अचम्म लाग्यो, केहि समय अघिमात्र भएको संघीय परिषदको बैठकमा बाबुरामले प्रस्ताव पेश नगर्दै ताली बजाउन हतार गर्ने नेताहरुलाई बाबुराम हस्पिटलबाट निस्केको भोलिपल्टै उनका विरुद्धमा गाला बजाउन हतार भएछ । सोहि कारण आफ्नै संयोजकको विरुद्धमा गाला बजाउँदै बतुराउने कार्यको आरम्भ गरिएछ । हामी सानोमा फिल्म हेर्न जान मन लाग्यो भने अनेक बहाना बनाएर निस्कन्थेम् । हिजोको पत्रकार सम्मेलन हेर्दा त्यो बेलाको खुब याद आईरहेको थियो । माओवादीमा जानका लागि भनेर सिधै कान समाए पनि हुने हो । तर, साथीहरु १० वटा बुँदामा आरोप लगाउँदै कान पछाडिबाट समाउने कोसिस गरेछन् । दश बुँदा हेर्दा यस्तो लाग्यो कि साथीहरु बिना वस्त्र बसेर कस्लाई चाँहि ‘पप्पी सेम’ भनिरहेका छन् !
संघीय परिषदको बैठकमा फरक प्रस्ताव पेश गर्न नसक्ने अनि बैठकले दिएको म्याण्डेटलाई कुल्चिएर कुनै होटलमा दुईचार भाइबैना जम्मा भएर फरक प्रस्ताव राख्ने तरिका देखेर दया लागेर आयो । बैठकमा आफ्नो बिषय राख्न डराउनेहरुलाई आज नेता मानेर ठुलो गल्ति गरेको भान भएको छ । हिजो त्यहि विषय हलमा राख्नका लागि कस्ले छेकेको थियो ? कि त्यो बेला पेरिस डाँडासँगको नेटवर्क झ्यारझ्यार थियो र अहिले क्लिएर आएको छ ? नयाँ शक्तिको स्थापना एक वर्ष बितिसक्दा पनि हामी माओवादी भनेर विज्ञप्ति निकाल्नेहरुले नयाँ शक्तिको नेतृत्व गर्न सक्ने कुरामा मलाई चाहि विश्वास छैन । यता नयाँ शक्तिमा बाबुरामलाई घुर्काउने र माओवादीमा मसँग यति मान्छे आउँछन मलाई के बनाउने हो भनेर बार्गेनिङ गर्नेहरुले नयाँ शक्ति बनेन भनेर माओवादीमा आशा भरोसा व्यक्त गर्नुलाई लोभ बाहेक अरु कुनै नजरले हेर्न सकिएन ।
नयाँ शक्तिमा आएपछि पनि हँसिया हथौडाप्रतिको मोहले नयाँ शक्ति बन्थेन । त्यहि कारण बनेन । कारण बाबुराममा होईन आफैमा खोज्नुस् । तपाईहरुले आफ्नो वडामा नयाँ शक्तिका उम्मेदबार उठाउनु भयो कि नाई ? उठाएको भए कति भोट आयो ? वडामा उम्मेदवार खडा गर्न नसक्ने, उम्मेदबार खडा भएको ठाउँमा ४–८ भोट ल्याउने अनि चुनाव हारको कारण बाबुरामलाई दिने ?
अनि बाबुराम बुद्धिजीविको घेरामा परे भनेर किन रोईलो गरिरा ? त्यसो भए बाबुराम गुण्डा र तस्करहरुको घेरामा पर्नुपर्छ भन्ने तपाईहरुको मान्यता हो ? बाबुराम ठिकै ठाँउमा त रहेछन त कम्तिमा गलत मान्छेको घेरामा रहेनछन् । खुसी हुनुहोस् न बरु ।
अग्रपन्थ भनेको के हो ? वाम-लोकतन्त्र भनेको के हो ? भनेर प्रश्न गर्नुभएछ । बरा यति पनि बुझ्न नसक्नेले वैकल्पिक राजनीतिको नेतृत्व कसरी गर्न सक्नु हुन्छ ? विचारमा नै अस्पष्ट भएपछि पार्टीमा बसिरहन आवश्यक छैन । तपाईहरुको यो असहमति-पत्र पार्टी परित्यागको प्रारम्भ पनि हो । हामीले राम्रोसँग बुझेका छौँ । माओवादप्रतिको लगाव कम्युनिजम्प्रतिको प्रगाढ प्रेमले तपाईहरु वैकल्पिक आन्दोलनमा फिट हुनुहुन्थेन । त्यो कुराको अनुभूति बल्ल तपाईहरुले गर्नुभएछ । बल्ल खुसी लागेको छ । तपाईहरु मन उता राखेर यता धेरै समय बसिरहन सक्नु हुन्थेन । त्यहि कारण बाबुराम भट्टराई एक्लै पार्टीबाट बाहिरिएर नयाँ शक्ति निर्माण अभियानको थालनी गरेका थिए । तपाईहरुलाई त्यो बेला लाग्यो बाबुरामको फेस भ्यालू बढी छ, त्यसलाई बेचेर मुनाफा कमाउन सकिन्छ । तर निर्वाचनमा एमाओवादीले योजनाबद्ध नयाँ शक्तिलाई चुनाव चिन्हबाट वञ्चित गराईसकेपछि अरुको चुनाव चिन्ह सापटी लिएर भागलिदा आशातित मतपरिणाम हासिल गर्न सकेन । त्यसपछि तपाईहरुको सपना चक्नाचुर हुन थाल्यो । तपाईहरुको स्वार्थमा धक्का लाग्यो अनि माओवादीमा चाखेको सत्ताको स्वादले तपाईहरुको मुख रसायो । त्यसैको निरन्तरमा भएको एउटा घटना हो तपाईंहरुको १० बुँदा ।
हुँदाहुँदै तँपाईहरु ५ ‘स’प्रति नै स्पष्ट भएनौ भन्न भ्याउनु भएछ । केप्रति स्पष्ट भएर तपाईहरु नयाँ शक्ति लगभग दुई वर्ष हिड्नुभयो । लाजपनि लजाउने गरेर तर्क नगरेकै राम्रो । यतिका धेरै असहमति रहेछन् त अनि किन परिषदको बैठकमा असहमति राख्ने हिम्मत गर्नुभएन । हिजो तपाईले व्याख्या गरेको वाम-लोकतन्त्र र ५ ‘स’ आज एकाएक कसरी अस्पष्ट भयो ? कारण छ कोहीसँग ?
अनि मैले बाबुरामसँग यतिका बर्षसम्म संगत गरेँ भनेर किन रोईलो गर्न पर्यो ? नयाँ शक्ति पार्टीको ईतिहास बल्ल एक डेढ बर्षको छ । तपाईले अन्य राजनैतिक दलमा राजनीति गरेको इतिहासले नयाँ शक्तिमा के असर गर्छ ? तपाईले ४०औँ वर्ष अगाडि बाबुरामसँग खाना खाँदा खिचेको तस्विरले चाहि के अर्थ राख्छ हामीले थालनी गरेको वैकल्पिक राजनीतिमा ? हिजो तपाई लागेको आन्दोलनमा को नेता थियो भन्ने कुराले आजको राजनीतिमा खास अर्थ राख्छ जस्तो मलाई लाग्दैन । लाजनीतिमा भने काम लाग्छ । त्यसको प्रमुख स्वार्थ भनेको सत्ता र शक्ति हुन्छ ।
त्यसैले विनम्रतापूर्वक तपाईहरुलाई मेरो अनुरोध कृपया मन एकातिर ज्यान अर्कोतिर राखेर ल्याङल्याङ गरेर नबस्नुस्, त्यो तपाईका लागि पनि हाम्रो लागि पनि हानिकारक छ । तपाई माओवादी बनेर हँसिया हथौडा उचाल्दा नै मज्जा आउँछ भने त्यहि गर्नुस् यता बसेर समय बर्बाद नगर्नुस् । जिन्दगीमा मज्जा आउने चिज गर्ने हो । तपाईहरुलाई वैकल्पिक राजनीतिमा मज्जा आएको छैन । त्यो राजनीतिको नेतृत्व गर्नसक्छु भन्ने विश्वास छैन । देशलाई नै वैकल्पिक राजनीतिको बाटोमा लैजान पहल गर्नुपर्ने मान्छेहरु पुरानो पार्टीमा फर्कने लोभमा राईलो गरेर वैकल्पिक राजनीतिप्रति नै प्रश्न चिन्ह खडा गर्नुहुन्छ भने तपाईहरुलाई कम्तिमा म चाहि नेता मान्न तयार छैन । जब पार्टीको नेता हुँ भन्ने व्यक्ति नै आफ्ना विचारहरुबारे अस्पष्ट छ भने त्यसलाई के का आधारमा नेता मान्ने ? म भन्दा दुईचार वर्ष जेठो भएको आधारमा ? आफुले भन्दा राम्रो बोल्ने, लेख्ने र विचार निर्माण गर्ने मान्छे देख्ने बित्तिकै कर्के आँखा लगाउँदै आरिसले जल्नेहरुले वैकल्पिक राजनीतिको नेतृत्व गर्छन् भन्ने के विश्वास छ ?
त्यसैले मैले अहिले पनि भन्दैछु- अरु पार्टीको ह्याङ बोकेर नयाँ शक्ति निर्माण हुँदैन । तपाईहरुको ह्याङ जता छ उतै गएर ईन्जोय गर्नुस् । हामीलाई पनि वैकल्पिक राजनीतिमा ईन्जोय गर्न दिनुहोस् । ल्याङल्याङ गरेर टाईम वेस्ट नगर्नुस् । जिम्मा लिनुभएको छ संगठन विभाग प्रमुखको । अनि संगठन बनाउन सकिएन भनेर बाबुरामलाई दोष । पद टुंगिसकेको छ पेरिसडाँडामा अनि गाली गर्नुछ बबरमहललाई । कम्तिमा एक वर्ष लामो वैकल्पिक राजनीतिमा शरीरलाई सहभागी गराउँदा पनि एउटा कुरा सिक्नु भएन छ कि आफ्नो असक्षमतालाई सैद्धान्तिकरण गर्ने लाजनीति गर्नुहुँदैन भनेर । हुनत, शरीर सहभागी गराएर मात्रै के सिकिन्थ्यो र ? सिक्न त मन नै सहभागी गराउनुपर्दो रहेछ । नयाँ शक्ति सत्ता,शक्ति र स्वार्थका पुजारीहरुको पार्टी होईन । हारेका, थाकेका र कुण्ठाग्रस्त मानसिकताले नयाँ शक्तिको नेतृत्व गर्न सक्दैन । त्यसले डन्ट वेस्ट योर टाईम । यो तपाईहरुको लागि उपयुक्त प्लेटफर्म होईन ।
कति गजब हुन्थ्यो यदि तपाईहरुले भनिदिनु भएको भए- ‘रातारात केही हुन्छ कि भनेर नयाँ शक्तिमा आएको । केही भएन । बुढेसकाल पनि लाग्यो । वैकल्पिक राजनीति होला र खाउँला भनेर कुर्न सकिएन । हामी गयौं जहाँ रातारात पाइन्छ । तपाईहरु मेहनत र धैर्य गर्न सक्ने साथीहरु यहाँ लाग्नुहोस् ।’ कार्यकर्तासँग भेटमा भन्ने गरेको यही कुरा तपाईहरुले बाहिर भनेर जान सक्नुभएको भए फूल माला लगाएर पठाउन सकिन्थ्यो । तर, ढोंगीहरुलाई फूलमाला लगाएर फूलमालाको अपमान किन गर्नु ? जानुहोस् र अपमानमा अभिशप्त भइरहेका उतैका फूलमाला लगाउनुहोस् जहाँ पुरानो विकृत संस्कृतिका अनुयायीहरु जसले विरासतको व्यापार गरिरहेका छन्, त्यहाँ सहिदका शालिकहरु मुन्टो झुकाइरहेका छन् ।
अन्त्यमा नयाँ शक्ति पार्टीका संयोजक भट्टराईले पनि ति नेताहरुप्रतिको मोह भंग गर्न जरुरी छ । घुर्की,धम्की दिनेलाई नेता बनाउन सकिन्नँ भनेर स्पष्ट भन्न जरुरी छ । पुरानो पार्टीको कुण्ठा बोकेर नयाँ पार्टीको निर्माण हुन सक्दैन । त्यसैले पुराना घर फर्कन चाहनेहरुलाई फर्कीदिनका लागी आव्हान गर्न जरुरी छ । संघीय परिषदको बैठकले दिएको म्याण्डेट विपरित पार्टी अनुसाशन उल्लंघन गर्दै पत्रकार सम्मेलनका नाममा विचारका बमिट गर्नेहरुलाई एकपट कारवाही गर्ने हिम्मत गरुन् । नयाँ शक्तिले मान्ने लोकतन्त्र र छाडातन्त्रमा फरक छ । एकपटक आँट गरौँ वैकल्पिक राजनीतिको नेतृत्व गर्ने खालको पार्टी हाम्रै पुस्ताले निर्माण गर्न सक्छ । हामी हाम्रो विचारप्रति स्पष्ट छौँ । यो युगको नेतृत्व गर्न सक्छौँ । हारेका,थाकेका र कुण्ठाग्रस्त मानसिकताको विकल्प भनेको जितको सन्देश दिन सक्ने, केहि नयाँ गरौँ भनेर ऊर्जा भर्न सक्ने र आफुभन्दा क्षमतावान मान्छे आयो भने बाटो खाली गरिदिन सक्ने युवा पुस्ताले दिन सक्छ भन्नेमा म ढुक्क छु । वैकल्पिक राजनीतिको याात्रामा कतिपनि विचलित नभईकन अगाडी बढ्न युवा मित्रहरुमा आग्रह गर्दछु ।
The post ‘कमरेड’ ! यस्तो लाजनीति कहिलेसम्म ? appeared first on Sajha Post.