Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

समृद्ध नेपालको लागि संकल्पको अर्को नाम नै ‘नयाँ शक्ति’हो

$
0
0

नेपालभित्र र संसारभरी छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ र साथीहरु !

हामी साँच्चै नै नेपाली इतिहासको तेस्रो चरणमा प्रवेश गर्दैछौं । पहिलो चरणमा हाम्रा पुर्खाहरुले दक्षिण एसियाकै पहिलो स्वाधीन र सार्वभौम नेपाल राज्यको स्थापना गरे, भौगोलिक एकीकरण गरे । दक्षिण एसियाकै सबैभन्दा पूरानो राज्य हुनुमा हामीलाई गर्व छ । तर राज्य भनेको जनता, जनताको खुसीयाली र समृद्धि हो । त्यसैले दोस्रो चरणमा हाम्रा पुर्खाहरुले जनताको अधिकार प्राप्तिको निम्ति १९९७ देखि संघर्ष गरे । अहिले लगभग ७५ वर्ष अर्थात् २०७२ सालसम्म आइपुग्दा नेपाललाई एउटा संघीय लोकतान्त्रिक गणतन्त्र भएको देशमा रुपान्तरण गर्न सक्यौं । यसका लागि गंगालाल श्रेष्ठदेखि जनयुद्ध जनआन्दोलनसम्म महान सहिदहरुले बलिदान गर्नुभयो, हामी उहाँहरुप्रति अत्यन्त आभारी छौं, कृतज्ञ छौं र आभार व्यक्त गर्न चाहन्छौं ।

तर अब हामी समाज विकासको अर्को चरणमा आइपुगेका छौं । हामीले भर्खरै महाभारतको शिखर पार गरेका छौं तर हामी अझै सगरमाथाको चुचुरोसम्म पुग्नुछ । त्यो भनेको विकास र समृद्धिको चुचुरो हो । देशको भूगोल र जनताको अधिकारको अन्तिम लक्ष्य भनेको जनताको खुसीयाली हो, समृद्धि हो ।

के तपाईंहामी हाम्रो आफ्नै जीवनकालमा नेपाललाई समृद्ध र सम्पन्न भएको देख्न चाहन्नौं ? अरबको खाडीमा रगत र पसिना बगाइरहनुभएका हाम्रा युवाहरु नेपाल देश नै उन्नत भएको देख्न चाहनुहुन्न ? एउटा मरुभूमि त त्यति हराभरा हुन सक्दोरहेछ भने हाम्रो देश वन, जंगल, जमिन, जडिबुटी र जलस्रोतले यति भरपूर छ । तैपनि हामी किन गरिब छौं ? के अब हामी यो भन्दा बढी सम्पन्न भएको देख्न चाहँदैनौं ? के तपाईंहरु यो देशभित्रै रोजगारी सुनिश्चित भएको देख्न चाहनुहुन्न ?

हाम्रा कर्मचारी, सेना प्रहरीका साथी, विभिन्न पेशामा रहेका साथीहरुसँग म आग्रह गर्न चाहन्छु, के तपाईं हामी समृद्ध बन्न चाहँदैनौं ? तपाईं हाम्रा छोराछोरीको पढाईको ग्यारेन्टी होस्, तपाईं हामी सबैको शिक्षा, स्वास्थ्य र आवासको ग्यारेन्टी होस्, के हामी त्यस्तो समृद्ध नेपाल निर्माण गर्न चाहँदैनौं ?

युरोप, अमेरिका, अस्ट्रेलिया, बेलायतलगायतका समृद्ध मुलुकमा रहनुभएका आम नेपालीहरुसँग मेरो आग्रह छ, के हाम्रो देश पनि त्यस्तो समृद्ध राष्ट्र बन्न सक्दैन ? के हामीले पनि त्यस्तै सपना देख्न सक्दैनौं ? सक्छौं, सक्नुपर्छ । त्यसैले अब हामी नेपाललाई एउटा समृद्धिको चुचुरोमा लिएर जानको लागि नयाँ सोचका साथ एउटा संकल्प गर्नुपर्दछ, त्यही संकल्पको अर्को नाम नयाँ शक्ति अभियान हो । त्यसैले यही २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि हामीले संकल्प गर्यौं, अब हामीले नेपाललाई नयाँ समृद्धिको अवस्थामा लैजानुपर्छ, त्यसको निम्ति नयाँ सोच, नयाँ दुरदृष्टि, भिजन, नयाँ नीति, कार्यक्रम र नयाँ नेतृत्वसहितको एउटा नयाँ शक्ति देशलाई आवश्यकता पर्दछ । त्यसको परिकल्पना स्वरुप नै हामीले नयाँ शक्ति नेपाल अगाडि बढाएका छौं ।

यसक्रममा म सबैसँग के आग्रह गर्न चाहन्छु भने, हामीले जुन यात्रा गर्यौं, इतिहासबाट पश्चात्ताप गर्ने होइन, त्यसबाट पाठ सिक्ने हो र आउँदा दिनहरुमा यात्रामा सकरात्मक ढंगले, सकरात्मक सोचका साथ अगाडि बढ्ने हो । त्यसैले हामी नयाँ शक्ति निर्माण अभियानमा जुटेका छौं । हामी सबैसँग आग्रह गर्न चाहन्छौं, यो नयाँ शक्ति तपाईं हामी सबैजना मिलेर बनाउने हो । कुनै बनिबनाउ सुत्र हामीसँग छैन । हामीसँग एउटा भिजन छ, नेपाललाई निश्चित अवधिभित्र गरिबी र बेरोजगारीबाट मुक्त गर्न सकिन्छ, संसारको सबभन्दा धनी देश बनाउन सकिन्छ, जहाँ गरिबी र बेरोजगारीबाट मुक्त समृद्ध नेपालीहरु रहन सक्छन् भन्ने सपना हामीसँग छ । त्यही सपना साकार गर्न नयाँ शक्तिको परिकल्पना हामीले गरेका छौं र यसमा सबै तह र तप्काका नेपाली दाजुभाइ दिदीबहिनीहरुको संलग्नता आवश्यक छ र त्यसैको निम्ति अहिले हामीले तपाईंहरुसँग सिधा सम्पर्क गरिहेका छौं र तपाई हामी सबैका साझा संहितामा नयाँ शक्ति निर्माण गर्नुपर्दछ ।

यसको लागि तत्काल हामीले पाँच वटा ‘स’ मा केन्द्रित हुने प्रतिबद्धता गरेका छौं । हाम्रो पहिलो र महत्वपूर्ण ‘स’ भनेको समतामुलक समृद्धि, यसमा नै सबै ध्यान लगाउनुपर्छ । निश्चित अवधिभित्र देशलाई विकासको चुचुरोमा पुर्याउनुपर्छ । अबको राजनीति भनेको विकासमुखी हुनुपर्छ । अहिलेसम्म हामीले आन्दोलनमुखी राजनीति गर्यौं, त्यो हामीले गर्नु पनि पर्दथ्यो । त्यो एउटा युग थियो तर अब विकासकोनिम्ति राजनीति गर्नकोलागि हामीलाई हिजोकै राजनीतिक चिन्तन र सोचले पुग्दैन । त्यसैले सम्पूर्ण ध्यान त्यसप्रति केन्द्रित गरेर निश्चित अवधिभित्र विकास सम्पन्न गर्नुछ । त्यसैको निम्ति यसलाई केन्द्रमा राखेर हामीले एउटा विकासको खाका कोर्दै छौं । यसको निम्ति निजी क्षेत्र, विज्ञ र तपाईहरु सबैको सहभागितामा हामी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको योजना बनाउन चाहन्छौं ।

यो देश कृषि प्रधान हो, यसको आधुनिकीकरण कसरी गर्ने ? यहाँ पर्यटनको प्रचुर सम्भावना छ, यसलाई हामीले कसरी उपयोग गर्ने ? जलस्रोतको प्रचुर सम्भावना छ, यसको सदुपयोग कसरी गर्ने ? विज्ञान र प्रविधिको प्रचुर सम्भावना छ, यसको भरपुर प्रयोग कसरी गर्ने ? यसमै केन्द्रित भएर एउटा खाका बनाउँछौं र हामीलाई के विश्वास छ भने तपाई हामी सबै मिल्यौं भने र सम्पूर्ण राजनीति नै विकासको राजनीतिमा लगायौं भने यो सम्भव छ ।

विकासका विभिन्न मोडेलहरु छन् । हामीले हाम्रो देशको आफ्नै मौलिकतामा विकासको परिकल्पना गरेका छौं । हामी तिव्र आर्थिक विकास चाहन्छौं । दुई अंकको आर्थिक वृद्धिदर केही दशकसम्ममा हाँसिल गरौं । वृद्धि मात्र होइन, त्यो रोजगारीमुलक होस् । धन त हामीले आर्जन गर्छौं, सम्पत्ति र समृद्धिलाई समतामुलक सबै जनताले प्रतिफल पाउने विकासको मोडेल हामी चाहन्छौं । यसको निम्ति हामी सबैको सहयोगको अपेक्षा गर्दछौं । तर विकास र समृद्धिको लागि आम जनताको सहभागिता चाहिन्छ । त्यसैले हामी चाहन्छौं, विकास र समृद्धिको निम्ति देशका सबै वर्ग, जाति, क्षेत्र, लिंगका जनसमुदाय एकजुट हौं । यो देश हिमाल, पहाड र तराईका विभिन्न जाति समुदायले बनेको छ । त्यसैले हामी हिमाल, पहाड र तराईलाई जोड्न चाहन्छौं । हामी कर्णालीलाई जोड्न चाहन्छौं, सेती महाकालीलाई जोड्न चाहन्छौं । मेचीदेखि महाकालीसम्मका सबै भूभागलाई जोड्न चाहन्छौं र यहाँका खस–आर्यहरु, आदिवासी–जनजातिहरु, मधेसी–थारुहरु सबैलाई एकताबद्ध गरेर एउटा समानुपातिक समावेशी प्रकारको देश बनाउन चाहन्छौं । महिला, दलित र मुस्लिम र सबै समुदायले अधिकारसम्पन्न भएर विकासको प्रतिफल पाउने लोकतन्त्रको हामी परिकल्पना गर्दछौं । त्यसैले समृद्ध नेपाल बन्नको लागि समानुपातिक, समावेशी र सहभागितामुलक लोकतन्त्र होस् भन्ने हामी चाहन्छौं ।

नेपाल जुन संविधान बनेको छ, यसले तत्कालै हामीलाई आर्थिक विकासको निम्ति स्थिरता चाहिन्छ, त्यो दिने कम सम्भावना छ । जुन शासकीय प्रणाली हामीले अंगालेका छौं । यसैले हामी चाहन्छौं, तपाईं हामी सबैको सहभागिता र सक्रियतामा संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा हामी जानुपर्छ । त्यसो भयो भने देशले पाँच–दश वर्षसम्म स्थिर सरकार पाउँछ र त्यसले विकास र समृद्धिको कार्यक्रम लागू गर्न सक्छ ।

त्यसैले हामी चाहन्छौं, संसदमा चाहिँ सबै वर्ग, जाति, पेशा, लिंग, समुदायको प्रतिनिधित्व होस्, यसले नियम कानुन बनाओस् । कार्यकारिणी जुन मन्त्रिपरिषद हुन्छ, त्यो प्रत्यक्ष जनताबाट निर्वाचित होस्, त्यस्तो व्यवस्था भयो भने देशमा स्थिरता सम्भव हुन्छ र त्यसले विकास र समृद्धि हासिल गर्न सकिन्छ ।

दोस्रो ‘स’ भनेको समानुपातिक, समावेशी र सहभागितामुलक लोकतन्त्र हो । लोकतन्त्रको मोडेल पनि हामी यस्तो चाहन्छौं, खासगरी म युवा साथीहरुसँग अनुरोध गर्न चाहन्छु, युवा साथीहरु नेतृत्वमा नपुगेसम्म नीति निर्माणमा प्रत्यक्ष सहभागिता नभएसम्म देश बन्न सक्दैनौं । अहिले हाम्रा पार्टीहरुका स्वरुप यस्ता छन्, जहाँ युवाहरु नेतृत्वमा पुग्नको लागि ४०औं वर्ष संघर्ष गर्नुपर्छ । त्यस्तो अतिकेन्द्रीकृत प्रकारको पार्टी व्यवस्था र संगठनलाई हामीले बदल्नुपर्छ । हामी यस्तो सहभागितामुलक लोकतन्त्र हामी चाहन्छौं, पार्टी संगठनमा सबैको सहभागिता होस्, युवा नेतृत्वले पनि पार्टी नेतृत्वमा पुगेर प्रतिभा प्रदर्शन गर्ने अवसर पाउन् र जनताले पनि यदि पार्टीले गलत काम गर्यो भने खबरदारी गर्ने अवसर पाउन् । त्यसैले हामी लोकतन्त्रलाई जनता र कार्यकर्ताको प्रत्यक्ष सहभागिता हुने प्रणालीको रुपमा विकास गर्न चाहन्छौं ।

Baburam Bhattaraiतेस्रो ‘स’ भनेको सदाचार र सुशासन हो । अहिले राजनीतिलाई डर्टी गेम (फोहोरी खेल) भन्ने वितृष्णा छ, नयाँ पुस्ता राजनीतिमा आउन नै आकर्षित भइरहेको छैन, किनकी हाम्रो राजनीतिमा जुन विधि र प्रणाली हुनुपर्दथ्यो, ‘रुल अफ ल’ अथवा विधिको शासन हुनुपर्दथ्यो, त्यो हुन सकेन । मानिसहरुले राजनीतिलाई नै जनसेवाको रुपमा, स्वऐच्छिक सेवाको रुपमा भन्दा व्यावसायिकरुप यसले अपनायो । त्यसैले सत्तमा पुग्नासाथ त्यसको दोहन गर्ने र निजी सम्पत्ति कमाउन राज्य कोषको शोषण दोहन गर्ने पद्धति बस्यो, त्यसले गर्दा भ्रष्टाचार मौलायो । अहिले हामी विश्वकै एउटा भ्रष्टाचारी मुलुकमा दर्ज भएको छ । त्यसैले तपाई हामी लज्जित हुनुपर्ने अवस्थामा छौं । के तपाई हामी यसरी नै हाम्रो मुलुकलाई संसारको भ्रष्ट मुलुक भएको हेर्न चाहन्छौं ? के तपाई हामी शिर निहुराएर बस्नुपरेको हेर्न चाहनुहुन्छ ? विलकुल हामीले त्यस्तो गर्न हुँदैन । यो राजनीतिलाई सफा गर्न सकिन्छ । त्यसैले हामी वैकल्पिक राजनीतिको अभ्यासमा छौं र राजनीतिलाई फोहोरी खेलको बुझाईबाट मुक्त बनाउन चाहन्छौं । राजनीतिलाई बेरोजगारहरुको होइन, सबभन्दा सक्षम र क्षमतावान मानिस र युवाहरु आकर्षित होउन् र राजनीतिलाई पेशा होइन देश र जनताको सेवा गर्ने स्वयम्सेवाको माध्यम बनाउन चाहन्छौं । यसलाई विधिको शासन र प्रणाली बनाउन चाहन्छौं । सबै कुरा पारदर्शी बनाउन चाहन्छौं । सबैबाट सल्लाह र सुझाव लिएर विधि र प्रणालीको विकास गर्न चाहन्छौं । हामी फोहोर राजनीतिलाई सफा गर्दै यसलाई सबैको आकर्षणको केन्द्र बनाउन चाहन्छौं । यसैको लागि हामीले नयाँ शक्ति अभियान सुरु गरेका हौं । जनताले बुझ्न सक्ने हाम्रो पहिचान हुनेछ । यसले सुशासन र सदाचारलाई अर्को मुलमन्त्र बनाएका छौं ।

चौथो ‘स’ हामीले देशको स्वाधिनता र स्वतन्त्रतालाई केन्द्रमा राखेका छौं । मैले सुरुमै पनि भनेँ, यो देश दक्षिण एसियाको सबैभन्दा पुरानो स्वाधिन र सार्वभौम राष्ट्र भएपनि हामी दुर्भाग्यवश गरिब भयौं । त्यसैले छिमेकीबाट हेपिनुपर्ने, अपहेलित हुनुपर्ने, बिनाकारण नाकाबन्दीको भार बेहोर्नुपर्ने अवस्थामा पुग्नुको कारण हामी गरिब हुनु र आन्तरिकरुपमा एकताबद्ध नभएकै कारण हो । हामी भारत र चीनजस्ता ठूला छिमेकीको बीचमा छौं । यी दुवै राष्ट्रहरुसँग असल सम्बन्ध राखेर दुवै देशबीचको गतिशील पुलको भूमिका निर्वाह गरेर नेपालको सच्चा स्वाधिनता र सार्वभौमसत्ता रक्षा गर्न चाहन्छौं । जबसम्म हामी गरिब हुन्छौं, हामीलाई सबैले हेप्छन् । धनीले गरिबलाई हेप्ने सामान्य प्रचलन जस्तै धनी छिमेकीले गरिब छिमेकीलाई हेप्नु विलकुल अन्यथा हुँदैन । यस्तो अवस्थामा हामी साँचो अर्थमा सार्वभौम र स्वाधीन बन्ने हो भने दुवै छिमेकीको आर्थिक समृद्धि र विकासबाट लाभ लिएर नेपाललाई धनी र सम्पन्न बनाउने दिशातर्फ जानुपर्छ ।
हामीले धेरैपटक भनेका छौं, नेपालमा जलस्रोतको प्रचुर सम्भावना छ । तर हामीले प्रयोग गर्न सकिरहेका छैनौं । भारत र चीनको पुँजी र प्रविधि यहाँ प्रयोग गरेर छोटै अवधिमा जलस्रोतको प्रचुर उपयोग गर्न सक्यौं र कमसेकम ८४ हजार मेगावाट मध्ये ४० हजार मेगावाट हामीले उत्पादन गर्न सक्यौं भने, त्यसको आधाले हामी झलमल्ल उज्यालोमा बस्न सक्छौं भने, आधा बिजुली निर्यात गरेर भारत र चीन दुवै देशको सहयोग लिएर देशको विकास गर्न सक्छौं ।

हाम्रो स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको प्रश्न समृद्धिसँग जोडिएको छ । त्यसैले दुवै छिमेकीसँग असल सम्बन्ध राख्ने र संसारका सबै राष्ट्रहरुसँग पञ्चशीलको आधारमा सम्बन्ध राखेर अगाडि बढ्न चाहन्छौं । राष्ट्रियताको नाममा आफ्नो कुर्सीको स्वार्थका निम्ति जनतालाई छलछाम गर्ने प्रवृत्ति हुनुहुँदैन । राष्ट्रियता भनेको मुटुमा सञ्चय गरेर राख्ने देशभक्तिको भावना हो । यसको अभिवृद्धि गर्न सार्वभौमसत्ता र स्वाधिनतालाई केन्द्रमा राखेर अगाडि बढ्न एउटा नयाँ शक्तिको आवश्यक छ । त्यसको निम्ति सबै देशभक्त नेपालीहरु गोलबन्ध हुन चाहन्छौं ।

पाँचौ ‘स’ भनेको समृद्ध समाजवाद हो । किनकी कुनै पनि राजनीतिक दल वा अभियानले एउटा निर्दिष्ट विचार धारामा उभिएको हुनुपर्छ । बिना बिचार अगाडि बढियो भने त्यो एउटा दिशाविहिन गाडी जहाज जस्तो दुर्घटना हुने खतरा हुन्छ । त्यसैले हामी चाहन्छौं, मानवजातिले आविस्कार गरेका ज्ञान र विज्ञानका पछिल्ला आविस्कारहरुलाई पचाएर समृद्ध नेपालको २१औं शताब्दीको नयाँ विचार लिएर अगाडि बढ्न चाहन्छौं । त्यसको निम्ति हामी व्यक्तिको निजत्वको पनि सम्मान हुने र सामूहिकताको पनि कदर हुने प्रकारको समृद्ध नयाँ विचारमा टेकेर अगाडि बढ्न चाहन्छौं ।

नेपाल भर्खरै सामन्ती युगबाट राष्ट्रिय पुँजीको निर्माण गर्ने युगमा प्रवेश गरेको छ । एउटा वाम लोकतान्त्रिक जगमा टेकेर समाजवादको दिशामा अगाडि बढ्ने स्पष्ट विचार लिएर अगाडि बढ्नुपर्छ । त्यसो हुनसक्यो हाम्रो लोकतन्त्र पनि एउटा समृद्ध लोकतन्त्र हुन्छ भने अन्ततः यो सामाजिक न्याय र जनताका समानतामा आधारित समृद्ध समाजवादको निर्माण पनि हामी गर्न सक्छौं । त्यसैले अहिले वाम लोकतान्त्रिक जगमा टेकेर समृद्ध समाजवादमा पुग्ने स्पष्ट सोच बोकेर अगाडि बढ्ने पनि हामीले अवधारणा बनाएका छौं ।

त्यसैले म सम्पूर्ण युवा पंक्तिलाई र नयाँ ज्ञान आर्जन गरेर देश–विदेशमा रहनुभएका साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईंहरु जुन ज्ञानबाट सुजज्जित हुनुहुन्छ, सबैले अहिलेको युग सुहाउँदो, नेपाल सुहाउँदो नयाँ विचार, नयाँ नीति र कार्यक्रम निर्माण गर्न पनि सहयोग गर्नुहोस् । देशको समृद्धिबाहेक हामीसँग अरु कुनै स्वार्थ छैन । हामी कसैप्रति पनि नकरात्मक दुराभाव राख्न चाहँदैनौं । हामी सबैप्रति सकरात्मक भाव राखेर अगाडि बढ्दछौं ।

यी पाँच ‘स’ मध्ये समृद्धिलाई केन्द्रमा राखेर, समानुपातिक, समावेशी र सहभागितामुलक लोकतन्त्रलाई आधार बनाएर, सदाचार र सुशासनलाई माध्यम बनाएर, स्वाधिनता र सार्वभौमसत्तालाई मुटुमा राखेर समृद्ध समाजवादको दिशामा जाने लक्ष्यका साथ हामी अगाडि बढ्दैछौं । यसबीचमा हाम्रो बारेमा भएको विभिन्न टिकाटिप्पणीलाई हामी अन्यथा मान्दैनौं । जुन रुखमा फल लाग्दछ, त्यसलाई झटारो हान्नु स्वभाविक हो । तर रुखले झटारो फर्कांउँदैन, यसले त सबैलाई फल बाँढ्दछ । यही असल नियतका साथ अगाडि बढ्दछौं । हामी कसैका विरुद्ध होइन, सम्पूर्ण देशलाई एकताबद्ध गरेर सकारात्मक सोचका साथ अगाडि बढ्न चाहन्छौं ।

पुरानै मानिस नयाँ ढंगले कसरी अगाडि जान सक्नुहुन्छ ? म आफैं पनि नेपाली जनताको दयामायाले प्रमुख कार्यकारी पदमा पुगेको व्यक्ति, कयौं साथीहरुले जिज्ञासाहरु पनि छन् । यी पुरानै मानिसहरुले नयाँ काम कसरी गर्न सक्लान् भन्ने पनि लाग्न सक्छ । तर नयाँ भनेको नयाँ विचारले हुने हो, नयाँ सोच र शैलीले बन्ने हो । हामी नयाँ बन्ने कोसिस गर्दैछौं । त्यसकारण तपाईहरुले पनि साथ दिनुभयो भने हामीलाई थप नयाँ बन्न सहयोग पुग्दछ । म अर्थमन्त्री हुँदा, प्रधानमन्त्री हुँदा तपाईंहरुको अपेक्षानुसार काम गर्न सकिएन होला । तर त्यतिबेला मुलुक संक्रमणकालमा थियो । हामी भर्खरै युद्धबाट शान्ति प्रक्रियामा आएका थियौं । त्यतिबेला शान्ति र संविधान निर्माणमा बढी केन्द्रित हुनुपर्ने अवस्था थियो । त्यसैले सबैको आवश्यकता र चाहना पूरा गर्न सकिएन । तर पनि म अर्थमन्त्री हुँदा कतिपय सकारात्मक काम सुरु गरिएका थिए । युवा स्वरोजगार र राष्ट्रिय गौरवका योजनाहरु सुरु गरिएको थियो, त्यसले विकास र समृद्धिको झल्को दिएकै थियो । म प्रधानमन्त्री हुँदा त मैले बजेट पेश गर्ने अवसर नै पैदा भएन । त्यसैले विकास र समृद्धिको मेरा सोचहरु कार्यान्वयन गर्ने अवसर पाईन । तर पनि अवसरहरु प्राप्त गर्दा काम गर्न सक्छौं भन्ने पूर्ण विश्वास छ ।

त्यसैले अब हामी पुरानै कुरामा टाँसिएर बस्नु हुँदैन । नयाँ युगको नयाँ आवश्यकता अनुसार नयाँ शक्ति निर्माण गर्ने ध्येयका साथ अगाडि बढौं । हामी सम्पूर्ण दिलोज्यान लगाएर पूर्ण निष्ठाको साथ जनताको सेवा गर्न तत्पर छौं । आउनुहोस्, नयाँ शक्ति तपाई हामी सबैको हो । खासगरी युवाहरुको हो । देशमा बस्ने, विदेशमा बस्ने ५०औं लाख बाहिर जान बाध्य युवाहरु, तपाईहरु सबै देशमा फर्कने वातावरण बनाएर तपाईंहरुसँग भएको साधन, स्रोत र क्षमता लगाएर यो देश बनाउने नै नयाँ शक्तिको सोच हो ।

त्यसैले खासगरी युवाहरु देश र विदेशमा रहनुभएका डाक्टर, इञ्जिनियर, बुद्धिजिवीहरु, व्यवस्थापनविदहरु तपाईंहरु सबैको क्षमताको सदुपयोग भयो भने यो देश बन्न सक्छ । र, देशभित्र भएका सम्पूर्ण श्रमिकहरु, मजदुरहरु, किसानहरु, महिला, दलित, जनजातिहरु, विपन्न समुदायहरु, तराई पहाड र हिमालमा बस्ने सम्पूर्ण नेपालीहरु एकजुट भए यो नयाँ शक्ति निर्माण गरौं । अबको केही समयभित्र यो मुलुकलाई समृद्ध बनाउनुको विकल्प छैन । हामी मरेपछि स्वर्गको कल्पना होइन, हाम्रै जीवनकालमा समृद्ध नेपालको कल्पना गरिरहेका छौं । त्यो सम्भव छ । आउनुहोस्, नयाँ शक्ति अभियानमा सहभागी हुनुहोस् । म सबैलाई आग्रह गर्न चाहन्छु, तपाईहरुसँगै काँधमा काँध मिलाएर अगाडि बढ्ने र हाम्रै जीवनकालमा समृद्ध नेपाल बनाइसक्ने संकल्प म तपाईहरु सबैसँग गर्दछु । नमस्कार !

 

  • पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले देश-विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सम्बोधन गर्दै जारी गरेको सन्देश । जुन नयाँ शक्ति, नेपालको आधिकारिक वेबसाईट www.nayashaktinepal.org मा पनि हेर्न सकिने नयाँ शक्तिको सचिवालयले जनाएको छ ।

 

The post समृद्ध नेपालको लागि संकल्पको अर्को नाम नै ‘नयाँ शक्ति’ हो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles