शिव अर्थात् महादेव । हिन्दूहरुका आराध्यदेव । शिवकै उपासनाकै लागि हिन्दूहरु मन्दिर जाने, निराहार बस्ने, बोलबम जाने, तिर्थाटन गर्ने तथा रुद्री आदि जस्ता धार्मिक अनुष्ठान सम्पन्न गर्ने तथा त्यसबाट आफुलाई पुण्य प्राप्त हुने उद्देश्य राखी विभिन्न धार्मिक कर्महरु गर्ने गर्दछन् ।
अझ श्रावण महिना भरी त यो एउटा अभियान सरह नै हुने गर्दछ । बिशेष गरेर महिलाहरुको श्रावण महिनाभरीको भगवत् प्राप्तिको त्याग र आशक्ति अलि बढी नै देखिने गर्दछ । जे होस् धार्मिक क्रियाकलापबाट मानिसले आत्मिक सन्तुष्टि प्राप्त गर्दछ । व्यक्ति तनावमुक्त हुन्छ । अनि तनावमुक्त हुँदा उसलाई स्वस्थ हुन मद्दत पुग्दछ । व्यक्तिको आस्था र श्रद्धाप्रति हामी सबैले सम्मान गर्नुपर्दछ । यसमाथि हामीलाई कुनै गुनासो छैन ।
शिवजीको पुजा कि शिव लिंगको पुजा
आम मानिसका लागि केही अनुत्तरित प्रश्नहरु छन् । हामीले गरेको पुजा शिवजीको हो वा शिव लिंगको हो ? हामीले माहादेवको पुजा गरेका हौं वा माहादेवको लिंगको पुजा गरेका हौं । शिव लिंगले शिवजीको जननेन्द्रियलाई जनाएको हो वा यसको अरु कुनै लाक्षणिक अर्थ छ ? यदि शिवलिंगले शिवजीको जननेन्द्रियको जनाएको हो र उनको लिंगको नै पुजा गरिंदै आएको हो भने पार्वतीको योनीको पुजा चाहिँ किन गरिंदैन ।

शिव र शक्तिका बीचमा आम मानिसले बुझ्ने भिन्नता के हो ? के यो धार्मिक अनुष्ठान विभेदकारी त हैन ? के शिव पुराणमा उल्लेख गरिए अनुसार आकाशबाट उत्तेजित शिवलिंग पृथ्वीमा खस्दा ब्रह्मा र बिष्णुले त्यसलाई पक्रेका हुन् र आज हामीले शिवलिंग यस्तो स्वरुपमा देखेका हौं ? यस्ता प्रश्नहरु कति श्लिल हुन् वा कति अश्लिल प्रश्न हुन् ? मलाई लाग्छ, यी अधिकांश प्रश्नहरुको उत्तर अधिकांश हिन्दूहरुसँग छैन । किनकी हामी हिन्दू भएर पनि कहावतका पछाडी दौडिएका छौं ।
हाम्रो धर्मकर्म केहि धर्मभिरुहरुले चलाएको चलनका आधारमा चलेको छ । आफ्ना बाबु बाजेले जे गरेको देखियो, जे कर्मकाण्ड गरेको देखियो, गाउँका जान्ने बुझ्नेहरुले जे गरेको देखियो, जे सुनाएको सुनियो, सोही कहाबत र कथनीका आधारमा हिन्दू धर्मकर्म प्रचलन र पुजा पाठ चल्दै गयो । यस उपर अध्ययन अनुसन्धान र विवेचना हुन छाड्यो । यदि प्रचलन कै हिसाबमा अगाडि बढ्दै जाने हो भने हिन्दू धर्म कालान्तरमा गएर अनुत्तरित पहेलीहरुको चाङ बन्ने छ ।
धर्म एक, प्रचलन अनेक
हिन्दू धर्म के हो ? यसको महत्व कस्तो छ ? यसका आधारभुत सिद्धान्तहरु के के हुन् ? भगवानको उपासना कसरी गरिन्छ ? हामीले देखेका वेद पुराण उपनिसद मध्ये कुन चाहि आधिकारिक हुन् ? किन वेद पुराण उपनिसदमा कतिपय समान कुराहरु पनि फरक फरक रुपमा वर्णन गरिएको छ ? कुन समयदेखि धार्मिक पुस्तकमा केहि स्वघोषित विद्वानहरुले कथा थप्न थाले ? भन्ने जस्ता कुराको हामीसँग कुनै जानकारी नै छैन । यसैको परिणामस्वरुप हिन्दूधर्म गाउँपिच्छे, जिल्लापिच्छे, भूगोलपिच्छे र देशपिच्छे फरक फरक आह्वानका साथ मनाईन्छ, अनुष्ठान गरिन्छ ।
दक्षिण भारतका हिन्दूहरु र नेपालका हिन्दूहरुका बिचमा धर्म नै फरक भए जस्तो अनुष्ठानहरु भएका देखिन्छन् । श्रीलङ्काका हिन्दू र बाङ्गलादेशका हिन्दू अनि गायनाका हिन्दू र भियतनामका हिन्दूहरुका बीचमा गरिने धार्मिक क्रियाकलापका बीचमा रक्तिभर एकरुपता छैन । तै पनि हामी हिन्दू हौं । लाग्छ कि यो एउटा मास बेस्ड पार्टी जस्तो हो जसले जता लगे पनि, जता डोहोर्याए पनि, जता तन्काए पनि फरक फरक आकृति र स्वरुपमा बाङ्गिने अक्टोपस जस्तो ।
अनि धर्मका बारेमा बहस गर्दा नास्तिक भईने, समाजबाट तिरस्किृत भईने र बिधर्मीको बिल्ला लाग्ने डरले हामी यस बिषयमा बहस गर्न हिच्किचाउँछौ अनि अलि अलि बुझेका मानिसहरुले गाउँ नै पिच्छे चलाएको चलनलाई धर्मको स्वरुप भन्दै अबलम्वन गर्न बाध्य छौं ।
कुरो शिवजीको पुजा कि शिव लिंगको पुजा भन्ने हो । हामीले पुजा आराधना गर्ने शिवजी र शिवलिंग स्वरुप तथा सांकेतिक हिसाबले फरक कुरा हुन् जस्तो देखिन्छ । शिवजीको स्वरुप भन्ने बित्तिकै सर्पको मालालगाएका, शिरमा चन्द्रमा भएका, घाँटीमा कालकुट विष सेवन गरेका कारण निलो धब्बा भएका, गोरुमाथि चढेका, खरानी धसेका, त्रिशुल लिएका, बाघको छालाको कछाड लगाएका, डमरु बोकेका पात्रको चित्र अगाडि आउँछ । तर शिव लिंगको कुरा गर्दा भने हाम्रो दिमागमा करिब करिब उत्तेजित पुरुष लिंगको स्वरुपको कुनै शिलाको स्वरुपको आकृति दिमागमा आउने गर्दछ ।
यसरी शिव भन्ने बित्तिकै रौद्र स्वरुपका महादेवको चित्र अगाडि आउनु र शिवलिंग भन्ने बित्तिकै पुरुष जनेन्द्रिय जनाउने कुनै शिलाको आकृति अगाडी आउनुले शिव र शिवलिंग फरक फरक कुरा हुन् भन्ने देखिन्छ । अझ शिवलिंगको बाहिरी भागलाई योनी आकारमा बनाईएको हुन्छ । यसै हिसाबले हेर्ने हो भने, शिवलिंग भनेको शिवको नभै विशेष गरेर उनको समागम गरिरहेको उत्तेजित लिंगको पुजा नहोला भन्न सकिदैन ।
लिंग र श्रृष्टिः एकआपसका परिपुरक
लिंग श्रृष्टिको स्वरुप हो । यसैबाट धर्तीमा नयाँ पुस्ता जन्मन्छ बिर्यका माध्यमबाट । तर लिंग आफैमा पूर्ण छैन । यसका लागि योनीको आधा भूमिका रहन्छ । यदि आदर्शबाट शिव लिंगको पुजा गरिएको हो भने पनि पार्वती योनीको पुजा नगरिनु लैङ्गिक हिसाबले विभेदकारी देखिन्छ । जब लिंग र योनीबाट श्रृष्टि चलेको हुन्छ भने सांकेतिक हिसाबले यि दुवैको पुजा गरिनुलाई सकारात्मक नै मान्न सकिन्छ तर एक पक्षीय आराधना र उपासना समाजिक समानताका दृष्टिले समेत विभेदकारी देखिन्छ । लिंगको पुजा पुरुष प्रधान समाजको ‘वाईप्रोडक्ट’ हो । नारीलाई दास बनाउने पुरुष सोचको परिणाम हो ।
नारीहरुको मनोविज्ञान
हरेक मानिस विपरित लिंगप्रति आकर्षित हुने गर्दछ । यो श्रृष्टिको नियम नै हो । यस अर्थमा पुरुषहरु महिला प्रति आकर्षित हुनु र महिलाहरु पुरुष प्रति आकर्षित हुनु अन्यथा हैन । तर शिव लिंगको पुजामा महिलाहरुको लगाव अधिक हु्नु यो धार्मिक आस्था मात्र हो वा यौनिक हिसाबले विपरित लिंगप्रतिको आशक्ति हो ? यो बहसको अर्को पाटो हो । किनभने दक्षिण भारतमा अविवाहित महिलालाई शिव लिंग छुन दिईदैन । यसबाट हामीले पुजा गर्ने शिव लिंग भगवान शिवजीको स्वरुप मात्र नभै उनको जननेन्द्रियको आकृति नै हो जसलाई छुन अविवाहित महिलालाई कयौं हिन्दू सम्प्रदायमा रोक लगाईको जस्तो देखिन्छ । अनि शिवजस्तै पति पाउन महिलाहरु शिवजीको आराधना गर्ने गरेका देखिन्छन् भने कतै यो यौन मनोविज्ञानमा आधारित धार्मिक परिपाटी त हैन ?
यसरी सिधा अर्थमा अनि शिवलिंगको देखिएको स्वरुपमा मात्र भन्दा कतिपय मानिसलाई चित्त दुख्न सक्छ, यस प्रकारको व्याख्याले गलत अर्थ दिन सक्छ अनि मानिसको आस्थामाथि चोट पुग्न सक्छ । तर वर्तमानमा अवलम्वन गरिएको शिव लिंगको पुजा भने आम हिन्दू नारीहरुले गरेको पुरुषत्वको पुजा तथा उनीहरुको यौन मनोविज्ञानसँग जोडिएको देखिन्छ । जबसम्म आम मानिसहरुले बुझ्ने गरी धर्मभिरुले व्याख्या गर्दैनन् तबसम्म यस्ता प्रश्नहरु उठिरहन्छन् । जबसम्म यसको आम मानिसहरुले बुझ्ने भाषामा व्याख्या गरिंदैन तबसम्म हामीहरुले बुझ्ने भनेको सतही र आँखाले देखेको आकृतिमाथिको अनुमान मात्रै हो जसलाई अन्यथा मानिनु हुँदैन ।
पुरुषप्रधान समाज र शिवलिंगको पुजा
हिन्दू धर्ममा केहि यस्ता प्रसंगहरु जोडिएका छन् जसलाई पुरुष प्रधान समाजको अवयवका रुपमा लिइनु पर्दछ । पुरुष मरेपछि उनकी बिधवालाई जलाईने प्रचलन हिन्दू धर्ममा थियो, सतिसाबित्रीको कथा यहि देखाईएको छ । उर्वशी, मेनका जस्ता पात्रलाई मनोरन्जनका साधनका रुपमा यहि चित्रित गरिन्छ । अनि सिताको चरित्र यहि जाँचिन्छ । यदि त्यसो हो भने के शिव लिंगको पुजा पुरुषप्रधान समाजमा उनीहरुले महिलालाई दास बनाउने प्रचलनमा आधारित दमन र स्त्री भोगसँग सम्बन्धित त छैन ?
किनभने यो हाम्रो त्यहि समाज हो जहाँ हरेक दिन सयौं चेलिबेटीहरु उत्तेजित पुरुष लिंगका कारण बलात्कृत हुन पुग्छन् जहाँ अर्कातर्फ हरेक हिन्दू नारीहरु आस्थाका खातिर तिनै लिंगको पुजामा उपबास बस्छन् । प्रश्नहरु अनुत्तरित छन् । अझै पनि यस्ता प्रश्नहरु उठाउने व्यक्तिलाई धुन्धुकारी बनाउन हाम्रो समाजका धर्मभिरुहरु उद्यत देखिन्छन् ।
The post शिवजीको पुजा कि शिव लिंगको पुजा ? appeared first on Sajha Post.