Quantcast
Viewing all articles
Browse latest Browse all 942

ओली-मण्डलीको राजनीतिक बेइमानी : एक शल्यक्रिया

१. विषय प्रवेश:
एमाले-माओवादी सत्ता समीकरण टुटेपछि र सरकारका विरूध्द अविश्वास प्रस्ताव दर्ता भएपछि, मुलुकका सम्पूर्ण वामपन्थी शक्तिलाई सदैव एउटै थलोमा देख्न चाहने सामान्य वाम-समर्थक तथा शुभचिन्तकहरूले एक प्रकारको खल्लो, असजिलो र नरमाइलो मानिरहेको वर्तमान अवस्थामा वाम-समीकरण भङ्ग हुनुको दोष जति माओवादी पार्टी र प्रचण्डलाई थोपरेर एमाले ओली-मण्डली यतिबेला ‘पानीमाथि ओभानो’ बन्ने कोशिश गरिरहेको छ । धमिलो पानीमा ‘वाम माछा’ मार्ने प्रयत्न गरिरहेको छ। यस विषयमा थोरै बहस -छलफलको आवश्यकताबोध गरेको छु ।

२. एमाले-माओवादी समीकरण बन्नुपूर्वको राजनीतिक पृष्ठभूमि:
क. एमाले-माओवादी सत्ता समीकरण बन्नुपूर्व अर्थात् के.पी. ओलीको सरकार बन्नुभन्दा अघिल्लो कालखण्डसम्म एमाले सुशील कोइराला नेतृत्वको सरकारमा थियो, काङ्ग्रेससँग थियो।
ख. विगत कोट्याउने हो भने, जनयुध्दकाल, बाह्र बुँदे सम्झौता, बृहत शान्ति सम्झौता, संविधानसभा निर्वाचन, संविधान निर्माण प्रक्रिया र सरकार गठनका प्रक्रियाहरूमा एमालेका केपी शर्मा ओली ‘माओवादी ‘ शब्द सुन्नसम्म रुचाउँदैनथे। उनी प्रतिगामी-प्रतिक्रियावादी शक्तिको हाराहारीमा उभिएर र कतिपय सन्दर्भमा त तिनलाई समेत उछिनेर माओवादी आन्दोलनको विरोध गर्थे । यथास्थितिको पक्षपोषण गर्दै माओवादीले उठाएका परिवर्तनका जायज मुद्दाका विरूद्ध नानाथरी उत्पट्याङ् उखान-टुक्का जोडेर जगत हँसाउँथे। नेका र एमालेबीचको तत्कालीन ‘भद्र सहमति’ लाई नेकाले लत्याइदिएपछि बदलिएको नयाँ राजनीतिक परिस्थितिमा प्रचण्डले वाम-ध्रुवीकरणका लागि दिनरात कसरत गरेपछि मात्रै प्रमको कुर्चीका लागि केपी ओली १८० डिग्रीको फड्को मारेर माओवादी र प्रचण्डको साखिल्ला सहयात्री बनिटोपलिए । मुलुकले राजनीतिक आन्द़ोलनको इतिहासमै पहिलो पटक राष्ट्रपति र सभामुख दुवै पदमा वामपन्थी महिला पायो । केपी ओलीलाई प्रमको कुर्चीमा विराजमान भएर हाँसोठट्टा गर्ने सौभाग्य जुर्‍यो ।

Image may be NSFW.
Clik here to view.
दिलीप श्रेष्ठ
दिलीप श्रेष्ठ

३. एमाले-माओवादीबीच भएका आन्तरिक सहमतिहरू:
नेका-एमालेबीचको ‘भद्र सहमति’ लाई नेकाले पारपाचुके गरेपछि २०७२ असोज २३ गते एमाले-माओवादीका बीचमा १४ बुँदे सहमति भयो, पहिलो पटक ।
दोश्रो पटक, २०७३ बैशाख १३ गते दुई दलबीच पुन: अर्को ९ बुँदे सहमति भयो । र, निम्नानुसार ३ओटा भद्र सहमति भए:
क. आ. व. २०७३/०७४ को वजेट पारित भएपछि प्रम ओलीले राजीनामा दिने, एमालेको प्रस्ताव र सहभागितामा प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र त्यसलाई राष्ट्रीय सहमतिको सरकार बनाउन पहल गर्ने ।
ख. संघीय, प्रादेशिक र स्थानीय निकायको निर्वाचनमा संयुक्त रूपमा जाने ।
ग. दुई पार्टीको सहकार्य एवम् सघन र सुदृढ बनाउँदै समृद्धि, सामाजिक रूपान्तरण र समाजवाद निर्माणको दिशामा अघि बढ्ने ।

४. माओवादी र प्रचण्डउपर लगाइएका फत्तुरहरू:
ओली-मण्डली नितान्त राजनीतिक बेइमानी गरिरहेछ। ओली-मण्डली ‘बोक्सी’ पनि आफै ‘धामी’ पनि आफै बन्दैछ ।
केही उदाहरणहरु हेरौं-
‘माओवादीले इतिहासमै गलत निर्णय गर्‍यो ।’
– योगेश भट्टराई, लाइट नेपाल

‘वेश्या आइमाईजस्तो माओवादी पार्टी, नौ महिना एमालेसँग सुत्यो … अब आएर काङ्ग्रेससँग सुत्छु भन्दैछ ।’
– ट्रोल नेपाल

‘माओवादी कतैबाट रिचार्ज भयो, ब्याट्री सकिए बन्द हुन्छ ।’ – केपी ओली, अन्नपूर्ण पोष्ट

‘प्रचण्ड भारतको गोटी बन्यो।’ – चित्रबहादुर के.सी. , नयाँ पेज

‘पतनको बाटोमा प्रचण्ड ।’ – रवीन्द्र श्रेष्ठ, दृष्टि अनलाइन

ओली-मण्डली निम्नानुसार भ्रम छर्न चाहन्छ:
क. एमाले-माओवादी समीकरण भङ्ग हुनुको कारण भनेको माओवादीले अंगालेको राजनीतिक वेश्यावृत्ति हो, मुख्य दोषी प्रचण्ड हुन् । एमाले-माओवादीबीच सरकारको नेतृत्व फेरबदलसम्बन्धी कुनै सहमति भएकै थिएन, होइन ।
ख. माओवादी अन्यत्र कतैबाट सञ्चालित छ, प्रचण्ड भारतको गोटी हुन् ।
ग. प्रचण्ड भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्, पतनको बाटोमा छन् ।
जगजाहेर छ, १२ बुँदे सम्झौता हुनुभन्दा अघिसम्म काङ्ग्रे, एमाले लगायत संसदवादी दलका नाइकेहरू तत्कालीन जनयुध्दलाई ‘दरबारले सञ्चालन गरेको हिंसा’ भन्दथे र ‘प्रचण्ड नाम गरेको त मान्छे वा व्यक्ति नै छैन, प्रचण्ड भनेको राजा ज्ञानेन्द्र स्वयम् हुन्’ सम्म भन्न चुक्दैनथे। नेपाली राजनीतीमा माओवादी र प्रचण्डउपर लगाइएका यी र यस्ता फत्तुरहरूको कुनै लेखाजोखा छैन । ओली-मण्डली र उनका संघीयता विरोधी, राजावादी-अतिहिन्दुवादी अनुयायीहरूले हालसालै लगाएका यी आरोपहरूमा कुनै सत्यता छैन भन्ने कुरा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायत नेता र स्वतन्त्र वाम विश्लेषक खगेन्द्र संग्रौलाका निम्न अभिव्यक्तिबाट पनि छर्लङ्ग हुन्छ-

‘प्रचण्डलाई प्रधानमन्त्री दिने सहमति भएकै हो, बेइमानी गर्न मिल्दैन । – झलनाथ खनाल, काठमाण्डू टुडे डट कम

‘एमालेभित्र घमण्डी र दम्भ बोकेकाहरू हावी हुँदा समीकरण टुट्यो ।’ – वामदेव गौतम, थाहा खवर

‘ओलीले महाभूल गरे, एमालेले ठूलो मूल्य चुकाउनुपर्छ ।’ – माधव नेपाल, रिपोर्टस् नेपाल डट कम

‘हिंजोसम्म आफैले चढेको घोंडा नौविसे उकालो त्यै घोंडा चढी पार गरिसकेपछि आज एकै रातमा ‘विदेशी घोडा ‘ पो ? हैट फटाहा ओली! सत्ताको लाम्टा चुस्न नपाउँदा एमाले केटाकेटीहरूको यो रुवाबासी फेरि ??
– खगेन्द्र संग्रौला, सामाजिक सञ्जालको स्टाटस

महाशय यतिबेला राष्ट्रवादको वकालत गरिरहनुभएको छ र कसैले नगरेको राम्रो काम गरेको छु भनेर घोंक हालिरहनु – भएको छ । तपाईले विदेशी राजदूतावास चक्कर काट्न छोड्नुभएको जम्माजम्मी कति घण्टा भयो ? भारतसँग गरिएको महाकाली सन्धिको पुनरावलोकन गर्न तयार हुनुहुन्छ ? को हो भारतको असली गोली, प्रचण्ड कि ओली ? चाइना एयर प्रकरणमा कस्को हात थियो ? को चढ्थ्यो विद्युत प्राधिकरणको कमीशन ? र, आज कसले गर्दैछ विभिन्न आवरणमा भ्रष्टाचार ?

उपर्युक्त भनाइका तात्पर्य एकदम स्पष्ट छ:
क. एमाले-माओवादी समीकरण भङ्ग हुनुमा केपी शर्मा ओली र सत्ताधारी ओली-मण्डली नै दोषी छ। यसमा माओवादी र प्रचण्डको कुनै गल्ती छैन।
ख। माओवादी र प्रचण्डउपर लगाइएका लाञ्छनाहरू सत्ताको लाम्टा चुस्न नपाउँदाको झोंकमा लगाइएका मिथ्या आरोपहरू हुन्।

५. ओली-मण्डलीलाई हाकाहाकी खुला प्रश्न:
क. ओलीजी, तपाई असलीमा वाम-समीकरणलाई निरन्तरता दिने पक्षमा हुनुहुन्थ्यो भने सहमति अनुसार प्रचण्डको नेतृत्वमा सरकार बनाएर जाने तत्परता किन देखाउनुभएन ? आफ्नो नीहित सत्ता स्वार्थका लागि वाम-समीकरणको स्वाङ् रच्न मिल्छ ?
ख. महाशय यतिबेला राष्ट्रवादको वकालत गरिरहनुभएको छ र कसैले नगरेको राम्रो काम गरेको छु भनेर घोंक हालिरहनु – भएको छ । तपाईले विदेशी राजदूतावास चक्कर काट्न छोड्नुभएको जम्माजम्मी कति घण्टा भयो ? भारतसँग गरिएको महाकाली सन्धिको पुनरावलोकन गर्न तयार हुनुहुन्छ ? को हो भारतको असली गोली, प्रचण्ड कि ओली ? चाइना एयर प्रकरणमा कस्को हात थियो ? को चढ्थ्यो विद्युत प्राधिकरणको कमीशन ? र, आज कसले गर्दैछ विभिन्न आवरणमा भ्रष्टाचार ?
ग. ‘दासढुङ्गा हत्याकाण्ड’ पछिको आन्दोलनमा प्रहरी हिरासतभित्र चरम यातना भोगेको एक वामपन्थीको नाताले म सोध्दैछु, मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र तपाई प्रमको ओहदामा हुनुहुन्छ। तर, तपाईहरूको यो जोडीले ‘दासढुङ्गा हत्याकाण्ड’ को न्यायिक छानबीन गर्नुपर्ने खाँचो देख्नुभएन किन ? तपाईहरूलाई भण्डारी र आश्रितको रगतले तर्साउँदैन ?
घ. तपाईहरू विदेशी खुफिया एजेन्सीका स्वचालित हतियार बनिरहनुभएको त छैन ?

६. ओली मण्डलीको राजनीतिक सङ्कट:
क. प्रमुख सत्ता साझेदार दल माओवादीले सक्षर्थन फिर्ता लिएपछि ओली- मण्डलीको सरकारमा रहने नैतिक आधार मेटिएको छ ।
ख. संविधानको धारा १९८ उपधारा २ मा सरकार परिवर्तन गर्न सकिने व्यवस्था स्पष्ट छ। ओली मण्डलीका लागि अरू कुनै संवैधानिक आधार छैन ।
ग. माओवादी र नेकाबीच ७ बुँदे सहमति भइसकेको छ, राजनीतिले नयाँ अध्यायमा प्रवेश गरिसकेको छ । आन्दोलनरत मधेशवादी दल र सरकारमै सामेल कतिपय दल समेत अविश्वास प्रस्तावको पक्षमा उभिएका छन् । ओली-मण्डली संविधान र सामान्य पूँजीवादी मूल्य मान्यतासमेतको गलत व्याख्या गर्दै ‘संविधानमा सरकार फेर्ने व्यवस्था नभएको,’ ‘माओवादीले समर्थन फिर्ता लिए पनि राष्ट्रपतिको साथ रहने हुँदा सरकार नढल्ने’ भनेजस्ता अत्यन्त हाँस्यास्पद तर्क गरिरहेछ र कहिले देउवा त कहिले पौडेलसमक्ष प्रमको पासा फालिरहेछ। तर, यो जालमा माखो पनि पर्नेवाला छैन। ओली-मण्डलीको व्याट्री चिलिमच्वाँट भैसकेको छ, अब त्यो रिचार्ज हुँदैन । एउटा भनाइ छ: ‘दूध आओस् नआओस् , बकेर्नो पाडोले भैंसीको थुन चुस्न छोड्दैन ।’ केपी ओली बकेर्नो पाडो सावित हुँदैछन ।

७. विश्रान्ति:
फेसवुकमा एकजना सज्जन शिक्षक मित्रको व्यंग्यात्मक टिप्पणी भेटें : ‘मेरो देशमा पानी पर्न भ्यागुताले गीत गाउनुपर्छ  ।’
ध्रुवसत्य हो, वाम-समीकरण भत्काउन यहाँ कैयौं देशी-विदेशी शक्तिहरू लागिपरेका थिए र ती शक्तिका भागदौड अहिले झन घनीभूत र तीव्र छ। यहाँ संविधान कार्यान्वयनको प्रक्रियालाई लम्ब्याइरहने, अस्थिरता कायम राख्ने, एउटा निश्चित विन्दुमा पुगेर त्यसलाई रद्द गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने योजना बुनिंदैछ । जताततै पासो र धरापहरू थापिएका छन् । र, सबैभन्दा बढी खतरा माओवादी र प्रचण्डलाई छ। देश र जनताले सर्वाधिक आशा प्रचण्डसँग गरेका छन् । राजनीतिको लगाम प्रचण्डको हातमा छ । जनसाँस्कृतिक महासंघको सम्मेलनमा सुनेको एउटा गीत प्रचण्डलाई सुम्पन चाहें :- ‘ हेss माझी दाइ, छेउमै छ भुँमरी डुँगा तर्काऊ है !’

The post ओली-मण्डलीको राजनीतिक बेइमानी : एक शल्यक्रिया appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles