भारत भ्रमणमा जानु अघि भारतीय पक्षसँग नेपालको हितको पक्षमा वार्ता गर्ने र कुनै विवादित सन्धी सम्झौता नगर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वागत योग्य छ । यद्यपि उहाँले भन्नुभएको दुई वटा कुराले गम्भीर ध्यानाकर्षण गरेको छ । एक आफूले जोखिम लिन जानेको कुरा र अर्को भारतको प्रधानमन्त्री मोदीसँग आफ्नो केमेष्ट्री मिल्ने कुरा ।
नेपालका नेताहरुले भारतसँगको सम्बन्धको सन्दर्भमा धेरैपटक जोखिम उठाइसकेका छन् । कतिले राष्ट्रघाती सम्झौता गरेर देशलाई पछि धकेले भने कतिले आफ्नो सत्ता समेत गुमाए । जोखिमको सिद्धान्तले बढी जोखिम भए लाभ पनि बढी हुन्छ भन्छ । तर, लाभ हुन सकेन भने नोक्सान पनि त्यत्तिनै हुन्छ । यो जुवाको खेल जस्तै हो ।
यसर्थ, देशको हितको मामिलामा यो सिद्धान्त लागू नहुन पनि सक्छ । जोखिमको हद (म्याग्निच्यूड) त्यति लिनुहोस् जसले तीन करोड नेपालीको मनोभावना जोखिममा नपरोस् । यसअघि हामी धेरै पटक जोखिम लिँदा चुकिसकेका छौं । त्यसैले यो शब्दले आशा र आशंका दुवै उब्जाइदिएको छ । विन विनको स्थिति ल्याउँछु भन्नु भएको भए वेस हुने थियो ।
रह्यो कुरा उहाँको र प्रधानमन्त्री मोदीको केमेष्ट्री मिल्ने कुरा । यो कुरा आफैंमा राम्रो हो । भारतमा कतिपय कुरामा राजनीति भन्दा पनि ब्यूरोक्रेसी हावी बढी छ, भने नेपालमा ठीक उल्टो । राजनीति र प्रशासनतन्त्रको केमेष्ट्री मिल्नु त्यत्तिकै नितान्त आवश्यक छ । नत्र नौमुरे जलविद्युत योजना बनाइदिने राजनीतिक तहको निर्णयलाई प्रशासन प्राविधिक तन्त्रले तुहाईदिने जस्तै हुन्छ । केमेष्ट्री मिल्नु राम्रो तर केमिस्ट्री फिजिक्समा मिसियो भने प्रत्युत्पादक हुन्छ ।
जनताले नचाहेको अप्रिय सन्धी सम्झौता गरेर जोखिम मोले देश र उहाँको पार्टीलाई नै ठूलो घाटा हुनसक्छ । इतिहासले धिक्कार्छ । प्रधानमन्त्रीज्यू भारत भ्रमणमा जानुुस् सारा नेपालीको शुभेच्छा छ । फर्केर आउँदा तपाईंलाई दुईवटा माला राखिनेछ । स्वागतको र धिक्कारको । कुनचाहिं पहिरिने छनौट तपाईंकै हो । भ्रमणका लागि शुभकामना ।
(पाण्डे नयाँ शक्ति पार्टी नेपाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सह-संयोजक हुन्)
The post प्रचण्डलाई दुई प्रश्न : ‘जोखिम मोल्ने’ र ‘केमेस्ट्री मिल्ने’ भनेको के हो ? appeared first on Sajha Post.