नेकपा एमालेका अध्यक्ष केपी ओलीले जन्मको आधारमा नागरिकता पाएकाहरुलाई पनि वंशजको आधारमा नागरिकता दिने धारणा राखेछन्, जुन सराहनीय हुँदाहुँदै आफैंमा विरोधाभासपूर्ण र अपूर्ण छ । विरोधाभासपूर्ण यो अर्थमा कि उनले अंगीकृत नागरिकतालाई कायमै राखेर नागरिकताको आधारमा नेपाली नागरिकबीच एक किसिमको वर्ग विभेदको समर्थन गरेका छन् । एक कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य नै ‘सबै खाले असमानता हटाउनु’ हुनुपर्नेमा नाममा मार्क्सवाद झुण्डाएर ठ्याक्कै उल्टो काम भइरहेको देखिन्छ ।
अहिले केहि व्यक्तिहरु राष्ट्रवादको संकुचित परिभाषा लगाउँदै भोट तान्ने दाउमा छन् । उनीले बुझ्नु पर्ने महत्वपूर्ण तथ्य भनेको कुनै पनि खाले विभेदले नेपालको समृद्धिमा बाधा पुर्याउँछ । भूमण्डलीकरण, हाम्रो भौगोलिक अवस्था, संचारका साधनको विकास र पहुँच, चेतनाको विकास आदि पक्षहरुलाई नियाल्दा त्यस्ता संकुचित राष्ट्रवादी परिभाषामा आधारित रणनीतिले अल्पकालमा कुनै पार्टीलाई केहि हजार भोट बढी दिलाउला, तर तेसले ल्याउने किचलोले देशलाई दिर्घकालीन रुपमा पछि पार्छ । त्यसैले हामीले कुनै पनि खाले प्रत्यक्ष वा अप्रत्क्ष विभेदहरु अहिलेनै कानुनि रुपमा मात्रै भए पनि निर्मुल पार्नु र सामाजिकरुपमा समयअनुसार व्यवहारमा उतार्दै लैजानु अत्यावश्यक देखिन्छ ।
उदाहारणको रुपमा संविधानमा भएका दुई विभेदहरुलाई यसरी प्रस्तुत गर्न सकिन्छ-
१. नागरिकतालाई वंशज, अंगीकृत आदिमा विभाजन गर्नु समयसापेक्ष देखिंदैन र यो प्रणाली नागरिकताको आधारमा गरिएको विभेद नै हो । जब नेपाली कानुनअनुसार नागरिकता दिईन्छ, तब नेपाली नागरिकहरु सबै समान हुनुपर्छ । यदि समान हुँदैन भने तेसलाई ‘नागरिकता’ नामाकरण नगरी अरु केहि नामाकरण गर्न सकिन्छ । तर जब एक व्यक्तिले नेपाली नागरिकता पाउँछ, तब त्यो अरु सबै नेपालीहरु जस्तै नेपाली नागरिक हो/हुनुपर्छ । त्यसैले नागरिकतामा ‘वंशज’ अथवा अरु कुनै प्रकार लेख्नु एक किसिमको विभेद हो, यो हटाइनुपर्छ ।
विदेशबाट आएर नागरिकता लिनेले देश ‘बेच्लान्’ भन्ने जुन तर्क केहीले राख्ने गरेका छन्, त्यसको लागि अरु उपायहरु अपनाउन सकिन्छ । जस्तै अमेरिकामा रास्ट्रपति हुनको लागि अमेरिकामै जन्मेको हुनुपर्ने नियम छ । त्यस्तै नियम अपवादस्वरूप नेपालमा पनि लागू गर्न सकिन्छ । अझ त्यो नियमलाई केहि बुँदा थपेर अमेरिकामा भन्दा कडा बनाउन सकिछ । जस्तै ‘सधैं स्थायी बसोबास नेपाल भएको’ अथवा ‘कहिलै पनि अरु कुनै देशको ग्रिनकार्ड अथवा नागरिकता नलिएको’ अथवा ‘नेपाली संस्कृतिसँग परिचित’ आदि ।
२. एक नेपाली माहिलाले विदेशी पुरुषसंग बिहे गरेर जन्मेको बच्चाले अहिलेको नियमअनुसार अंगीकृत नागरिकता पाउँछ (यदि प्रशासनले किचलो गरेन भने); तर एक नेपाली पुरुषले विदेशी महिलासंग बिहे गरेर जन्मेको बच्चाले चाहिँ वंशजको नागरिकता पाउँछ । यो एक लैंगिक विभेद हो । मेरो छोरोतिरको नाति-नातिना चाहिँ वंशजका हुने भए, छोरी तिरको चाहि अंगीकृत । यदि विदेशी नागरिकसंग विवाहित नेपाली महिलाको बच्चा नेपालमै जन्मिन्छ, नेपालमै हुर्किन्छ, कहिल्यै अरु देशको नागरिकता लिएको छैन र स्थायी रुपमा नेपालमै बसोबास गर्न चाहन्छ भने उसलाई किन नागरिकताको आधारमा विभेद गर्ने ?
The post वंशजको नागरिकता: विभेदको प्रतिक ? appeared first on Sajha Post.