Quantcast
Viewing all articles
Browse latest Browse all 942

‘पार्टीहरुलाई दलाल पुँजीपतिले कब्जा गरिसकेका छन्’

बजेट मात्र होइन, बजेटहरुको समीक्षा गरौं

यो आफैँ प्रष्ट भएजस्तै म यो बजेटको समर्थन गर्न आएको हो । तर, त्यो अकारण भने छैन । यसको पहिलो कारण त के छ भने यो धेरैले रुचाइएको बजेट छ । करिब ८ लाख कर्मचारी तलब बढेकोमा खुसी छन् । १३-१४ लाख वृद्धहरु भत्ता बढेकोले खुसी छन् । हामी सांसद त्यसमध्ये पनि निर्वाचितहरु बढी यहाँ भनिएजस्तो गरी ६ करोडले खुसी छौँ । धेरे मान्छे खुशी छन् । यसको प्रभाव निजी क्षेत्रमा पनि पर्ने छ र निजी क्षेत्रका कामदारको पनि तलब बढ्नेछ । यसर्थ उनीहरु पनि आशाका साथ खुशी छन् । र, यसरी यो बजेटबारेमा धेरै मान्छेहरु खुशी भएको कारणले गर्दा सत्ताधारी दल खुसी छ ।

विपक्षी पनि अहिले खुशी नै देख्छु। कमसेकम त्यसले एक दुईवटा अंकमा भए पनि केही खोट लगाएर ठूलो उपलब्धी प्राप्त गरेको कुरा गरेको छ । प्रचार त्यसरी गरेर उ खुशी छ । वस्तुतः यो एउटा लोकप्रिय बजेट भन्‍न सकिन्छ । यस हिसाबले मैले यसलाई समर्थन गरेको हुँ ।

दोस्रो, मेरा केही पूर्वाग्रह तहसम्म भन्‍न मिल्नेगरी विकासकाबारेमा कुरा गर्दा चाहिँ बेरोजगारले रोजगारी पाउने कुरा, मैले त्यसलाई हाम्रो परम्परागत कृषिमा थुप्रिएको जुन श्रम छ, त्यसलाई उद्यममा ल्याउने कुरा, रोजगारीमा ल्याउने कुरा नै अहिलेको क्रान्तिको सर्वथा महत्वपूर्ण आर्थिक कार्यक्रमको केन्द्रबिन्दु हुनुपर्छ भन्दै आएको छु । यसर्थमा फेरि पनि हामीले यो संकल्प, यो दावी, सपना बजेटबाट देखेका छौँ कि पाँच लाख रोजगारी फेरि पनि सिर्जना हुनेछ । त्यो भनेको अहिले हाम्रो विदेश जानेको दर छ त्यो भन्दा पनि बढी हो । यसर्थमा श्रम बजारमा पूँजीगत र साधारण खर्चमात्रै छुट्ट्याउने हो भने एक खर्ब ६७ अर्ब रुपैयाँको जुन वित्तीय व्यवस्था छ, त्यो पनि साधारण नै मान्‍न सकिन्छ । किन भने त्यो उत्पादनमा लाग्‍ने पैसा होइन ।

हाम्रो अर्थतन्त्र, आत्महन्ता अर्थतन्त्र

Image may be NSFW.
Clik here to view.
घनश्याम भुसाल

यस हिसाबले हेर्ने हो भने बजेटको ७४ प्रतिशत हाम्रो साधारण भन्‍न मिल्ने खर्च छ, २६ प्रतिशत मात्रै हाम्रो पूँजीगत खर्च छ । यसको अर्थ के हो भने, हाम्रो अर्थतन्त्र नै आत्महन्ता अर्थतन्त्र हो । यो आफैँ खान्छ र आफ्नो जीवनशक्तिलाई आफैँ मार्दै जान्छ। जहिलेसम्म छ खाइरहन्छ र मोटै देखिन्छ, हेर्दा ठीकै र चलेकै देखिन्छ । यो मैले आजको मात्रै कुरा गर्दै छैन, गएको २० वर्षदेखि यस्तो हुँदैछ । यसको प्रक्रिया त्यो भन्दा धेरै अगाडिदेखि सुरु भएको थियो र आज हामी यो फेर्छौँ कि फेर्दैनौँ भन्‍ने प्रश्न यो अर्थमन्त्री, प्रधानमन्त्री वा कुनै सत्ताधारी दलको प्रश्न भन्दा यो बृहत प्रश्न हो ।

आजको राष्ट्रिय विमर्शको प्रश्न हो र यो वृहत् प्रश्‍न हुनु पर्छ भन्‍ने लाग्दछ । जसले ११ खर्ब खान्छ र जम्मा ४ खर्ब लगानी गर्छ यही स्थिति रहने हो ? यत्रो समय पछाडि हामीले क्रान्ति गर्‍यौं । त्यो क्रान्तिले यसलाई फेर्छ कि फेर्दैन ? यसको संरचनागत परिवर्तन गर्छ कि गर्दैन ? इतिहासबाट हामीलाई मुक्त गर्छ कि गर्दैन भन्‍ने प्रश्न आजको सबैभन्दा महत्वपूर्ण र सर्वथा महत्वपूर्ण हो । तर, राजनीतिक हिसाबले भन्ने हो भने यस्ता विषयहरु र यसका आधारभूत विषयहरुमा बहुत कम छलफल चल्ने गरेको छ ।

महेन्द्रप्रति राजेश्वरको समीक्षा र हाम्रो स्थान

धेरै वर्ष अगाडि राजेश्वर देवकोटाले भन्‍नु भएको थियो, ‘हामी पञ्चायतमा किन लाग्यौँ भन्दा राजाले साँच्चै रामराज्य ल्याउँछन् भनेर लागेको हो । हामी साँच्चिकै देश बनाउँछौं र त्यो न्यायपूर्ण बडो राम्रो समाज हुन्छ भनेर नै लागेका थियौँ । पछि जब २५-२६ सालतिर राजा महेन्द्र रेजा शाह पहलवीको निम्तामा इरान गए, त्यहाँ गएपछि त्यहाँको जुन सानशौकत देखे । राजा त्यहाँबाट फर्किएपछि मनोमानी गर्न थाले ।’

राजेश्वर देवकोटाजीले भनेको शब्द मैले सुनेको हुँ । उनले अब मनोमानी गर्न थाले । त्यी सार्वजनिक संस्थानमा जुको झैँ टाँस्सिएर उनले त्यसको दोहन गर्न थाले । अरु प्राकृतिक स्रोत साधन सारामा उनी र उनको दरबारको नजर लाग्न थाल्यो । यसरी हिजोको राजनीति र अर्थतन्त्र एक ठाउँमा मिल्न थाल्यो । दरबार अब विस्तारै दलाल पूँजीवादको नेता भयो । हाम्रो अर्थतन्त्र त पराधिन छँदै थियो तर, त्यो पराधिन अर्थतन्त्रको दलाल पूँजीवादी नेता भएर यस्तो अर्थराजनीतिक गठबन्धन भयो र यसरी हाम्रो रामराज्य करिब करिब पञ्चायतको अन्त्यसम्म आउँदाखेरि हाइज्याक नै भएको थियो भनेर उहाँले भन्‍नु भएको थियो ।

दलाल पुँजीपतिको कब्जामा पार्टी र नेता

यस्तो नेक्सस्को कुरा यस्ता दलाल पूँजीपतिहरु र राजनीतिक मान्छेको यो नेक्ससको कुरा यहाँको मात्रै कुरा होइन । ६१ मा हो क्यारे, आइजन आवोरले अमेरिकाका राष्ट्रपति हिँड्दै गर्दा एउटा वक्तव्य दिएका थिए । उनले मिलिटरी र इन्डस्ट्रीको नेक्सस हाम्रो डेमोक्रेसीका लागि खतरा हो भन्ने महत्वपूर्ण भाषण गरेका छन् । त्यो भनेको, युद्ध सामाग्री उत्पादकहरु, हतियारका उत्पादकहरुले त्यहाँको सत्तालाई, सांसदहरुलाई, राजनीतिज्ञहरुलाई, मिडियालाई अमेरिकामाथि युद्धको त्रास देखाएर हतियार किन्‍न लगाउने । यसरी मिलिटरी र इन्डस्ट्रीको नेक्ससले करिब करिब त्यहाँको डेमोक्रेसीमाथि खतरा मडारिइरहने कुरा गरेका थिए । जुन अहिले तथ्यांकमा हेर्ने हो भने एक्लै अमेरिकाको हतियारमा लाग्ने खर्च त्यसपछिका अरु सबै पहिलो, दोस्रो, तेस्रो, चौथो गरी ११-१२ वटा मुलुकसम्मको हतियारको खर्च एक्लै अमेरिकाले व्यहोर्छ । जुन कुरा आइजन आवरले भनेका थिए ।

हाम्रो सन्दर्भमा पनि यो विषयमा छलफल गर्नु पर्छ कि पर्दैन ? मैले बजेटको कुरा होइन, बजेट त हाम्रो अर्थतन्त्रको, अर्थव्यवस्थाको एउटा कुरा हो । हामीले यस्ता विषयमा छलफल गर्ने कि नगर्ने भन्ने प्रश्न मैले यहाँबाट उठाउँन चाहेको हो । यसरी हेर्दा म के देख्दछु भने, आज पनि त्यो पराधिन अर्थतन्त्रको नेता दलाल पूँजीपति हो जसले त्यहि युद्धका हतियार व्यापारीहरुले जस्तो सारा प्रपञ्चहरु गर्छ र राज्यलाई उसले डुलाइरहन्छ । यो कति हो हामीकहाँ ? यो हो कि होइन ? आजसम्मका भ्रष्टाचारहरु, बेथितिहरुले र त्यो बेथितिमा माथिल्लो तहका राजनीति मान्छेहरुको पहुँचले, तिनको नियन्त्रणले र तिनको निर्देशनले यो कुरा गाइड गर्छ कि गर्दैन ? यसबारेमा हाम्रो छलफल हुनु पर्दछ ।

व्यक्ति होइन, प्रणाली फेर्ने कुरा गरौं

यो केबल केही राजनीतिक मान्छे जो मन्त्री वा प्रधानमन्त्री भएकालाई मात्रै बिगारेको छैन । त्यसले त पार्टीहरुलाई समेत एक हिसाबले भन्ने हो भने कब्जा गरीसकेको छ जस्तो लाग्दछ । किन भने त्यी राजनीतिक पार्टीहरुमा पनि हेर्दाखेरि मुल चरित्र अहिले कस्तो बन्दै गएको छ भने, नकमाएको सम्पत्तिमा, नकमाएको आयमा बाँच्ने मानिसहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

यसरी राजनीतिक पार्टीहरुलाई अस्ति मैले वर्ग विश्लेषण गरेको थिएँ। अब दलाल पूँजीवादको वर्ग विश्लेषण गर्दै जाने हो भने माथि निर्देशकहरु छन् । उनीहरुले राज्यलाई के गर्नु पर्छ, बाहिर के गर्नु पर्छ यी सारा कुराको खटन पटन गर्छन् । त्यी भन्दा तल व्यवस्थापकहरु छन् । यो दलाल पूँजीवादको स्ट्रक्चरमा पार्टीहरुभित्र त्यी व्यवस्थापकहरु छन् । जसले तलको उपभोक्ता समितिदेखि भन्सार, खोला, खानी सबैको नियन्त्रण गर्छ । तिनका वरिपरि धेरै छन् भन्‍न सकिन्छ ।

तिनले कसैलाई अलिकति पैसा दिएर लेख्न लगाउँछन्, बोल्न लगाउँछन् र एउटा जनमत बनाइरहन्छन् । त्यसको वरिपरि अर्को एउटा समूह छ जसलाई लडाकू वा बाउन्सर समूह भन्दा पनि हुन्छ । जसले त्यो व्यवस्थापक र माथिको निर्देशकको पक्षमा काम गर्छ । त्यो भन्दा तल त विचरा आसेपासे नै भइहाले ।

कथा भ्रष्टाचारको शक्तिशाली दुश्चक्रको

यसरी राजनीतिक पार्टीहरु माथिदेखि तलसम्म दलाल पूँजीवादको यो प्रक्रियामा मिस्सिएका छन् र तिनले हाम्रो समाजलाई नै निरन्तर करप्ट (भ्रष्टाचारी) बनाउँदै छन् । उनीहरु आफू करप्ट छन् र अरुलाई पनि करप्ट बनाउँदै छन् । यसरी भ्रष्टाचार झन बलशाली हुँदैछ। यो बलशाली भ्रष्टाचारले समाजमा अरुबढी भ्रष्टाचार गर्ने एउटा दुश्चक्र चलिरहेको छ । यो दुश्चक्र नतोड्ने हो भने एतिहासिक रुपले राजाले, त्यसपछि सुरु भएको हामीले त्यसलाई नियन्त्रण गर्न नसकेको एक हिसाबले जानेर वा नजानेर हामी त्यसमा पस्दै गएको यो दुश्चक्र निरन्तर बढिरहने जस्तो देखिन्छ।

यसले गर्दा यो प्रजातन्त्रमा आउने खतरा, विधि विधानमा हुने बलमिच्याँइ, कहिले राज्यबाट, बाहिरबाट यी तमाम विकृतिहरु यसैबाट आउँछन् र खास बेलामा तिनीहरुको एकता पनि त्यसैले गराउँछ । मैले सँधै भन्ने गर्छु सबैभन्दा ठूलो भ्रष्टाचारमा तलका व्यूरोक्रेसीले मात्रै गर्छ ? यद्यपि कहिलेकाहीँ कारबाही भयो भने त्यहि व्यूरोक्रेसीको मान्छे पर्छ माथिका मान्छे कम पर्ने गरेका छन् । तर, यो निःसन्देह भन्‍न सकिन्छ कि ठूला घोटाला एक्लै हुँदैन। एक हिसाबले भन्‍न सकिन्छ त्यहाँ राष्ट्रिय सहमति बन्छ । त्यो केको आधारमा भन्दा त्यहि मिलिटरी र इन्डस्ट्रीबीचको नेक्सस र हाम्रो दलाल पूँजीवाद र परजीवि राजनीतिक संरचना जुन छ त्यसको सम्बन्धले हामीलाई निरन्तर हाम्रो विकासलाई, अधिकारलाई, लोकतन्त्रलाई, स्वतन्त्रतालाई खुम्च्याइराखेको हुन्छ ।

यसतर्फ हामीले सोच्नु पर्छ होला। बजेटलाई समर्थन गर्दै मैले बजेटबारेमा यिनै कुरा यहाँ राख्न खोजेको हुँ। यसर्थ यो राजनीतिक हिसाबले छलफल हुनु पर्‍यो। अब यसो हेर्दा त हामी सत्ताधारी हौँ, सत्ता चलाउन पर्ने छ, बजेट बनाउन, लागू गर्न पर्ने छ। अनेक काममा व्यस्त छौँ ।

प्रतिपक्षको कुरा

उता, कमसेकम प्रतिपक्षले त केही गर्छ कि भनेको प्रतिपक्ष त अझै पराजयको त्यो पीडाले अझै व्युँझेको पनि छैन। ऊ यसरी घाइते भएको थियो कि त्यो उठेको पनि छैन अझै वास्तवमा।

 

अस्तिकै पनि जनजागरणको कुरा भयो प्रतिपक्षले चलाउँदै थियो। कहीँ यस्ता प्रश्नमा कुरा चलाउँदैन उसले। एकदमै खुद्रा मसिना विषयमा कुरा गर्छ। यो मुलुकको मुल ऐतिहासिक र आधारभूत समस्याहरु के हुन्? अझै मैले प्रष्ट भन्ने हो भने, दलाल पूँजीवाद जसले हाम्रो सम्पूर्ण चिजालाई जकडेकोछ त्यसकोबारेमा बोल्छ भन्दा कहीँ सुनिँदैन। तिनका भाषण, वक्तव्यहरु कही सुनिँदैन। यो स्थिति छ।

समाधान मार्क्सवादबाटै

यसले गर्दा हामी खतरामुक्त छैनौँ । यसर्थमा हाम्रो क्रान्ति खतरामुक्त छैन, यसर्थमा हाम्रो लोकतान्त्रिक गणतन्त्र खतरामुक्त छैन भन्ने मलाई लाग्दछ। अलिकति छलफलकै क्रममा अस्ति माननीय प्रदिप गिरिले अल्लि अगाडि एउटा कुरा भन्नु भएको छ, ग्रोथ र सोसियल जस्टिस सँगसँगै जाँदैन, जाँदैन, जाँदैन भनेको सुनेँ। यो प्रश्न ठूलो प्रश्न थियो। तर, वस्तुतः यसमा पनि हामीले कहिल्यै छलफल गरेनौं।

हामी समृद्ध समाजवादको कुरा गरेका छौँ भने माननीय प्रदिप गिरिले उठाएको प्रश्न सैद्धान्तिक रुपले समाधान गरेर जानु पर्ने हो। जहाँसम्म मलाई लाग्दछ, छलफल गर्दै जाने हो भने एकातिर समाजवाद भनेको बाँड्ने मात्रै हो भन्ने चेतना, अर्कोतिर विकास भनेको ग्रोथ मात्रै हो। त्यो एनसेल ग्रोथ, जसले १० अर्ब एफडिआई लिएर आउँछ र ५३ अर्ब त घोटालामात्रै गर्छ ।

यो खालको ग्रोथ र त्यो खालको समाजवादकाबीचमा समाधान फेरिपनि मार्क्सवाद हो। मार्क्सवादले हामीलाई यहाँनेर गाइड गर्छ। यसले के भन्छ भने समाजवाद ऐतिहासिक हुन्छ। हरेक युगमा समाजवाद तर्फको यात्रा त्यी युगको उत्पादन शक्तिले व्याख्या गर्छ।

यदि यसो हो भनेदेखि आज हामीले गर्ने के हो? समाजवाद ठ्याक्कै कस्तो हुन्छ भनि एक लाइनमा भन्ने हो भने समाजवाद आजको समाजवाद सम्भवत १० वर्ष वा अरु १५ वर्षका लागि काम नभएका बेरोजगार जसले काम गर्न सक्छन्। उनीहरुले काम पाउने र गर्न नसक्नेहरुले संरक्षण पाउने राज्य आगामी १०-१५ वर्षका लागि हाम्रो समाजवाद हुने छ। र त्यहि दौरानमा हामीले संमृद्धि पनि प्राप्त गर्दै गर्छौँ र त्यो समृद्ध बन्दै जाँदा हामी १०-१५ वर्ष पछाडि समाजवादको अर्को ऐतिहासिक यात्रामा प्रवेश गर्छौँ भन्‍ने मलाई लाग्दछ। अन्ततः यो पपुलर बजेटका सपोर्ट गर्छु तर, बजेटबारेमा छलफल गर्न आह्वान गर्छु।

(आर्थिक वर्ष २०७६/७७ बजेटमाथि मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा नेता भुसालद्वारा व्यक्त विचारको सम्पादित अंश)

The post ‘पार्टीहरुलाई दलाल पुँजीपतिले कब्जा गरिसकेका छन्’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles