नेपाली समाजमा ‘पण्डितको घरको गाईहरु’ भन्ने एउटा शब्दावली प्रयोग गर्ने गरिन्छ । ‘पण्डित’को गोठमा विभिन्न जजमानका घरबाट दानमा ल्याएका गाईहरु हुन्छन् । गाईहरु नयाँ गोठमा पुर्याइए पनि उनीहरु आफू आएकै दिशातिर लामो समयसम्म हेरिरहेका हुन्छन् । शरीर नयाँ गोठमा मन पुरानै गोठमा ।
नयाँ घरमा आउँदा गाईले जस्तै मान्छेले पनि रातारात आफ्नो विरासत बिर्सन सक्दैन । नयाँ शैली, प्रक्रिया र कार्यप्रणाली बनाउन र त्यसमा अभ्यस्त हुन समय लाग्नु स्वभाविक नै हो । तर जब कसैले पुरानै विरासतप्रति गर्व गरिरहन्छ, त्यसकै महिमागान गाइरहन्छ र नयाँको भजनकिर्तन गाउन पनि छाड्दैन भने त्यहाँ यस्तो असंयोजनीय भद्रगोलता पैदा हुन्छ कि ‘विकल्प’ र ‘नयाँ’ भन्ने कुरा भद्दा रमाइलो मात्र हुनपुग्छ ।
नेपालमा वैकल्पिक ढंगबाट समाजको प्रगतिशील रुपान्तरण चाहनेहरुको नयाँ ध्रुवीकरण सुरु भएको छ । पुराना अभ्यासबाट वाक्कदिक्क भएर नयाँको अभिष्ट राख्नेहरु यसरी ध्रुवीकरण भइरहेका छन् कि नयाँ विकल्पको सम्भावना बलियो बन्दै गइरहेको छ । यसैक्रममा एउटा सशक्त सम्भावनायुक्त पार्टीको रुपमा नयाँ शक्तिले पनि आकार ग्रहण गरिरहेको छ । यहाँ आउनेहरु एकले अर्कोलाई रुपान्तरिक हुन सघाउँछन् र आफू पनि रुपान्तरित हुन्छन् । एकप्रकारले भन्दा यो जीवनको नवै रंगहरुको साझा फुलबारी हो । यहाँ जम्मा हुन कुनै वाद वा विचार बाधक छैन ।
सबै आउन सक्छन्, सबैले आफ्नो क्षमता लगाउन सक्छन् र आफूले चाहेजस्तो पार्टी बनाउनको निम्ति प्रयास गर्न सक्छन् । जति सजिलै आउनसक्छन्, त्यति सजिलै जान पनि सक्छन् । किनकी वैकल्पिक राजनीतिको मान्यता भनेकै एउटै व्यक्तिले जीवनभरी राजनीतिलाई पेशा बनाएर ‘राजनीतिक सत्ता’ दुरुपयोग गर्ने साधन बनाउनु हुँदैन । राजनीति कुनै अमूक व्यक्तिको ठेक्काको विषय त हुँदै होइन ।
नयाँ बन्ने र बनाउने संकल्पसँग विकल्प दिने कुरा जोडिएको हुन्छ । विभिन्न पृष्ठभूमि, बुझाई र विरासतसहित नयाँ चौतारीमा जम्मा भएका मानिसहरुको भावनात्मक एकताको आधार पुरानोको महिमागानबाट कदापि बन्न सक्दैन । पुरानो विरासत जति भत्काउने साहस गर्यो त्यति नयाँ बन्ने सम्भावना बलियो हुन्छ र भावनात्मक एकताको आधार पनि पैदा हुन्छ । तर ‘पण्डित’को गोठमा जस्तै हरेक गाईले टाउको पुरानै गोठतिर पुच्छरमात्र नयाँ गोठतिर फर्काउँदै विगतप्रति ‘नोस्टाल्जिक’ भएर अतितमुखी विरहको रुञ्चे गीत गाउने विश्रृंखलित अभ्यासले निरन्तरता पाइरह्यो भने त्यो पुरानो र पट्यारलाग्दो केही बन्नेछैन ।
नयाँ शक्ति एउटा रोमाञ्चक प्लेटफर्म बन्नुपर्छ जहाँ विगतमा फरक–फरक विरासत, विचार, क्षमता र आवद्धता भएका तर समान सपना भएका अभियन्ताहरु केन्द्रित हुन सकून् । निश्चित विचार र वादको संकिर्ण पर्खालहरु भत्काएर जीवनका नौवटै रंगहरुसँग साक्षात्कार गर्ने अभूतपूर्व अवसर प्रदान गर्नुपर्छ यसले । यसले एउटा आकार पनि लिइरहेको छ र गति पनि पक्रिइरहेको छ । तर आँखा चिम्म गर्दा वैकल्पिक राजनीतिको सुन्दर भविष्यसँगै पुराना गोठ र पुरानै मालिक देख्ने केही पात्र र प्रवृत्तिका कारण समस्याहरु पनि देखिइरहेका छन् । यसको बनावट, अवधारणा र अभ्यासका दृष्टिले यो नतिजा र अवस्था अस्वभाविक भने होइन ।
नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई बुढेसकालमा पनि असाध्यै मेहनत गर्न सक्छन् । यस्तो लाग्छ कि उनी दौडिरहेको बसभित्र पनि दौडिरहेका छन् । सँगै केही यस्ता पात्रहरु पनि नयाँ शक्ति नामक बसमा छन् कि उनीहरु नचलेको बसमा अगाडिका र सुविधाजनक सिटहरु कुरेर महिनौंदेखि बसिरहेका छन् ।
यहाँनेर, सबैले महसुस गर्नुपर्ने तितो सत्य चाहिँ के हो भने जुन उचाईमा नयाँ शक्तिमा लाग्नेहरुले पुराना विरासतहरु भत्काउन सक्छन्, त्यही उचाई र गतिमा नयाँ बन्न र बनाउन सकिन्छ । स्वभाविकरुपमा डा.बाबुराम भट्टराईको नेतृत्व र बढीभन्दा बढी पूर्वमाओवादीहरुको बाहुल्यताका कारण उनीहरुको मष्तिष्कबाट ‘माओवाद’को विघटनको गतिले नयाँ बन्ने प्रक्रियाको गति निर्धारण गर्न सक्छ । यही कुरा अन्य पार्टी र आवद्धताबाट आउनेहरुको हकमा पनि लागू हुन्छ । यसको लागि नेतृत्वले सचेततापूर्वक यस्ता अवसरहरुको सिर्जना गर्न सक्नुपर्दछ जहाँ फरक–फरक धातुहरुलाई उचित शर्त र तापक्रम दिएपछि पगालेर नयाँ धातुमा रुपान्तरित गर्न सकियोस् ।
तर दृश्यहरु अलि फरक छन् । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई बुढेसकालमा पनि असाध्यै मेहनत गर्न सक्छन् । यस्तो लाग्छ कि उनी दौडिरहेको बसभित्र पनि दौडिरहेका छन् । सँगै केही यस्ता पात्रहरु पनि नयाँ शक्ति नामक बसमा छन् कि उनीहरु नचलेको बसमा अगाडिका र सुविधाजनक सिटहरु कुरेर महिनौंदेखि बसिरहेका छन् । नयाँ पार्टीको स्वास्थ्य त परै जाओस् तिनै नेता भनिएकाहरुको स्वास्थ्य पनि धरापमा पर्नेगरी उनीहरु यसरी पिसाब रोकेर बसिरहेका छन् कि शौच गर्न निस्कँदा पनि आफ्नो सिट अरुले नै कब्जा गर्छकि भन्ने आतंक उनीहरुमा देखिन्छ । उनीहरु सामाजिक सञ्जालमा रमाइरहेका छन् र ‘ठूला नेतासँग टक्कर लेऊ र नेता बन’ भन्ने पुरानो तरिकालाई नयाँ पार्टीमा अभ्यास गरिरहेका छन् ।
यदि बिपी जेल परेका थिएनन् भने अहिलेको उचाई हासिल गर्ने थिएनन् । नेतालाई अध्ययन, चिन्तन र मनन् गर्ने समय चाहिन्छ । तर बाबुराम भीडहरुद्वारा लखेटिइरहेका छन् ।
डा.भट्टराईको व्यक्तित्वको कारण पनि उनको अत्यधिक माग हुनु र उनी अत्यधिक व्यस्त हुनु नराम्रो होइन । तर, नेतृत्वले पार्टीमा आवद्ध भएका सबै क्षमता र प्रतिभालाई आफूजत्तिकै क्रियाशील र गतिशील बनाउन सक्ने पद्धतिको विकास गर्न सक्छन् कि सक्दैन भन्ने सवाल भने यहाँनेर महत्वपूर्ण हुन्छ । किनकी कुनै अमूक व्यक्तिको राप र तापमा मात्र चलेको पार्टीले बिग्रिएको राजनीतिक संस्कारलाई नयाँ जीवन दिएर वैकल्पिक राजनीतिको विकल्प जन्माउन सक्दैन । यस्तो प्रणालीले मात्र पुरानो राजनीतिले बाँझो बनाएको जमिन जोत्नसक्छ, जहाँ हरेक सदस्यहरु नारिएर जोत्न सकून्/पाऊन् र प्राप्त नतिजाको स्वामित्व ग्रहण गर्दै गर्व गर्न सकून् । तब मात्रै समाजका हरेक प्रतिभा र क्षमताहरु फल्न र फुल्न सक्छन्, जहाँ वैकल्पिक राजनीति सप्रन सक्छ ।
एक वर्षअगाडि पार्टी सदस्य बन्नको लागि अनलाइन फर्म भरेका सदस्यहरुले अहिलेसम्म कुनै सम्पर्क भएको छैन भनेर गुनासो गरिरहेका भेटिन्छन् । विभिन्न आशा र अपेक्षाहरु बोकेर पार्टीमा छिरेका मानिसहरुको मन रमाइरहेको छैन । उनीहरु बेरोजगार प्रायः छन् । नयाँ आइरहेका छन्, तर उनीहरुको चिन्तन पनि बाबुरामसँग हात मिलाएर पार्टी प्रवेश गर्नासाथ रातारात ‘नयाँ’ भइन्छ भन्ने छ । बाबुराम पछाडिका नेताहरु विरासतलाई बाजी राखेर पुरानो र नयाँको जुवा खेलिरहेका भेटिन्छन् । अधिकांश पूर्वमाओवादीहरु दौडिरहेका छन् मैदानमा तर विरासतले लखेट्न छाडेको छैन । नयाँ भन्नेहरु राजनीतिबाट अलगथलग बसेर राजनीतिक विश्लेषण गरेजस्तो फेसबुक र क्याफेहरुमा राजनीतिलाई किताबी दर्शनको रुपमा व्याख्या गरिरहेका भेटिन्छन् तर कार्यक्षेत्रमा भेटिँदैनन् ।
हो, वैकल्पिक प्रणालीको स्थापनार्थ दिनरात नभनी काममा खटिनेहरु पनि उल्लेख्य छन् तर उनीहरु विरासतको ब्याज खाने र आवद्धता र पृष्ठभूमि नयाँ तर सोच र तरिका पुरानै भएकाहरुकाे जुधाईमा ‘निरिह बाच्छा’ बनिरहेका छन् । यसले गर्दा २०६२/६३ को बसन्त क्रान्तिपछि राजनीतिमा आएका र वैदेशिक रोजगारीमा रहेका ऊर्जाशील युवाहरुको ठूलो हिस्साको नयाँप्रतिको उत्कन्ठ सपनामाथि पानी छ्यापिने हो कि भन्ने भय बलशाली बन्दै गइरहेको छ ।
पार्टीप्रतिको स्वामित्व जिम्मेवारीले भन्दा कामले दिलाउँछ । सबैलाई काममा लगाउने नेता वडादेखिका कार्यक्रममा व्यस्त भेटिन्छन् । हामीलाई थाहा छ, यदि बिपी जेल परेका थिएनन् भने अहिलेको उचाई हासिल गर्ने थिएनन् । नेतालाई अध्ययन, चिन्तन र मनन् गर्ने समय चाहिन्छ । तर बाबुराम भीडहरुद्वारा लखेटिइरहेका छन् । नेताले चलाउने व्यक्ति होइन, प्रणाली हो । भीडतन्त्रलाई प्रणालीमा चलाउनु र व्यक्तिभन्दा प्रणालीलाई बलियो बनाउने कुरासँग नयाँ राजनीतिक संस्कार र वैकल्पिक राजनीतिको सम्बन्ध छ ।
यहाँ प्रसंगहरुको जति धेरै बिस्कुन लगाए पनि नयाँ शक्तिको ‘कथा’ले ‘व्यवस्था’ मागिरहेको छ, प्रणाली र पद्धति मागिरहेको छ । समयले मागेभन्दा अगाडि गएर अझ धेरै व्यवस्था, प्रणाली र पद्धतिको माग गर्नेहरु आफैं ‘अव्यवस्था’, ‘असंगत’ र ‘अराजक’ देखिएका छन् । असल प्रणाली स्थापित गर्न आफू पनि प्रणालीभित्र बस्नुपर्छ । राजकताको नारा अराजक बनेर लगाउने अभ्यासले हामीलाई सही गन्तव्यमा पुर्याउँदैन ।
यहाँ ‘फोहोर टिप्न पर्छ’ भनेर सिकाउँदै ‘मुख फोहोर’ बनाउनेको अभाव छैन । अभाव छ त ‘हात फोहोर’ गरेर फोहोर टिप्ने हिम्मत गर्नेहरुको ।
यहाँ कोही पात्र नयाँ शक्तिको ‘न्वारन’ नै नभई पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गर्छन् पर्दाअगाडि । कोही पात्र दोस्रो नेतृत्व नपाएको झोकमा कचकच गरिरहन्छन् पर्दापछाडि । कोही वैकल्पिक राजनीतिको आदर्शहरुको लामो सूचि बनाउँछ तर त्यही आदर्श प्राप्तिको लागि आवश्यक प्रतिवद्धताको लगानी गर्न सक्दैन । यहाँ ‘फोहोर टिप्न पर्छ’ भनेर सिकाउँदै ‘मुख फोहोर’ बनाउनेको अभाव छैन । अभाव छ त ‘हात फोहोर’ गरेर फोहोर टिप्ने हिम्मत गर्नेहरुको ।
चोर्न नपाएर साधु बन्नेहरु धेरै भेटिन्छन् । नलडेरै घोडा चढ्न सिक्नेहरु पनि नगन्य मात्रै भेटिएलान् । अभ्यास गर्नेहरु लड्छन्, पछारिन्छन् । शरीरभरी फोहोर लाग्न सक्छ । धेरै पापड पेलेर मात्र पुरानोमा अभ्यस्त व्यक्ति र प्रणालीहरुलाई बदलेर नयाँ बनाउन सकिन्छ । सुकरात भन्छन्, ‘परिवर्तनको रहस्य भनेकै सबै ऊर्जा नयाँ बनाउन केन्द्रित गर्नु हो न कि पुरानाको लागि झगडा गर्न ।’ यसको अर्थ पुरानोप्रति उपहासस्वरुप हाँस्ने र नयाँलाई आँखा चिम्लिएर पछ्याउने भन्ने होइन । भनिन्छ, नयाँ कुचोले छिटो बढार्न सक्छ भने पुरानाले कुनाकाप्चाको कसिंगर सफा गर्न सक्छ । पुरानोको सम्मान र नयाँको उचित हेरचाहसहित क्रियाशीलताको द्वन्द्वात्मक सम्बन्धबाट विकल्पको गोरेटोमा दौडिन सकिन्छ कि ?
The post भन्ने नयाँ कि बन्ने नयाँ ? appeared first on Sajha Post.