विश्व साम्यवादी आन्दोलनको चर्चा गर्दा सिद्धान्त र व्यवहार दुवै कोणबाट हेर्नुपर्छ । साम्यवादको विचार/दर्शन निक्कै बलियो थियो । कार्ल मार्क्सले कही सपनाहरु देखे । ती सपना, कल्पना सुन्दर थिए । त्यसले विश्वभरि मानिसलाई अपिल गर्यो । आकर्षण गर्यो । मान्छेको मन मष्तिष्क छायो ।
शुरुवातमा मान्छेहरु आस्था, विश्वास, निष्ठा र प्रतिवद्धतासहित नै साम्यवादी आन्दोलनमा लागेका हुन् । मेरो परिवारमा सबै कांग्रेस समर्थक थिए । बुबाआमा, दाजुभाई, मामाकाका सबै । तर मैले कम्युनिष्ट पार्टीलाई समर्थन गरे । त्यसको अरु कारण थिएन । वैचारिक अपिल नै थियो । मार्क्सले भनेजस्तो समाज बन्छ भने किन नबनाउने भन्ने भावना तीव्र थियो ।
प्रारम्भदेखि नै म अलिक फरक खालको साम्यवादी थिए । मार्क्स, लेनिन मात्र पढ्थेँ । रोजा लक्जेम्बर्ग पढ्थेँ । न्यू लेफ्टहरुको साहित्य पढ्थेँ । ल्याटिन अमेरिकी वामपन्थी आन्दोलन पढ्थेँ । फेरि मलाई के लाग्थ्यो भने म परम्परावादी, अर्थोडक्स कम्युनिष्ट हैन । कम्युनिष्ट भन्दा बढी म वामपन्थी हुँ ।
ममा यस्ता भावना सन् १९९० को दशकमा आएको हैन । पूर्वी युरोप, सोभियत संघ वा बर्लिनको पर्खाल ढलेपछि आएको हैन । त्योभन्दा धेरै अगाडिदेखि म यस्तो सोच्थेँ । मैले त्यतिखेरै माले नेताहरुलाई पार्टीको नाम बद्लौं, कम्युनिष्ट भन्न छोडौं– पार्टीको नाम ‘पार्टी अफ डेमोक्र्याटिक लेफ्ट’ राखौं । यो हाम्रो सन्दर्भमा आकर्षक र सुन्दर नाम हुने छ भनेर भनेको थिएँ । आजको विन्दूसम्म आइपुग्दा मेरो अनुभूति ठीक रहेछ भन्ने लाग्छ ।
धेरै पछि मदन भण्डारीले जनताको बहुदलीय जनवाद बनाए । यो विचार त लिवरल डेकोक्रेसीतिर ढल्किएको थियो । झापा आन्दोलनबाट उठेको पार्टी, जसले माओ विचारधारा, सांस्कृतिक क्रान्ति मान्थ्यो, नयाँ जनवादी क्रान्तिको कुरा गर्थ्यो । नक्सलवादी आन्दोलनलाई आदर्श मान्थ्यो, त्यसले जनताको बहुदलीय जनवादी हुनु वैचारिक तादाम्यता मिल्ने कुरा थिएन । माओवादको कुरा छोडौं– उदार लोकतन्त्र र लेनिनवाद मिल्छ जस्तो मलाई लागेन । अहिले पनि बेलाबेला घनश्याम भुसाल लेनिनवाद हटाउनु पर्छ भन्छन् । त्यो मलाई ठीकै लाग्छ ।
मार्क्स र एंगेल्सबारे म टिप्पणी गर्न चाहन्नँ । उनीहरु दार्शनिक थिए । लेखक थिए । वैचारिक आन्दोलन गरे । उनीहरुसँग बलियो पार्टी थिएन । राज्यसत्तामा पुगेनन् । साम्यवादी अभ्यासको समीक्षा लेनिनबाट नै शुरुवात गर्नुपर्ने हुन्छ । लेनिनले जेजे भने, लेखे, बोले, उनी बाँचिरहेको भए, लामो समय सत्तामा रहेको भए गर्थे कि गर्दैनथे ? लेनिनमा सिद्धान्त र व्यवहारबीच अन्तर्विरोध आउँथ्यो कि आउँदैनथ्यो । आउने सम्भावना थियो । तर त्यो कुरा पनि छोडिदिउँ ।
लेनिनको उत्तराधिकार भनेर स्टालिन आए । मार्क्स, एंगेल्स, लेनिनले भनेजस्तो शासन स्टालिनको थिएन । साम्यवादको नाममा सबैभन्दा क्रुर, निर्दयी र अधिनायकवादी शासन त स्टालिनले नै चलाए । विस्तारै त्यो रोग विश्वभरि फैलियो । पूर्वी युरोप, युगोस्लाभिया, चोकेस्लाभिया सबैतिर त्यस्तैत्यस्तै भयो । आज त्यो मोडेलको शासन विश्वभरि समाप्त भएको छ ।
केही देशमा अझै कम्युनिष्ट पार्टीको शासन वा सरकार छ, तर मार्क्सले भनेजस्तो, लेनिनले भनेजस्तो साम्यवाद छैन । त्यो क्युवामा नै छैन । उत्तर कोरियाको त झनै कुरै नगरौं । बाँकी भनिएका कम्युनिष्ट देश चीन, लाओस् वा भियतनाम त उदार अर्थतन्त्रमै छन् । तिनीहरुलाई खै के साम्यवाद भन्नु ?
जहाँसम्म चीनमा साम्यवाद सफल भइरहेको छ भन्ने विश्लेषण गरिन्छ, त्यसमा पनि विरोधाभाष छ । नेपालमा हामी एक खालको लोकतन्त्रको कुरा गर्दछौं, चीनको चर्चा हुँदा प्रो-चाइनिज जस्तो हुन्छौं । एकातिर बहुदलीय जनवादलाई लोकतान्त्रिक सिद्धान्त भनिन्छ । अर्कोतिर चीनमा लोकतन्त्रको कुरा उठ्नु हुँदैन भन्ने ठानिन्छ ।
चीनमा पनि समस्या अवश्य छन् । सि जिङ पिङले दुई कार्यकालको प्रावधान हटाएका छन्, त्यो त अधिनायकवादतिरकै यात्रा हो नी, हैन र ? तिब्बतमाथि जे भयो, त्यो नेपालमाथि भएको भए हामी सहन्थ्यौं ? अभिव्यक्ति तथा राजनीतिक स्वतन्त्रता विनाको नेपाल हामी कल्पना गर्न सक्छौं ? उइगुरका मुस्ल्मिमाथि जे भइरहेको छ, त्यस्तो नेपालमा हुने हो भने हामी कस्तो ठानौंला ?
जतिखेर नेपालमा कम्युनिष्ट आन्दोलन शुरुवात हुँदै थियो, त्यतिखेर सोभियत संघ थियो । चीनमा क्रान्ति भएको थियो । त्यतिखेरको सोच नै अर्कै थियो । गरिबीमुक्त मानव समाज, गरिब मुक्त राज्य बन्दैन भन्ने सोच थियो । निजी सम्पति अन्त्य भए, शोषण अन्त्य हुन्छ, शोषण अन्त्य भए गरिबी अन्त्य हुन्छ भन्ने सरल शुत्र थियो । तर अर्थतन्त्रको विकास यति सरल शुत्रमा नहुँदो रहेछ ।
त्यो बेलाको सोच, त्यो बेलाको आस्था, त्यो बेलाको आर्दश, त्यो बेलाको सुत्र अब रहेन । विश्वमा पनि रहेन । नेपालमा पनि रहेन । मार्क्सले जुन सपना देखाए, जुन कल्पना गरे, व्यवहारमा त्यसको कसैले पुष्टि गरेर देखाउँछ भने मलाई अझै पनि साम्यवादी हुनुमा कुनै पश्चाताप छैन । म उसलाई मान्छु । श्रद्धा गर्छु । तर सिद्धान्त व्यवहारमा उल्था गर्दा जटिलता देखिए । ती जटिलता कसरी समाधान हुन्छन कसैले भन्न सकेको छैन । तर अझै केही मान्छे कम्युनिष्ट आस्था, निष्ठा, जीवनशैलीमा टिक्छन् भने उनीहरुप्रति मेरो सम्मान रहिरहनेछ ।
तर, कम्युनिष्ट आन्दोलनको आमप्रवृति र विशेषता भने अब त्यो रहेन । व्यवहारमा अनुवाद नहुने कल्पना जतिनै सुन्दर भए पनि के गर्ने ? जब मानिसले यो व्यवहारिक यथार्थ बुझे, अनि संसारभरि कम्युनिष्ट आन्दोलन कमजोर हुन थाल्यो । अझ र्याडिकल कम्युनिष्ट त झनै कमजोर भए । इन्डोनेशिया, फिलिपिन्स, कम्बोडिया, भारतको नक्सलाइट त्यसका उदाहरण हुन् । साम्यवादको सिद्धान्त राम्रो थियो कि नराम्रो, ठीक थियो कि बेठीक, त्यता बहस गर्ने मेरो रुचि छैन । मेरो निष्कर्ष के मात्र हो भने व्यवहारमा चाहिँ साम्यवाद असफल भयो ।
किन यस्तो भयो त ? कारण सरल छन । सजिलै बुझिने । मुख्य ४/५ वटा कारण प्रष्ट देखिन्छन । पहिलो, कम्युनिष्ट सत्ताले मानवीय स्वतन्त्रताको महत्व बुझेनन् । दोस्रो, विविधता र बहुलताको महत्पव नबुझ्ने एकमनावादी दृष्टिकोण देखियो । तेस्रो– निजी सम्पतिको उन्मूलन नै शोषणको अन्त्य, गरिबीको अन्त्य, सर्वहाराको मुक्ति र समृद्धिको शर्त हैन रहेछ । चौथो– आर्थिकरुपमा केन्द्रीकृत योजनाले मात्र विविधकृत बजार र उत्पादन गर्दोरहेनछ ।
राजनीतिक रुपमा अझ विशिष्ट प्रकारको समस्या देखियो । नयाँ शासक वर्गको उदय । कम्युनिष्ट सत्ताको पिरामिडमा उपल्लो तहमा पुगेकाहरुले आफूलाई, आफ्नालाई आफू वरिपरिकाको वृति विकासलाई मात्र हेर्न थाले । त्यसका लागि राज्यशक्ति र स्रोतको दोहन गर्न थालियो । कम्युनिष्ट नेताहरु पद र आर्थिक स्वार्थमा लिप्त हुन थाले । क्रान्तिकालमा यस्तो कल्पना पनि गरिंदैनथ्यो । क्रान्तिकालमा कयौं कम्युनिष्ट नेताहरुले आदर्श जीवन बाँचेका थिए, जो साँच्चै श्रद्धा गर्न लायक थियो । तर तिनै मान्छे सत्तामा पुगेपछि फरक दृष्य देखियो । यो साम्यवादको विश्वव्यापी रोग रहेछ । अहिले नेपालमा पनि त्यही भइरहेको छ ।
अहिले नेपालमा करिब दुई तिहाईको कम्युनिष्ट सरकार छ । तर व्यवहारमा साम्यवादका आर्दशहरु कहिँ पनि देखिँदैन । आदर्श एकातिर छन्, कर्म अर्कोतिर । सिद्धान्त एकातिर छन्, व्यवहार अर्कोतिर । भ्रष्टाचारका यति ठूला काण्डहरु भएका छन्, साम्यवाद त निजी सम्पति चहिन्न भन्ने आदर्श थियो । फेरि यो स्तरको भ्रष्टाचार र भ्रष्टाचारलाई संरक्षण किन गरिँदैछ ? यस्तो सरकारलाई पनि वामपन्थी भन्न मिल्छ ? यो त सरासर दक्षिणपन्थ भयो ।
अहिलेको नेकपा सरकार वामपन्थी सरकार हुँदै हैन, नत साम्यवादी सरकार नै हो । साम्यवादको कुरा छोडौं– समाजवादी सरकार पनि हैन । समाजवादको पनि कुरा छोडौं– न्यूनतम् प्रगतिशील पुँजीवादी सरकार पनि हैन । यो सरकारले समातेको बाटो प्रष्ट छ । राजनीतिकरुपमा यो सामाजिक फासीवादतिर, आर्थिक रुपमा क्रोनी क्यापिटालिज्मतिर गइरहेको छ ।
जहाँ सीमान्तकृत समुदायको अधिकार, पहिचान र समावेशिताको प्रश्न छ, त्यो मरिसक्यो जस्तो मलाई लाग्दैन । त्यो केही मत्थर भएको मात्र हो । यस बिषयमा पनि कम्युनिष्ट आन्दोलनमा विरोधाभाष रह्यो । लेनिनले आत्मनिर्णयको कुरा गरे । स्टालिनले सोभियत संघमा रुसी बर्चश्वकरण गरे । अन्ततः संघ नै पतन भयो । नेपालमा माओवादी आन्दोलनको विशेषतः प्रचण्डपथको एउटा मुद्दा पहिचान र अधिकारको प्रश्न थियो ।
साम्यवादी आन्दोलनमा यति लामो संलग्नता र संगतपछि मैले निकालेको निष्कर्ष के हो भने– हिजो हामी सिद्धान्त प्रमुख हो, सबै कुरा सिद्धान्तले निर्धारण गर्दछ भन्थ्यौं तर हैन रहेछ । सिद्धान्तभन्दा व्यवहार प्रमुख हुँदो रहेछ । सिद्धान्तमा साम्यवाद सुन्दर नै होला, तर व्यवहारमा त त्यो देखिएन । ब्राण्ड मात्र कम्युनिष्ट भएर के हुन्छ र ?
The post सिद्धान्तमा बहस गर्न चाहन्नँ, व्यवहारमा साम्यवाद असफल भयो appeared first on Sajha Post.