Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

के हो वैकल्पिक राजनीति ?

$
0
0

मानव घुमन्ते थियो । नाङ्गै हिंड्थ्यो । बोक्रा र पात लगाउँथ्यो । कन्दमूल, फलफूल खान्थ्यो, ओडार वा खुल्ला आकाशमा बस्थ्यो । स्थायी बसोबास थिएन, सुरु गर्‍यो । कृषिको थालनी गर्‍यो । सन्तोष भएन । औद्योगिकरणतर्फ लाग्यो । विज्ञान प्रविधिको विकास गर्दै, नयाँ र राम्रोको खोजीमा आज धर्तीको पनि विकल्प खोज्दैछ ।

खाद्यवालीमा आधारित कृषि प्रणालीको सट्टा फलफूल खेती, खाद्यान्नको सट्टा फलफूल र रोटी ।

पैतृक पेशाको विकल्प खोजी । पेशा व्यवसायमा परिवर्तन । कृषि, व्यापारबाट नोकरी वा नोकरीबाट स्वरोजगार व्यवसाय ।

सूचना र सञ्चारको क्षेत्रमा विकल्पको खोजी हुँदाहुँदै अकल्पित इन्टरनेट वर्ल्डमा प्रवेश । गोरुगाडाबाट सुरु भएको यातायात मङ्गल पुग्ने यानसम्म विकसित ।

गुरुकुल, गुम्बा, मदरशा शिक्षा प्रलाणीको विकल्प खोजी । सामुदायिक, निजी, औपचारिक, अनौपचारिक हुँदै खुल्ला विश्वविद्यालयसम्म ।
पात र बोक्राको विकल्प कपडा । दाउराको विकल्प तेल, तेलको विकल्प ग्याँस, अब माइक्रो ओभन । राम्रो, सुखको खोजी जारी ।

धर्मशास्त्र अपरिवर्तनशील मानिन्छ । यसमा पनि फरकपनको खोजी । वेद एउटै थियो । चार भागमा विभाजन गरियो । हिन्दू परम्परा एउटै थियो । अहिले दर्जनौं शाखा । इच्छित देवताको आराधना गर्न पाईने । क्रिश्चियानिटीमा ओल्ड टेस्टामेन्ट र न्यू टेस्टामेन्ट । क्याथोलिक र प्रोटेस्टेन्ट । ईस्लाममा सिया र सुन्नि । बौद्धमा महायान र हिनायान । हिन्दू संस्कारमा पनि विकल्प खोजिँदै । १३ दिने मृत्यु संस्कारलाई ५ दिनमा छोट्याइँदै ।

प्रत्येक क्षेत्रमा प्रत्येक दिन विकल्पको खोजी भयो, हुन्छ र भई रहनेछ । परिवर्तनको नियम बाहेक सबै परिवर्तनशील मानियो । विकल्पको खोजी अर्को अर्थमा सुखको खोजी । प्रगतिको मार्ग । अझ राम्रोको खोजी । राम्रो घर, पेशा, लत्ता कपडा, भ्रमणका साधन तथा अन्य सुख समृद्धिका साधनको खोजी । देशमा यी सबै सुखको लागि एक्लो व्यक्तिको प्रयासले सम्भव हुँदैन । राज्य नै लाग्नुपर्छ । राज्य राजनीतिले निर्देशित हुन्छ । सबै क्षेत्र राजनीति निर्देशित हुन्छ । सबै समस्याको समाधान राजनीतिबाट हुन्छ । यो नै मूल नीति हो । तर राजनीति बदनाम छ । यसो नहुनु पर्ने । किन भयो ? विद्यार्थीको प्राथमिकतामा राजनीति पर्दैन । घृणा छ । देश र जनसेवा कसैको प्राथमिकतामा नहुनु विडम्बनापूर्ण । ‘पाए अन्त नपाए लखन थापाको जन्त’ जस्तो भयो राजनीति । अन्य व्यवसायबाट टाट उल्टेकाहरुको पनि पेशा बन्यो राजनीति । राजनीतिको दुर्गति भयो । उडुस भएको घरजस्तो । सजिलै नियन्त्रण गर्न पनि सकिएन, घरमा आगो नलाउनु पनि भएन । यस्तो राजनीति बोक्ने राजनीतिकर्मीको हैसियत कस्तो हुन्छ ? सबै नराम्रा छैनन् तर सोलोडोलोमा बदनाम भए ।

अधिवक्ता शान्ति तिमिल्सिना
अधिवक्ता शान्ति तिमिल्सिना

यस सन्दर्भमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी स्थापना भएको छ । यसले वैकल्पिक राजनीतिको आरम्भ गरेको दलील गर्दैछ । नेपालमा वैकल्पिक राजनीतिको बहस सुरु भएको छ । नयाँ शक्ति पार्टी वैकल्पिक पार्टी हो कि, नयाँ शक्तिले राजनीतिमा विकल्प खोजेको हो ? वा नयाँ शक्ति पार्टीले वैकल्पिक राजनीतिको आरम्भ गरेको हो ? वैकल्पिक राजनीति बुझ्न वैकल्पिक पार्टी, राजनीतिक विकल्प वा राजनीतिमा विकल्प जस्ता शब्दांशमा स्पष्ट हुनुपर्छ । वैकल्पिक पार्टी भनेको पार्टीहरुको विकल्प वा मौजुदा पार्टीहरुप्रति असन्तुष्टि भएर अर्को पार्टीको छनौट वा स्थापना हो । यसमा अर्को पार्टी छानिन्छ । कुनै पार्टीमा क्रियाशील भएका वा नभएका व्यक्ति, समूहले फरक पार्टीको छनौट वा गठन गर्छन् । राजनीतिक विकल्प वा राजनीतिमा विकल्प भनेको राजनीतिले समस्या समाधान गरेन वा राजनीति प्रति सन्तुष्टि वा राजनीतिमा संलग्न भई रहन सकिएन वा इच्छा भएन भने अर्को पेशा वा व्यवसायतर्फ लाग्ने भन्ने हुन्छ ।

कोही व्यक्ति वा समूहले राजनीतिमा विकल्प खोज्न सक्लान तर देशको शासन सञ्चालनका लागि राजनीतिको विकल्प हुँदैन । समाजको बदिलिँदो चरीत्र, समय, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति बमोजिम सापेक्षित परिमार्जन गर्दै, खराबीहरुलाई हटाउँदै, फरक किसिमले प्रगतिको पथमा राजनीति प्रक्रिया अगाडि बढाउने राजनीति हो वैकल्पिक राजनीति । यस अर्थमा नयाँ शक्ति पार्टी, नेपाल एकातर्फ वैकल्पिक पार्टी हो भने अर्कातर्फ यसले अवलम्बन गरेको मार्ग वैकल्पिक राजनीति हो ।

‘राज’ गर्ने ‘नीति’ ठीक ठाउँमा हुँनु पर्ला कि नपर्ला ? देश शरीर हो भने राजनीति मष्तिष्क । ट्यूमर छ । अनुहारमा पनि ऐंजेरु । विरुप बनायो । पाल्ने कि फाल्ने । गलगाँड भिरी राख्ने कि फाल्ने ? यत्तिकै बस्ने कि मानसिक–शारीरिक स्वस्थ रहने बाटो खोज्ने । कम्पाउण्डर लाउने कि सर्जनकोमा जाने ? राजनीति पनि ट्यूमर, ऐंजेरु, र गलगाँडले कुरुप छ । शासनमा अस्थिरता, भ्रष्टाचार, कुशासन, कमिसनखोरी डनवाद, धनवाद, सिण्डीकेट यसका कुरुप पक्ष हुन् । यिनको अन्त्य कसरी गर्ने ? यत्तिकै धेरै बस्न सकिँदैन । बाँच्ने चाहना छ । विकल्प खोज्नु अनिवार्य छ । अपनाई आएको मार्ग त्याग्नु कठीन छ । ओपन हार्ट सर्जरी कसैको चाहना होइन । तर आवश्यक पर्‍यो । जीर्ण विचार, वाद, सिद्धान्त, विधि, दृष्टिकोण, कार्य योजना, कार्यनीति र लक्ष्यमा विकल्प अपरिहार्य भयो । हो, राजनीतिमा विद्यामान विकृति र विसंगतिलाई समूल निर्मूल गर्ने विकल्पको खोजी गर्ने राजनीति नै वैकल्पिक राजनीति हो ।

२९ वर्षीय सिद्धार्थ गौतमलाई सुखको ओइरो थियो । कुनै कुराको अभाव नहोस भन्ने महाराज शुद्धोदन चाहन्थे । भोग विलासमा अलमल्याउन सयौं सुन्दरीको समेत प्रबन्ध मिलाइएको थियो । रोगी देखे । वृद्ध देखे । मृत्यु देखे । दुःखै दुःख देखे । दुःखको कारण बुझ्न चाहे । फरक बाटो अँगाले । दरबार त्यागे । २,५०० वर्ष अगाडि बुद्धले देखेका दुःख अहिले हामी देख्छौं कि देख्दैनौं ? चर्म चक्षुले काम गरेको छ कि छैन ? राजनीतिभित्र भष्टाचार, नातावाद, कृपावाद, कमिसनवाद, अवसरवाद, धनवाद, डनवाद, अन्धभक्तवाद, पुच्छरवाद, भजनवाद, लम्पसारवाद, चाकरीवाद, ब्याजवाद, अपुतालीवाद, क्षतिपूर्तिवाद देखिन्छ कि देखिँदैन ? सिद्धार्थ गौतमले दुःखबाट सदाका लागि मुक्ति खोजेजस्तै राजनीतिमा देखिएका तमाम विकृति र विसंगतिको चक्रव्यूहबाट मुक्तिको खोजी आवश्यक छ । यिनै तमाम विकृति र विसंगतिबाट राजनीतिलाई मुक्त गर्ने फरक बाटो नै वैकल्पिक राजनीति हो । जीवन सुखको खोजी हो । वैकल्पिक राजनीतिले राजनीतिमार्फत सुख, समृद्धि, सदाचार, सुशासन, पारदर्शिता, जवाफदेही समाजको स्थापनाको पथ अवलम्बन गर्दछ ।

पूर्वीय दर्शन भन्छ– आत्माले शरीरको विकल्प खोज्छ । जब शरीरको सार्थकता समाप्त भएको देख्छ तब निस्कन्छ । प्रिय यो शरीरको कसैले विकल्प खोज्छ भने हामी चाँहि कहाँ छौं ? अब आँखा चिम्लौं । गहिरिएर सोचौं । हामी कुनै कुरालाई कालजयी भनेर समाति राखेका छौं, होइन ? एक चोटी चिमोटेर हेरौं, निद्रामा छौं कि जाग्रत ? समय बोधका लागि घडी किन्ने कि कुखुरामा भर पर्ने ? हामी पुराना विचार, वाद सिद्धान्त वा शासन प्रणाली नै ठीक भनी राखेका छौं भने समयका लागि कुखुरामा भर परी राखेका त छैनौं ? हामी भन्छौं समयअनुसार हिड्नुपर्छ तर समयको जानकारी चाँहि कुखुराबाट लिने अनि समय अनुसार हिड्ने ? उज्याल्यो भयो भएन भनी आकाशतर्फ फर्कने, खाना खाने बेला भयो भएन भनेर आँगनमा ओझेल हेर्ने समय पार गरी सकियो । ती आख्यान भए । पुरानै विचार वा सिद्धान्त, कार्यदिशा, कार्यनीति ठीक भन्नु र समयबोधका लागि झोलामा कुखुरो बोकेर हिड्नु एकै हो । समयक्रममा समयबोधका लागि विभिन्न साधनको प्रयोग हुँदै आयो । विकासको क्रममा राजनीतिमा पनि विभिन्न विचार, वाद वा सिद्धान्तको प्रयोग हुँदै आयो । अहिले समय हेर्न डिजिटल प्रविधिको प्रयोग गरिए जस्तै राजनीतिमा उत्तर आधुनिक धारणा हो वैकल्पिक राजनीति । अब सोचौं झोलामा कुखुरो बोक्ने वा बिरालो बाध्ने परम्परा भन्दा अगाडि बढ्ने कि नबढ्ने ?

पार्टी ठूलो कि देश र जनता ? पार्टीको स्वार्थ महत्वपूर्ण कि देश र जनताको ? अहिले देश र जनताको स्वार्थ भन्दा पार्टीको स्वार्थ माथि भन्ने दर्शनले नियमन गरेको देखिन्छ । देश र जनता भन्दा पार्टी माथि हो भन्ने धारणा ठीक हो कि होइन ? कतिपय राजनीतिकर्मीमा देश र जनता भन्दा आफ्नो पार्टी र आफू ठूलो र सर्वेसर्वा हो भन्ने धारणा रहेको देखिँदै आएको छ । पार्टीलाई एकातिर र देश र जनतालाई अर्कातिर राखेर रोजाउँदा देश र जनताको हित भन्दा पार्टीको हित हेर्ने परम्परा झाँगियो । यसमा सुधार गर्दै पार्टीको स्वार्थ, पद, पैसा भन्दा देश र जनता ठूलो भन्ने देशभक्तिको भावनाले ओतप्रोत भएको राजनीति वैकल्पिक राजनीति हो ।

सडक, विद्यालय, खानेपानी योजना लगायतका सार्वजनिक निर्माण, विद्यालय व्यवस्थापन समितिको गठन, शिक्षक नियुक्ति, सामुदायिक वन समितिको गठन, आदिमा सामूहिक हित भन्दा पार्टीकरण गर्ने प्रचलन देखिन्छ । अमुक पार्टीको वा अमुक व्यक्तिको हित भन्दा सामूहिक हित हेरिनु पर्ने हो । ‘सर्वजन हिताय सर्वजन सुखाय’ मूल मन्त्र हुनु पर्ने हो । यसो हुन कठीन भयो । यस अर्थमा पार्टीको हित भन्दा सामूहिक हित ठूलो भन्ने राजनीति वैकल्पिक राजनीति हो ।

व्यापार डुब्यो । व्यवसाय डुब्यो । अन्य पेशा व्यवसायमा सफल भइएन । अब कता जाने । हात्ती छाप पड्काउँदै राजनीतिमा प्रवेश उत्तम विकल्प । केही वर्षमा नै शहरमा भवन । छोरा छोरी छात्रवृतिमा विदेश । पजेरोमा सवार । आजको राजनीतिको दृष्य हो यो । राजनीति निजी स्वार्थ पूर्तिको साधन बन्यो । भ्रष्टाचार, तस्करी, सिण्डीकेट, कमिसन, कार्टेलिङ संरक्षण र प्रवद्धनको साधन बन्यो । समाज सेवाको निस्वार्थ साधन हुन सकेन राजनीति । राजनीतिमा मेरिटोक्रेशी समाप्त भयो । राजनीति फोहोरको डंगुरमा मिल्कियो । राजनीतिको वरिपरि भ्रष्टाचार, तष्करी, सिण्डीकेट, कमिसन, कार्टेलिङ जस्ता सिनो देखिन्छन् । राजनीतिलाई यही रछ्यानबाट बाहिर निकाल्ने आदर्श विचार, पवित्र मूल्य मान्यता सहितको जनमूखी, सेवामुखी, तथा निर्माणमुखी राजनीति नै वैकल्पिक राजनीति हो । प्राणी जगतका लागि हावाको अपरिहार्यता भए जस्तै राज्य सञ्चालनका लागि राजनीति । हावा अस्वीकार गर्न नसकिए जस्तै राजनीति पनि त्याग गर्न सकिन्न । यसर्थ राजनीतिमा रहेको प्रदुषण हटाउँनु नै वैकल्पिक राजनीति हो ।

लोकतन्त्रलाई साध्य मानियो । साधन भन्ने बुझिएन । सार्वभौम सत्ताको अभ्यास गर्ने साधन हो लोकतन्त्र । प्रतिनिधिमूलक लोकतन्त्रले जनतालाई वास्तविक सार्वभौम बनाउँन सकेन । लोकतान्त्रिक प्रकृयामा नै जनताको वितृष्णा रह्यो । अर्थात् लोकतन्त्रमा कहीँ न कहीँ खोट छ । प्रतिनिधिमूलक लोकतन्त्रले सार्वभौमसत्ताको वास्तविक अभ्यास, जनादेश अनुसार शासन गर्न सकेन । विधिको शासन भएन । लोकतन्त्रका नाममा ठालूको शासन । शासन र नेतृत्व पारदर्शी र जवाफदेही हुन सकेन । तसर्थ नागरिकलाई वास्तविक सार्वभौम बनाउँने लोकतान्त्रिक अभ्यास नै वैकल्पिक राजनीति हो ।

राजनीति सुसंस्कृत हुन सकेन । अर्को पार्टी वा पार्टीका नेता कार्यकर्ता भन्ने वित्तिकै आलोचना नै गर्नु पर्छ भन्ने प्रथा बस्यो । पक्ष–विपक्ष स्वभाविक तत्व हुन् भन्ने बुझ्न–बुझाउन सकिएन । राजनीतिका पक्ष विपक्ष देवानी वा फौजदारी मुद्दाका झगडिया जस्ता देखिए । कानूनको कार्यान्वयनमा जनादेश बमोजिम पक्ष विपक्ष हुन्छ । पक्ष विपक्षको सम्मान पनि जनादेशको सम्मान हो । अर्को पक्ष प्रति असहिष्णुता जनादेशको अपमान हो । जनादेशको अपमान अराजनीतिक कृयाकलाप हुनु पर्ने हो । यिनै असहिष्णु तथा अराजनीतिक गतिविधिमा राजनीतिक दल र कार्यकर्ताको शक्ति क्षीण भयो । ऊर्जा दुरुपयोग भयो । लाखौं कार्यकर्ताको सृजनशीलता सखाप भयो । आफू अझ राम्रो, क्रियाशील, इमान्दार हुनु भन्दा पनि राम्रो, क्रियाशील, र इमान्दारलाई खसाल्नु, हिलो छ्याप्नु नै योग्यता बन्न पुग्यो । ऐना पुछेको पुछै गर्ने तर आफ्नो अनुहार सफा नगर्ने संस्कारको विकास भयो । समाजमा अन्धविश्वास र कुरीतिको अन्त्य हुँदै गएपनि राजनीतिक कुरीति, कुसंस्कार र अन्धविश्वास फस्टाउँदै गयो । यसमा सुधार आवश्यक छ । शरीरको मैले मात्र सफा गरेर हुँदैन खप्परमा भरिएको गोबरलाई फाल्न सक्नु पर्छ । यो कठीन छ । असंभव छैन । यही खप्परमा भरिएको टक्सिन सफा गर्नु पर्छ, ऐना भन्दा पहिले अनुहार सफा गर्नु पर्दछ भन्ने सुसंस्कृतिको श्रीगणेश गर्ने राजनीति हो वैकल्पिक राजनीति ।

धर्तीभरी कुनै समय भौगोलिक एकीकरणको अभियान थियो । हाल छैन । त्यो कालखण्डमा संसारभर उग्रराष्ट्रवाद/अन्धराष्ट्रवादको नारा घन्क्यो । अब सोको प्रयोजन समाप्त भयो । देश जनताप्रतिको निष्ठा उग्रराष्ट्रवादमा नभई देशभक्तिमा हुन्छ । छिमेकी लगायत राष्ट्रराष्ट्रका बीचमा पञ्चशीलका आधारमा सम्बन्ध रहनु पर्ने । एक अर्का राष्ट्रको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान, एक अर्काका विरुद्ध आक्रामक कारबाही नगर्नु, एक अर्काको आन्तरिक मामलामा अहस्तक्षेप, समानता तथा परस्पर लाभका नीतिको पालना, शान्तिपूर्ण सह अस्तित्वको नीतिमा विश्वास पञ्चशील हुन् । पञ्चशीलमा आधारीत परराष्ट्र सम्बन्ध रहनु पर्छ भन्ने कुरामा विश्वास गर्ने राजनीति वैकल्पिक राजनीति हो ।

राजनीति सेवा हुनु पर्ने । पेशा भयो । अर्थोपार्जन विना जीवन चल्दैन । गुजाराको श्रोत चाहिन्छ । प्रायः राजनीतिकर्मीमा देखिँदैन । अब हुनुपर्छ । राजनीतिकर्मी उत्पादनसँग नजोडिइ सदाचार सुशासन कायम हुन कठीन हुन्छ । वैकल्पिक राजनीति गोल्डेन स्ट्रेट ज्याकेट जस्तै हो । सुरुमा लगाउन केही कठीन हुन्छ । लगाई सके पछि शरीर यसमा नै मिल्छ । शरीर अनुकुल ज्याकेट नभई ज्याकेट अनुकुल शरीर हुनु पर्छ । लगाएको केही समयसम्म पीडा हुन्छ । केही समय पछि पीडाको अन्त्य हुन्छ । अनि यसले शोभा दिन्छ । पहिरनवाला रत्न झै जगमागाउँछ । नयाँ आभा, चमक र रोसनी निस्कन्छ । गोल्डेन स्ट्रेट ज्याकेटमा शरीरलाई फिट गरे जस्तै वैकल्पिक राजनीतिमा अभ्यस्त भएपछि पुराना विचार, मान्यता, विकृति, विसंगति, अन्धविश्वास किनारा लाग्दै जान्छन् । राजनीतिकर्मी उत्पादनसँग जोडिन्छन्, यस्तो राजनीति नै वैकल्पिक राजनीति हो ।

राजनीति समाधान केन्द्रित हुनुपर्ने । विगतका व्याख्यानमै समय बित्छ । अर्कातर्फ भविष्यको प्रलोभन र सपनाको व्यापारमा केन्द्रीत हुन्छ । वर्तमानका समस्या ओझेलमा पर्छन् । वैकल्पिक राजनीति भूतमुखी होइन जसले अनेक किसिमका चिहान खोतल्ने वा चिहानका बहसमा अल्झने कर्म गरोस् । भविष्यमुखि पनि होइन जसले सूदूर भविष्यका स्वर्ग वा साम्यवाद जस्ता सपना बाँड्ने काम गरोस् । वैकल्पिक राजनीति वर्तमान समस्यामा र यसको समाधानमा केन्द्रीत रहन्छ । वर्तमान सुधार्ने विचार, धारणा, योजना प्राथमिकतामा रहन्छन् । विरोधीका वा विपक्षीका विरोधलाई महत्व दिइन्न । Pro-active हुनु मूल मर्म हो । Reactive भइन्न । विपक्षीको काम नै विरोध गर्ने भनी लिइन्छ । बेलायती पूर्वप्रधानमन्त्री विन्सटन चर्चिलले भनेका थिए– You will never reach your destination if you stop and throw stones at every dog that barks. यसरी बाटोमा भुक्ने सबै कुत्तालाई ढुंगा हान्ने हो भने गन्तव्य नै भुलिन्छ वा पुँगिदैन । काग कराउँदै गर्छ, कुत्ता भुक्दै गर्छ तर हात्ती हिड्दै गर्छ भने जस्तै हो वैकल्पिक राजनीति । डा. बाबुराम भट्टराईले भन्नु भए जस्तै फलेको वृक्षमा सबैले झटारो हान्छन्, झटारो फर्काउन जरुरी छैन । झटारो आयो भने बुझ्नु पर्दछ कि वृक्षमा फल लागेको छ । अझ पाकेको पनि छ । यसै गरी हावाहुरीले पनि ठूलो वृक्षलाई नै असर गर्ने हो । साना रुखलाई त हावा हुरीले असर गर्दैन भन्ने मनन गर्दै निरन्तर प्रगतिको यात्रा हो वैकल्पिक राजनीति ।

भगवान् बुद्धले भन्नु भएको छ– Do not dwell in the past; do not dream of the future, concentrate the mind on the present moment. अर्थात् विगतमा नबाँच्नुस्, भविष्यको सपना पनि नदेख्नुस्, वर्तमानमा केन्द्रीत रहनुस् । यही वर्तमानमा केन्द्रीत रहने राजनीति नै वैकल्पिक राजनीति हो ।

परिवर्तनको चक्रलाई कतिले बुझ्न सक्तैनन् । बुझे पनि कतिले आत्मसात गर्न सत्तैनन् । कमसल साधनको त्याग गदै बढी असल साधनको छनौट गर्दै साध्य प्राप्तिको पथमा निरन्तर अगाडि बढ्ने राजनीति नै वैकल्पिक राजनीति हो । अर्को अर्थमा– विचार, सिद्धान्त, वाद, नीति, कार्यशैली, कार्य योजनामा रहेका सबै प्रकारका कमी कमजोरी सच्याई उपयुक्त साधनको छनौट गर्दै साध्य प्राप्तिमा केन्द्रीत हुने राजनीति नै वैकल्पिक राजनीति हो ।

(तिमल्सिना नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय परिषद सदस्य हुन्)

The post के हो वैकल्पिक राजनीति ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles