Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

विचारधाराको अन्त्य कहिल्यै हुँदैन

$
0
0

सन् १९७० मा सुरु भएको नवउदारवादले नब्बेको दशकदेखि विश्व मानव समाजलाई निरन्तर प्रभावित गरिरहेको छ । नवउदारवाद अर्थात् एक आर्थिक तथा राजनीतिक दर्शन जो समाजका सबै क्षेत्रमा बजार आधारित शासन, नियम र नियन्त्रणको पक्षमा हुन्छ । तर, नवउदारवादको यात्रा चुनौतीहीन भने छैन ।

उत्तर तथा दक्षिण– विश्वका दुबै ध्रुवमा नवउदारवाद विरुद्धको प्रतिरोध प्रखर छ । प्रारम्भिक प्रतिरोध सन् १९७७ को इजिप्टेली ‘रोटी विद्रोह’ र सन् १९८९ को भेनेजुएला विद्रोह थियो । सन् १९९४ मा मेक्सिकोको चियापासमा जापाटिष्टहरु आसन्न नाफ्टा विरुद्ध उठे । उत्तरमा ‘वैकल्पिक भूमण्डलीकरण’ आन्दोलन लोकप्रिय भयो । यस सन्दर्भमा सन् १९९९ को सियाटल प्रदर्शन उल्लेखनीय रह्यो । सन् २००१ मा वर्ल्ड सोसल फोरमले नउवदारवादको विकल्पमा सामाजिक अभियन्तालाई बहस, छलफल गर्ने मञ्च दियो । यस्ता जनपरिचालनले नवउदारवादले निम्त्याएको नग्न आर्थिक असमानता र वातावरणीय विनाशप्रति बलियो ध्यानाकर्षण गरेको छ ।

सन् २००८ को आर्थिक संकटले नवउदारवादलाई चुनौती दिन चाहनेहरुका लागि अनपेक्षित अवसर उपलब्ध गरायो । आन्दोलनका रुपमा अरब, युरोप र अमेरिकामा अकुपाई वालस्ट्रिट जस्ता ठूल्ठूला जनप्रदर्शन भए । यी आन्दोलनका बारेमा पर्याप्त लेखिए । विश्वव्यापी रुपमा चर्चा भए । विकल्प जरुरी छ भन्ने बोध गहीरो भयो । करिब ४ वर्ष यी आन्दोलनहरु निरन्तर चर्चामा रहे । तर आन्दोलनले सार्थक परिणाम दिने कुरामा आश्वस्त हुन सकिँदैनन्थ्यो । किनकी यी आन्दोलनमा केही भ्रम र वैचारिक कमजोरी विद्यमान थिए ।

मूलतः यस्ता आन्दोलनमा ‘हामी उत्तरवैचारिक युगमा बाँचिरहका छौं’ भन्ने गहीरो भ्रमपूर्ण सोच थियो । यो कमजोरीलाई तुरुन्त सम्बोधन गर्न आवश्यक थियो । विचारधाराको अन्त्यको बहस एक धोकापूर्ण प्रवचन मात्र थियो । विचारको मुकाविला विचारले नै गर्न सकिन्छ । अवैचारिक ढंगले नवउदारवादसँग लड्न सम्भव थिएन/छैन । यस्ता आन्दोलनले ‘इतिहासको अन्त्य’ जस्ता पाखण्डबाट मुक्त भएर एक्काइसौं शताब्दीका लागि विचारधाराको पुनर्भाष्य गर्न जरुरी थियो । यसरी मात्र नवउदारवादसँग उसका प्रतिद्वन्द्वीहरुले बलियो सामना गर्न सक्नेछन ।

विचारधाराले नै परस्पर अन्तर्निभर तथा कार्याभिमुख प्रणालीका रुपमा सबै राजनीतिक अभ्यासको नाडी छाम्न सक्दछ । त्यसो भए विचारधारा असान्दर्भिक भएको यति प्रभावकारी दाबी किन भयो त ? किनकी यो मान्यता नवउदारवादी सम्भ्रान्तहरुका लागि उपयोगी थियोे । यसले समकालीन विश्व पुँजीवादी प्रणालीको विघटनमाथि ढाकछोप, मौलिकीकरण र अऐतिहासिकीकरणको प्रक्रियामा मद्दत गर्दथ्यो । तर, नवउदारवाद विरोधीहरु सुसंगत वैचारिक प्रतिरोधीको प्रवृत्तिबाट विमुख थिए । उनीहरु वर्तमान आर्थिक प्रणालीको व्यवस्थित विश्लेषण गर्नुको साटो यसलाई व्यक्तिगत लोभ र नैतिक समस्याका रुपमा चित्रण र निन्दा गर्न नै ढुक्क थिए । फलस्वरुप त्यस्ता विरोध, विद्रोह, दंगा र जनप्रदर्शनबाट उत्पन्न परिवेशभित्र वास्तविक प्रणालीगत विकल्प स्थापित गर्नुको साटो व्यक्तिगत अनुभवकेन्द्रित अभियन्तावादको अभ्यास बढ्यो ।

वैचारिक कामलाई वेवास्ता गर्ने प्रवृत्ति अझै छ । यसले नवउदारवादको प्रतिरोधलाई गोलमटोल मात्र गर्दैन, बरु वैकल्पिक उपायको अभावमा स्वयं उसैलाई ठाउँ दिन्छ । नवउदारवादको विरुद्धमा सम्भाव्य प्रतिवर्चश्व आन्दोलन निर्माण गर्न चाहने अभियन्ता तथा बुद्धिजीवीहरुले विचारधाराको प्रश्नलाई गम्भीरतापूर्वक लिन शुरुवात गर्नु पर्दछ ।

तर, नवउदारवादविरोधी राजनीतिका अनेक असमरुप तथा अतिवादी धारहरुबीच यस कार्यका लागि कुन प्रकारको विचारधारा अनुकुल र प्रभावकारी हुन्छ ? यो ठहर गर्न सजिलो छैन । एक्काइसौं शताब्दीका प्रगतिशीलहरुले कुन विचारधारा अंगाल्नु पर्छ त ? प्रायः एउटा सामान्य मापदण्डको चर्चा हुने गर्छ- हामीले विविधतावाद वा विविधताकाबीचमा एकताको सोचबाट अगाडि बढ्नुपर्छ ।

विचारधाराका क्षेत्रमा ‘विविधतामा एकता’ एक घिसेपिटे नारा मात्र हो जसले अभियन्तावादको विविध रुपलाई समष्टिगत रुपमा समेट्दछ । विविधतावाद विभिन्न विचारधारात्मक सन्दर्भलाई एउटै वृहत् आन्दोलनमा ल्याउने कडी हुन सक्दछ । यसले समकालीन बहसलाई चौतर्फी रुपमा घुमाउन सक्दछ । अझ मुख्य कुरा यसले परम्परागत वर्गकेन्द्रित सोचको ठाउँमा पहिचानको राजनीतिलाई एक गतिशील अन्तक्रिर्याको विषय बनाउँछ । त्यस्तै समकालीन विश्वका पश्चिमा विचारलाई गैर–पश्चिमा विचारहरुसँग तर्कसंगति र कार्यप्रणालीमा आधारमा समायोजित गर्न सक्नु पर्दछ ताकी नवउदारवाद विरुद्धको संघर्षलाई एक विश्वदृष्टिकोणका रुपमा विकसित गर्न सकियोस् ।

विश्वभरका नवउदारवादविरोधी आन्दोलनहरु एक ठाउँमा आउनु निश्चय नै राम्रो हो । तर यो काम अझैपनि राम्ररी भएको छैन । अझै पनि समाजवादी र अराजकतावादीबीच गहीरो विभाजन बाँकी छ । जुन स्तरमा उनीहरु भिन्न छन, त्यो स्तरको वैचारिक भिन्नता भने उनीहरुमा छैन । यी दुई विचारधाराको उत्पत्ति र सम्मिलन (ओभरल्याप) बारे अभियन्ताहरुको अवधारणा अझै अस्पष्ट छ ।

नवउदारवाद विरुद्ध वैचारिक प्रतिवर्चश्व निर्माण गर्न आधुनिक वैचारिकताका विभिन्न पक्षबीच समन्वयको एक सुसंगत प्रणाली बन्नै पर्छ । वर्तमानको निर्ममतासँग लड्ने इच्छाशक्तिभन्दा विगतका पूर्वाग्रहहरु अझै बलशाली छन् । विगत दुई शताब्दीका उनीहरुका पूर्ववर्ती वैचारिक अग्रजहरुले सामना गरेको स्थिति र अहिलेका अभियन्ताहरुले सामना गरिरहेको स्थिति फरक हो कि एउटै हो भनेर विवेकपूर्ण विमर्श गर्ने हो भने हाम्रा निष्कर्षहरु धेरै फरक बन्न सक्दछन् । जस्तो कि मार्क ट्वेनले भनेका थिए– ‘इतिहास कहिल्यै दोहोरिन सक्दैन तर यसलाई बारम्बार दोहोर्‍याइने गरिन्छ।’ आजका प्रगतिशीलहरुले यो चक्रलाई दोहोर्‍याउनुभन्दा इतिहासबाट शिक्षा लिनु उचित हो ।

विविधतावादको दोस्रो आयाम पहिचान–केन्द्रित सरोकारहरु हुन् । यहाँनेर यो प्रश्न उठ्छ कि यो आयामलाई हामी पुनर्ताजगी गर्दछौं वा त्यसै दबिन दिन्छौं । पहिचानको मुद्दालाई प्राथमिकता दिँदा नश्ल, क्षेत्र, लिङ्गजस्ता नवउदारवाद विरोधी प्रतिरोध अगाडि आउँछन् र तिनीहरुको संयुक्त मोर्चा बनाउन सकिन्छ । अर्कोतिर यो पनि सोच्नु पर्दछ कि यदि पहिचानलाई एकांकी र अचुक उपायका रुपमा बुझियो भने त्यो प्रगतिशील राजनीतिका रुपमा चित्रित भइरहन सक्दैन । यसको सरल अर्थ प्रगतिशील राजनीतिले पहिचानका सरोकारहरुलाई प्रतिवर्चश्वको आन्दोलनको उद्देश्यसँग जोड्नु पर्दछ ।

अर्थात् नवउदारवाद विरोधी राजनीतिले तीन धारे रणनीति अख्तियार गर्नु उपयुक्त हुन्छ । एक– पुराना स्थापित वैचारिक विविधताहरुको युगानुकुल समायोजन । दुई– पहिचानमा आधारित राजनीतिको विविधताबीच मोर्चाबन्दी । तीन–पश्चिमा र गैरपश्चिमा साँस्कृतिक वैचारिकतामाथि एक वैश्विक किल्लाबन्दी । समग्रमा बहुलतावाद कुनै केन्द्रशक्तिको सम्प्रशारक नभएर सामूहिक सवालको साझा शक्तिकेन्द्र हुनुपर्दछ ।

त्यसो भए अब यो प्रश्न उठ्छ कि नवउदावाद विरुद्ध यी विविध पक्षहरुलाई के ले नजिक ल्याउन सक्छ ? यसका पनि तीन तत्व छन् । पहिलो– नवउदारवाद विरोधी आन्दोलनका व्यवधानहरु पहिचान र सामना गर्ने क्रान्तिकारी राजनीतिको इच्छाशक्ति । नवउदारवादी वर्चश्व भनेको के हो ? यसको संचरना कसरी बनेको छ ? यसका कमजोर विन्दुहरु कुन-कुन हुन् ? यसका संस्थागत सामर्थ्य के-के हुन् ? यी सबै पक्षको गहीरो विश्लेषण र त्यसको विकल्पमा एक नैतिक साहससहितको अभियान प्रगतिशीलहरुले संगठित गर्नुपर्छ ।

दोस्रो– नवउदारवादबाट संक्रमण र नयाँ प्रणाली, नयाँ समाज निर्माणको दूरदृष्टि प्रष्ट गर्न सक्नु पर्दछ । केवल रुढ सिद्धान्तहरु प्रस्तुत गरेर मात्र हुँदैन । नवउदारवादले दिइरहेका सुविधाहरुभन्दा राम्रो अवसर नयाँ प्रणालीले दिन सक्दछ भन्ने प्रष्टता हुनु पर्दछ ।

अन्तिम कुरा– यहाँबाट त्यहाँ कसरी पुग्ने ? यी कार्यहरु गर्ने रणनीति के हो ? कुन विधि, प्रक्रिया र मोडालिटीबाट ती कार्य सम्भव हुनेछन् भन्ने प्रष्ट हुनु पर्दछ । यस परिप्रेक्ष्यमा थुप्रै विकल्पहरु हुन्छन् । ती मध्ये उपयुक्त विकल्प छनौट र कार्यान्वयन हुन सक्नु पर्दछ ।

संक्षेपमा– अहिलेको आवश्यकता भनेको विद्यमान विश्वव्यवस्थाका दमन र प्रणालीगत निरीहता विरुद्ध एक वृहत् पुनर्भाष्य र स्थिर दार्शनिक दृष्टिकोण हो । तर नवउदारवाद विरोधी खेमामा देखिएको अवैचारिक सोचले उनीहरुलाई विश्व पुँजीवादविरुद्धको संघर्षमा फितलो बनाएको छ । जति छिटो आजका प्रगतिशीलहरुले यो समस्यालाई बुझ्दछन् र नवउदारवाद विरुद्धको वैचारिक धारलाई तिखो पार्दछन्, त्यति नै उनीहरुले नवउदारवादमाथि विजय प्राप्त गर्ने सम्भावना बढ्ने छ ।

(प्रस्तुत लेख लेखकको किताब आइडोलजी एण्ड फयूचर अफ प्रोगेसिभ सोसियल मुभमेन्टबाट साझापोस्टले गरेको अनुवादको अंश हो)

The post विचारधाराको अन्त्य कहिल्यै हुँदैन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles