Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

भाषा र इकोलोजिकल साइन्स अर्थात् पारिस्थितिकीय भाषाविज्ञान

$
0
0

हालैका दशकहरुमा भाषाको अध्ययन विभिन्न पक्षबाट भइरहेको छ । त्यसमध्ये भाषा पारिस्थितिकीय विश्लेषण भाषाको व्यावहारिक प्रयोग सम्बन्धी अध्ययन गर्ने महत्त्वपूर्ण विधा हो । पारिस्थितिकीय भाषाविज्ञान भाषाको एउटा नयाँ शाखा हो जसले पारिस्थितिक वा पर्यावरणीय समस्याहरूको समाधानमा भाषाको भूमिकाको अन्वेषण गर्दछ । यसका लागि भाषाले कसरी पारिस्थितिकीय प्रणालीको अवधारणा प्रयोग गर्दछ भन्ने कुराको अवलोकन गरिन्छ । अर्थात् पारिस्थितिकीय भाषाविज्ञानले जैविक पारिस्थितिसँग सम्बन्धित अवधारणाहरूको मद्दतमा भाषाको विश्लेषण गर्दछ ।

मानिसको जीवन पारिस्थितिकीय परिवेशसँग जोडिएको हुन्छ । पारिस्थितिकीय भाषाविज्ञान वा इकोलिन्ग्विस्टिक्स पारिस्थितिक विश्लेषणका लागि भाषाको सहयोग लिनुपर्छ भन्ने मान्यता राख्दछ । अङ्ग्रेजीमा इकोलिन्ग्विसटिक्स भनिने भाषा अध्ययनको यो क्षेत्र नयाँ विधाका रुपमा चिनिन्छ । यस विधाको अवधारणा मानिसले उपभोग गर्ने वस्तु र भाषा एक अर्कासँग जोडिएको हुन्छ भन्ने विश्लेषण हो । आरेन स्टिबले हालसालै “हामी बाँचेको धर्ती” मा भाषा र परिपरिको वातावरणको राम्रो व्याख्या गरेकाछन् ।

अर्थशास्त्रले उपभोक्तावादलाई प्रोत्साहित गर्दछ । उपभोक्तावादले विनाशकारी व्यवहारलाई प्रोत्साहन गर्दछ । अर्थात प्राकृतिक संरचनाको सम्मानको सम्बन्धलाई प्रोत्साहन गर्दैन । भाषाविज्ञान, सांस्कृतिक शास्त्र, पर्यावरण शास्त्र, समाजशास्त्र, नैतिकता र सामाजिक दर्शनशास्त्रको बीचमा गहिरो सम्बन्ध हुन्छ । वातावरणीय चेतना व्यक्तिगत र सामाजिक दुबै हुन्छ र यस्तो चेतनालाई सकारात्मक बनाउन भाषाले महत्वपूर्ण खेलेको हुन्छ ।

भाषा एक सामाजिक परिघटना हो । भाषाले विभिन्न प्रकारको सूचना आदानप्रदानका लागि सामाजिक वस्तुको सन्दर्भ लिएको हुन्छ । भाषाले विचार आदान प्रदान गर्छ । स्थानीय भाषामा त्यहाँको मौलिक, रैथाने परम्परागत ज्ञान लुकेको हुन्छ । भाषामा लुकेको वस्तुसँगको गहिराइ भाषाको बहसले छुन सकेन भने विचार आदान प्रदान सतही हुनजान्छ । जस्तो उँधौली, उँभौली, गुनिपुह्नी, माघी जस्ता विषयको कुरा गर्दा भाषाले बोकेको संस्कृति हस्तान्तरण हुन सकेन वा खालि शब्दार्थ मात्र बुझ्ने भयो भने त्यस्तो संवाद समाजको वातावरणसँग भिज्न सक्दैन । संस्कृतिसँग नभिजी गरिएको संवादले सकारात्मक वा आत्मीय परिस्थिति सिर्जना गर्दैन । अर्थात संवादमा पूर्वाग्रह मिसिएर संवादले सही सन्दर्भ उजागर गर्न सक्दैन । मिडिया र नागरिक बीचको सम्बन्ध; लेखक र पाठक बीचको सम्बन्ध; मानिस र वातावरण बीचको सम्बन्धमा आत्मीयपन सिर्जना गर्ने तत्व भाषानै हो । समकालीन समाजले आफ्नो वरिपरिको वातावरणमा कसरी जीवन बिताएको छ भन्ने सन्दर्भ त्यहीँको रैथाने भाषामा हुन्छ । संवादले भाषाका तत्वहरु र पर्यावरणीय तत्वहरू बीचको सम्बन्ध जोड्न सकेन भने मानवीय व्यवहारको गहिराइ छुन सक्दैन ।

डा. लक्ष्मीप्रसाद खतिवडा

माइकल ह्यालिडेका अनुसार भाषा व्यवहारलाई दुइटा केन्द्रीय दृष्टिकोणबाट हेर्न सकिन्छ । पहिलो आर्थिक, सामाजिक, सांस्कृतिक प्रणालीको रूपमा; र दोस्रो भाषिक प्रणालीको रूपमा । माइकल हेलिडेको भाषाको पहिलो अर्थात पारिस्थितिक सन्दर्भलाई विचार गर्दा भाषाले विचार आदान प्रचार मात्र गर्दैन । व्यवहारिक उत्तेजना पनि सिर्जना गर्छ । मानिसका व्यवहारका धेरै पहलुहरू भाषाभित्र लुकेका हुनाले भाषाको सतही बुझाइ वा शाब्दिक अनुवादले मात्र मानिसको आन्तरिक भावना उजागर गर्न सक्दैन ।

पारिस्थितिकीय भाषाविज्ञान उपयोगिताको दृष्टिकोणबाट भन्दा प्रकृतिको प्रतिनिधित्व गर्ने विस्तृत समझदारीमा बाँधिएको हुन्छ । पारिस्थितिकीविद् वा वातावरणविद् र जैविक विविधता बीचको सम्बन्ध पारिस्थिकीय भाषाविज्ञानको अनुसन्धानको क्षेत्र हो । यी दुइटा सन्दर्भ होइनन् । भाषा र परिस्थिति वा वातावरण एउटै वस्तुका दुईपाटामात्र हुन् । एउटै मोहोरका दुइ पाटामात्र हुन् । वातावरणविदले मानव र अन्य जीवको शारीरिक वा पारिस्थितिकीय अध्ययन गरेरमात्र पुग्दैन । त्यस्तै भाषाविदले पनि व्याकरण बुझाएरमात्र पुग्दैन । वातावरण र जीवनबीचको सम्बन्धमा भाषाको भूमिकाको अन्वेषण गर्नुपर्दछ ।
पारिस्थितिकीय परिवेशभित्र जैविक विविधता मात्र होइन भाषिक व्यवहार पनि पर्दछ । जैविक विविधताको परिवर्तनसँगै भाषामा पनि परिवर्तन भइरह्छ । यस्तो परिवेशमा भाषाले कसरी महत्वपूर्ण समस्याहरू समाधान गर्न सक्छ भनेर खोजिनुपर्छ । भौतिक वातावरणको सन्दर्भ आउँदा भाषात्मक पारिस्थितिकी, सञ्चार पारिस्थितिकी पनि समावेश हुनुपर्छ ।

भाषिक सूचना सङ्केतन पद्धतिले स्थानीय भाषा र जैविक विविधता बीचको सम्बन्धलाई जीवन्त बनाउँछ । तर हालको अवस्था भनेको सांस्कृतिक वैश्वीकरण र भाषा साम्राज्यवादको जमाना हो र यसले स्थानीय संस्कृति र भाषामा निहित महत्त्वपूर्ण पारिस्थितिक ज्ञानलाई समाप्त पार्दैछ ।

पारिस्थितिकीय भाषाविज्ञानका लक्ष्यहरूमध्ये एउटा लक्ष्य सांस्कृतिक विविधता र भाषिक विविधताको रक्षा गर्नु हो । किनभने जैविक विविधतामा सांस्कृतिक विविधता समावेश हुन्छ । हालको उपभोक्तावादी संस्कृतिमा जैविक विविधता अङ्ग्रेजी भाषामा सङ्केतन गर्ने गरिन्छ । तेस्रो विश्व वा गरिब देशको भाषिक विविधतालाई विल्कुलै महत्व दिइँदैन । त्यसैले गरिब देशका रैथाने भाषामा तीव्र गिरावट भइरहेको छ । यस्तो परिस्थिति अझ बढ्दै गएमा भाषिक र जैविक विविधता बीचको दूरी अझ बढाउँछ । एउटा भाषा, एउटा संस्कृति मर्‍यो भने मानव समुदायको एउटा ज्ञान एउटा भावना मर्दछ ।

भाषाको पारिस्थितिक विश्लेषण संज्ञानात्मक हुन्छ । त्यहाँको भाषामा परिपरिका विविध वस्तु र सन्दर्भको पहिचान, परम्परागत जीवन्त कथाहरू, संज्ञानात्मक ढाँचाहरू हुन्छन् जहाँ शब्द, वाक्य, व्याकरण र पुरै सङ्कथनले एकअर्काको व्यवहारलाई प्रभाव पारेको हुन्छ । जनावरहरू, बिरुवाहरू, वनहरू, नदीहरू र भौगोलिक वातावरणबीच सम्बन्धका कथाहरू बुनिएका हुन्छन् । पारिस्थितिक प्रणालीमा मानिसहरूको सुरक्षा गर्नेदेखि जीवन निर्वाहका विधि विधान कोरिएको हुन्छ । त्यस्तो भाषिक संज्ञान मासिँदै जाँदा सामुदायिक र पारिवारिक प्रणालीलाई क्षति पुर्‍याउँछ ।

उपभोक्तावादी कथाहरू, असीमित आर्थिक विकासका कथाहरू, विज्ञापनका कथाहरू र मेसिनका कथाहरूले स्थानीय भाषाका संज्ञानका कथालाई नामेट पार्छ । प्रकृतिको प्रतिनिधित्व गर्ने वा मानिस र प्रकृतिबीच सकारात्मक प्रभाव पार्ने प्राकृतिक लेखन, प्रकृतिका कविता, पर्यावरणीय लेखन, परम्परागत र स्वदेशी शैलीहरू मौलिक जीवन जिउने ज्ञानका साधन हुन् । त्यस्ता कथालाई पाप, पुण्य र अन्धविश्वासी वा धर्मभीरु ग्रन्थका नाममा छिँडीकोठाको भर्याङमुनि थन्क्याउनु भनेको आफ्नै इतिहास समाप्त पार्नु हो । अहिलेको स्थानीय भाषाको अवमूल्यन गरेर लेखिएको शिक्षाले रैथाने भाषा र संस्कृति क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । यस्तो शिक्षाले सन्सारलाई कता डोहोर्‌याउँदैछ ?

मौखिक संस्कृति ‘जसलाई लोकवार्ता पनि भनिन्छ’ मा जीवनका महत्वपूर्ण कडी गुँथिएका हुन्छन् । मौखिक संस्कृतिमा आसपासको परिस्थितिप्रति सहनशीलतादेखि विभिन्न प्रकारका संस्कृतिहरूको जीवन्त उदाहरण पाइन्छ । पारिस्थितिकीय भाषाविज्ञानले भाषा, सचेतना र अन्य जीवन्त प्रणालीहरू बीच द्विभाषी, बहुभाषी सम्बन्धलाई जोड दिने हुनाले लोकवार्ता पनि यसको एउटा घटक हो ।

पारिस्थितिकीय भाषाविज्ञानले जीवनका विविध आयामहरुको विश्लेषण गर्छ । जीवाणु, फङ्गसदेखि बोटबिरुवा, जनावर र मानवीय व्यवहारका सङ्केतहरूलाई समेत ध्यानमा राखेर सांस्कृतिक विरासत भित्र जीवन र पर्यावरणका सम्बन्धहरु पुनरुत्थान कसरी गर्ने भनेर अवलोकन गर्दछ । स्थानीय जनजीवनका कथालाई भाषाको मोडेल मानेर परिस्थितिको पाठसङ्ग्रह सङ्कलन गरी भाषाविद्हरू र वातावरणविद, इकोलोजिस्टहरु मानव संस्कृति र अन्य प्रजातिबिचका सम्बन्ध केलाउछन् ।

प्रकृतिको आकस्मिकताको परिवर्तन क्रमिक हुन्छ । यस धर्तीमा मानवले भन्दा प्रकृतिले कम गल्ती गर्छ भन्ने कुरा यसले पुष्टि गर्छ । भाषाले गतिविधि मात्र वर्णन गर्न सकिन्छ भन्ने होइन विविधतामा बाँचेका प्राणी र वनस्पतिसँग कसरी सम्बन्ध कायम गर्ने भन्ने अवधारणा सहितको व्याख्या गर्न सक्छ । नैतिकता, राजनीति, धर्म, संस्कृति, अर्थ संरचना हालका विश्वका गहन तत्वहरू हुन् ।

उपभोक्तावादी व्यक्तिवाद, आर्थिक उपयोगितावाद र सामाजिक नियन्त्रणवादले पारिस्थितिकीय प्रणालीमा विनाशकारी असर पारेका सङ्केत भेटिएका छन् । मौलिक, रैथाने वा परम्परागत संस्कृति बिना कुनै आत्मा, कुनै सौंदर्यशास्त्र वा कुनै नैतिकता जिउँदो रहँदैन । त्यसैले भाषाका माध्यमबाट मानवीय व्यवहारको जीवन्तताको रक्षा सम्भव छ । लिखित, मौखिक, शाब्दिक, गैरशाब्दिक भाषा र सञ्चार पढाइ, सुनाइ, बुझाइ, चेतना जस्ता शिक्षाले मौलिक रैथाने सौन्दर्यको रक्षा गरेको हुन्छ । घर, परिवार, बिबाह, मृत्यु जस्ता कुराले सामाजिकीकरण प्रकृयामा असर पार्छ । सामाजिक चालचलन, आदर, सम्मान, सोमत, पूर्खादेखि चलिआएका सामाजिक मूल्यमान्यता, विश्वास, सान्सारिक ज्ञान, धर्म र परम्परागत ज्ञान, जडीबुटी, औषधी, धामीझाँक्री, प्राकृतिक एवम् मानवीय सम्पदा, भीर, पाखा, खोला, ढुङ्गा, वनस्पति आदि समाजभन्दा फरक कुरा होइनन् ।

उदाहरणका लागि नेपालमा मनाइने विविध प्रकारका चाडपर्वमा विभिन्न बाली तथा बीउबिजनको उपयोग गरिन्छ । असार पन्ध्रमा दहीचिउरा र जनैपूर्णिमामा क्वाँटी खाने चलन छ । यसैगरी, दशैंमा जौ तथा मकैको जमरा लगाउने, मङ्सिरे पूर्णिमामा दिवङ्गत पितृहरूलाई सतबिजको रूपमा बिउबिजन चढाउने गरिन्छ । माघेसक्रान्तिमा तिलको लड्डू र तरुल खाने कथामा सांस्कृतिक विविधतासँगै राष्ट्रियताका कथोपकथन गुँथिएका हुन्छन् ।

भाषात्मक पारिस्थितिकी वा पारिस्थितिकीय भाषाविज्ञानले भाषालाई सामाजिक विज्ञानको रूपमा लिन्छ र मानव प्रजाति, भाषा प्रजाति र भूभौतिक वातावरणको व्याख्या गर्दछ । विविध जैविक वनस्पति, बहुजाति, बहुभाषा र बहुसंस्कृति, भाषिक, सांस्कृतिक र जातीय विविधता, उद्योग, ब्यापार र कृषि प्रणाली जस्ता कुरा रैथाने भाषा र संस्कृतिभन्दा बाहिर हुँदैनन् । उद्योग, ब्यापार र आयात निर्यातदेखि डब्लुटिओ अथवा विश्व ब्यापार सङ्गठन जस्ता अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा समेत भौतिक वस्तुमाथि लेनदेनको व्यवहार मात्र गरेर पुग्दैन । त्यहाँको मौलिक रैथाने वनस्पति, त्यसको स्थानीय नाम, त्यसबाट उत्पादन हुने वस्तु र त्यो वस्तु तयार गर्ने विधि उल्लेख गरेर राष्ट्रिय ज्ञान भण्डारमा दर्ता गरेर मात्र सन्धि, सम्झौता र ब्यापार गर्नुपर्छ । राष्ट्रिय मानक ऐन बनाएर प्रकृतिले निशुल्क उत्पादन गरेका हरित सम्पत्तिको रक्षा गर्दै नेपालीको बौद्धिक सम्पत्तिमा दर्ता गर्नुपर्छ । यसो गर्नाले नेपालको हरित अर्थतन्त्रमाथि मडारिएको कालो बादल जस्तो जैविक वस्तुको पाइरेसी (चोरी) रोक्न सक्छ र हाम्रा गुन्द्रुक, कसार, योमरी, बारा, क्वाँटी, सेलरोटी बनाउन चाहिने वनस्पति के के हुन् ती वनस्पतिको बिउबिजनमाथि दातृसंस्था, विश्व ब्यापार सङ्गठन, विश्व बौद्धिक अधिकार सङ्गठन जस्ता सङ्घसंस्थाले खेलबाड गर्ने सम्भावनालाई न्यून गर्न वा बन्द गर्न सकिन्छ ।

पारिस्थितिकीय भाषा अध्ययन पद्धतिले पारिस्थितिक वा पर्यावरणीय समस्याहरूको समाधानमा महत्वपूर्ण योगदान दिनसक्छ । पारिस्थितिकीय प्रणालीको अवधारणा सामेल भएका मौलिक रैथाने कथा वा पाठसङ्ग्रहको रक्षा गर्न इकोलोजिकल लिन्ग्विस्टिक्सलाई बलियो हतियारको रुपमा प्रयोग गर्न सकिने हुनाले पारिस्थितिकीय भाषा अध्ययनलाई नीति बनाएर नियमन गर्नु राज्यको पनि दायित्व हो ।
नास्ट, नार्क, प्रज्ञाप्रतिष्ठषन, संस्कृति मन्त्रालय, भाषा आयोग जस्ता निकायले भाषाको पारिस्थितिकीय पाठसङ्ग्रह निर्माण विधि बनाएर, प्रविधि मन्त्रालयमा ज्ञान भण्डार बनाएर भाषा र वातावरणको ज्ञान (पारिस्थिकीय कर्पस) एकै ठाउँमा राख्न सकिन्छ ।

The post भाषा र इकोलोजिकल साइन्स अर्थात् पारिस्थितिकीय भाषाविज्ञान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles