Quantcast
Viewing all articles
Browse latest Browse all 942

भारतविरोधी होइन, हामी देशप्रेमी हौँ

‘सिंग नहुनेले जुध्नु हुँदैन’ निकै सानो छँदा हजुरआमाले बारम्बार भन्ने यो कुरा अझैपनि मानसपटलमा गुञ्जिरहन्छ । जब आफूभन्दा केही ठूला दाइदिदी तथा साथीहरुको पिटाइ खाइन्थ्यो अनि म रुँदै हजुरआमाकोमा न्याय माग्न पुग्थेँ । बुबा-मम्मी खेतबारीमा काम गर्न गाउँबेसी गर्नुपर्ने भएकाले हाम्रो रेखदेख हजुरआमाले नै गर्नुहुन्थो । तर, पिटाइ खाएर जाँदापनि हजुरआमाले ‘कठै मेरो बाबु !’ कहिलै भन्नु भएन । पिटाइ पनि खानु छ, उता न्याय दिनुहोला भन्ठानेको हजुरआमालेसमेत ‘सिंग नहुनेले जुध्नु हुँदैन त’ भनिदिँदा झनै भक्कानिँदै केहीबेर रुन्थेँ अनि बिर्सिएर फेरि त्यही साथीसँग खेल्न पुग्थेँ । सायद उहाँले झगडालु नबनुन्, भनेर नै त्यसो भन्नुहुन्थ्यो होला । तर त्यो वाणी बालमस्तिष्कमा नराम्ररी बिझ्थ्यो ।

Image may be NSFW.
Clik here to view.
RC Bhandari
आर.सी भण्डारी

अहिले यही कुरा नेपाल-भारत सम्बन्धमा पनि दुरुस्तै बनेर आउँछ । त्यतिबेलाको फुच्चे म जस्तै भौगोलिकरुपमा सानो हाम्रो नेपाल, अनि मलाई पिट्ने साथीहरुजस्तै अलिक ठूलो भारत । क्रिकेट खुबै हेर्छु । अहिले विश्वकपको सिजन पनि छ । अरु कामधामलाई पनि साइड लगाएर बसेरै क्रिकेट हेर्न थालेको ५ वर्ष भयो । सन २०११ विश्वकपमा भारत र पाकिस्तानबीचको सेमीफाइनल भिडन्त हेरेपछि क्रिकेटमा यतिधेरै रस बसेको हो । त्यतिबेला जान-अञ्जानमा भारतको समर्थन गरेछु । त्यसपछिका केही वर्ष भारतकै समर्थन गरिरहेँ । तर, विस्तारै भारतप्रतिको समर्थन हराउँदै जान थाल्यो । अहिले त यतिसम्मको अवस्थामा पुगेको छु कि भारतविरुद्ध जसले खेल्छ, त्यस टिमलाई मेरो सबैभन्दा ठूलो समर्थन हुन्छ । भारतले हार्दा उसको घमण्ड चकनाचुर भएको महसुस हुन्छ । नाकाबन्दीको बदला लिएको भान हुन्छ । निकै आनन्द आउँछ, र आफ्नै देशले जितेजस्तै प्रफुल्लित हुन्छु । म मात्रै होइन धेरै नेपाली अहिले यो अवस्थामा पुगेका छन् । जुन बिहीबार भारतले सेमीफाइनलमा वेस्ट इण्डिजसँग हार्दा सामाजिक सञ्जालमा पनि देखियो ।

भारतको समर्थन गर्ने केही साथीहरुसँग बेलाबखत बहस पर्छ । उनीहरुको तर्क हुन्छ, ‘नुनदेखि सुनसम्ममा भारतकै भर पर्नुपर्छ, एकदिन नाकाबन्दी गरिदियो भने खान पाइँदैन, विरोध गरेर के गर्नु ? हामी कमजोर छौं त आफ्नो ठाउँमा बस्नुपर्छ ।’ मलाई यो कुराले त्यही बचपनको याद आउँछ, ‘सिंग नहुनेले जुध्नु हुँदैन’ । अहिले बुझ्ने भएपछि पनि यो कुराले त्यति नै घोच्छ, जति बचपनमा घोच्थ्यो । त्यतिबेला म सानो भए पनि कपर्दी, लक्कुढाल र डण्डिबियो खेल्दा आफूभन्दा ठूला साथीहरुकै तुलनामा गनिन्थेँ । प्रदर्शन मेरो कमजोर र उनीहरुको प्रभावशाली अवश्य थियो । तर, मेरो हैसियत सिंगो एक खेलाडिको नै हुन्थ्यो र ती ठूला साथीहरु पनि त्यही एक खेलाडिका रुपमा गनिन्थे । अनि म कसरी सानो ? अनि मैले किन सहनुपर्ने ? अनि मैले आफ्नो अधिकार खोज्न किन नपाउने ? यी प्रश्नहरुको उत्तर त्यतिबेला मलाई कसैले दिएन । अहिले आएर फेरि यी प्रश्नहरुको जवाफ चाहिको छ मलाई ।

हो, भारत हामीभन्दा निकै ठूलो छ । आर्थिकरुपमा पनि हामीभन्दा सबल छ । आफ्नो स्वार्थकैलागि भएपनि बेलाबखत सहयोग गरेकै छ । हाम्रो संस्कृति समान छ । हामीबीच रोटीबेटीको सम्बन्ध पनि छ । हाम्रा भाषाहरु पनि एकअर्काले बुझ्नका लागि खासै मिहेनत गर्नु नपर्ने खालका छन् । हाम्रो सीमाना खुल्ला, निर्वाधरुपमा आवत-जावत हुन्छ ।

कपाल काट्न मोतिहारीका ठाकुरदाइको सैलुनमा जान्छु । घरबाट अफिसतिर निस्किने बेला उनको हालचाल नसोधी हिँडेको दिन नै हुँदैन । कुनै दिन ठेलामा तरकारी किन्न गयो भने भारतकै प्रकाश दाइ भेटिन्छन् । नेपाल-भारत सम्बन्ध यति अन्योन्याश्रित छ कि, हमी एकअर्काबाट अलग हुनै सक्दैनौं । यी तमाम समानता र घुलमिलका बाबजुद् पनि मजस्तै झण्डै ९० प्रतिशत नेपालीलाई भारत फिटिक्कै मन पर्दैन । कारण उही हो, उसँग सिंग छ, त्यही सिंगको तुजुक देखाउँछ । आफूले भनेकोजस्तो भएन भने धम्क्याउँछ, नाकाबन्दी गर्छ, अनि हामीलेचाहीँ सहनुपर्छ ।

हामीले किन सहने ? मेरो चुह्लो बाल्नका लागि मैले नै दिनरात नभनी मिहेनत गर्नुपर्छ । मैले आफैँले दु:ख गरेर कमाएको पैसाले दाल, चामल र लत्ताकपडा किन्छु । उनीहरुले बेच्छन्, त्यसको बदलामा हामीले पैसा पनि त दिएका छौं । अझै उनीहरुले मागेजति दिएका छौं । मन परेन भने अर्को पसलमा किन्छु भन्न हामीले किन नपाउने ? पसलेले मेरोमा दाल किनिनस् भने यो बाटो हिँड्नै दिन्न भन्न पाउँछ र ? अर्को पसलेले होमडेलिभरीकै सुविधासहित सुपथ मूल्यमा सामान दिन्छु भन्ला रे, मैले त्यहाँबाट किन्न किन नपाउने ? थोरै सहयोग गरेको छु भन्दैमा पासो थाप्न पाइन्छ ?

नेपालमात्रै नभएर पाकिस्तान, बंगलादेश, श्रीलंकासहितका छिमेकीहरु भारतप्रति रुष्ट हुनुको कारण उसले समिक्षा गर्नु पर्दैन ? अरुसँग बोलिस् भने यस्तो गर्छु भनेर चेतावनी दिनेकी, हामीले सम्बन्धलाई सुधार्नका लागि के गर्नुपर्छ भनेर समिक्षा गर्ने ? नेपाल-भारत सम्बन्ध जति बहुआयामिक छ, त्यतिनै चुनौतीपूर्ण पनि छ । हामी अशान्त रह्यौँ भने भारत पनि शान्त रहन सक्दैन । अस्थिरताकैबीच नेपालमा आतङ्ककारी गतिविधि हुन थाल्यो भने खुल्ला सीमाना हुनुका नाताले सबैभन्दा ठूलो प्रभाव भारतलाई नै पर्छ । यी दुई देशकाबीच करिब १७०० किलोमिटर खुल्ला सीमाना छ । नेपालका कारण सुरक्षा चुनौतीमात्रै नभएर नेपालले आफ्नो सबैभन्दा लामो स्थल सीमालाई सुरक्षा गरिदिएको भारतले बुझ्नु पर्दैन ? चीनसँग थोरै जोडिँदा लद्दाखमा कुन अवस्था छ ! उता पाकिस्तानीसँग दिनदिनै गोलाबारी हुन्छ । कम्तिमा उत्तरी सीमामा त नेपाल शान्त छ । यो भारतका लागि फाइदा होइन ? नेपालको विकास र समृद्धिले भारतलाई नै फाइदा हुनेछ । अनि किन बारम्बर अस्थिरता निम्त्याउन चाहन्छ भारत ?

वास्तवमा कुनै पनि नेपाली भारतविरोधी होइनन्, नत म नै हुँ । सबै नेपालप्रेमी हुन् । जसले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा खलल पुर्याउन खोज्छ, उसको अवश्य विरोध गर्छौं । किनकी हामीलाई हाम्रो नेपाल प्यारो छ । हामी नेपाली हुनुमा गर्व गर्छौं ।

मोदी (भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) जी ! आजसम्म त हामी नेपाल प्रेमीमात्रै छौं । अब तपाईंका अन्य छिमेकीजस्तै भारतविरोधी बन्न बाध्य नबनाउनुस् । हामी कसैको विरोध गर्न चाहँदैनौं । हामी भारतलाई आफ्नो असल छिमेकीकोरुपमा देख्न र व्यवहार गर्न चाहन्छौं । त्यसका लागि तपाईंले यी १० कुरा ख्याल गरिदिनुस् । जुन तपाईं-हामी दुवैको हितमा छ ।

१. हाम्रा सुस्ता-कालापानी हामीलाई निकै प्यारो छ । पूर्व-पश्चिमका यी सारा भूभाग हाम्रो शरीरको एउटा टुक्राजस्तै हो, कृपया यसमा ‘गिद्दे नजर’ लगाउन छाडिदिनुस् । सीमानाका तपाईंका नागरिकलाई साँध नमिच्न भन्नुस् । हाम्रो जंगे पिलर नहराओस् । झण्डै एक तिहाइभन्दा बढी भू-भाग त अंग्रेजहरुले फिर्ता नै गरेनन्, तै पनि चित्त बुझाएर बसेका छौं । अहिले बाँकी रहेको नेपालाई पनि लुछ्ने काम आजैबाट छोड्नुस्, छोडाउनुस् ।

२. लाग्थ्यो तपाईं त बुझेको मान्छे । नेपालमा आएर मन पनि जित्नुभयो । तर, अहिले तपाईं झण्डै ३ दशकअघिको इन्दिरा गान्धीको युगमा फर्किनुभयो । नाकाबन्दी लगाउन थाल्नुभयो । त्यसबाट हामीले त केही समस्या अवश्य भोग्यौं नै, तर तपाईंले अर्को ४/५ दशकका लागि नेपालीहरुमा भारतविरोधी सेन्टिमेन्ट नमज्जाले घुसाइदिनु भएको छ । अहिले अधिकांश नेपाली शिक्षित छन् । ३/४ दशकअघिको पेलाहा प्रवृत्ति प्रत्युत्पादक हुन सक्छ भनेर तपाईंले सोच्नु पर्दैन ? जे हुनु भइसक्यो, कृपया अबचाहीँ यस्तो दु:ख दिने काम नगर्नुस् ।

३. यही संविधानका लागि हामीले ७० वर्ष खर्चिएका छौं । बल्लतल्ल हाम्रो हातमा हाम्रा प्रतिनिधिले लेखेको संविधान परेको छ । हो, यसमा केही कमजोरी अवश्य छन्, कतिपय कुरा हामीलाई नै मन परेको छैन । तर, यो हाम्रो आन्तरिक मामला हो । हाम्रो संविधानलाई आफैँ परिमार्जन गर्छौं र समयानुकुल बनाउँछौं । तपाईंले यसमा अनावश्यक चासो राखेर अन्तराष्ट्रिय मोर्चाबन्दीदेखि नेपालीलाई धम्क्याउनेसम्मको ‘हर्कत’ गर्न बन्द गरिदिनुस् ।

४. हामी राजनीतिक स्थितरता चाहन्छौं । हो, हाम्रा राजनीतिक दलहरुले कमजोरी गरेका छन् । तर, यही कमजोरीमा टेकेर सरकार बनाउने गिराउने खेलमा नलागिदिनुस् । तपाईंलाई एउटा के कुरा जानकारी हुन जरुरी छ भने, तपाईंको ‘हनुमान’लाई नै प्रधानमन्त्री बनाउनुभयो भने पनि उसले तपाईंको पक्षमा केही गर्न सक्नेछैन । गरेछ भनेपनि नेपाली जनताले त्यसलाई नङ्ग्याउने छन्, अनि उसले गरेको सम्झौता कार्यान्वयन हुन दिनेछैनन् । राजनीतिक दलका अमुक नेताहरुलाई प्रभावमा पार्ने होइन, नेपाली जनताको मन जित्नुस् । दलहरुले राजनीति गर्ने आधार भनेको जनता हुन् । जनताले चाहेको दिन तिनीहरुलाई उत्तानो पार्न सक्छन् । २३७ वर्षदेखिको इतिहास बोकेको राजतन्त्र फालेको त तपाईंलाई पनि थाहा नै होला ।

५. तपाईं हाम्रो छिमेकी हो । असल छिमेकी बन्न खोज्नुस्, ‘बिग ब्रदर’ होइन । भूगोल, जनधनत्व र आर्थिक हिसाबले तपाईं हामीभन्दा ठूलो हुनुहोला, तर अन्तराष्ट्रिय मञ्चमा हामी बराबर हौँ । त्यसैले ‘बिग ब्रदर’ भन्दा असल छिमेकी बनेर देखाउनुस् ।

६. सुगौली सन्धिदेखि महाकाली सन्धिसम्मका कैयन सन्धि-सम्झौता आजका सचेत नेपालीलाई फिटिक्कै मन परेको छैन । हामी त्यसमा सुधार चाहन्छौं । खुल्ला दिलले यसमा छलफलका लागि तयार हुनुस् । फेरी बसौं, छलफल गरौं र विन-विन सिचुएसनमा यसलाई टुङ्ग्याऔं । यो नेपाल र भारतबीच बढ्दो तिक्तता अन्त्य गर्न ‘रामवाण’ सावित हुनेछ ।

७. हाम्रा लाखौं नेपाली दाजुभाइ तपाईंको देशमा श्रम गर्छन् । उताका हजारौं नागरिक यता पनि आएका छन् । वर्ष दिनभरी पैसा कमाएर चाबाडमा घर फर्किँदा तपाईंले नै सीमाको सुरक्षाका लागि भनेर खटाएका व्यक्तिहरुले दिनदहाडै डकैती गर्छन्, अनावश्यक दु:ख दिन्छन् । कृपया तपाईंको एसएसबी (सीमा सुरक्षा बल)लाई अनुशासित बनाउनुस् । उनीहरुले भारतबाट काम गरेर फर्किने नेपालीमात्रै नभएर दैनिक किनमेलका लागि पारी जानेहरुलाई नतर्साउन्, अनि हाम्रो भूमिमा आएर अनावश्यक दु:ख नदिउन् ।

८. तपाईंका मिडियाहरु पनि साह्रै असंवेदनशील भए । तपाईंका अधिकांश मिडियाको यहाँ सहज पहुँच छ । कुनै बेला त यसरी प्रोपोगाण्डा मच्चाउँछन् नि, लाग्छ पहाड नै उल्टिसक्यो । हाम्रो विषयमा यस्तो प्रोपोगाण्डा हामीलाई मन पर्दैन । त्यसैले त भूकम्पको बेला उनीहरुको हर्कत देखेर #GohomeIndianmedia भन्दै फिर्ता पठाएका थियौँ । तर उनीहरुले अझै पाठ सिकिकेका छैनन् । मर्यादित बन्न भनिदिनुस् ।

९. हरेक कुरामा आफ्नोमात्रै फाइदा नहेर्नुस् । तपाईंलाई नेपालको पानी चाहिन्छ भने नेपालीलाई खुसी बनाएर अनि नेपालीको पनि हित हुनेगरी सम्झौता गरेर लैजानुस्, न कि हजारौंलाई घरबारबिहीन बनाएर । अबका सम्झौताहरु पारदर्शी र जनस्तरबाटै अनुमोदित होस् ।

१०.  हामीले दक्षिणी छीमेकीलाई असर नगर्नेगरी उत्तरतर्फ सम्बन्ध राख्दा अनावश्यक चासो नदिनुस् । हाम्रो लागि चीन पनि भारतजत्तिकै हो । चीनसँगको सम्बन्धलाई ‘हाउगुजी’ मान्न छाडिदिनुस् ।

अन्त्यमा हामी आफ्ना छिमेकीहरुको सुरक्षा चासोमा सचेत छौं र रहनु पनि पर्छ । भारत र चीनजस्ता दुई उदयीमान शक्तिका बीचमा छौँ । हामीले हाम्रो भूमि एकअर्काविरुद्ध प्रयोग हुन नदिने कुरामा सचेत रहनुपर्छ । भारत-चीन दुवै हाम्रा छिमेकी हुन् । त्यो भन्दा बढी न त भारत नै हो, न चीन नै । त्यसैले नेपालले आफ्ना छिमेकीहरुको सुरक्षा चासोमा ध्यान दिने र छिमेकीहरुले पनि असल छिमेकीको व्यवहार गर्ने हो भने बढ्दो तिक्तता छिट्टै अन्त्य हुनेछ । हामी चाहन्छौं, त्यस्तै होस् ।

 

The post भारतविरोधी होइन, हामी देशप्रेमी हौँ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles