सर्वप्रथम त यो आलेखमा नेकपाको बारेमा सुरुमै केही लेखौं । नेपालमा हाल दुईवटा नेकपा छन् । पहिलो हो प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको र पूर्वमाओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सह-अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जसलाई छोटकरीमा लेख्नुपर्दा नेकपा (नेकपा) हुनजान्छ । त्यसैले होला नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलगायत कैयौंले उक्त दललाई ‘डबल’ नेकपा पनि भन्ने गर्छन् । अर्को नेकपा हो- नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी जसको छोटकरी हुनजान्छ, नेकपा । तर, हालसालै सरकारमा रहेको दोहोरो नेकपाले विप्लव नेतृत्वको एकसरो नेकपालाई प्रतिबन्ध लगाएको छ । तलका परिच्छेदमा भने यी दुईलाई सरकारी नेकपा र प्रतिबन्धित नेकपा भनेर छोटकरीमा पुकारिएको छ ।
हुन त मूलधारका सञ्चारमाध्यममा प्रतिबन्धित नेकपालाई विप्लव समूह लेख्ने गरिएको छ । तर, सत्ताधारी शक्तिले अन्य शक्तिलाई पुकार्न प्रयोग गर्ने विविध पदावलीभित्रको शक्ति सम्बन्ध, राजनीति र भाषिक हिंसाबारे थेरथोर जानकार जसकसैले पनि प्रतिबन्धित नेकपालाई ‘विप्लव समूह’ भन्न अस्वीकार गर्नैपर्छ । किनकि, यस्तो ‘नोमेक्लेचर’को प्रयोगले प्रतिबन्धित नेकपालाई अपराधिक समूहसम्बन्धी डिस्कोर्सभित्र फ्रेम गर्दछ । यदि प्रतिबन्धित नेकपालाई विप्लव समूह भनेर पुकार्ने हो भने अर्को पक्षले सरकारी नेकपालाई ओली–प्रचण्ड गिरोह भनिदिन सक्छ । त्यसकारण, यो टिप्पणीमा दुईवटा नेकपालाई सरकारी र प्रतिबन्धित नेकपा भनेर पुकारिएको छ ।
नामकै बारेमा सुरुमै यस्तो लम्बेतान ‘गनगन’का लागि पाठकहरुसित क्षमा माग्दै अब मूल विषयतर्फ प्रवेश गरौं । हिजोआज प्रधानमन्त्री केपी शर्मा ओली र सरकारी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्ति सुन्दा यस्तो लाग्छ कि हामी उत्तरसत्यवादी युगमा प्रवेश गरिसकेका छौं । बारम्बार इतिहास र मिथकको भद्दा ब्याख्या गर्नु, झूठो गोयबल्स शैलीको प्रचार गर्नु र आफ्नै पछुवा कार्यकर्ता र आममानिसको भावनाको प्रचण्ड दोहनमार्फत् आफ्नो नितान्त निजी र दलगत रोटी सेक्नु यी दुई नेताको दैनिकी बनेको छ । कतिपयले गणतन्त्रका ‘नयाँ राजा’ समेत उपाधि प्रदान गरेका छन् शर्मा र दाहाललाई आजभोलि । वर्तमान नेपालका सर्वाधिक शक्तिशाली यी दुईलाई ‘नयाँ राजा’ र यिनका खासगरी दाहालका सन्तानलाई ‘राजकुमारी’ भनिदिँदा अर्को फसादमा पर्न सकिने जोखिम पनि उत्तिकै छ । त्यसकारण, त्यस्तो लफडातिर लाग्नुभन्दा कुरोको चुरोतर्फ प्रवेश गर्नु नै उपयुक्त होला ।
ओलीको सुदर्शन चक्र
आइतबार संसदलाई सम्बोधन गर्दा प्रधानमन्त्री केपी ओली अहंकारले उन्मत्त साँढेझैं लाग्थे । सायद ओली थरकै प्रतिबन्धित नेकपाका स्थायी समिति सदस्य एवम् मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश उर्फ सुदर्शनलगायतको टोलीलाई गिरफ्तार गरेपछि ठूलै सफलता हात लागेको उनले ठोनका हुँदा हुन् । सम्बोधनमा क्रममा उनले भगवान् श्रीकृष्णको सुदर्शन चक्रको पनि चर्चा गर्न भ्याए । सबैलाई थाहा भएकै कुरा हो, उखानटुक्कामा प्रधानमन्त्री ओलीलाई समकालीन नेपाली राजनीतिमा कसैले पनि सक्दैन । अल्पशिक्षित समुदायमा यस्ता उखानटुक्काको ‘ह्युरिस्टिक पावर’ वा दिमागमा राम्रो वा नराम्रो चीज सहजै घुसाउने शक्ति कम हुँदैन भन्ने त उनले चुनावमै पाएको सफलताबाट पनि पुष्टि हुन्छ । त्यसकारण, सम्माननीय प्रधानमन्त्रीज्यूले प्रयोग गर्नुभएको ‘सुदर्शन चक्र’ उपमालाई आमनेपालीले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ ।
भित्री सूत्रका अनुसार सरकारी नेकपाका नेता देव गुरुङ स्वयम्ले नेत्रविक्रम चन्दलाई प्रत्यक्ष रुपमा भेटेर फर्केपछि वार्ताको प्रस्ताव लिएर खुमलटार पुग्दा प्रचण्डले उनलाई ठाडै हकारेको प्रसंग उल्लेखनीय छ ।
प्रतिबन्धित नेकपाका महासचिव विप्लवलाई लक्षित गरेर यस्तो भाषाशैली प्रयोग भएको छ । कृष्णको सुदर्शन चक्रको काम के थियो? शत्रुको शीरोच्छेदन गर्ने । त्यसो भए प्रधानमन्त्री ओलीले विप्लवलाई शीर छेदन गर्ने धम्की दिएका हुन् त ? सरकारी नेकपाका दुई जना सहचालकले प्रतिबन्धित नेकपाबारे लिएका निर्णय र झूठा ग्वेबेलियन प्रचारको पृष्ठभूमिमा उनीहरुले स्वच्छ छविका युवा नेता नेत्रविक्रम चन्दको हत्याको योजना बुनिरहेका त छैनन् भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
प्रतिबन्धित नेकपाले बारम्बार व्यक्तिहत्याको नीति नै नरहेको स्पष्ट पार्दापार्दै पनि पुष्पकमल दाहालले विप्लवले आफूलाई मार्न खोजेको एकोहोरो प्रचार गर्दै हिँड्नु, प्रतिबन्धित नेकपाले सुरक्षा फौज होइन आफ्नो आक्रमणको निशाना भ्रस्टाचारी र कमिशनखोरहरु मात्रै रहेको स्पष्ट पार्दापार्दै पनि गाउँगाउँमा सेना परिचालनमा प्रधानमन्त्री ओलीले जोड लगाउनु र सरकारी नेकपाका सहअध्यक्ष दाहालको त्यसमा भित्री समर्थन हुनुबाट यो सरकारले युवा नेता विप्लवको हत्यासम्मकै योजना बनाएको आंकलनलाई नै बल पुग्छ । भित्री सूत्रका अनुसार सरकारी नेकपाका नेता देव गुरुङ स्वयम्ले नेत्रविक्रम चन्दलाई प्रत्यक्ष रुपमा भेटेर फर्केपछि वार्ताको प्रस्ताव लिएर खुमलटार पुग्दा प्रचण्डले उनलाई ठाडै हकारेको प्रसंग उल्लेखनीय छ ।
प्रचण्डको सकुनी भूमिका
हरदम सुट र टाई लगाएर सार्वजनिक कार्यक्रममा देखिने ‘डिम्यागग’ पुष्पकमल दाहालको भूमिका विप्लवहरुलाई जंगल पठाउने सबालमा महाभारतका सकुनीको जस्तै भएको छ । प्रतिबन्धित नेकपाको विद्रोहको जननी अरु कोही नभएर हाल जतिखेरै सुट र टाई नछाड्ने ‘महानायक’ पुष्पकमल दाहाल नै हुन् भन्दा अत्युक्ति हुँदैन ।
पहिलो, वैचारिक रुपमा । दाहालले अहिलेसम्म ०५२ सालमा सुरु भएको जनयुद्ध उग्रवामपन्थी भड्काव थियो भनेर सार्वजनिक रुपमा आत्मालोचना गरेका छैनन् । उनले जनयुद्धको सुरुआत र बैठान दुवैको गौरवीकरण गर्ने गरेका छन्, जुन आफैमा एउटा ठूलो विरोधभाष हो । ०५२ सालमा सुरु भएको जनयुद्धको उद्देश्य ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै, नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्नु’ थियो । तर, शान्तिप्रक्रियामार्फत् बैठानसम्म आइपुग्दा जनयुद्ध संघीय लोकतान्त्रिक संसदीय गणतन्त्रमा आएर टुङ्गियो ।
सशस्त्र बलमा जनवादी राज्यसत्ता स्थापना गर्ने प्रयत्न आफैमा उग्रवामपन्थी भड्कावको परिणाम थियो तर त्यसमा सामेल भैसकेको स्थितिमा त्यसलाई कसरी सच्याउने भन्ने विमर्शको क्रममा खासगरी डा. बाबुराम भट्टराईको जोडमा संविधानसभा र गणतन्त्रको नारालाई मुखरित गरिएको थियो । यो ऐतिहासिक यथार्थ सबैका सामु छर्लंग हुँदाहुँदै पनि नयाँ शक्तिको निर्माणमा दौडाहामा निस्केका डा. भट्टराईसमेत ‘फालीलाई फाली’ भन्न तयार नभएको अवस्था भने बुझिनसक्नुको छ ।
डा. भट्टराईकै हकमा भन्नुपर्दा आफैसित लडेका योद्धाहरुप्रति बेलाबेलामा उनका अभिव्यक्तिमा देखिने घृणाभाव र आफूले विभिन्न समयमा निर्माण गर्ने निर्जीव सिद्धान्तप्रतिको लगाव विचित्रको छ । सायद उनी ‘इनलाइटमेन्ट प्रोजेक्ट’का ‘इपिटोम’ हुन् । जर्मन महान् दार्शनिक कान्टजस्तै, जसको दर्शनमा सजीव भावनाको पूर्ण अनुपस्थिति छ, निर्जीव तर्कहरुलाई मात्रै ठाउँ छ । त्यसैले हुनुपर्छ, ‘इनलाइटेनमन्ट प्रोजेक्ट’का दुई धारा पुँजीवादी र साम्यवादी विचार दुवै असफलसिद्ध भएको । तर, पुँजीवादी र साम्यवादी धारा दुवै असफल भएको निस्कर्ष निकाल्ने डा. भट्टराईको नयाँ धारा पनि त्यही ‘इनलाइटेनमन्ट’ कै मुहानबाट कलकलाएजस्तो देखिन्छ र उनी आफैं पनि कान्टभन्दा कम छैनन्, निर्जीव तर्कको जगमा आफ्नो वैचारिक महल खडा गर्न । वर्तमान सरकारको पूर्ण असफलताको सन्दर्भमा नयाँ शक्तिका लागि राजनीतिक ‘स्पेस’ बढ्दै गएको भए पनि यो विरोधाभाषबाट बाहिर निस्कन नसक्ने हो र राजनीतिमा भावनाको केन्द्रीय भूमिकाबारे बेलैमा पुनःविचार गर्न नसक्ने हो भने नेपाली राजनीतिमा डा. भट्टराईसँग कसरी आशा गर्न सकिएला र ?
दोस्रो, प्रतिबन्धित नेकपाको नेतृत्वको एकीकृत जनक्रान्तिको मुहान तत्कालीन एकीकृत नेकपा(माओवादी)को पालुङ्टार बैठक थियो । उक्त बैठकमा डा. भट्टराईलगायतका माओवादीको एउटा पक्षले शान्ति र संविधानमा जोड लगाउने कार्यनीति अबलम्बन गर्नुपर्ने प्रस्ताव लिएर गए । तर, अध्यक्ष दाहालले अर्का नेता मोहन वैद्य र युवानेता नेत्रविक्रम चन्दसित मिलेर विद्रोहको कार्यदिशा पास गरिदिए । अनि ६ दिने आन्दोलनसम्म आइपुग्दा विद्रोहको प्राविधिक जिम्मा युवानेता चन्दलाई दिइयो । त्यसक्रममा शिविरबाट प्रचण्डका बफादार डेपुटी र डिभिजन कमाण्डरले लुकाएका धेरैजसो हतियार प्रचण्डकै निर्देशनमा विप्लवको जिम्मा लगाइयो । यसकारण पनि विप्लव विद्रोहको जरो आजका चौबीसघण्टे सुटटाईधारी पुष्पकमल दाहालज्यूमा नै जान्छ ।
तेस्रो हो, तत्कालीन माओवादी पार्टीभित्रको पुष्पकमल समूहको कार्यशैली । उक्त समूह सत्ताको स्वाद चाखेपछि यति महापतन भयो कि दाहाल र उनका सारथी सलह जस्ता भए । कहिले काँग्रेसको बारीमा पसेर अन्न खाने त कहिले एमालेमा बारीमा पसेर । देश बनाउने, आममानिसको जीवनमा सुख ल्याउने भन्ने अब उनीहरुको डायरीमा रहेन । कसरी सहयोद्धाहरुलाई पाखा लगाउने र सत्ताको भोजमा आफूहरुमात्रै सहभागी हुने, कसरी साधनस्रोत र अकुत सम्पत्ती एकत्रित गर्ने र अरुलाई रैती बनाएर कालो धनको बलमा देशमा शासन थोपर्ने र थप लुट मच्चाउने भन्ने उक्त समूहको मूल उद्देश्य रहन पुग्यो । विप्लव विद्रोह त्यही महापतन विरुद्धको प्रतिक्रिया पनि हो ।
सुरक्षफौजसितको भिडन्तलाई पनि प्रतिबन्धित नेकपाले हालसम्म छल्दै आएको छ जबकि प्रचण्डले भित्रभित्रै प्रधानमन्त्री ओलीलाई रक्तपातपूर्ण मुठभेडका लागि उक्साइरहेका छन् । हाल देशमा नयाँ गृहयुद्धका लागि आशिर्वाद लिन उनी संयुक्त राज्य अमेरिकाको राजनीतिक तीर्थाटनमा छन् ।
यससन्दर्भमा सुरक्षा निकायको एउटा पंक्तिले यो यथार्थलाई राम्ररी बुझेजस्तो आभाष हुन्छ । सरकारका निर्णयसित नेपाली सेनाका कतिपय असहमति यही पृष्ठभूमिमा प्रकट भएको हुनुपर्छ । प्रचण्डले हिजो पनि जनयुद्धका नाममा नेपाली जनताका छोराछोरीलाई भिडाएर ‘नयाँ राजा’ भए, फेरि प्रतिबन्ध मार्फत् बलजफ्ती देशलाई अर्को हिंसात्मक द्वन्द्वमा धकेलेर भ्रस्टाचार र कमिशनखोरीको आफ्नो ‘लुटको स्वर्ग’लाई बचाउन खोजेका छन् भन्ने विश्लेषण पनि छन् । हिजो झूठा आश्वासन बाँडेर गरीब जनताका सोझा छोराछोरीलाई भिडाए । आज अब उनीहरु फुस्लन छाडेपछि तर्साएर आफ्नो मातहतमा राखिराख्ने प्रचण्ड दाउलाई बेलैमा ठम्याउन नसके हामी नेपालीले धेरै पछुताउनुपर्ने अवस्था आउने छ ।
एक हिसाबले प्रचण्डभन्दा विप्लवको नै नैतिक धरातल उँचो छ । सत्ता र सुविधाको लोभ उनलाई पनि नदेखाइएको होइन, तर त्यसलाई उनले अस्वीकार गरेकै हुन् । प्रचण्डको नेतृत्वको जनयुद्धको क्रममा सुरुबाटै ‘वर्गदुश्मन खतम’को नाममा व्यक्तिहत्याको घोषित नीति अपनाइएको थियो । तर, विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले सुरुबाट नै व्यक्तिहत्याको नीति नरहेको स्पष्ट पार्दै आएको छ । सुरक्षफौजसितको भिडन्तलाई पनि प्रतिबन्धित नेकपाले हालसम्म छल्दै आएको छ जबकि प्रचण्डले भित्रभित्रै प्रधानमन्त्री ओलीलाई रक्तपातपूर्ण मुठभेडका लागि उक्साइरहेका छन् । हाल देशमा नयाँ गृहयुद्धका लागि आशिर्वाद लिन उनी संयुक्त राज्य अमेरिकाको राजनीतिक तीर्थाटनमा छन् ।
संक्रमणकालीन न्यायमा प्रचण्डको छिर्केदाउ
त्यतिमात्रै होइन, हिजोको माओवादी आन्दोलनकै सहयात्री तर हालका विरोधीलाई तह लगाउन प्रचण्डले संक्रमणकालीन न्यायलाई पनि आफ्नो औजारको रुपमा प्रयोग गर्न खोजेका छन् । प्रतिनिधिमूलक रुपमा संक्रमणकालीन न्यायलाई टुङ्ग्याउनुपर्छ भन्नाको निहितार्थ पनि त्यही हो भनी बुझ्न गाह्रो छैन । कोहीलाई प्रतिबन्धित नेकपालाई सहयोग गरेको निहुँमा त कोहीलाई संक्रमणकालीन न्यायको नाममा दत्काएर र जेल हालेर पार्टीभित्र र बाहिरका आफ्ना विरोधीलाई तह लगाउने रणनीतिमा प्रचण्ड अगाडि बढेका छन् । त्यसकारण, नागरिक समाजले उनको त्यो क्रूर रणनीतिलाई असफल पार्दै पहिलो त प्रतिबन्धित नेकपालाई वार्तामा ल्याउन पहल गर्नु पर्छ । दोस्रो, संक्रमणकालीन न्यायका सवालमा हिंसाको राजनीतिबाट सत्तामा मोजमस्ती गरेका प्रचण्ड र उनका सारथी जसले विगतमा सम्पूर्ण व्यक्तिहत्यालगायतका अपराधका लागि निर्देशन गरेका थिए, तिनलाई कम्तीमा एकदेखि तीन वर्षसम्म प्रतिनिधिमूलक रुपमा जेल हालेर शान्तिप्रक्रिया टुङ्ग्याउनुपर्छ ।
(लेखक स्वतन्त्र विश्लेषक हुन्)
The post ओलीको सुदर्शन चक्रः के विप्लवलाई हत्या गर्न चाहन्छन् केपी-प्रचण्ड ? appeared first on Sajha Post.