काठमाडौं, ८ असार । पदयात्री सूचना व्यवस्थापन प्रणाली(टिम्स) आज भन्दा १० वर्ष पहिले देखि ट्रेकिङ क्षेत्रमा लगाईंदै आइरहिएको छ । विशेषत: टिम्स लागू गर्दा श्रमिक संगठनले पारदर्शीता र कानूनसम्वत् रुपमा लागू गर्नुपर्छ भनेर त्यतिबेला नै आवाज उठाएका थिए ।
तत्कालिन अवस्थामा ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल(टान) कार्यसमितिसँग हाम्रो यसै विषयमा सम्वाद पनि भएको थियो । त्यस्तै टान, नेपाल पर्यटन बोर्ड र त्यति बेलाको पर्यटन महाशाखासँग नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) र अखिल नेपाल पर्यटन श्रमिक सगंठनबीच वृहत् छलफलपछि टान–पर्यटन बोर्डका साथै सरकारले यो टिम्स श्रमिकको उद्धार, राहत, तालिम, पर्यटन प्रमोशनको साथै नयाँ गन्तव्य पहिचान र प्रवद्र्धनका लागि खर्च गर्ने भनिएको थियो । त्यसरी ल्याएको टिम्स अवधारणा आजको दिनमा हेर्ने हो भने नत श्रमिकले राम्रोसँग राहत नै पाएका छन्, नत यसबाट श्रमिकले तालिम नै पाएका छन् । नत समयमा श्रमिकका पीडित परिवारले बीमा बापतको रकम समयमै पाएका छन् ।
यस्तो भद्रगोल अवस्थामा रहेको टिम्सको बारेमा पछिल्लो समय यूनिट्राभ एउटा निस्कर्षमा पुगेको छ, त्यो के हो भने कित टिम्स रकमलाई श्रमिक राहत कोष भनेर स्थापना गर्नु पर्याे, कित यसलाई बन्द गर्नुपर्याे । अहिले त यतिसम्मकी यो टिम्स भनेको विदेशीलाई ठग्ने, पर्यटन बोर्डकालाई विदेश घुम्ने र टिम्सको नाममा आफ्नो मान्छे भर्नागरी कोषको रकम सिध्याउने काम मात्रै भएको हाम्रो संगठनको ठहर छ ।
टिम्स सिष्टम आउनुभन्दा पहिला ट्रेकिङ कम्पनीहरुले आफैंले श्रमिकको बीमा, हेलि रेस्कयू देखि सबै जिम्मेवारी स्वयं बहन गरिरहेका थिए । आजका दिनमा भने सबै व्यवसायीहरु टिम्स कोषबाट बीमा लगायत श्रमिकको सबै काम हुन्छ भन्दै जिम्मेवारीबाट पन्छिने गरेका छन् । टिम्सबारे श्रम मन्त्रालयमा वार्ता बस्दासमेत श्रमिकको नाममा उठेको रकम श्रमिककै हितका लागि खर्च हुनुपर्छ भनेर स्पष्ट भनिएको छ । तर यसको बारेमा पर्यटन बोर्ड र टानले थाहा नपाएझैं गर्दै आएकोले हामी श्रमिकहरु साह्रै पिडामा छौं । अबको दिनमा कि त टिम्सको रकम पुरै श्रमिक कोष बनाएर त्यसमा राख्नुपर्याे या त बन्द गर्नुपर्याे । यस विषयमा मुद्दा हाल्नका लागि यूनिट्राभले कानूनी परामर्श थालेको छ र श्रमिकले एक निष्कर्ष निकालेरै छाेड्नेछाैं।
(पराजुली पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदूर संगठन यूनिट्राभका केन्द्रिय अध्यक्ष हुन् ।)
The post टिम्सको कारण पर्यटन व्यवसायी गैरजिम्मेवार बन्दै, विदेशीलाई ठग्ने काममात्र appeared first on Sajha Post.