भाषा र सम्पदाको ज्ञानलाई मानव ज्ञानसामग्रीको मूल विषय मान्ने चलन मानव सभ्यताको सुरुआतबाटै चलेको हो । जीवनमा भोगेको मानवीय अनुभूतिको दर्शनबाट थालनी भएको बौद्धिक सम्पत्ति आज ज्ञानविज्ञानका हरेक विधामा व्याप्त छ । ज्ञानका विभिन्न क्षेत्र जस्तै कला, राजनीति, प्राकृतिक विज्ञान, खगोल विज्ञान, वनस्पति विज्ञान, अर्थशास्त्र, भाषाविज्ञान, शिक्षाशास्त्र र समाजशास्त्रजस्ता सयौँ विषय बौद्धिक सम्पत्तिका सामग्री हुन् । यस्ता सामग्री स्थानीय भाषामा राखेर भविष्यका सन्ततिलाई हस्तान्तरण गर्नुपर्छ । तर नेपालको हकमा राष्ट्रिय अभिलेखन पद्धति ज्यादै कमजोर छ । जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता जस्ता महत्वपूर्ण नागरिक अभिलेखको नाम थर र ठेगानामा समेत २६ प्रतिशतसम्म अशुद्धि भेटिनु भनेको अत्यन्तै कमजोर अभिलेख हो । भाइटल रेकर्ड भनिने पञ्जिका अभिलेखको हालत यस्तो छ भने सरकारले बौद्धिक सम्पत्तिको अभिलेखीकरण गरेर तीन तहको राष्ट्रिय ज्ञान भण्डार निर्माण गर्ला भनेर आशा गर्नु भनेको आकाशको फल जस्तै भएको छ ।
आज अङ्ग्रेजी भाषालाई ज्ञानको उत्कृष्ट स्रोत मान्ने चलन भएकाले नेपालका प्राय (हरेक?) मानिस अङ्ग्रेजीबाहेक अन्य भाषामा लेखिएका अवधारणाहरुले विचार र ज्ञानको आदान प्रदान गर्न सक्दैन भन्ने धारणा राख्छन् । त्यस्तो धारणाले समस्त युवा पिढीमा आफ्नो भूगोल र संस्कृतिलाई नर्क र युरोप अमेरिकालाई स्वर्ग देख्ने आँखाको विकास भएको छ ।
भाषा संस्कृतिको वाहक हो । भाषाविज्ञानका क्षेत्रमा भाषा भनेको शब्द, वाक्य वा लिखित पाठ हुनसक्छ तर संस्कृतिका क्षेत्रमा भाषा भनेको सामाजिक परिचय, दैनिक व्यवहार, मानवीय विश्वास, इतिहास आदिको प्रतिनिधित्व गर्ने सामाजिक घटक हो । भाषा र संस्कृतिबीच कस्तो सम्बन्ध हुन्छ ? सपिरले भाषा भनेको प्रतीकहरूद्वारा उत्पादित मानवीय भावना र विचार साटासाट गर्ने साधन हो भनेका छन् । भाषा सञ्चारको साधन हो । भाषाले व्यक्ति वा समाजको इतिहास र संस्कृति दुवैलाई प्रतिबिम्बित गर्दछ । भाषाले संस्कृतिको विकास, सांस्कृतिक प्रसार र सामाजिक समूहको परिचालन, कार्यान्वयन र नियन्त्रण गर्दछ ।
पुरातन समयदेखि नै भाषा, संस्कृति र विचारबीचको सम्बन्धका बारेमा भाषाविदहरू र दार्शनिकहरूले छलफल गरी आएका छन् । भाषाले पारिवारिक र सामाजिक संस्थामार्फत् संस्कृति, मूल्य, व्यवहार, विश्वासको सञ्चार एकअर्कासँग जोडेको हुन्छ । संस्कृतिले मानव जीवनका लगभग हरेक पक्षलाई भाषाका माध्यमबाट जीवन्त राखेको हुन्छ । मान्छेले भाषाका माध्यमबाट संस्कृतिका अन्तर्वस्तु साझेदारी गर्दछ । अर्थात भाषा मार्फत संस्कृतिका कुराकानी समाजमा आदानप्रदान गर्ने गरिन्छ ।
सपिरहोर्फ हाइपोथेसिस अनुसार कुनै पनि व्यक्तिले आफूले सिकेको भाषाको आधारमा नै विश्वलाई हेर्ने गर्दछ र सिकेको भाषाको आधारमा जीवन जगतप्रति अवधारणा बनाउँछ । भाषाले दिएको अर्थभन्दा बढी उसले सोच्न सक्तैन वा भाषिक सीमितताले व्यक्तिको सोच सीमित हुन्छ । अत: भाषा भनेको विचार विनिमयको साधन वा ज्ञान आदानप्रदानको माध्यम मात्रै होइन सांस्कृतिक र सामाजिक पहिचान एवम् सामाजिक समृद्ध जस्ता कुरा पनि भाषाको सापेक्षतामा भर पर्दछ ।
हामीले बोल्ने शब्द र वाक्यहरूमा समाज र संस्कृतिको छाप हुन्छ । भाषा र संस्कृतिबीच चक्रीय सम्बन्ध हुन्छ । समाजमा सामाजिक मानदण्डहरू र नियमहरू हुन्छन्। औपचारिक वा अनौपचारिक रूपमा निर्दिष्ट भएका मापदण्डहरू र नियमहरू भाषा सापेक्ष हुन्छन् । सामाजिक मापदण्ड, नियम, कानुन, सामाजिक भूमिका भनेको त्यस देश र समाजको भाषाले निर्धारण गर्दछ । भाषिक प्रयोगको अवस्थाले त्यस देश र समाजको सामाजिक आदर्श प्रतिविम्वित गर्दछ ।
भाषा र संस्कृति आन्तरिक रुपमै अन्तरसम्बन्धित हुन्छन् । भाषा मानव समूहको गतिविधिको आधारभूत तत्व हो । अर्थात भाषा समाज र संस्कृतिको अभिव्यक्ति हो । इतिहासले के देखाइएको छ भने भाषाले सामाजिक भावनाको गहिराइ जोगाउन सक्छ । शिक्षा भाषाका माध्यमबाट दिइने हुनाले भाषा विचार आदानप्रदानमा मात्र सीमित हुँदैन भन्ने कुराको पुष्टि गर्दछ । किनभने शिक्षाका लक्ष्यहरू भाषामा परिभाषित हुन्छन । शिक्षाविद् र राजनीतिज्ञहरू भाषाको स्वरुप बारे कुरा गर्छन् तर उनीहरूलाई यो थाहा छैन कि भाषा भाषिक स्वरुपमात्र होइन यसले त समग्र मौलिक मुद्दाहरू बुझ्न मद्दत गर्दछ ।
ज्ञानसामग्री भनेको मानिसका मनको सोच हो र त्यस्तो सोच भाषा र संस्कृतिमा आधारतित हुन्छ । ज्ञानसामग्री भनेको भौतिकरुपमा प्राकृतिक वस्तु र त्यसको परिचालन एवम् मानसिक रुपमा मानिसका मनको भावनात्मक वस्तु हो । यस्तो भौतिक वा मानसिक वस्तु केमा बाँचेको हुन्छ ? उत्तर आउँछ, भाषामा । भाषा सापेक्षिक सत्य बताउने साधन पनि हो । यसले निरपेक्ष सत्य बताउन सक्दैन । ज्ञानसामग्री निरपेक्ष हुँदैन । ज्ञानसामग्री कुनै भाषामा हुन्छ वा भाषासापेक्ष हुन्छ ।
मानव अवधारणाहरु, वस्तुको नाम, त्यसप्रतिको विश्वास, मानिसका इच्छा र विचार हाम्रा परम्परागत भाषिक सामग्री वा ज्ञानसामग्री हुन् । यस्तो सामग्री निर्माण गर्ने प्रकृया पनि रणनीतिक हुन्छ । किनभने कुनै पनि समाजको भाषा त्यो समाजको एउटा वा दुइटा व्यक्तिको स्वेच्छाले बोल्न लेख्न सकिँदैन । यसले प्रमाणित गर्छ भाषा र ज्ञानसामग्री सन्दर्भ निरपेक्ष हुँदैन । सन्दर्भ सापेक्ष नै हुन्छ । त्यसैले देश, काल र परिस्थितिअनुसार भाषामा ज्ञानसामग्री निर्माण गर्ने रणनीति त्यस देशको शासनसत्ता सञ्चालन गर्ने निकायले बनाउनु जरुरी हुन्छ ।
राष्ट्रको संस्कृति र ज्ञानको अवधारणा भाषामा हुन्छ अनिमात्र मानिसको दिलमा । हाम्रो परम्परागत आयुर्वेद, योग, सांस्कृतिक बौद्धिक सम्पत्ति संस्कृत, पाली, तिरहुत, अरबी, फारसी र आधुनिक अङ्ग्रेजी, जर्मन भाषामा मूल एवं अनुवाद भएर रहेका ज्ञानलाई खोजेर त्यसमा भएका विविध अनुशासनलाई नेपाली र नेपालका राष्ट्र भाषामा एकीकृत गर्ने हो भने मात्र हाम्रो बौद्धिक सम्पत्तिमाथि दावी गर्न सक्ने अवस्था रहन्छ ।
उदाहरणका लागि संस्कृत शिक्षा भन्ने बित्तिकै पाप र पुण्यको पोको वा अन्धविश्वासको कुथुरो भनेर पन्साउने चलन छ । त्यसैले हाम्रो परम्परागत विज्ञान प्रविधि ओझेलमा परेको छ । अङ्ग्रेजी भाषामा शब्द नपुगेर इतिहास खोज्दै ग्रीक र ल्याटिनमा पुगेर ल्याटिन नोमेङ्क्लेचर बनाउँदा वैज्ञानिक नाम हुने अनि संस्कृतमा, पालीमा वा हाम्रा रैथाने भाषामा लेखिएका नाम चाहिँ वैज्ञानिक नहुने भन्ने कुराको आधार आधुनिक वैज्ञानिकले पुष्टि गरेको छैन ।
प्रकृतिले दिएको स्रोतसाधनलाई मानवीय क्षमता प्रयोग गरी जीवन उपयोगी बनाउनु बौद्धिक सम्पत्ति हो । साथै बौद्धिक सम्पत्ति भनेको परम्परागत ज्ञान पनि हो । परम्परागत ज्ञान अन्तर्गत निम्न कुरा पर्दछन् ।
जैविक विविधता
खाद्य सुरक्षा
वातावरण व्यवस्थापन
दीगो विकास
प्राथमिक स्वास्थ्य
समुदायको पहिचान र सामाजिक समन्वय
सांस्कृतिक विविधता
जीवनस्तरमा सुधार
स्थानीय भाषामा परम्परागत, सांस्कृतिक, प्राकृतिक ज्ञान लुकेको हुन्छ जस्तै सांस्कृतिक नाम, भौगोलिक नाम र व्यक्तिनाम, वनस्पति, बोटबिरुवाहरु, जनावर, कीरा फट्याङ्राहरूको पहिचान र अस्तित्व बाँचेको हुन्छ । यिनको लोप भनेको ती सम्पदाको नामकरण गरिएका सम्बन्धित भाषा तथा ज्ञानको लोप हो ।
परम्परागत ज्ञान खोजेर त्यसमा भएका विविध अनुशासनलाई सरकारी कामकाजको भाषामा एकीकृत गर्ने हो भने मात्र हाम्रो बौद्धिक सम्पत्तिमाथि दावी गर्न सक्ने अवस्था रहन्छ । विश्व बौद्धिक सम्पत्ति संगठनले स्थानीय भाषालाई समेत बौद्धिक सम्पत्ति मानेको छ । किनभने मूल भाषामा सांस्कृतिक सम्पदाको ज्ञान हुने हुनाले तत्तत् भाषामा प्राकृतिक सम्पदाको ज्ञान हुन्छ । तर हामीले हाम्रा संस्कृति र सम्पदालाई शिक्षाको पाठ्यक्रममा समावेश गर्न सकेका छैनौँ ।
परम्परागत ज्ञान व्यक्तिगत डोमेनको ज्ञान होइन । यो त सार्वजनिक डोमेनको ज्ञान हो । परम्परागत ज्ञानको डोमेनका वस्तु, विधि, सेवा वा लोकवार्ता आदिजस्ता उत्पादन वा विधिको एकस्व (पेटेन्ट) लिन ज्यादै गाह्रो छ । जनजाति वनस्पति होस् वा स्थापत्य कला (विज्ञान) मा आधारित ज्ञानको नामकरण (लेबलिङ), भण्डारण र समुदायको सरोकार होस् यस्ता कुरा देखाउने शिक्षा नभएकाले हामीकहाँ परम्परागत ज्ञान, रैथाने वा जनजाति वनस्पति, वास्तुशास्त्र आदि देशको बौद्धिक सम्पत्तिलाई राष्ट्रिय आयको स्रोत बनाउन सकेका छैनौँ ।
भाषाले विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदान प्रदान सतही हुनजान्छ । जस्तो उँधौली, उँभौली, गुनिपुह्नी, माघी जस्ता विषयको कुरा गर्दा भाषाले बोकेको संस्कृति हस्तान्तरण हुन सकेन वा भाषाका तत्वहरु र पर्यावरणीय तत्वहरू बीचको सम्बन्ध जोड्न सकिएन भने सांस्कृतिक ह्रास हुनजान्छ र परम्परागत ज्ञानको स्थानान्तरणमा बाधा पुग्छ ।
परम्परागत ज्ञान एक संज्ञानात्मक वस्तु हो । भौतिक, जैविक, पारिस्थितिकीय प्रणाली, जनजाति वनस्पति, शिल्पकारी, औषधि, विज्ञान आदि परम्परागत ज्ञानको डोमेन भित्र पर्छन् । परम्परागत ज्ञानको उत्पत्ति वैदिक साहित्यदेखि हालसम्म भए गरेका मौलिक, रैथाने विज्ञान प्रविधिको अवधारणामा खोज्नुपर्छ । वैदिक साहित्यले संस्कृति, राष्ट्र, वर्ग, जाति, जनजाति जस्ता समुदायमा बाँचेका मानिसलाई जनजाति अर्थात इथ्नोजाति भन्छ । तर आज शासक र जनजाति अलग अलग हुन् भन्ने बुझाइ छ । त्यसैले परम्परागत वा इन्डिजेनस वा इथ्नो विज्ञान र प्रविधिमा राजनीतिक दूर्गन्ध र धार्मिक सांस्कृतिक अन्धविश्वासको विष छरिएको छ । हामी तटस्थ भएर सोच्न पनि तयार हुँदैनौ । ‘भू-गोल’लाई पृथ्वी चेप्टो छ भनेर पढाइएको ज्ञान नै त्यसको बाधक तत्व हो ।
स्थानीय ज्ञानसामग्री भनेको समाजको रक्तसञ्चार हो । सामाजिक ज्ञानसामग्री शास्त्रले सामाजिक व्यवहारको अध्ययन गर्छ । सामाजिक ज्ञानसामग्री शास्त्रले राजनीतिक, कानुनी, नैतिक र सांस्कृतिक, भाषिक र ऐतिहासिक कुरा बुझ्न मद्दत गर्दछ । राजनीतिक परिपाटी, लोकतन्त्र, मानव अधिकार, वैश्विक न्याय, नैतिकता जस्ता समाज परिचालनका घटकहरुमा ज्ञानसामग्री प्रतिविम्वित हुनेगर्छ । समाजका यस्ता घटकहरुमा नेपाल र नेपालीको पहिचान जनाउने ज्ञानसामग्रीको अवस्था ज्यादै कमजोर देखिन्छ ।
कतिपय अल्पविकसित देशले प्रविधिका माध्यनबाट भाषा र संस्कृति जोगाउन राष्ट्रिय नीति तथा ऐन बनाएर प्रयास गरिरहेका छन् । यस्ता प्रविधिहरूमा सूचना प्रविधि सबभन्दा महत्वपूर्ण हतियार हो । आजको ज्ञान मानिसको टाउकाले बुझेरमात्र पुग्दैन । यस्तो ज्ञान धातुको प्लेट वा कम्प्युटरले समेत बुझ्न सक्ने हुनुपर्छ । कम्प्युटर सक्षम भाषा सूचना प्रविधिको अभिन्न अङ्ग भएकाले सूचना प्रविधि नीतिमा नेपाली भाषाको ज्ञानसामग्री स्थानान्तरण गर्नु नितान्त जरूरी भइसकेको छ । माथि भनियो ज्ञानसामग्री निर्माणमा रणनैतिक भूमिका महत्वपूर्ण हुन्छ । नेपालको हकमा भाषा, ज्ञानसामग्री र इतिहासको वास्तविक अध्ययन गर्ने गराउने परिपाटी देखिदैन ।
विविध जैविक वनस्पति, बहुजाति, बहुभाषा र बहुसंस्कृति, भाषिक, सांस्कृतिक र जातीय विविधता, उद्योग, ब्यापार र कृषि प्रणाली जस्ता कुरा रैथाने भाषा र संस्कृतिभन्दा बाहिर हुँदैनन् । उद्योग, ब्यापार र आयात निर्यातदेखि डब्लुटिओ अथवा विश्व ब्यापार सङ्गठन जस्ता अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा भौतिक वस्तुमाथि लेनदेनको व्यवहार मात्र गरेर पुग्दैन । त्यहाँको मौलिक रैथाने वनस्पति, त्यसको स्थानीय नाम, त्यसबाट उत्पादन हुने वस्तु र त्यो वस्तु तयार गर्ने विधि उल्लेख गरेर राष्ट्रिय ज्ञान भण्डारमा दर्ता गरेर मात्र सन्धि, सम्झौता र ब्यापार गर्नुपर्छ । राष्ट्रिय मानक ऐन बनाएर प्रकृतिले निशुल्क उत्पादन गरेका हरित सम्पत्तिलाई नेपालीको बौद्धिक सम्पत्तिमा दर्ता गर्नुपर्छ । यसो गर्नाले नेपालको हरित अर्थतन्त्रमाथि मडारिएको कालो बादल जस्तो जैविक वस्तुको पाइरेसी (चोरी) रोक्न सक्छ र हाम्रा परम्परागत खानेकुरा गुन्द्रुक, कसार, योमरी, बारा, क्वाँटी, सेलरोटी बनाउन चाहिने वनस्पति के के हुन् ती वनस्पतिको बिउबिजनमाथि दातृसंस्था, विश्व ब्यापार सङ्गठन, विश्व बौद्धिक अधिकार सङ्गठन जस्ता सङ्घसंस्थाले खेलबाड गर्ने सम्भावनालाई न्यून गर्न वा बन्द गर्न सकिन्छ ।
The post भाषा सम्पदा र ज्ञानसामग्रीको संरक्षण appeared first on Sajha Post.