पूर्वप्रधानमन्त्री प्रचन्डको भनाई यस्तो आयो-
‘ठूला परिवर्तन भए भने संसारभर नै नयाँ आउने सरकारले ब्यूरोक्रेसीको सबभन्दा माथिल्लो लेयरलाई विदा गरिदिन्छ ।’
‘राजाका पालामा तालिमप्राप्त, अझ ठूल्ठूला त तिनैमात्र छन् ।’
‘राजनीतिक नेतृत्वले संघर्ष गर्छन्, आन्दोलन गर्छन् । राष्ट्र र जनताको हितमा भनेर बलिदान गर्छन्, परिवर्तन ल्याउँछन् । दुई चार वर्ष ठूल्ठूला हाकिमसँग बस्दाबस्दै नेताजती हाकिमजस्ता हुन्छन् ।’
सिङ्गो कर्मचारीतन्त्रलाई समग्रतामा दोषारोपन गर्ने टिकाटिप्पणी भईरहेको वर्तमान परिप्रेक्ष्यमा यी अभिव्यक्तिहरु सही निशानातिर सोझिएकाजस्ता देखिन्छन् । पहुँचवाला उपसचिव र सहसचिवलाई प्रदेशमा पठाउँदा एक श्रेणी बढुवा गरेर शुरुमै थिति बिगार्ने को हो !? सचिवको नेतृत्वमा माथिल्लो तहबाटै उदाहरणीयरुपमा समायोजनको प्रक्रिया थालनी गरी सचिवकै नेतृत्वमा प्रदेश अनि सहसचिव, उपसचिवको नेतृत्वमा स्थानीयतिर सगौरव, राजीखुशी, हाँशीखुशी, जोस, जाँगर र उत्साहकासाथ निर्वाचन हुनुपूर्व नै समायोजन भई प्रदेश तथा स्थानीय सरकारलाई शुरुदेखि नै सफल बनाउन सफल कारिन्दाको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा तल्लो तहमा मात्रै पेलपाल पार्ने अनि आफु चाहिँ सिंहदरबारमै लेपास्सिएर अधिकार केन्द्रित गर्न खोज्ने उपल्लो स्तरको ‘लेयर’ को हो ?!
हजारौं हजार कर्मचारी दशकौँदेखि स्थानीयको स्थानीयमै थिए । उनीहरुले स्थानीयमा गएबापत कुनै पदोन्नति मागेका थिएनन् । स्पष्ट कार्यविवरण र हाल कार्यरत स्थानीय तहमै दरबन्दी कायम गरे मात्र पुग्छ । हामी जननिर्वाचित स्थानीय सरकारको आदेश, निर्देशन र कार्यभार पूरा गर्न तत्पर छौँ भन्दा पनि आजपर्यन्त कार्यविवरण, दरबन्दी र पदस्थापनको त कुरै छोडौँ पारिश्रमिक भुक्तानीको सुनिश्चितता समेत नगरेर गञ्जागोल पार्ने सिंहदरबारका हाकिमहरु को हुन !?
सदियौँदेखि देशलाई कमाइखाने भाँडो बनाइरहेका पुस्तौनी नोकरशाही कर्मचारीतन्त्रका अवशेषहरु, देहातलाई लात हान्दै काठमाडौं आसपासमा घरघडेरी जोडजाम, बन्दोवस्त गरेका पहुँचवालाहरु, राजनीतिक नेतृत्वमा रहेको रहेलपहेल बुद्धि भुटभाट पार्दै संघ, संगठनको नाममा ‘बबरमहल वरिपरी ठडिएका’ गगनचुम्बी महलहरुबाट षडयन्त्रका जञ्जाल तयार पार्दै राजधानी आसपास अड्डा जमाएर नेताका ‘गुप्ताङ्गहरुमा’ टाँसिएका चम्चागिरी किर्नाहरु, तिनका श्रीमती, नातागोता, इन्टमित्रलाई स्थानीय तह जान असुविधा भएकै कारण समायोजनमा जटिलताका हौवा खडा गरिएको छ ।
वास्तवमा समायोजनको नाममा व्यक्तिपिच्छे बनिरहेका अनेकन मस्यौदाका बान्कीहरु दशकौँदेखि स्थानीयमा रहेका हजारौँ कर्मचारीको लागि कोरिदै छैनन् । तिनै हुक्के, चम्चे, चाटुकार, चाप्लुसीवाजहरुको निहित स्वार्थको फेरोमा सकेसम्म उपत्यका भित्रकालाई उपत्यका छोड्नु नपर्ने बन्दोवस्त मिलाउने प्रपञ्चमा फनफनी घुमिरहेको छ समायोजन प्रक्रिया । यसमा फ्याक्सबाट पत्र मगाएर भोलिपल्टदेखि नै खटाइएको ठाउँमा अनवरत खटिरहेका कर्मचारीहरुको कुनै आवाज, भावना र धड्कन समेट्नको लागि विलम्ब गरिएको छैन । बरु दशकौँदेखि अविच्छिन्न रुपमा राजधानी, सिंहदरवार तथा कमाउअड्डा नछोडेका, नेताजीको कपालमा चायासरी टाँसिएका केही प्रतिशत बाह्रमासे चम्चागिरीहरुको स्वार्थमा धक्का लाग्ने देखिएको कारण समायोजनले गति लिन नसकेको हो ।
विभिन्न वहानामा काम गर्ने र नगर्नेलाई एउटै मुङ्ग्रोले नहिर्काइयोस् । सिंहदरबारका कुनामा बसेर भित्रभित्रै अव्यक्त र अघोषित रुपमा संघीयता खारेज गर्ने गुप्त षडयन्त्रमा लिप्त तारतम्य मिलाइरहेका ‘ठूलाठुला हाकिम’ लाई समायोजन गरेर प्रदेश र स्थानीय तहमा पठाइयोस् । हामी जागिरीको शुरुदेखि अन्त्यसम्म स्थानीयमै रहेकालाई, स्थानीयमै खटेकालाई के खो समायोजन ? के खो वृत्ति विकास !? मर्नेबेला हरियो कांक्रो ! हामीलाई किन चाहियो सुविधा र अवसर !? त्यो अवसर, सुविधा, वृत्ति विकास नामको चरो कहिल्यै नअघाउने त्यहीकै स्यालहरुको खन्चुवा मुखमै परिरहोस् !
हामी तल्लो तहकालाई हाल कार्यरत स्थानीय तहमै साविककै तह र श्रेणीमा स्वत: दरबन्दी कायम र पदस्थापन भए पुग्छ ! हामीलाई हुलाकबाटै समायोजन र पदस्थापनको पत्र पठाए हुन्छ । पत्र पाएको भोलिपल्टै हाजिरी भएको जानकारी पठाउन हामी राजी खुशी छौँ । तमरा २ ग्रेड हामीले मागेको पनि होइन । त्यो नभएर हामी भोकभोकै मर्ने पनि होइन ! हाम्रा बाजेले जागिरी नखाएरै, जीवनभर एउटा पनि ग्रेड बृद्धि नभइकनै ८०/९० बर्ष बाँचेकै थिए !
अहिले पनि हामी भन्छौँ दुर्गम दुरदराजमा कार्यरत कुनै पनि कर्मचारी आफ्नो ५ जनाको जहान परिवार हलो, फालो, कोदालो गरेर, जमिन जोतेर पनि पाल्न सक्ने अवस्थामा छन् । अमेरिकी पूर्व राष्ट्रपति अव्राहम लिङ्कनले दाउरा चिरेरै पेट पालेका थिए कुनै बेला । दुब्लै पात्लै सही दिनमा ७/८ घन्टा कठोर शारीरिक परिश्रम गर्नसक्ने स्वस्थ अवस्थामा छन् स्थानीयतिरका कर्मचारी । त्यता शहरतिर खाँदाखाँदा खाँदा भएका अनेकथरी रोगहरु, सुकेनास लागेका खुट्टा र रोगको थुप्रो ध्याम्पोजत्रो कहिल्यै नभरिने विचित्रको पेट दुर्गम स्थानीय कर्मचारीमा छैन । ठूलो ठूलो महत्वाकांक्षा र अपेक्षा पनि हामीमा छैन ।
पछिल्लो समय विभिन्न माध्यमबाट राजनीतिक नेतृत्वबाट कर्मचारीप्रतिको आक्रोश चुलिदोक्रममा छ । १ हप्ता अघिमात्र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आम कर्मचारीप्रति आक्षेप लाग्ने खालको अभिव्यक्ति सार्वजनिक गर्नु भो । फेरि अर्का पूर्वप्रधानमन्त्री प्रचन्डले सोही व्यहोराको तर केही विशिष्टिकृत गरी उपल्लो तहतिर इङ्गित अभिव्यक्ति दोहोर्याउनु भो । केही कर्मचारी विशेषत: उपल्लो तहको कारण यी पछिल्ला अभिव्यक्तिहरु जनमानसमा स्वभाविक लाग्न थालेका छन् । तर, राजनीतिक नेतृत्वलाई हेक्का रहोस कि आज पनि हजारौँ हजार कर्मचारीहरु खटाएको ठाउमा निस्वार्थ भावले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । २/४ जनाको कारण पर्न गएको वितृष्णाको दोष आमरुपमा सामान्यीकरण गरेर सबैमाथि नथोपरियोस् ।
प्रदेश र स्थानीयमा नजानेलाई कारवाहीको शुरुवात उपल्लो तहबाटै होस् । निसाना सही ठाउँमा लगाइयोस् । समस्याको उत्पत्ति जहाँबाट भएको हो सोही ठाउँबाट समाधान खोजियोस् । हाकिमीसँग कुम जोडेर तल्लो तहका निमुखा कर्मचारीमाथि तरवार उज्याउने काम नहोस् ! ‘तातोपानी कुन्डको तातोपानी’ ले उच्चतम नेतृत्वको सद्बुद्धि पलाओस ! समायोजनको कलाविहीन नाटकले पचहत्तर सालको जाडो नकाटोस ! यति उच्चतम तहबाट बोलिएको कुरा हावामा विलोप नहोस् । बोलेको भोलिपल्ट ठूलठूला हाकिम र चम्चागिरीको घेरामा परेर ‘हैन मैले त्यस्तो बोलेकै छैन, मिडियाले बङ्ग्याएको’ स्पष्टिकरण सुन्नु नपरोस् । प्रधानमन्त्री सरहका शक्तिशाली व्यक्तित्वले बोलेका कुरा ‘अर्का अध्यक्ष’ ले हावामा हाच्छु गरे झैँ अर्थहीन नहोस् । बोलेका कुराको शब्दशक्ति देख्न पाइयोस् । आवाजमा भरिएको हावाले पृथ्वी लोकमा दुर्गन्ध फैलाउने काम मात्र नगरोस् । र, हलो अड्काउने उच्चतम तहका लेयरहरुको नामावली छिट्टै पढ्न पाइयोस् । यति धेरै उच्चतमले बोलेको कुरा कार्यान्वयन होस् । दुई हजार उनन्साठी सालदेखि दुईहजार पचहत्तर सालसम्म अनवरतरुपमा स्थानीय तहमा कार्यरत कर्मचारीको तर्फबाट हार्दिक शुभकामना !
२०७५/०७/२८
The post प्रचण्डको अभिव्यक्ति र हाकिमसा’पलाई कारबाही ! appeared first on Sajha Post.