Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

यी विचारणीय पक्षमा ध्यान पुगेको छ त नयाँ शक्तिको ?

$
0
0

नयाँ शक्ति नेपालले एउटा छुट्टै राष्टिय वैकल्पिक शक्ति निर्माण गर्ने उदेश्य राखेर देशव्यापी अभियान सञ्चालन गरिरहेछ । डाक्टर बाबुराम भट्टराई निकट तत्कालीन माओवादी समूह र अन्य विभिन्न पार्टी, समूह र व्यक्ति व्यक्तित्व सम्मिलित भएर सागरझैं यो शक्ति अगाडि बढिरहेछ । नयाँ शक्तिमा खासगरी युवाहरुको चासो र सहभागिता ह्वात्तै बढेको छ । सगौरव भन्न सकिन्छ, यही गतिमा यो अभियान अगाडि बढ्ने हो भने अघिल्लो निर्वाचनद्वारा ठूला बनाइएका नेका र एमालेसँग यसले सजिलै प्रतिस्पर्धा गर्न सक्नेछ । तर कुनै पार्टी एकपटक प्रतिस्पर्धामा उत्रँदैमा देशका समस्या समाधान हुने होइन । जनताको समृद्धिको चाहना पूरा हुने होइन । त्यसो हुन्थ्यो भने त नेका, एमाले र एमाओवादीले त्यो हैसियत देखाइसकेका छन् । त्यसकारण नयाँ शक्ति निर्माण गर्न अहोरात्र जुटेका अभियन्ताले र नीति निर्माताहरुले निम्न विषयमा ध्यान केन्द्रित गरेर आफ्नो सांगठानिक ढाँचा निर्माण गर्नु उपयुक्त हुन्छ ।

 

निर्मल भट्टराई
निर्मल भट्टराई

क) भ्रष्टाचारमुक्त चिन्तन
आज समाजका हरेक क्षेत्रमा भ्रष्टाचार छ । राज्य सत्तामा पुगेकाले देशको स्वार्थ एवं हित बिर्सेर आफनो स्वार्थ पूरा गर्दछन् । स्थानीयतहमा र कर्मचारीतन्त्रमा भ्रष्टाचारको जालोले ढपक्कै ढाकेको छ । भ्रष्टाचारको मुद्धामा जेल बसेकाहरु पार्टीको उच्च तहमा सर्वाधिक मत पाएर विजयी हुनुले वर्तमान नेपाली समाजले भ्रष्टाचारलाई त्यति चासो दिएको छैन भन्ने बुझ्न कठिन छैन । यस्तो समाजमा हुर्कन लागेको नयाँ शक्तिभित्र सबै दूधले धोएका व्यक्तिमात्र हुन्छन् भन्ने निष्कर्ष स्वतः अवस्तुवादी हुन्छ । नयाँ शक्तिका हरेक संरचनाको र हरेक नेता कार्यकर्ताको विधिसंगत पारदर्शिताको कडा अभ्यासले मात्र विस्तारै भ्रष्टाचारमुक्त चिन्तनको विकास हुन सम्भव छ ।
ख) साँचो अर्थमा समावेशीकरण
नेपालको राज्यसत्ता पृथ्वीनारायण शाहले एकीकरण गरेदेखि नै खस आर्य नियन्त्रित हुँदै आयो । राजा–राणा–राजाको शासन अवधिभर समावेशीकरणको कुनै गुन्जायस थिएन । राज्यसत्तामा जनजाति, मधेशी र थारुको उपस्थिति र पहुँच अत्यधिक न्यून रह्यो । वस्तुतः उनीहरुले आफूलाई हेपिएको महसुस गरे । जहाँ हेपाइ हुन्छ त्यहा पतिरोध स्वभाविक छ । उनीहरुले त्यो गरे गरिरहेछन् । जनजाति, मधेशी र थारुका सवाललाई वर्तमान सत्तासीन पार्टीहरुले अवलम्वन गरेजस्तो टालटुले नीतिले काम चल्ने देखिँदैन । भावनाको एकीकरण हुन नसक्दा अत्यन्त समृद्ध मुलुकमा समेत छुट्टै देशका लागि जनमत संग्रह भएका छन । स्कटल्याण्ड र बार्सिलोनामा भएका जनमत संग्रह पछिल्ला दृष्टान्त हुन् ।

नयाँ शक्तिले क्लस्टर समावेशीकरणको अवधारणा अघि सारेको छ । यो अरुभन्दा वैज्ञानिक त छ तर त्यसलेमात्र भावनात्मक एकीकरण गर्न सक्दैन । नयाँ शक्तिको वृहत्तर छाताभित्र जनजाति, मधेशी र थारु बाहुल्य क्षेत्रमा स्वायत्त अधिकार सहितका स्थानीय खुकुला संरचना बनाइनु उपयुक्त हुन्छ । स्वायत्त अधिकारमा आफ्नो नेता आफैं चुन्न पाउने , राष्टिय र स्थानीय निर्वाचनमा उम्मेद्वार उठाउन पाउने, आफ्नो क्षेत्रको विकास र समृद्धिको योजना बनाउन पाउनेलगायत हुन सक्दछन् ।
ग) मनोविज्ञानको एकीकरण
नयाँ शक्ति विभिन्न पुराना चिन्तन प्रवृत्तिलाई तिलान्जलि दिएरमात्र बन्न सम्भव छ । नयाँ शक्तिको नेता कार्यकर्ता बन्ने तर आफ्नो पुरानै विरासतको पट्यारलाग्दो बयान गरेर नयाँ शक्ति किमार्थ बन्न सक्दैन । यो त केवल महाभारतमा भनिएजस्तै आकाश चाटेर अघाएको कल्पना गर्नु मात्र हुन्छ । विगतको बरियता देखाएर ब्याज खोज्ने, विगतकै जस्तो ‘कमाण्डर’ र ‘ईन्चार्ज’को लागि बखेडा गर्नु नयाँ शक्ति निर्माणमा बाधक शिवाय केही हुन सक्दैनन् ।

नयाँ शक्तिको नेता पार्टी सदस्य अनुमोदित नेता हो । थोपरिएको नेता होइन । नयाँ शक्तिमा नेतालाई कुनै विशेष सुविधा वा दज्र्यानी चिन्ह दिईएको हुदैन । नयाँ शक्तिमा विभिन्न पार्टीका बरिष्ठ नेतामात्र सहभागी छैनन् नयाँ शक्तिको आधिकारिक पेजमा हज्जारौ हजारले आफनो नाम दर्ज गराएका छन् । ती सबैलाई एकेै मनोविज्ञान दिनु पर्ने चुनौति विद्यमान छ ।
घ) कार्यशैलीमा सुधार
पार्टी निर्माणमा नेता कार्यशैलीको अत्यन्त महत्वपूर्ण स्थान छ । जनताको आँखामा राख्दा नविझाउने उच्च सामाजिक मुल्य भएका नेता कार्यकर्ताको निर्माण र उनीहरुको प्रक्षेपण नगरी शक्तिको स्थायित्व हुदैन । पुलिस चौकी उडाएर, मानिसको भर्भराउँदो जीवन गोलीले उडाएर, रत्नपार्कको रेलिङ्ग भाँचेर, गाडी जलाएर, कलकारखाना बन्द गराएर,जनताको मत खरीद विक्री गरेर राजनीतिको रोटी सेक्नु परेको विगत पुरै रिफम्र्याट गरेरमात्र समृद्ध कार्य शैलीको अपेक्षा गर्न सकिन्छ । ब्यक्तिको र संरचनाको आवधिक कार्य कुशलता मुल्यांकन, व्यक्तिको क्षमता अनुसारको जिम्मेवारी विभाजन पनि त्यत्तिकै महत्वपूर्ण छन् ।

The post यी विचारणीय पक्षमा ध्यान पुगेको छ त नयाँ शक्तिको ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles