रोजाईमा राजनीति
हामीले सामाजिक काम गर्दा त्यसको प्रभाव सिमित हुने रहेछ । त्यसको पहुँच धेरै क्षेत्रमा नपर्ने महसुस हुन्थ्यो । राजनीतिक यात्रामा सहभागी हुँदा धेरै उत्साहित छु, जति मैले सोचेकै थिइन् । किनकी राजनीतिक अभियानमा थोरै राम्रो काम गर्दा पनि त्यसको प्रभाव धेरैमा पर्ने रहेछ । यसले गर्दा पनि धेरै नै सकरात्मक महसुस गरिरहेको छु ।
म राजनीतिमा सक्रिय भएर लाग्छु भन्ने निर्णय गरिरहँदा केही साथीहरुले नयाँ शक्ति छाडिरहेका थिए । यो प्रक्रिया अप्राकृतिक हो जस्तो लाग्दैन । डा. भट्टराईले नयाँ शक्ति स्थापनाको नेतृत्व गर्दा खेलाडी परिवर्तन गर्ने होइन कि खेल परिवर्तन गर्ने काममा लाग्नुभयो । कतिपय पुरानै खेलका खेलाडीहरु पनि यसमा लागे । उनीहरुलाई केही समयमै के लाग्न थाल्यो भने म फुटबल त राम्रै खेल्थेँ तर, डा. भट्टराई त क्रिकेट खेल्न थाल्नुभयो । यस्तो खेल त खेल्न सकिँदैन । मैले जानेको त पुरानै खेल हो । यसर्थ, केही साथीहरु जुन खेलको खेलाडी हुनुहुन्थ्यो, त्यही खेलमा फर्केर जानुभएको छ । सम्भवतः उहाँहरु आफ्नै स्वभाविक दुनियाँमा फर्कनुभयो । देश र जनतालाई यसको प्रभाव के पर्दछ ? त्यो फरक कुरा हो तर, फर्किने साथीहरु पुरानै खेलमा रमाउनुहोला भन्ने आशा गरौं ।
डा. भट्टराईले राजनीतिलाई स्वच्छ खेल, विकासको खेल, समृद्धिमार्फत स्वदेशमा रोजगारी प्राप्त गर्ने ५०औं लाख युवाहरुको सपना छ, त्यसलाई सम्बोधन गर्ने खेल आदिमा परिवर्तन गर्न चाहनुहुन्छ । उहाँको सारा ध्यान सुरुदेखि नै यसमा नै देखिराछु । तपाईंले कुनै यज्ञको आयोजना गर्नुभयो भने आउनेहरु सबैलाई स्वागत गर्नुपर्छ । तर यज्ञको क्रममा कोही मान्छे दुई महिनाकै यज्ञमा बस्छन्, कोही चाहिँ तुरुन्तै निस्कन्छन् । सबै यज्ञको निष्ठामा बस्न नसक्लान् । कसैलाई बीचैमा पुरानो अम्बलको तलतल लाग्ला । त्यसर्थ, यसलाई अस्वभाविक मान्नु हुँदैन । बरु नयाँ खेलका नयाँ खेलाडीहरु उत्पादन गर्ने प्रयासमा अझ दृढतापूर्वक लाग्न प्रेरित भइरहेका छौं । पुरानै खेल मन पराउनेहरुलाई पुरानै खेलमा पठाएपछि नयाँ खेल मन पर्नेहरुलाई केन्द्रित गर्न पनि यसले सघाएकै छ । मात्रै नयाँ खेल मनपराउने र पुरानै खेलमा फर्कनेहरुले पनि राजनीतिक संस्कार भने देखाउन आवश्यक छ । अंगुर अमिलो भन्ने स्यालको कथा हामी राजनीति गर्ने मानिसले दोहोर्याउनु हुँदैन । सबैले नाँच्न सिकौं, आँगनलाई गाली नगरौं ।
भिडबाट टिममा फेरिंदैछ नयाँ शक्ति
तुलनात्मकरुपमा म त झनै आशावादी छु । किनकी संसारलाई परिवर्तन गर्नको लागि पूरै संसार लाग्नुपर्दैन । कुनै देशको परिवर्तनको प्रक्रिया हेर्दा १५ जना, ५० जना देखि १०० जना सम्मले परिवर्तनको नेतृत्व गरेको पाइन्छ । ती परिवर्तन गर्छु भन्नेहरुको ६०–८० प्रतिशत कुरा मिल्नुपर्छ । २० प्रतिशत आसपास त मतभिन्नता हाम्रो प्रजातान्त्रिक प्रणालीहरुमा रहन सक्छ । ९० प्रतिशत नै सोच मिल्दैन भने त त्यो भिड मात्र हो । टिम भएन । पहिला नयाँ शक्ति भिड थियो, अब बिस्तारै टिममा रुपान्तरित हुँदैछ ।
हुन त मैले यो प्रक्रियामा नयाँ शक्तिमा संख्या घटेको पनि देखेको छैन । तर, बाहिरबाट हेर्दा केही नाम चलेको मानिसहरुले छाड्दा भ्रम पर्न सक्छ । यद्यपि भिड घटेको भने अवश्य हो । टिम चाहिँ बढेको हो । मात्राबाट गुणमा परिवर्तन हुने यो प्रक्रियालाई मैले सकरात्मकरुपमा लिएको छु । यसको प्रभाव छिट्टै देखिन थाल्छ, केही प्रभाव त मैदानमा देखिन थालिनै सकेको छ ।
भट्टराईको भूमिका
भिडबाट टिम बन्ने प्रक्रियामा केही अव्यवस्थता, केही अराजकता पनि देखिन्छ । मानिसहरुलाई लाग्न सक्छ, २ वर्षसम्म नयाँ शक्तिमा बसेका मानिसहरु निस्कँदा झन अराजनीतिक संस्कार देखाइरहेका छन् । यो सोचकै कुरा हो । न कुनै मानिस पूर्ण हुनसक्छ न कुनै पार्टी । यो बीचमा खासगरी डा. भट्टराईसँग नजिक रहेर उहाँका कामकारबाहीहरु हेर्न पाएँ । उहाँ लक्ष्यप्रति इमान्दार रहेको पाएँ । संसार बदल्ने नेताहरुमा मैले भेट्ने साझा विशेषता भनेको लक्ष्यप्रतिको इमान्दारिता नै हो । लक्ष्यप्रति इमान्दार मान्छे कहिलेकाँही आफ्नै परिवारप्रति इमान्दार नभएको पनि देखिएको छ । लक्ष्य प्राप्तिको बाटोमा कहिलेकाँही परिवारको सोच मिल्दैन, साथीहरुकै सोच मिल्दैन । त्यस्तो बेला पनि नेता लक्ष्यप्रति इमान्दार देखिन्छन् । यस्तो बेला परिवार र साथीहरुले नै नराम्रो भन्न सक्छन् तर समाजले पछि गएर सकरात्मकरुपमा चित्रित गर्दछ । डा. भट्टराईले नेपालमा राजनीतिक परिवर्तन गर्ने लक्ष्य पूरा गर्नुभयो, अर्को लक्ष्य विकसित र समृद्ध नेपाल बनाउने हो । यो लक्ष्यमा उहाँ शतप्रतिशत इमान्दार हुनुहुन्छ । यस्तो अवस्थामा व्यक्तिगतरुपमा कुनै साथीहरुको चित्त दुखेको छ भने मेरो लागि त्यो क्षम्य कुरा हो । व्यक्तिगत कोणबाट कसैले हेर्दा उहाँ चुकेको जस्तो देख्नसक्छन् तर, समग्र लक्ष्यप्रतिको इमान्दारिता र प्रतिवद्धतामा उहाँ एक सेन्टिमिटर पनि चुकेको जस्तो लाग्दैन ।
छातीमा हात राखेर सोचौं
चुनावको मौसम चलिरहेको छ । हामी सबैले मतदान गर्छौं । हरेक नेपालीले एकपटक छातीमा हात राखेर सोचौं । आगामी दशदेखि पन्ध्र वर्षमा हामीले नयाँ नेतृत्व त जन्माउन सक्दैनौं । सबै कुरा विदेशबाट आयात गरेका छौं । नेतृत्वलाई त आयात गर्न सक्दैनौं । कुनै पनि देशमा राजनीतिक नेतृत्व आयात हुँदैन । त्यसो भए आगामी १०–१५ वर्षको लागि कुन चाहिँ योग्य नेतृत्व हो जसले नेपालमा आमूलरुपमा आर्थिक विकासको नेतृत्व गर्न सक्छ ? नेपालमा विश्वमा गुमाएको साख फिर्ता गर्न सक्छ ? नेपालको प्रधानमन्त्रीलाई भारत, चीन र संयुक्त राष्ट्र संघबाहेक कसैले पनि बोलाएको हुँदैन । बंगलादेश त बोलाउँदैन । बर्माले त बोलाउँदैन । किनकी हामीले हाम्रो ‘लेजिटिमेसी’ नै गुमाइरहेका छौं । यसर्थ, आर्थिक क्रान्ति गर्न सक्ने, राजनीतिक परिवर्तन संस्थागत गर्न सक्ने र विश्वमा गुमेको साख पनि फिर्ता गर्न सक्ने नेता को हो त ? कुनै पनि दबावमा नपरी आफ्नो छातीमा हात राखेर सोचौं ।
मैले यसै गरेँ । मेरो नजरमा डा. भट्टराई बाहेक अर्को छैन । तपाईंले जुनसुकै पार्टीका मतदातालाई पनि सोध्नुहोस् । उहाँहरुकै पार्टीको अध्यक्ष वा नेताले यस्तो परिवर्तन गर्न सक्ने साहस, क्षमता र संवेदना छ ? यसर्थ, मैले ५० वर्षको वा २५ वर्षको कुरा गर्छौं भने त नयाँ नेतृत्व आउला । तर, आगामी १० देखि १५ वर्ष अथवा हाम्रो जीवनकालमा समृद्धि देख्न चाहन्छौं भने आजको दिनमा नेपालमा मैले त अरु कुनै विकल्प देखेको छैन । यसको अर्थ, अरु मानिस आएर नेपालमा थोरै पनि प्रगति हुँदैन भनेको होइन । वृद्धि त भइहाल्छ । हामीले केही नगर्दा पनि दारी बढ्छ, कपाल बढ्छ । समाजमा केही मानिसले घर बनाउँछन् । सडक ममर्त होला । यस्ता केही वृद्धिशील परिवर्तन त हुन्छ र भइ पनि रहेको छ । तर, हामी आमूल परिवर्तनको कुरा गरिरहेका छौं भने आगामी १० देखि १५ वर्षको लागि डा. भट्टराईको विकल्प मैले देखेको छैन । सबैले एकपटक छातीमा हात राखेर सोचौं, पूर्वाग्रहमुक्त भएर कि यो कुरा गलत हो कि सही हो ?
राजनीतिक सिन्डिकेट कसरी तोड्ने
हो, हाम्रोमा राजनीतिक सिन्डिकेट छ । पुराना दलभन्दा बाहिर गएर आफ्नो भविष्य नै सोच्न नसक्ने अवस्था बनाइएको छ । तर, एकपटक हामीभन्दा अगाडि नै प्रजातान्त्रिक परिवर्तन गरेका देशहरुलाई हेरौं । हामीले अहिले भोगेको समस्या केवल हाम्रै देशको मात्र होइन । जुनसुकै देश पनि राजतन्त्रात्मक वा एकतन्त्रात्मक व्यवस्थाबाट बाहिर निस्कँदा त्यो समाज धेरै टुटेको हुन्छ । किनभने राजा महाराजाहरुले शासन गर्न समाजलाई तोड्नै पर्ने हुन्छ । विभिन्न जातजाति, धर्म, संस्कार आदिको आधारमा तोडेर जसरी भए पनि सत्ता चलाएका हुन्छन् । सदियौंदेखि बाँढेर राखेको समाजलाई जोडेर राख्नु त्यति सजिलो हुँदैन । यसर्थ, यो सबै समाजले भोग्नु पर्ने नै हुन्छ ।
जस्तो, छिमेकी भारतकै प्रसंगमा हेरौं । १९४७ मा जब भारत स्वतन्त्र भयो, त्यतिबेला रेलवे स्टेशनमा मुस्लिम र हिन्दूहरुले पानी खाने धारो पनि फरक–फरक हुन्थ्यो । उनीहरु एउटै धारोमा पानी खान पनि सक्दैनथे । सानो सानो कुरामा पनि साम्प्रदायिकता भड्किने अवस्था थियो । तर, हाम्रो समाजका कतिपय स्थानमा जुन पिछडापन देखिन्छ, भारतको तत्कालिन अवस्थासँग तुलना गर्दा सामाजिक रुपमा धेरै राम्रो अवस्था छ हाम्रो । त्यस्तो देशलाई त भिजनरी नेताहरु आएर जोड्न सके ।
नेपालमा पनि मतदाता तहमा दलहरुको सिन्डिकेट छ । चुनावसँग धेरै विकृति जोडिएका छन् । पैसा खुवाउने, भोजभतेर गर्ने, डरधम्की दिनेजस्ता प्रवृत्ति छन् । यो संसारमा हुने भन्दा कुनै अपवाद होइन । यसलाई परिवर्तन गर्न सकिन्छ । यसको लागि नेतृत्वप्रति जनताको विश्वास हुनुपर्यो । भारतका अहिलेका प्रधानमन्त्रीले जनताको विश्वास जितेजस्तो देखिन्छ । भारु साट्न ४/५ घन्टा लाइनमा बस्नुपर्दा पनि ‘ठिकै छ, हाम्रा प्रधानमन्त्रीले केही राम्रो काम गर्दैछ’ भन्ने जनतालाई लाग्छ । हाम्रो देशमा जनताले नेतृत्वप्रतिको विश्वास गुमाएका छन्, विश्वास हराएका छन् ।
‘अहिले पदमा बसेका मानिसहरु विश्वास गर्न लायक छैनन्, यिनीहरुले हामीलाई मुर्खै बनाउने हो भने र यिनीहरुसँग केही आशा छैन भने पैसा नै लिएर किन भोट नदिने ?’ भन्ने पनि जनतामा देखिन्छ । पाँच वर्षमा एकपटक मात्रै आउँछन्, अरु विकल्प पनि छैन भने आएको बेला किन नलिने भन्ने पनि होला । यसलाई चिर्न सक्ने चेतनाको अभाव पनि होला । एउटा टिसर्ट, क्याप र एक छाक खानासँग पनि प्रभावित हुने अवस्था देखिन्छ । जनताले विश्वास गर्ने मान्छे नै छैन र उनीहरुले विश्वास गुमाएका छन् भने जनतालाई मात्रै गाली गरेर हुँदैन ।
कसले कति चुनावमा खर्च गर्न सक्छ भनेर नै टिकट दिइन्छ अनि उसलाई इमान्दार बन भनेर कसरी भन्न सकिन्छ ?
हामीले विश्वास गुमाउनु हुँदैन । विश्वास गर्न सक्ने नेतृत्व आयो भने मतदाताको मनोविज्ञानमा गुणात्मक परिवर्तन ल्याउन सकिन्छ । त्यसो त, एउटा मात्रै पार्टी राम्रो भएर हुँदैन । प्रणाली राम्रो हुनुपर्छ । सबै प्रजातान्त्रिक पार्टीहरु एउटा मूल्य र मान्यतामा पनि बस्नुपर्छ । म भर्खरै मधेसबाट फर्किएँ । त्यहाँ कुनै पनि पार्टीहरुले निर्वाचन आयोगलाई टेरिरहेका छैनन् । जे मन लाग्छ र जे गर्न सकिन्छ, त्यही गरिरहेका छन् ।
किन रुपान्तरण हुन सक्दैनन् पुराना पार्टीहरु ?
पुरानै पार्टीहरुले नयाँ अवस्थामा जनताको चाहना र आवश्यकताबमोजिम हामी फेरिनुपर्छ भन्ने बुझे त धेरै राम्रो हुने थियो । उनीहरुमा निश्चित संस्कार छ, राजनीतिमा लाग्न चाहनेहरु धेरैजसो पुरानै पार्टीमा छन् । यसर्थ, पुराना पार्टीहरुमा पनि क्षमतावान र समाजलाई नेतृत्व प्रदान गर्न सक्ने मानिसहरु छन् । नेपालमा मात्रै होइन, संसारमा वास्तविकता अलि फरक छ । केवल राजनीतिक दलहरुमा मात्र होइन, निजी कम्पनीहरुमा पनि जुन काम गर्नको लागि संस्था जन्माइएको हो, तदनुरुपकै मानिसहरु छानिएको हुन्छ, जिम्मेवारी दिइएको हुन्छ । पद्धति र प्रणालीहरु पनि तदनुरुपकै बनाइएको हुन्छ । गुण र दोषको आधारमा प्रोत्साहन गर्नुछ भने पनि कुन गुणलाई राम्रो मान्ने हो ? महत्वपूर्ण कुरा हो, कुन उद्देश्य लिएर कुनै संस्था स्थापना गरिएको हुन्छ ।
मान्छे वा पात्र राम्रो वा नराम्रो होइन, उद्देश्यअनुसारको संरचनाले त्यहीअनुसारको मानिसलाई माथि लान्छ र अरु छुट्छन् । सेक्युरिटी गार्ड कम्पनीमा चर्को बोल्नेलाई माथि लगिएला भने एनजिओमा मिठो बोल्नेलाई । अरु तलै छुट्छन् । यसरी बनाइएको प्रणाली र प्रक्रियालाई रातारात परिवर्तन गर्न असम्भव नै त हुँदैन, तर धेरै गाह्रो हुन्छ । डा. भट्टराईले पनि एउटा ठूलो पार्टीको मुख्य नेतृत्व हुँदाहुँदै पनि यही कुरा बुझेर नयाँ पार्टी बनाउनुभएको हो । यो कहिलेकाँही ‘वियोन्ड रिपेअर’ हुन्छ । मेरो विचारमा नेपालका पुराना पार्टीहरु सुधार्नै नसक्ने भइसकेका छन् जस्तो लाग्छ । भ्रष्ट आचारण भएका मानिसहरु नेतृत्वसम्म तानिएका छन् । कसले कति चुनावमा खर्च गर्न सक्छ भनेर नै टिकट दिइन्छ अनि उसलाई इमान्दार बन भनेर कसरी भन्न सकिन्छ ? हो, इमान्दार मानिसहरु पनि छन् तर उनीहरुले भ्रष्टहरुलाई घाटा लाग्ने केही गरे वा बोले भने मात्रै पनि उनीहरुलाई नै पार्टीबाट उठाएर फ्याँदिने अवस्था छ । यस्तो अवस्थामा नयाँ शिराबाट काम सुरु गर्नु उत्तम हुन्छ ।
विकल्प तयार भयो र नेपालमा ?
हो, मानिसहरुलाई विद्यमान राजनीतिक दल र व्यवस्थाप्रति निराशा छ । विकर्षण छ । तर यसलाई त्याग्नेगरी विकल्प तयार भइसकेको छैन । मान्छेले जहिले पनि विकल्प बलियो नै होस् भन्ने चाहन्छ । खेलकुदकै कुरा गरौं । अहिलेका युवाहरुलाई तपाईं सोध्नुहोस्– नेपालको क्रिकेटको राष्ट्रिय टोलीका कप्तान को हो ? सबैले भन्न सक्छन्– पारस खड्का । तर, फुटबलको कप्तान सोध्नुस्, धेरैलाई जवाफ दिन गाह्रो हुन्छ । आजभन्दा १०–२० वर्ष पहिला, जब म कलेजमा थिएँ, त्यतिबेला नेपालको फुटबल क्याप्टेन को हो भन्ने सबैलाई थाहा हुन्थ्यो, न कि क्रिकेटको । समयसँगै किन परिवर्तन भयो ? मानिसहरुले किन क्रिकेट बढी मन पराउन थाले ? किनकी क्रिकेटमा राम्रा राम्रा खेलहरु जित्न थालियो । फाइनलमा पुग्न थालियो । नाम चलेका देशसँग खेल्न थालियो । फुटबलमा हारेको हार्यौं । तर, क्रिकेटमा विश्वस्तरका टिमसँग पनि जित्न थालियो । यसकारण हो नि क्रिकेटलाई बढी माया गरिएको ।
राजनीतिमा पनि यस्तै हो, नयाँ पार्टीहरु आएका छन् । केही ठाउँमा जित्नुहोला, त्यहाँ नयाँ सोचका साथ राम्रो काम गर्नुहोला । अनि मानिसहरुले विश्वास गर्ने वातावरण बन्ला । त्यतिबेला बल्ल खेलाडी नयाँ होइन, खेल नै नयाँ हो भन्ने विश्वास गर्ने वातावरण बन्न सक्छ । होइन भने अहिले पुरानैमा फर्किएका नयाँ वस्त्रधारी पुरानै खेलाडीहरुजस्तै पो हो कि ? भन्ने शंका जनमानसमा छ । त्यसलाई जित्न केही समय लाग्छ ।
त्यसैले डा. भट्टराईले भन्नुभएको छ, हामीले निर्वाचनलाई क्वाटर फाइनल, सेमी फाइनल र फाइनलको रुपमा हेर्छौं । कुनै महिला जसले पिचएडी गर्नुभएको छ, उहाँलाई पनि बच्चा जन्माउन नौ महिना नै लाग्छ । पिएचडी गरेको भन्दैमा कुनै महिलाले ६ महिनामा बच्चा जन्माउन त सक्नुहुन्न । हाम्रो योजना जनतासम्म राम्ररी पुग्नै सकेको छैन । राम्रा उम्मेदवार दिन सकिरहेका छैनौं । केही कमजोरीहरु छ । तर, भविष्य नयाँ शक्तिहरुकै छ भन्ने कुरामा मलाई कुनै शंका छैन । बरु पुराना पार्टीहरुले पनि नयाँ बन्न रुपान्तरित गर्ने प्रयास गर्नुपर्छ ।
(नयाँ शक्तिका प्रवक्ता तथा प्रचार विभाग प्रमुख सिंहसँग कुराकानीमा आधारित)
The post ‘पिएचडी गरेकी आमालाई पनि बच्चा जन्माउन ९ महिना नै लाग्छ’ appeared first on Sajha Post.