अशोक राईले माओवादी केन्द्र र एमाले एकीकरणपश्चात् एउटा सटीक टिप्पणी गर्दै भन्नुभएको थियो, ‘माके–एमालेको एकीकरण कोदो र तोरीको मिश्रण जस्तै हो, जसबाट न तेल निकाल्न सकिन्छ, न रोटी नै बनाउन सकिन्छ ।’ उहाँको टिप्पणीमा असहमत हुने ठाउँ छैन । घटनाक्रमले यही कुरा पुष्टि गर्दै लगेको देखिन्छ ।
तर, यो टिप्पणी उत्तिकै सटीकरुपले उहाँ आफैंमाथि पनि लागू भएको देखिन्छ । वैकल्पिक राजनीतिक ध्रुव निर्माण गर्ने भनेर एमाले परित्याग गर्नुभएका उहाँले विभिन्न समयमा गलत निर्णयहरु गर्दै न तेल निकाल्न सक्नुभयो, न त रोटी नै सेक्न सक्नुभयो ।
पहिलो संविधानसभाको अवसानपश्चात् एमाले परित्याग गर्ने उहाँको निर्णय आफैंमा एउटा विद्रोह थियो । सही समयमा गरिएको सही विद्रोह । नैतिकरुपले अशोक राई विजय भएका थिए भने कांग्रेस, एमाले र माओवादी पराजित । त्यसले वैकल्पिक राजनीतिको एउटा ठूलो सम्भावनालाई उद्घाटन पनि गरेको हो । तर, लगत्तै राजनीतिक दाउपेचको ताल तिगडममा फस्नुभो ।
जनजाति आन्दोलनको गर्भबाट निस्कन लागेको वैकल्पिक राजनीतिको सम्भावनालाई उहाँ आफैंले घाँटी निमोठ्न पुग्नुभयो । तत्कालीन समयको माग सम्पूर्ण जनजातिलाई समेटेर एउटा वैकल्पिक राजनीतिक पार्टीको जग बसाल्नु थियो । तर, लगभग छ महिनासम्मको म्याराथन प्रयासका बावजुद अन्तिम समयमा उहाँले करीब करीब सहमतिमा आईसकेको सिंगो जनजाति आन्दोलनलाई अलपत्र छोडेर राजनीति गर्नका लागि एक्लै अगाडि बढ्नुभयो । लगत्तै बाध्य भएर हामी जनजाति आन्दोलनकर्मीहरुले सामाजिक लोकतान्त्रिक पार्टी गठन गर्यौं ।
जनजाति आन्दोलनकर्मीहरुसँग सहमति हुन नसकेपछि अशोक राईहरुले प्रष्टीकरण दिनुभो । भन्नुभो, ‘मार्क्सवाद छोड्न सकिएन र आदिवासीवाद मान्न सकिएन ।’ तर, अन्तर्यमा कुरा अर्कै थियो । खासमा एकजना व्यक्तिको मदन भण्डारी पछिको ठूलो भाष्यकार बन्ने सनकको शिकार जनजाति आन्दोलन भयो । भाष्य बन्यो- ‘संघीय समाजवाद’ । उपेन्द्र यादवको मधेशी जनाधिकार फोरम नेपालसँग एकता गर्दा पनि ‘संघीय समाजवाद’ नै मुल निर्देशक सिद्धान्त रहेको देखियो । यहाँ मार्क्सवादलाई कुनै पनि किसिमको डोमिनेन्ट थ्यौरीको रुपमा महत्व दिएको देखिएन ।
खैर, अशोक राई र उपेन्द्र यादव मिल्नुभो । हिमाल, पहाड र तराईलाई समेटेर वैकल्पिक राजनीतिक दल निर्माण गर्ने संकल्प गर्नुभो । चुनाव २०७४ लड्नुभो र अहिले नेकपा ओलीको सरकारमा पनि सहभागी हुनुहुन्छ ।
अब अहिलेको यक्ष प्रश्न अशोक राईतिर तेर्सिएको छ । के तपाईंले एमाले परित्याग गर्दा चाहेको वैकल्पिक राजनीतिक दल यस्तै थियो ? अर्को महत्वपूर्ण प्रश्न पनि छ । तपाईले वैकल्पिक राजनीतिक दल फस्टाउने वातावरणलाई ठूलो बनाउनुभयो अथवा साँघुरो पार्नुभयो ?
यी प्रश्नहरुको उत्तर उहाँले दिनुहोला वा नहोला । तर, कन्टेन्टहरुको वस्तुगत विश्लेषण गर्न सकिन्छ । कुनै समयमा उहाँले छोड्न सकिएन भनेका मार्क्सवाद नेपालमा खासै बहसको मुद्दा रहेन । संविधानमै समाजवाद लेखिसकेपछि मार्क्सवाद उपर पैंठेजोरी देखिएको पनि छैन । तर अपनाउन नसकिएको भनिएको आदिवासीवादलाई तत्कालीन समयमा उहाँहरुले अत्यन्त संकीर्ण जातिय अर्थमा मात्र बुझिदिनुभयो कि ?
र, पनि दोस्रो संविधानसभाको निर्वाचनमा आदिवासी जनजाति मेरो कन्सटिचुएन्सी हो भनेरै भोट माग्न जानुभो । र, आदिवासी जनजातिले नै केही समानुपातिक सीटहरु जित्नेगरी भोट हालिदिएको पनि हो । मजफो नेपालसँग पार्टी एकीकरण गर्दा पनि मार्क्सवादलाई आधार बनाईएन । बरु तराईका मधेशी र पहाडका आदिवासीबीच सोसल ईन्जिनियरिङ्ग गरी वैकल्पिक राष्ट्रिय पार्टी बनाउछौं भनियो ।
पहिचानको मुद्दालाई आधार बनाईयो । र, अहिले पनि अशोक राईको ‘कन्स्टिचुएन्सी’ आदिवासी जनजाति हो भनेरै सबैले बुझ्छन्, कुनै मार्क्सवाद/वर्गीयताको सुगन्ध वा ‘भ्यालु एड’ देखिंदैन त्यसमा ।
यस्तोमा आदिवासीवादबाट अशोक राईहरु तर्किनुपर्ने वा तर्सिनुपर्ने त्यस्तो के आईपर्यो भन्ने प्रश्न अद्यापि बाँकी छ । यद्यपि, छलफलको अन्त्यमा आदिवासीवादलाई ‘ड्रप’ गर्ने सहमतिमा सबैजना पुगिसकेका थिए ।
हुन त आदिवासीवाद भन्ने हामीहरुले पनि सविस्तार व्याख्या बहस गर्न सकेनौं होला । तर अहिले डा. बाबुरामले एउटा शब्द क्वाईन गर्नुभएको छ, प्रबोधन (ईन्लाईटेनमेन्ट) । यससँग जोडेर केही कुरा राख्न मन लाग्यो ।
आदिवासीवाद र प्रबोधनको गन्तव्य विन्दू एउटै हो । आदिवासीवाद एउटा जीवन पद्धति हो जसले जीवन, जगत र यहाँसम्म कि मृत्युलाई पनि सेलेब्रेट गर भन्छ । व्यवहारमा आदिवासी जीवन पद्धतिमा बाँचिरहेका (यसभित्र आदिवासी जनजाति, मधेशी, दलित र खसआर्य सबै पर्दछन्) अधिकांश समुदायहरुको खानपान, चाडपर्व, भाषा, नाँचगान र वार्षिक क्यालेण्डर हेर्ने हो भने जीवन र मृत्युलाई बरोबरी समारोह गरी मनाउँछन् । दुःख सुख दुवैमा समान मनोभाव राख्नसक्ने नेपालीहरु एक तहको प्रबोधनमा त छ नै । र, यो कुरा बुद्धिज्मसँग सम्बन्धित छ । जस्तोसुकै कठीन परिस्थिति वा जस्तोसुकै प्रतिस्पर्धाको परिस्थितिमा कुनै पनि प्रकारको तनाव नराखी समान मनोभाव राख्नसक्ने गुण नेपालीमा छ । यही गुणलाई आदिवासीवाद वा एक तहको प्रबोधन प्राप्तिको अवस्था भन्न सकिन्छ ।
डा. बाबुरामले थप भन्न खोज्नु भएको होला । त्यो राजनीतिक प्रबोधनको विषय हुनसक्छ । र, हामी अहिले जुन चेतनास्तरमा छौं, त्यो राजनीतिक प्रबोधनको लागि राम्रो प्रस्थानविन्दु हो । यससँगै एउटा अनावश्यक अपेक्षा जागृत हुन्छ, औपचारिक शिक्षाको । तर सर्टिफिकेट र प्रबोधनबीचको सम्बन्ध खासै देखिंदैन । हाम्रो सामाजिक संरचनाका उज्याला पक्षहरु प्रबोधन प्रबर्धनमैत्री छन् भन्न सकिन्छ । हामीले भन्न खोजेको आदिवासीवाद (ईन्डिजनीजम्) ती उज्याला पक्षहरुसँग सम्बन्धित छन् जसले मौलिकताको रक्षाको कुरा गर्छ, वातावरण जोगाउने कुरा गर्छ, स्वतन्त्रता र समानता प्रबर्धनको कुरा गर्छ । र, समग्रमा प्लेटोले भनेका राज्य साम्यवाद र रुसोले भनेका आदिम साम्यवादका मुल आदर्श (कथ्य)लाई आत्मसात गर्दछ ।
हामी अहिले अशोक राई, तोरी र कोदोको प्रसंगमा छौं । अर्को पनि प्रश्न छ, उपेन्द्र यादव र अशोक राईबीचको ‘सोसल ईन्जिनियरिङ्ग’ले काम गर्यो त ? चुनाव २०७४ ले त त्यस्तो देखाएन । उपेन्द्र यादवले केही हदसम्म मधेशी जनाधार जोगाए पनि अशोक राईको जनजाति जनाधार झन् पातलो हुनगयो । स्थानीय तहको चुनावमा एउटा पनि गाउँपालिका अध्यक्ष वा नगरपालिका मेयर जित्न नसक्नु, प्रदेश र संघीय संसदको चुनावमा पनि पहाडमा शून्य परिणाम ल्याउनुले यो ‘सोसल ईन्जिनियरिङ्ग’ नै कतै गलत छ कि भन्ने प्रश्न उठ्छ ।
पहाडी राष्ट्रवादको नाराले यस्तो हुन गयो भन्ने सजिलो उत्तर दिन सकिन्छ होला । तर कुरा यति मात्र हैन । सम्पूर्ण नेपालको सामाजिक सांस्कृतिक धरातललाई ईन्कार गरी यो तोरी र कोदोको मिश्रण गरिएको सत्यलाई ईन्कार गर्न सकिन्न । हिन्दू राष्ट्रको सवालमा अशोक राईको बनिस्बत् यादव, झा, ओली, नेपाल, दाहाल, पौडेलको ‘हिडेन ईन्ट्रेष्ट’ एउटै हुनसक्छ । संघीयताको सवालमा उपेन्द्र यादवको बनिस्बत् राई, लिम्बु, मगर, ओली, नेपाल, दाहाल, पौडेलको हिडेन ईन्ट्रेष्ट एउटै हुनसक्छ । स्मरण रहोस्, जनजाति आन्दोलनले पहिचान र स्वायत्तता मागेका हुन् तर संघीयता मधेश आन्दोलनको उपलब्धि हो । समानुपातिक समावेशीको मुद्दाले निश्चय पनि राई र यादवलाई एक ठाउँमा ल्याएको हो । तर, उहाँहरु हदभन्दा बढ्दै एकअर्कामा समागम हुनुभएको हो कि ?
र, यो समागमले तेल अथवा रोटी निकाल्ने सम्भावना देखिंदैन । ४ नं. प्रदेशलाई तमुवान र १ नं. प्रदेशलाई किराँत नामाकरण नगर्ने सरकारमा सामेल भईरहने अशोक राईहरुको जनाधार वा मताधार बढ्छ अथवा घट्छ, प्रश्न गम्भीर छ । त्योभन्दा पनि आफ्नै अन्तर्मनले के भन्छ, नैतिक धरातल बाँकी नै रहन्छ वा खस्किन्छ ?
वैकल्पिक राजनीतिको कुरा गर्ने हो भने उपेन्द्र यादवले दुनियाँदारी बुझिसकेको जस्तो देखिन्छ । उनले आफ्नो अधिकतम सम्भावनाहरुको दोहन गर्नमा ध्यान केन्द्रित गरिसकेका छन् । गरिरहेका पनि छन् । मुद्दागत हिसाबले पनि उनी प्रष्ट छन् र मधेशी मुद्दामा केन्द्रित छन् । जनाधार कायम राख्ने सवालमा पनि बडो चतुर्याईंपुर्वक माई (मुस्लिम यादव) समीकरणमा जोड दिएका छन् । मुख्यमन्त्री र केन्द्रीय मन्त्री मुस्लिमलाई बनाएर उनले भविष्यका लागि स्पष्ट सन्देश दिएका छन् । उनले प्रदेश नं. २ मा सही मायनेमा सफल सोशल ईन्जिनीयरिङ्ग गरेका छन् । यसरी हेर्दा कामना गरौं, संघीय समाजवादी फोरममा रहेका मधेशी ईत्तरका समुदाय र नेताहरु आफु हुस्सु बनेको महशुस गर्न नपरोस् । भन्नैपर्ने हुन्छ, अशोक राईले धेरै टाढा दुरदेशमा लगनगाँठो कस्न पुग्नुभएछ ।
स्वभाविक लगनगाँठो त्यो हो, जसमा समान स्तरका, समान सोंच भएका र समान धरातल भएकाहरु बीच मिलन हुन्छ । नेपालको सन्दर्भमा संविधान २०७४ ले द्वि–राष्ट्रियताको अवधारणालाई स्वीकार गरेको देखिन्छ । वैकल्पिक राजनीतिको आत्मालाई मर्न नदिने हो भने अशोक राईको सामुन्ने फेरी एकचोटी ब्रेक थ्रु गर्ने मौका छ । उहाँसँगै सम्पुर्ण जनजातिहरुको जीजिबीषा पनि अतृप्त छ । हलेसी महादेवले सद्बुद्धि प्रदान गरुन् । तोरी र कोदोको आ–आफ्नै बारीमा फलिफाप होस् । जय होस् ।
The post वैकल्पिक राजनीति र कोदो तोरीको यारी appeared first on Sajha Post.