर्शनजस्तो बन्न पुग्यो ।
एक लेख अनुसार बुहान नगर अस्पतालको इमर्जेन्सी विभाग प्रमुख आई फेन कोराना भाइरसको सूचना पाउने पहिलो व्यक्ति थिइन् । उनले डिसेम्बर १६ मा त्यस प्रकारको एक बिमारीको सामना गरेकी थिइन र डिसेम्बर ३१ मा आफ्ना उच्च अधिकारीहरुलाई त्यसबारे विधिवत् जानकारी गराएकी थिइन् । दोस्रो व्यक्ति उनका साथी आँखाको डाक्टर लि वान लिङ थिए, जसले यो सुचना सामाजिक सञ्जालमा चुहाई दिए ।
लिले गलत अफवाह फैलाएको भनेर उनलाई पुलिसले पक्रिएको थियो र पक्राउ अवस्था मै भाइरसकै कारण उनको मृत्य भएको थियो । यो घटनाले बुहानमा ठूलो जनप्रदर्शन निम्त्यायो । लेखहरुमा यो पनि भनिएको छ कि भाइरसको सुचना गरेबापत अधिकारीहरुले फेनलाई समेत हप्काएका थिए र आइन्दा यस्तो कुरा नगर्न चेतावनी दिएका थिए ।
यस्तो नसोचौं कि फेनका अन्तर्वार्ताहरुले कोरानाबारेको प्रारम्भिक जानकारी दिन सरकारी अधिकारीलाई बाध्य पार्यो । यहाँसम्म कि हुबेइ, बुहान र पुरै राष्ट्रिय स्तरका स्वास्थ्य अधिकारीहरुले त्यस्तो भाइरसकोे अस्तित्व हुनै नसक्ने भनेर राष्ट्रपति सीलाई रिपोर्ट गरेका थिए । तर विस्तारै सरकारी बयानहरु फेरिन थाले जब संक्रमण तीव्र हुन थाल्यो । जनवरी २० सम्म स्वास्थ्य अधिकारीले कोरानाको अस्तित्वबारे शंका गरि रहे जबकी राष्ट्रपति सीले सार्वजनिक रुपमै कोरोना रोकथाममा लाग्न आग्रह गर्दै थिए ।
ती अधिकारीहरुले राष्ट्रपति सीका भनाईलाई पनि किन बारम्बार अस्वीकार गरे, यो प्रश्न अझै अनुत्तरित छ । तर यो प्रश्नको उत्तर कोरानाबाट मारिएका बिमारीमा आफन्तहरुले पाउँनै पर्दछ । अन्ततः एउटा यस्तो स्थिति आयो, सारा कमाण्ड राष्ट्रपति सीले आफैले लिनु पर्यो । यथार्थमा कोरोना विरुद्धको लडाई सीको नेतृत्वमा एउटा अर्को जनयुद्ध नै थियो जस्तो कि कम्युनिष्ट पार्टीले क्रान्तिकालमा माओको नेतृत्वमा जनयुद्ध लडेको थियो ।
(लेखक हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टका बेइजिङ स्थिति सम्पादकीय सल्लाहकार हुन् )
The post कोरोना भाइरस विरुद्ध चीनले जितेको अर्को जनयुद्ध appeared first on Sajha Post.