काठमाडौं, २९ असार । भू–जल (जमिनमुनिको पानी) र सतह जल निकायहरु (खोला, पोखरी, समुन्द्र) जस्तै आकाशे पानी पनि जैविक र अजैविक वस्तुहरुका लागि पानीको श्रोत हो । केही अनुसन्धानले देखाएको छ कि आकाशे पानीले अन्य श्रोत भन्दा शुद्ध पानी उपलब्ध गराउँछ । यो पानी पिउन, खेती गर्न, लुगा धुन तथा अन्य घरायसी प्रायोजनका लागि प्रयोग गरिन्छ । जमिन वा जल निकायहरुको पानी सूर्यको तापले बाफमा परिणत भई, सतहवाट वायुमण्डलतर्फ उड्छ । आकाशमाथि बाफका कणहरु एक आपसमा टाँसिन थाल्छन् र पानीको थोपामा परिणत हुन्छन् । टाँसिने क्रममा पानीको थोपाहरुको वजन जब गुरुत्वाकर्षण (ग्य्राभिटि) ले जमिनतर्फ धकेल्न छक्ने हुन्छ, ती थोपाहरु आकाशे पानीका रुपमा जमिनमा झर्छन् ।
यस लेखको उद्धेश्य आकाशे पानी सम्बन्धि सचेत गराउनका साथै यसको उपयोगिता सम्बन्धि छलफल गर्ने हो । जलश्रोतको दोस्रो धनी देश वास्तवमा दोस्रो धनी देश होइन । पत्याउन ग्राहो पर्छ तर हो हामीलाई विद्यालयमा गलत कुरा पढाइयो । दोस्रो धनी देश होइन तर जलश्रोतमा कुल भुगोलको अनुपातमा अत्याधिक नै हो । तर पनि यहाँ पानीको अभाव छ । काठमाडौंमा रहेका अधिकांश सतही पानीका स्रोत दुषित छ । अंग्रेजीमा एउटा भनाइ छ ‘वाटर वाटर एभ्रीव्यर नट अ सिंगल ड्रप टु ड्रिक’ नेपालको मामिलामा मेल खान्छ ।
परापूर्वकालदेखि हेर्दा, वस्ती विकास पानी सतहजल निकाय जस्तै खोला नाला वा नदीको किनारवाट सुरु भएको भेटिन्छ । त्यो बस्तीका वासिन्दाले आवश्यक पानी प्रयोग गर्ने र दुषित पानी (खेतीपातीमा प्रयोग गरी बचेको) त्यही सतही पानीमा वहाव गराइदिने थाहा भएकै कुरा हो । पानीको फेरी विभिन्न विशेषता मध्ये एक हो प्राकृतिक शुद्धिकरण गर्न सक्ने क्षमता । दुषित पानी आफै प्राकृतिक रुपमा शुद्ध हँदै जान्छ तर एउटा तह सम्म । उसको प्राकृतिक शुद्धिकरण क्षमता भन्दा बढी फोहर पानीमा विसर्जन गर्न थाले, पानीफोहर नै रहन्छ ।
प्राकृतिक शुद्धिकरणमा भूमिका खेल्ने विधिहरु अवसादन (थेग्रिने) र ओक्सीकरण (अक्सिडेसन) र एनारोविक (अक्सिजनको अभाव) कुहाइ हो । काठमाडौंमा बग्दा दुषित बागमती, तराईमा बग्दा सफा छ । काठमाडौंको बागमतीमा बग्ने पनि पानी नै हो, तर पानीको उपलब्धताको दृष्टिकोणबाट हेर्दा त्यसलाई खानीपानीको रुपमा हेर्न मिल्दैन । सतही पानीको उपलब्धता उसको आत्म शुद्धिकरणका कारणले गर्दा हो भने भुजलको अत्याधिक निकासीले भू–जलको तहनै तल गइरहेको छ । त्यस्तै ओडिएफ क्याम्पेन अन्तर्गत सबै घरमा शौचालय निमौण गरियो या यो क्याम्पेन अगावै निर्माण गरियो तर अधिकांश शौचालय ढलमा जडान गरिएको छैन। सेफ्टीक ट्याङ्क पनि धेरै घरमा छैन । सोक पिटमा जम्मा भएको दुषित पानीले विस्तारै भू–जलमा प्रदुषण गर्छ । पानीजाँच गराउने त हामी कमै गर्छौ । पानी जाँच नगराउँदा हाल प्रयोग गरिरहेको भू–जलको गुणस्तर नराम्रो पनि रहन सक्छ ।
अब बाँकी विकल्प रहेको आकाशे पानी, तर पनि अधिकांशले यो प्रयोग गरेको पाइदैन । बरु किनेर ट्याङ्करको पानी उपभोग गरिएको पाइन्छ । आकाशे पानीवारे अविश्वास रहनुको मुख्य कारण गुणस्तर हो । हालको वायू प्रदुषण र पानी पर्ने सतहले आकाशे पानी दुषित बनाउँछ । अर्को कारण हो खरिद गर्ने चाहना र जनशक्तीको कमी । विलिङ्गनेस टु पे भनेको कुनै प्रविधि वा वस्तुलाई अपनाउन मानिसहरुको खर्च गर्न सक्ने चाहना हो । आकाशे पानी प्रविधि स्थापना गर्न मानिसहरु धेरै खर्च गर्न नचाहनुले यो क्षेत्रमा लाग्ने प्राविधिकलाई उचित मूल्य नआउनु र काम गर्न क्षमता भएका प्राविधिकहरु घरको धारा मात्र जोड्दा धेरै पैशा कमाउन सक्ने हुदाँ उनीहरु यो काम गर्न नखोज्नु हो । अनि अर्को महत्वपूर्ण कुरा नेपालको हावापानी र मौसम हो । नेपालमा बर्षायाम जेठमा सुरु भएर भदौसम्म अधिकांश पानी पर्ने केही मात्रमा जाडो महिनाहरुमा पनि पर्छ । सबै भन्दा सुख्खामहिना चैत वैशाखतीर हुन्छ, जुन वर्षायाम अगाडी आउँछ । भण्डार गरेको पानी सुख्खा महिनासम्म पुग्छ की पुग्दैनभन्ने कुरा विचाराधिन छ ।
यदि त्यो सबै भन्दा सुख्खायाम सम्म पुर्याउने हो भने ठुलो भण्डारण ट्याकीं बनाउन पर्छ जसको खर्च अत्याधिक हुन आउँछ । सामान्यता एक मानिसले १०० देखि १३५ लिटर पानी दैनिक रुपमा खपत गर्छ, जसमध्ये पिउन र खाना पकाउन प्रतिव्यक्ति १० देखि १५ लिटर पानी खपत गर्छन् । ४ जनाको परिवारलाई पिउन मात्र दैनिक ६० लिटर पानी आवश्यक हुन आउँछ । ३ महिना मात्र पानी परेको मान्ने हो भने ९ महिना आकाशे पानीमा निर्भर हुन १६,२०० लिटर क्षमताको ट्यांक्की चाहिन्छ । बर्षायाममा पनि पानी परि रहेकाले १०,००० लिटर क्षमताको ट्यांक्की भएपुग्ने देखिन्छ । यो पिउन र पकाउनका लागि मात्र हो । शौचालय, नुहाउन, लुगाधुन, सरसफाईको यसमा जोडिएको छैन । आम नेपालीले पानी भण्डार गर्ने ट्याक्कीं ५००० देखि ७००० लिटर र अहिले बनेका नयाँ घरमा सरदर १५ देखि २० हजार लि क्षमताका मात्र बन्छन । यो कुरा बुझ्न अति आवश्यक छ कि यो ट्याँक्की निर्माण खर्च अत्याधिक हुन आउँछ । खर्च कम गर्न प्लाष्टिकका ट्याक्कीं पनिप्रयोग गर्न सकिन्छ । तर वर्ष भरी पुग्ने गरी राख्दा आवश्यक पर्ने ट्यांक्कीर ती ट्यांक्कीले ओगट्ने क्षेत्रफल पनि धेरै हुन जान्छ ।
यस्तो समस्या हुँदाहँदै पनि नेपाल सरकार , अन्तर्राष्ट्रिय संघ संस्थाहरु र बुद्धीजिवीहरु यस प्रविधिको वकालत गर्छन्, कारण धेरै छन् । पहिलो कारण हो आंशिक आपूर्ति ।आकाशे पानीमै पूर्ण रुपमानिर्भर हुनआर्थिक रुपमा महंगो पर्ने हुँदा, आंशिकरुपमा आपूर्ती भने गर्न सक्छ र त्यति गर्दा पनि ट्यांक्करमा पानी खरिद गर्नु भन्दा सस्तो पर्छ र खानेपानी आयोजनामा निर्भरता र वील रकम कम हुन जान्छ । आकाशे पानी संकलन विधीको संचालन सरल र समय कम खपत गर्ने खाल हुन्छ ।
बारी, सिंचाई लगायत फुलबारी, लगायत पिउने वाहेकका अन्य प्रयोजनका लागि खरिद गरेको पानी उपयोग गर्नु भन्दा आकाशे पानी प्रयोग गर्दा खर्च कम हुन जान्छ । यसले भू–जलको प्रयोगमा कमी ल्याउँछ । भ–जलको सतह निरन्तर तल हुँदै जाँदा पृथ्वीको सतह, जैवीक विविधता र अन्य सतह पानीमा पनि असर गरिरहेको छ । यो शहरी क्षेत्रमा अझै बढी देखिन्छ । काठमाडौं जस्तो अत्ति घना शहरहरुको अर्को समस्या हो वर्षायाममा अत्याधिक पानी र अन्य समयमा कम पानी । आकाशे पानी संकलन गर्दा वर्षायाममा बाढीमा योगदान कम हुन्छ भने सुख्खायाममा यो प्रविधि प्रयोग नगर्दा भन्दा पानी उपलब्धता बढ्न जान्छ ।
The post आकाशे पानी संकलन र यसको उपयोगिता, आवश्यकता कि बाध्यता ? appeared first on Sajha Post.