Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कुलमान भगवान होइनन्

$
0
0

मलाई थाहा छ, मैले यो आलेख तयार पार्दैगर्दा भावना बग्ने नेपाली पाठकको एउटा पंक्तिले गाली गर्नेछ । राजनीतिक दूराग्रह राख्ने अर्कोथरी अतिवादका पयार्यहरूको मुटु जल्नेछ र अनेक टिप्पणी उठ्नेछन् । यो प्रवृत्ति हो, यसमा कुनै गुनासो हुनेछैन । तर, हामी भावनामा होइन, तथ्यमा आधारित भएर नै निर्णय र मुल्याङ्कनको पक्षमा उभिनुपर्छ । सतही ज्ञान राखेर सामान्य काम हेरेर कसैलाई निमेष भरमा भगवान र निमेषभरमा दानव बनाउने हाम्रो शैली र प्रवृत्तिमा जबसम्म सुधार आउन सक्तैन वा हामीले छुट्याउन सक्तैनौं, हामी यसरी नै वाद र विवादको सानो घेराभित्र रमाइरहेका हुन्छौं । कोही पक्षधरतामा, कोही विपक्षमा र कोही गाली गर्ने प्रतिक्रियावादी प्रवृत्तिमा । तर, हामी सबल र पद्धति भएको मुलुक स्थापनाको संकल्प गरिरहेका छौं वा यो चाहन्छौं भने के बुझ्न जरूरी छ भने सबै मान्छे हुन्, मान्छे नै रहेर बाँच्नसक्ने र बचाउन सक्ने दृढता हुनुपर्छ न त्यसभन्दा माथि न त्यसभन्दा तल ।

नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारमार्फत भारत सरकारसँग सम्झौता गरी खरिद गर्न लागेको एलइडी बल्बमा अनियमितताको अड्कलसँग जोडिएको नाम कुलमान घिसिङ सुन्नासाथ अहिले समाज विभाजित अवस्थामा रहेको छ । अझ, सामाजिक सञ्जालमा रहेको नेपाली समाज । यो कुलमान ठिक वा बेठिक भन्ने विषय विल्कुल हैन । सामाजिक प्रवृत्तिमाथिको टिप्पणी हो, कुलमान एक प्रत्यक्ष प्रतिनिधि पात्रका रूपमा उभ्याइएको चरित्र मात्रै हो ।

२ करोड थान बल्ब खरिद गर्ने प्राधिरणले भारतीय कम्पनीलाई २ अर्ब ८ करोड रूपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । एक अर्ब २२ करोडमा खरिद हुने बल्बलाई दुई अर्ब ८ करोडमा खरिद प्रक्रिया अघि बढाईएको समाचारमा थियो । जसबाट राज्यलाई एक अर्ब १४ करोड नोक्सानको सवाल थियो । त्यो नोक्सानको रकम खोई ? भनेर सोध्न नपाइने ? त्यो नोक्सानमा तपाईको पनि सहमति कसरी भयो ? भनी सोध्नै नहुने ? त्यसको सोझो उत्तर स्वीकारयोग्य हुन्छ ।

बिनोद ढकाल

सरकारले उक्त खरिदका लागि भारत सरकारसँग अझ सस्तोका लागि अपिल गर्नसक्ने थियो । तर, दोब्बर भन्दा बढी मूल्यलाई अनुमोदन गर्नुमा के नियत थियो भनेर सोध्न किन नपाइने ? अख्तियार नलाग्ने गरी कानुविपरित किन यस्तो निर्णय गरियो भनेर सोध्न नपाइने ? यस्ता हुन सक्छ जनताले सोध्नुपर्छ भनेर सूचना दिन नपाइने ? जहाँ भ्रष्टाचारको गन्ध हुनसक्छ, त्यहाँको सवाल उठाउन पाइन्छ । गलत हो भने प्रमाणित गरेर देखाउनुहोस् । रकमको कुरा एकातिर रह्यो तर नीतिकै बेइज्जत गर्ने काममा कसरी सहमति जनाउन सकिन्छ ? ठूलो खरिदका लागि सार्वजनिक ऐन अनुसार ठेक्का गरी सस्तोभन्दा सस्तो मुल्यमा किन्नुपर्ने बल्बलाई किन सिधै कानुनविपरित महंगोभन्दा महंगो मूल्य जनतालाई तिर्न लगाइरहेको छ, अहिलेको सरकार ? भनेर सोध्न नपाउने ? सोध्दा कुलमानको विरोधी हुनुपर्ने कुन सामाजिक धरातलमा उभिएका छौं हामी ? जसले विरोध गर्छ, त्यसका घरमा बलिरहेको कम्तिमा २ सय रूपैंयाको बत्ती ८० रूपियाँमा आउन सक्छ तर, सरकारले डेढ सय बनाउँदैछ । यसमा सचेत बन्नुहोस् है भनेर सचेत गराउनै नहुने ?

त्यसो गर्दा यहि समाजले भगवान बनाएका कुलामानको नाम पनि आयो भनेर गोहीका आँसु किन ? भावुकता हामी नेपालीको प्रवृत्ति हो । हामी तथ्यमा भन्दा तर्कमा बढी विश्वास गर्ने र धारणा बनाउने काम गर्छौं । के सही के गलत भनेर गहिरो खोजीभन्दा सतहमै प्रतिक्रिया जनाउने गर्दछौं । कुलमानले आफुले पाएको कर्तव्य पूरा गर्दा उनलाई भगवान मानिदिन्छौं । जिम्मेवारी पूरा नगर्नेलाई राक्षस भनिदिन्छौं । के हामी यहि सिकिरहेका छौं, यो समाजमा ?

यसको जवाफ नेपाली जनताको नजरमा ‘हिरो’ बनेका कुलमानबाट हामीले खोजेका होइनौं । नेपाल सरकारको प्रवक्ता सुरेन्द्र कार्की, ऊर्जामन्त्री जनार्दन शर्मा वा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट चाहेका हौं ।

यहि विषयमा राजनीतिक ध्रुवीकरणको वैचारिक बहस पनि चल्छ । हामीलाई पद्धति हैन, पगरी चाहिएको छ त्यसकारण हाम्रा मतहरू आवेगका विम्बका रूपमा छचल्किरहेका छन् । एउटा प्रधानन्यायाधीशलाई महाअभियोग लगाई कानुनलाई मिचेर डिआइजीलाई आइजी बनाउने कोशिश गर्ने नैतिक भ्रष्टाचारीको कर्तुतहरूलाई हामी कुलमान नामको ढालमा बचाउन प्रेरित त गरिरहेका छैनौं ? जहाँबाट सूचना लिन्छौं, त्यसैलाई गाली गर्ने, अपशब्द प्रयोग गर्ने प्रवृत्तिले हाम्रो बौद्धिकताको मापन हरेक पल गरिरहेको हुन्छ, हामी आफैंले पनि त्यसको गहन मुल्याङ्कन गर्न ढिलो नहोस् । हामी आँखा भएका देख्ने तर त्यसलाई वक्रदृष्टिमा हेर्ने, कान भएका सुन्ने तर कम सुन्ने, मुख भएका बोल्ने र मनलाग्दी बोल्ने प्रवृत्तिको शिकार भइरहेका छौं । हामीमा कहिले आउँछ आँखा, कान र मुखले मुल्याङ्कन गरी सत्य देख्ने, तथ्य सुन्ने र ध्रुवसत्य बोल्नसक्ने सीप ? कहिले आउँछ ?

मानौं, यो प्रकरणमा कुलमानको कुनै संलग्नता छैन । उनको भावुकतालाई त्यसको प्रमाणका रूपमा लिएर, ठान्न सकिएला । तर, उनीभन्दा माथि रहेको उर्जा मन्त्रालय, मन्त्रीपरिषद र सत्ताधारीका स्वार्थका अतिसयलाई कुलमान एक्लैले रोक्न सक्लान् ? कुलमानमाथि रहेको नेपाली समाजको भावनात्मक समर्थनको उपयोग गरी यो भ्रष्टाचार प्रकरणलाई प्राधिकरणबाटै प्रतिरोध गर्ने षडयन्त्र होइन भन्ने आधार के छ ? कुलमानले नै भनेका छन्, ‘यो बल्ब ठेक्का प्रकरण नेपाल सरकार र भारत सरकारबीचको सम्झौता हो । यसमा भ्रष्टाचार भएको छैन ।’ यसको जवाफ नेपाली जनताको नजरमा ‘हिरो’ बनेका कुलमानबाट हामीले खोजेका होइनौं । नेपाल सरकारको प्रवक्ता सुरेन्द्र कार्की, ऊर्जामन्त्री जनार्दन शर्मा वा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट चाहेका हौं । यो ठेक्का प्राधिकरणको ठेक्का होइन, त्यही प्रक्रियाको एउटा तर खास निकाय मात्र हो । यो ठेक्का दुई देशबीचको सरकारको हो, त्यसकारण कुनै अमूक निकायको प्रमुखलाई सडकमा उभ्याएर भावुक नेपालीको मतान्तरण गरी भ्रष्टाचार गर्ने अधिकार कुनै सरकारलाई हुँदैन । यो भ्रष्टाचारको पर्दा खोलिँदैगर्दा जसरी मिडिया र मिडियाकर्मीको बदनामीमा संलग्न भएका छन् मान्छेहरू, यसको पूरा पर्दा खुलेपछि यिनै मान्छेहरूले कुलमानलाई ‘राक्षस’को संज्ञा दिएको देख्न नपरोस् ।

यी विषयलाई प्रमाणित गर्नका लागि नेपाली समाजको प्रवृत्तिको दलिलहरू कम छैनन् । क्षणभरमा भगवान बनाएर क्षणभरमा दानव बनाउने प्रवृत्तिका धेरै पात्र हामीसँग छन् । जतिबेला काठमाडौंका सडक विस्तार हुँदै थिए, त्यसबेला डा. बाबुराम भट्टराई सरकारको जय–जयकार गर्ने समाजले संविधान निर्माण प्रक्रियाबाट अलग्गिदैगर्दा उनलाई दानव भनेको नसुनेको होइन । नेपालमा गणतन्त्रका लागि आन्दोलन भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय दलाल भन्ने यहि समाजले नाकाबन्दीका बेला उनले लिएको अडानलाई राष्ट्रवादी भनी जयजयकार गर्ने पनि यहि समाज हो । व्यक्तिको तत्कालिक एउटा कामलाई हेरेर देवत्वकरण गर्ने र त्यसैको अर्को काम हेरेर दानवीय व्यवहारलाई प्रस्तुत गर्ने हाम्रो प्रवृत्तिले कहिलेपनि दिर्घकालीन मुल्याङ्कनमा चासो दिएन । यो प्रवृत्तिमा सुधार हुनुपर्छ कि पर्दैन ?

विद्युतको नियमित आपूर्तिलाई सहज बनाएका कारणले नै अन्य नीति र खरिद प्रकरणको भ्रष्टाचारमा कुलमानलाई छुट दिनुपर्छ भन्ने मान्यता कसैले बोकेको छ र राख्छ भने त्यो बचकना सोच हो ।

हामीले बुझ्न आवश्यक छ, नेपाललाई लोडसेडिङमुक्त गरेर कुलमानले भगवान धर्तीमा झरेर गर्नुपर्ने काम गरेका होइनन्, उनलाई दिइएको पदको इमान्दारीतालाई देखाउने कुशलता प्रस्तुत गरेका हुन् । तर, प्राधिकरणको काम विद्युत सहज वितरण गर्नेमात्र होइन, त्यहाँभित्र प्रकारान्तरका काममा उनको नियत लुकेको छैन भन्ने आशंका वा चासो गर्न पाइँदैन भन्ने पनि त छैन । नीतिगत भ्रष्टाचारका लागि उनको सहयोगी भूमिकामात्रै हुँदा उनी पनि त्यस मामिलाका एक सहयोगी हुनेछन् । अब भ्रष्टाचारी त्यो मात्र हुनेछैन जसलाई पृथ्वीनारायण शाहले परिभाषित गरे । घुस लिने र दिनेमात्र होइन, यो प्रवृत्तिका अनेक प्रकारका प्रत्यक्ष र परोक्ष सहयोगी भ्रष्टाचारी नै हुन् । कर्तव्य पालनाका क्रममा एउटा कर्मचारीले एउटा कुशल काम गरेको भनेर भगवान मान्दिन पनि हुँदैन, एउटा खराब काम गरे भनेर कारवाही नगरौं भन्न पनि हुँदैन ।

विद्युतको नियमित आपूर्तिलाई सहज बनाएका कारणले नै अन्य नीति र खरिद प्रकरणको भ्रष्टाचारमा कुलमानलाई छुट दिनुपर्छ भन्ने मान्यता कसैले बोकेको छ र राख्छ भने त्यो बचकना सोच हो । कानुन मान्ने राज्यमा कुलमानमात्र होइन, कोही राम्रो काम गरेको व्यक्तिलाई राज्यको रकम नियतबस राख्ने, राख्न दिने, राख्न लगाउने वा त्यसो गर्न सहयोग गर्ने छुट छैन । हामी कानुन नमान्ने घोषणा गर्छौं भने बहिरालाई पुराण सुनाउने काम हुनेछ । यद्यपि, कुलमानले भ्रष्टाचार गरेको भए फाँसी चढाउनु भन्ने गम्भीर प्रष्टोक्ति जनतासामु गरिसकेका छन् । तर, उनले सरकारले यस प्रकरणमा राखेको नियत र भ्रष्टाचार प्रमाणित भएको खण्डमा त्यसको जिम्मा मैले पनि लिन्छु भन्न सकेनन् । आँसुको कथाले उनको जीवन सङ्लो बनाउन सक्ला तर, एउटा गलत निर्णयका कारण लाखौं नेपालीले रगतको आँसु बगाएर कमाएको श्रमको अवमूल्यन् हुने खतरालाई सूचना र चेतनाको हिसाबले देखाउन नपाइने भन्ने पनि हुँदैन ।

The post कुलमान भगवान होइनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles