कम्युनिष्टहरुले दुई लाइन संघर्षको कुरा गर्छन् । तर, माओवादीभित्र अनौठो संघर्ष देखियो । माओवादीको विभिन्न टुक्रामा विभाजन भएको पालुङटार बैठकमा तीनवटा गुट देखा पर्यो । यो उनीहरुको दुईलाइन संघर्ष हुन्छ भन्ने पुरानो मान्यतासँग मिल्दैन । तीनवटा गुट भएर तीनलाइनको संघर्ष भए । हैन, वैचारिकरुपमा त दुई लाइन नै थियो भन्न सकिन्छ, प्रचण्डको त लाइन नै होइन भन्न नि सकिन्छ । तर, कुनै पनि विचारको कुराले कुनै पनि गुट निर्माण गर्छ भनेर मान्ने हो भने त तीनवटा गुट हुनै हुँदैनथ्यो नि त ! तीनवटा गुट भएपछि त लाइनको हिसाबले दुईवटा थियो कि तीनवटा थियो त ? अथवा ती तीनवटै कुनै लाइन नै थिएनन् कि ? भन्नेतिर पनि बहस हुनसक्छ ।
माओवादीमा त्यतिबेला वैचारिक संकट थियो । पार्टीले आत्मसाथ गरेको दर्शन र बोकेर आएको मुद्दाको बीचमा अन्तरविरोध देखियो । दक्षिण एसियाको हरेक समाजमा कस्तो देखिन्छ भने कम्युनिष्ट पार्टीको नाममा आएको होस् वा कांग्रेस पार्टीको नाममा आएको होस् वा अरु कुनै पार्टीको नाममा आएको होस् जुनसुकै राजनीतिक शक्तिभित्र ब्राम्हणवाद बहुतै बलियो छ । माओवादीकै इतिहासलाई केलाएर हेर्ने हो भने पनि शुद्धताका अनेक परिभाषा थिए । आफ्नै महिला कमरेडहरुले त कम्ब्याट लाउनु परेको छ । तर, गाउँघरमा केटी मानिसले पाइन्ट लगाए भनेर पाइन्ट काटिन्थ्यो । हिन्दी गीत सुन्नुहुन्न, क्रान्तिकारी गीत बाहेक सबै बुर्जुवा गीत हुन्, सुन्यो भने कानै अपवित्र हुन्छ भन्ने शुद्धतावादी धारणा माओवादीभित्र थियो ।
माओवादीमा बाहुनवाद
त्यो चाहिँ कुनै मार्क्सवाद वा माओवादीले सिकाएको कुरा होइन । त्यो चाहिँ ब्राम्हणवाद हो । त्यो माओवादीभित्र बलियो थियो भन्ने कुरा पछि प्रमाणित हुँदै आयो । अहिले आउँदा त माओवादीको एउटा खेमा एमालेमा मिसिएको छ, अर्को खेमा वैद्य समूहमा विभक्त छ । उनीहरु हामीले गर्न त खोजिएको हो तर सकिएन भनेर थाकेर बसिरहेका छन् । अर्को खेमा विप्लव भएर हिंडेको छ । अर्को खेमा नयाँ शक्ति हुँदै समाजवादी बनेको छ । आखिर विचारको लडाईं थियो कि पदको लागि लडाईं थियो भन्ने कुरा एक ठाउँमा छ, अर्को कुरा सबै पक्ष विचार गर्दा पक्का छ कि विभाजनको पछाडि ब्राम्हणवादको महत्वपूर्ण भूमिका रह्यो ।
जब समावेशिताको मुद्दामा गइन्छ, ब्राम्हणहरुले लिइरहेको र शासन गरिरहेको महत्वपूर्ण पदहरु र शक्तिको महत्वपूर्ण अंश भाग लाग्ने भयो । समानुपातिकको मुद्दाले जसरी संसदवादी शक्तिहरु र बाह्य संस्थापनमा तरंग ल्याइदियो, त्यो तरंग माओवादीभित्र पनि देखियो ।
ब्राम्हणवादको अर्को खुबी भनेको व्यक्तिगत अहम्लाई पनि सैद्धान्तिक खोल ओढाउँछ । वैद्य समूह अथवा नेकपा ड्यास माओवादीको प्रशिक्षण कार्यक्रममा संयोगवश म पनि पुगेको थिएँ । त्यहाँ मैले दर्शकदीर्घाबाट भनेको थिएँ- नेपालका कम्युनिष्टहरु चुम्बकजस्ता छन् । जति टुक्रा भएपनि त्यसमा उत्तरी र दक्षिणी ध्रुव निस्किरहन्छन् । यो तपाईंहरुले बनाउनु भएको नयाँ पार्टीमा पनि उत्तर र दक्षिण ध्रुव छिट्टै निस्कन्छ र छिट्टै तपाईंहरुको पार्टी फुट्छ । पछि फुट्यो पनि ।
माओवादीमा वैचारिक संकट
त्यसो त, माओवादीमा अगाडि बढ्न संकट चुनवाङ बैठकदेखि नै सुरु भएको थियो । विद्रोहमा जाने कि शान्ति प्रक्रियामा जाने भन्ने निर्णय त्यहीँ भएको हो । माओवादीले चुनवाङ बैठकबाट जुन राजनीतिक बाटो तय गर्यो, त्यो भनेको अब लडाईंबाट जित्न सकिँदैन । सिधा भाषामा भन्दा युद्धबाट जित्न सकिँदैन भन्ने नै हो । त्यसकारण शान्ति प्रक्रिया हुँदै राजनीतिको केन्द्रमा सिधै छिर्ने भन्ने निर्णय भयो ।
त्यतिबेलासम्म जुन जुन राजनीतिक पार्टीहरु संसदीय व्यवस्था अन्तर्गत थिए, उनीहरु दुश्मन थिए । चुनवाङ बैठकपछि उनीहरु मित्र भए । मित्र शक्तिसँग सहकार्य गर्ने भनेर १२ बुँदे सहमति गरेको हो । यदि विद्रोहमा जाने भन्ने कुराको स्पष्ट खाका माओवादीको कुनै पनि गुटसँग यदि थियो भने त्यो कुरा चुनवाङ बैठकमै प्रस्फुटित हुन्थ्यो भन्ने लाग्छ मलाई । जतिबेला पालुङटारको बैठकमा विद्रोहको कुरा गरिएको थियो, त्यतिबेला शान्ति प्रक्रियामा आइसकेको पार्टीले कुनै पनि प्रकारको अर्को विद्रोह गरेर कब्जा हुन सक्छ जस्तो लाग्दैन । त्यो माओवादीको गलत अनुमान थियो ।
त्यतिबेला क्रान्तिकारी देखिन नेताहरु मुखमा संविधानसभा मनमा विद्रोह हुनुपर्छ भन्दै प्रशिक्षण दिँदै हिड्थे । तर विद्रोह भनेको के हो ? विद्रोहको लाइनलाई सफल बनाउन त हतियार नै उठाउनु पर्दैन नि । झ्याम्मै सेना लगाएर राज्यसत्ता कब्जा हुने मात्रै विकल्प देख्नु भुल हुन्छ । विद्रोही त भइरहन सकिन्छ फेरि पनि । म अहिले जे गरिरहेको छु त्यसलाई म विद्रोह नै ठान्छु । त्यसैले सैद्धान्तिक कलेवर लगाउन त सकिन्छ नै । तर विद्रोह गर्न सकिन्छ भन्ने विश्वास भएको भए माओवादीले चुनवाङबाट संविधानसभाको माग गरेर आउनु नै हुँदैनथ्यो ।
विद्रोह के हो, के होइन ?
त्यसो त, त्यतिबेला चौतर्फी घेराबन्दीमा थियो माओवादी । लडाईं शाही सेनासँग मात्रै त थिएन । अन्तर्राष्ट्रिय घेराबन्दी थियो । सेनालाई पनि अमेरिका र भारतको सहयोग थियो । त्यसैले माओवादीले शाही अमेरिकन सेना भन्थ्यो । यी यथार्थलाई बुझ्दाबुझ्दै पनि शान्ति र संविधानको बाटोमार्फत् विद्रोही शक्तिलाई एउटा नयाँ शान्तिपूर्ण राजनीतिक कोर्षमा छिराउनु पर्थ्यो ।
जनताको परिवर्तनको एजेन्डालाई इमान्दारितापूर्वक उठाइरहेर विद्रोही विद्रोही भइरहन सकिन्थ्यो । जनता गइरहन सकिन्थ्यो । तर त्यो कुरा उहाँहरुले नबुझेको होला जस्तो पनि मलाई लाग्दैन । माओवादीले जसरी ७ दिने असफल विद्रोहको रिहर्सललाई म सफल वा असफल भन्दिनँ । मुखमा संविधानसभा र मनमा विद्रोह भनेर दुईथरी भाषा बोल्ने कम्युनिष्ट पार्टीमा ठूलो समस्या छ । जे कुरा गर्न चाहनुहुन्छ, तपाईंले खुल्ला भन्नुपर्छ । राजनीतिमा दुईटा कुरा हुँदैन । तपाईंले देखाउने र गर्ने कुरा दुईटा हुन्छ भनेर दुनियाँलाई बुझाउन खोज्नुभयो भने त्यो कुरा सम्भव हुँदैन । असम्भव कुरा हो ।
यसरी माओवादी शक्ति आन्तरिकरुपमा कमजोर भयो । आन्तरिक शक्ति नै कमजोर भएपछि बाहिरी शक्ति कमजोर हुन राजनीतिमा अनौठो कुरा मान्नु भएन । त्यस्तो हुनु अस्वभाविक होइन । माओवादीलाई नरुचाइरहेका यहाँको संस्थापनले आक्रमणलाई तिव्रता दिए । उनीहरुले माओवादीलाई मात्र होइन, माओवादीले ल्याएको कुनै पनि एजेण्डालाई मन पराइरहेको थिएन ।
माओवादी विरोधी भाष्य र माओवादी विरुद्ध माओवादी
चाहे गिरिजाबाबुले नै संविधानसभाको नेतृत्व गरेको किन नहुन्, त्यो सारा परिवर्तनको एजेण्डाहरु त माओवादीको भन्ने थियो । शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नासाथ कृष्ण सिटौलालाई माओवादीको एजेन्ट भन्न थालेका थिए । यो सब भाष्यहरु जसले निर्माण गरिरहेका थिए नि कुनै प्रकारको राज्य पुनर्संरचनाको मुद्दा उठाउने नागरिक समाजका देवेन्द्रराज पाण्डेलाई पनि माओवादी । प्रोफेसर पिताम्बर शर्मालाई पनि माओवादी । कृष्ण खनाललाई पनि माओवादी । गिरिजाबाबुलाई पनि माओवादीलाई बोकेको भनेर माओवादीको एजेन्ट । कृष्ण सिटौलालाई पनि माओवादीको एजेन्ट ।
यो भाष्य कसले निर्माण गरिरहेको थियो ? यो भाष्य त संस्थापनले निर्माण गरिरहेको थियो । संस्थापनभित्र एउटा बलियो बौद्धिक तप्का थियो जुन राणा कालदेखि काठमाडौंमा बौद्धिक विरासत धानेर बसेको थियो पुरानो सत्ताको । कुलिनहरुको त्यस्तै अर्को तप्का सेनामा पनि छ । जुन पुनर्संरचना चाहँदै चाहँदैन । किनकी राज्यको पुनर्संरचना त सेनाको पनि लोकतान्त्रिकरणको कुरा हुन्थ्यो नि त । न्यायालय पनि पटकपटक राजनीतिमा सहभागी भइरहेको थियो पटकपटक ।
यी सबै कुराहरुले पहिलो संविधानसभा असफल नै भयो र दोस्रो संविधानसभासम्म पुग्दा माओवादी नै आफैं कमजोर बनिसकेको थियो । माओवादीको विरुद्धमा अर्को माओवादी बम पड्काएर लडिरहेको थियो । प्रचण्ड हिंडेको बाटोमा बम पड्काइरहेका थिए । आन्दोलनको रापताप पनि सेलाउँदै गइसकेको थियो । माओवादीको एउटा ठूलो शक्ति फुटिसकेको थियो । माओवादीबाट फुटेको शक्तिले पनि माओवादीलाई नै कमजोर बनाउन आक्रमण गरिरहेको थियो । स्वभाविकरुपमा यसले मत परिणामलाई प्रभावित पार्ने त भइहाल्यो ।
अभिभावकविहिन बन्दै परिवर्तनका एजेन्डा
जनताले त आश गर्ने ठाउँ खोज्छ । जब मतको राजनीति गर्नुहुन्छ भने विचार र शक्तिले जनतालाई आश दिलाउन सक्नुपर्छ । आश भयो भने मात्रै जनताले भोट दिन्छन् । अब माओवादी मात्रै कमजोर भएनन् । सम्पूर्ण परिवर्तनका एजेन्डाहरु कमजोर भए । यसलाई अभिभावकत्व लिने मानिस नै भएनन् । जसले परिवर्तनका एजेन्डाहरुको अभिभावकत्व लिन सक्छन्, उनीहरु लिन सक्ने अवस्थामा छैनन् । जसले अभिभावकत्व लिन चाहन्छन् उनीहरुसँग हैसियत छैन । यसर्थ परिवर्तनका एजेन्डाहरु अहिले टुहुराजस्ता भएका छन् ।
उदाहरण हेरौं- पहिलो संविधानसभा विघटन हुने बेलामा काठमाडौंका गल्लीहरुमा एकातिर जनजातिहरुको प्रदर्शन भइरहेको थियो, अर्कोतिर बाहुन संगठन, क्षत्री संगठनहरुको पनि प्रदर्शन भइरहेको थियो । सुदूरपश्चिममा अखण्ड सुदूरपश्चिमको प्रदर्शन भइरहेको थियो । यो अखण्ड सुदूरपश्चिम भन्ने थरुहटको विरुद्धमा हो भनेर प्रोजेक्ट गरिएको थियो । थारुहरुको संग्रहालय जलाइएको थियो । त्यतिबेला बाहुन संगठन र क्षेत्री संगठन बर्चश्वशाली हिसाबले काठमाडौंमा उपस्थित भइरहेको थियो । त्यो चाहिँ दोस्रो संविधानसभाको परिणामले जब राज्य पुनर्संरचनाका महत्वपूर्ण एजेन्डाहरु उल्टिने देखियो, अहिले तपाईं बाहुन संगठन, क्षत्री संगठन कतै देख्नुहुन्छ ? दृश्यमा । कहीँ छैन । किन बिलायो ? उसको मुद्दा जब संविधानसभा छिर्ने प्रतिनिधिहरुले बोकेर गइसके उनीहरु सडकमा किन चाहियो ? तर, जनजाति संगठनहरु त अहिले पनि सक्रिय छन् नि ।
पहिचानको मुद्दा बोक्नेहरु त अहिले पनि सक्रिय छन् नि । भनेपछि जसलाई चाहिएको थियो, उनीहरु अहिले पनि सक्रिय छन् । जसलाई चाहिएको थिएन, उनीहरु घर गए । किनभने ब्राम्हण संगठन, क्षत्री संगठन भन्नेमा नेतृत्वमा आउने मानिसहरु कांग्रेस र एमालेबाट थिए । अखण्ड सुदूरपश्चिमको नेतृत्व पछाडिबाट भीम रावल, शेरबहादुर देउवा, लेखराज भट्टहरुले गरिरहेका थिए । जुन पार्टीहरुले अन्तरिम संविधानमार्फत् परिवर्तनका एजेन्डाहरुलाई संस्थागत गर्छु भनेर कसम खाएका थिए, तिनै पार्टीभित्र पुरानो संस्थापन र पञ्चायतले संस्थागत गरेका राष्ट्रवाददेखि ब्राम्हणवादको विचारधारा बलियो गरी छिरिसक्यो ।
संघीयता जिन्दावाद तर जिल्ला टुक्र्याउन पाइँदैन भन्ने नारा लाग्न थाले । अखण्ड र खण्डको भाष्य कसरी आयो ? खण्ड र अखण्ड भन्ने हुन्छ कहीँ ? अखण्ड भन्ने कहीँ हुन्छ ? राजनीतिक विभाजनलाई यदि तपाईं खण्डीकरण मान्नुहुन्छ भने राजनीतिकरुपमा सीमा तोकेर ईकाईहरु विभाजन गरिने कामलाई खण्ड बनाएको मान्नुहुन्छ भने ७५ जिल्ला पनि त खण्ड हो । ७५ जिल्ला चाहिँ खण्ड होइन रे । त्यो चाहिँ अखण्ड हुनुपर्छ भन्ने । अनि पहिचान र सामर्थ्यका आधारमा संघीय संरचना बनाउने र स्थानीय निकायहरु बनाउने भन्ने कुरा चाहिँ खण्डीकरण गरेको आधारमा जुन व्याख्या गरियो, त्यो व्याख्या गर्ने मानिसहरु को थिए ? कोही नागरिक समाज थिएन । ती मानिसहरु पुरानै अवस्थामा फर्कन चाहने कांग्रेस र एमालेका प्रतिनिधिहरु थिए । त्यस्ता संगठनहरुमा तीनवटै प्रमुख पार्टीका प्रतिनिधिहरु थिए ।
(लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग साझापोस्टले गरेको कुराकानीलाई हामी क्रमशः प्रस्तुत गर्नेछौं- सं.)
यो पनि-
‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’
The post परिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन् appeared first on Sajha Post.