एउटा मान्छेले अर्को मान्छेसँग व्यवहार गर्ने तौरतरिका वा ढंगलाई शैली भन्न सकिन्छ । शैली विभिन्न तरिकाले व्यक्त हुन्छ । कुरा गर्दा, काम गर्दा, लेखन, भाषण, प्रवचन गर्दा शरीरको हाउभाउले शैली व्यक्त गर्दछ । कार्यपद्धति अबलम्बन गर्ने तरिकाले पनि शैली व्यक्त हुन्छ । शैलीमा जब काम गर्ने तौरतरिका जोडिन्छ, त्यो कार्यशैली हुन्छ । राजनीतिको उद्देश्य जनसेवा हो । लोकतान्त्रिक राजनीतिक दलका अभियन्ताहरुले जनताबारे कसरी सोच्छन, कसरी हेर्छन, कसरी बोल्छन, कसरी कार्य गर्दछन, त्यसमा कार्यशैली व्यक्त हुन्छ ।
प्राकृतिक दृष्टिकोणले मान्छे प्राणी हो । अरु प्राणीजस्तै मान्छे पनि स्वार्थी र लोभी हुन्छ । स्वार्थ र लोभले रुची/अरुची पैदा गर्दछ । मन पर्ने, मन नपर्ने वर्गीकरण बन्न पुग्दछ । मीठो बोेली, राम्रो हेराई, राम्रो गराई, सम्मानजनक व्यवहार मन पर्दछ । मान्छेमा अरुले राम्रो भन्दियोस, प्रसंशा गर्दियोस भन्ने चाहना हुन्छ । शरिरका अंग दिमाग, आँखा, कान, नाक, मुख, जिउले शैली निर्धारण गर्दछन् । अंगहरुले कस्तो काम गर्दछन, सोही अनुरुपको व्यवहार बन्दछ । शैली बन्दछ ।
दिमागको सोेच्ने शैली
दिमाग शरिरको सबैभन्दा माथि छ । यसको काम सोच्ने, बुझ्ने र अरु अंगलाई अराउने हो । कुनै पनि लोकतान्त्रिक राजनीतिको अभियन्ताले राजनीतिलाई कसरी बुझ्दछ, सोच्दछ, र अरुलाई के कस्तो कुरा अराउँछ वा गर्न प्रेरित गर्दछ, त्यसमा दिमागको शैली झल्किन्छ । मान्छे एक छिनमा रिसाउने, एक छिनमा खुसाउने स्वभावको हुन्छ । मान्छेबाट काम लिन ऊ खुशी भएको अवस्थामा सजिलो हुन्छ । रिसाएको मान्छेले मरे काम फत्ते गर्दैन । तसर्थ मान्छे परिचालन गर्न साह्रै गाह्रो हुन्छ । मान्छे धान काट्ने, लुगा सिउने, समान बोक्ने मेसिनजस्तो हुँदैन । मेसिन बिग्रन्छ, रिसाउँदैन, तर मान्छे रिसायो भने सबै कुरा बिग्रन्छ । तसर्थ राजनीति गर्नेहरु सहनशील, धैर्यवान र ज्ञानवान हुनु पर्दछ । खुशी मान्छे सबै क्रियाकलापको आधार हो । तसर्थ लोकतान्त्रिक राजनीतिक अभियन्ताहरुको दिमागले त्यस्ता कुरा सोच्नु पर्दछ, जसले गर्दा अरु मान्छे खुशी होउन् ।
लोकतान्त्रिक राजनीतिमा मान्छे खुशी हुने निक्कै ठूलो तरिका सहभागिता र स्वामित्व हो । आफू सामेल भएर गरेको कामको जसअपजस मान्छेले लिन्छ । तसर्थ लोकतन्त्रमा निर्वाचन प्रणालीको ठूलो महत्व हुन्छ । टिकेतन्त्रले सहभागिता र स्वामित्व दिँदैन । टिकेतन्त्रले थोरै मान्छेलाई खुशी पार्दछ, धेरैलाई बेखुशी पार्दछ । तसर्थ दलको प्रमुख नेतृत्व र राज्यको प्रमुख मतदाताले आफै निर्वाचित गर्न पाउनु पर्दछ ।
राजनीति मान्छेले मान्छे परिचालन गर्ने कला हो । राजनीतिले नराम्रोलाई राम्रो, राम्रोलाई नराम्रो बनाउने क्षमता राख्दछ । मान्छेको जीवन सजिलो छैन, यो दुख्खले घेरिएको छ । राजनीतिको काम दुख्खलाई सुख्खमा परिणत गर्न खोज्नु हो । धेरैभन्दा धेरै मान्छेलाई सुख्ख दिन खोज्नु हो । दिमागको सोच्ने शैली सधै मान्छेहरुलाई दुख्खबाट निकाल्ने र सुख्खतिर लैजाने हुनु पर्दछ । यसको उल्टो भो, कुनै सोच वा नीतिले मान्छेलाई सुख्खबाट दुख्खतिर लग्यो भने दिमागको सोच्ने शैली ठीक छैन भन्ने बुझिन्छ ।
आँखाको हेर्ने शैली
मान्छेले मान्छेसँग भेट्दा सबैभन्दा पहिले आँखाले भेट्छ । आँखामा धेरै खाले मुद्रा वा भाव हुन्छ । सम्मानको, आक्रोशको, घृणाको, प्रेमको, विश्वासको, शंकाको, भरोसाको, त्रासको आदि । आँखाको शैली सम्मानको हुनु पर्दछ । अरुलाई अपमान गर्नु आफनै अपमानको बाटो खन्नु हो । मान्छेले मान्छेलाई जति सम्मान र विश्वसाको आँखाले हेर्छ, त्यहीँबाट सकारात्मक संवादको थालनी हुन्छ । अरुलाई भेट्दा लोकतान्त्रिक राजनीति गर्नेहरुको आँखामा शंका, अविश्वास, घृणा, डाह वा ईष्या हैन, विश्वास, भरोसा र न्यानोपन झल्किनु पर्दछ । नेतृत्वको सबैभन्दा ठूलो गुण नै आत्मविश्वास हो । जस्तै अप्ठ्यारो वा कठीन परिस्थितिमा पनि लोकतान्त्रिक नेतृत्वले आत्मविश्वास गुमाउनु हुँदैन ।
संसार कसैका लागि पनि सधै एकनाशको हुँदैन । अप्ठ्यारो सधै अप्ठ्यारोकै रुपमा रहँदैन, सजिलोमा परिणत हुन सक्दछ । चुनौति सधै चुनौतिकै रुपमा रहँदैन, अवसरमा परिणत हुन सक्दछ । लोकतान्त्रिक राजनीतिका अभियन्ताहरुले संसारलाई त्यसरी हेर्नु पर्दछ । आत्मविश्वासले अनुहारमा उज्यालोपन, चम्किलोपन र जिउँदोपन ल्याउँछ । आँखामा आँखा जुधाएर आत्मविश्वास र परस्पर सम्मान देखिने गरी व्यवहार गर्नु सुखद संवादको सूत्र हो ।
कानको सुन्ने शैली
मान्छेको कानले कस्तो कुरा सुन्न मन पराउँछ, कस्तो कुरा सुन्न मन पराउँदैन, लोकतान्त्रिक राजनीति गर्नेहरुले त्यो बुझ्नु पर्दछ । सामान्यतया मान्छेहरु सुख्खदुख्खका कुरा सुन्न चाहन्छन । जीवन अनुभव र भोगाइका कुरा सुन्न, सुनाउन चाहन्छन । आफ्नो दुख्ख अरुले सुनिदियो भने मात्र पनि हल्कापन महशुश गर्दछन । मान्छेलाई जति धेरै सुन्यो त्यतिधेरै फरकफरक अनुभव थाहा हुन्छ । मान्छेका दृष्टिकोण र धारणाहरुको वृहत् परिदृष्य ज्ञान हुन्छ । मान्छे चाहन्छन कि कुरा सुनिदियोस, त्यससँग जोडिएका कतिपय समस्या हल गर्न सहयोग पनि गरोस ।
मान्छेलाई मद्दत गर्न सकियो भने धेरै राम्रो । सक्ने कुरामा सहयोग गर्नु पर्दछ । तर सबैका आ-आफ्ना सीमा हुन्छन । चाहेर पनि सबैलाई सहयोग गर्न सकिन्न । मान्छेका समस्याका प्रकृति फरकफरक हुन्छन । ती सबै हल गर्ने ताकत कोसँग हुन्छ र ? कतिपय मान्छेले इच्छा, अपेक्षाका कुरा राख्दछन । ती पूरा गर्न, गर्दिन सम्भव हुन्न । तर पनि कुरा चाहिँ सुन्नु पर्दछ । सुन्दिँदा मात्र पनि मान्छेले केही हदसम्म समस्या समाधान भएको ठान्दछ । कम्तीमा कुरा त सुन्दियो भन्ने हुन्छ ।
कतिपय मान्छेका गुनासा वा समस्या सूचनाको अभाव वा मानसिक उल्झनसँग जोडिएका हुन्छन् । त्यस्ता मान्छेलाई केही दिनु पर्दैन । सही सल्लाहले मात्र पनि ठूलो सहयोग पुग्न सक्दछ । तर सल्लाह दिन पनि कुरा सुन्न, बुझ्न त पर्यो । सहृदयतापूर्वक मान्छेका कुरा सुन्नु, सकेको सहयोग गर्नु नसके आफ्नो असमर्थता वा बाध्यता विनम्रतापूर्वक भन्नु पर्दछ ।
मुखको बोल्ने शैली
मान्छे राम्रो कुुरा, मज्जा लाग्ने कुरा, मीठो लाग्ने कुरा सुन्ने इच्छा गर्दछ । सम्बोधनमा सम्मानजनक शब्दको अपेक्षा गर्दछ । उमेर अनुसार नाता लगाएर बोलेको झनै मन पराउँछ । बोलीको आकर्षण र बिकर्षणले लोकतान्त्रिक राजनीतिमा ठूलोे महत्व राख्दछ । बोलीकै कारण कैयौं मान्छे कसैको फ्यान वा समर्थक बन्न सक्दछन । बोलीकै कारण काेही जीवनभरिका विरोधी वा दुश्मन बन्न सक्दछन । नराम्रो वचनलाई वाण भनिन्छ । नराम्रो वचनले मान्छेको हृदयमा चोट लाग्छ । चोटले दुख्छ । मान्छे जीवनभरि बदलाको भावनातिर जानसक्दछ । तसर्थ बोलीमा नम्रता, प्रष्टता, तिख्खरता हुनु पर्दछ । झर्रो, रहरलाग्दो बोली भए झनै राम्रो ।
बोली बुझिएन, बोलीले झर्को लगायो, बोली टर्रो, निरसिलो, उराठलाग्दोे भयो भने नजिककै साथीहरु पनि विस्तारै टाढा हुन्छन् । बोली राम्रो, रसिलो भयो भने टाढाका मान्छे पनि नजिक हुन्छन् । भाषण पनि एक प्रकारको बोली नै हो । भाषण गर्ने रहरले मान्छेलाई बोर गर्नु हुन्न । भाषण गर्दा सहभागीको स्तर, मानसिकता, समय उपलब्धता सबै कुरा ख्याल गरेर बोल्नु पर्छ । आवाज, लवज र विषयवस्तु राम्रो छ भने भाषण राम्रो हुन्छ । त्यसले सबैलाई खुशी बनाउँछ र प्रेरित गर्दछ । तर, नेता हुने रहरले, भाषण गर्ने रहरले ताइ न तुई कनकन र गनगन मात्र भयो भने मान्छे निरुत्साहित हुन्छन्, उल्टो असर पर्दछ ।
संसारमा सबैले सबैलाई मन पराउँदैन । तर मन नपर्ने मान्छे भेट हुँदा पनि राम्रो बोल्नु पर्दछ । लोकतान्त्रिक राजनीतिका अभियन्ताहरुको बोलीले समर्थनको दायरा बढाउनु पर्दछ, घटाउने हैन । मन नपराउने मान्छेसँग पनि राम्रो बोलियो भने उसको धारणा परिवर्तन हुन सक्दछ । समर्थनको दायरा बढ्दछ ।
हातको काम गर्ने शैली
मान्छेसँग भेट्दा हातको पहिलो काम अभिवादन गर्नु हो । सम्मान कसलाई चाहिएको छैन र ? नेपालमा दुई हात जोडेर नमस्कार गर्ने जुन तरिका छ, त्यो निक्कै राम्रो छ । कहिलेकाहीँ हामी नमस्कार भनेर एक हात उठाउँदछौं । पाका उमेरका ठूलाबडाले त्यो मन पराउँदैनन् । समान उमेरका वा मन मिलेका समकक्षीहरु बीच एक हातको नमस्कार पनि राम्रै होला तर दुई हात जोडेर गरिने नमस्कारले झनै ठूलो अर्थ राख्दछ ।
हात मिलाउँदा झनै आत्मियता झल्किने रहेछ । भीडभाडमा, हतारमा, सबैसँग हात मिलाउन सम्भव हुँदैन । तर, परैबाट हसिलोपन, नम्रतापूर्वक हात हल्लाउने हो भने हात मिलाए सरह आत्मियताको अनुभूति गर्न, गराउन सकिन्छ । हात मिलाउँदा मन छुने गरी मिलाउनु पर्दछ । खिस्रिक्क हात मिलाउँदा उल्टो अर्थ लाग्दछ । महत्व वा सम्मान नदिएको भान हुन्छ र मान्छेको मन दुख्न सक्छ । दुई हात जोडर नमस्कार गर्दा होस, एक हात परैबाट हल्लाउँदा होस वा हात मिलाउँदा आँखामा खुशी र अनुहारमा चमक हुनु पर्दछ ।
हातको अर्को काम लेख्नु हो । लेखाइमा पनि शैली व्यक्त हुन्छ । लेख्ने कुरालाई सजिलो र सामान्य ठान्नु हुँदैन । लेख्ने रहर गर्ने, झुर लेख्ने र पाठक वा समर्थकलाई यो लेख्न नजान्ने, रहर मात्र गर्दो रहेछ भन्ने भान पर्न दिनु हुँदैन । बरु नलेख्नु वा थोरै लेख्नु, जति लेखिन्छ, भाँती पुर्याएर लेख्नु राम्रो हो ।
हातको अझ महत्वपूर्ण काम उत्पादन गर्नु हो । उत्पादनमा हातको सीप झल्किन्छ । त्यसको शैली बन्छ । कुनै काम नगरी बाँच्न सकिन्न । जीवन धान्न, परिवार पाल्न वा राजनीतिक क्रियाकलाप गर्न खर्च त चाहियो । त्यो कसैले कसैलाई दिएर पुग्दैन । दिए पनि सधैलाई हुँदैन । अरुमा भर पर्दा आफ्नो आत्मनिर्भरता खत्तम हुन्छ । हातलाई उत्पादनसँग जोड्नु पर्दछ ।
आधुनिक लोकतान्त्रिक समाज औपचारिकताबाट अनौपचारिकतातिर बढी ढल्किन्छ । ठूलोठालु बन्ने, माला, खादा, ब्याज, दोसल्ला र मञ्चासनलाई महत्व दिने, सानोठूलोको भेद सिर्जना गर्ने शैली सामन्ती संस्कारका उपज हुन् । लोकतन्त्रमा जनता सानो नेता ठूलो हैन । नेतालाई सर्वसाधारणले ठूलो मान्न जरुरी छैन । लोकतान्त्रिक राजनीतिमा पद भनेको जिम्मेवारी हो, बढप्पन वा शान देखाउने कुरा हैन ।
त्यसो त लोकतान्त्रिक जीवनशैलीका अरु पनि धेरै पाटाहरु छन् । यौनलाई बुझ्ने र व्यवहार गर्ने शैलीको अभावले अनेक दुर्भाग्यपूर्ण घटना घटित भइरहेका छन् । यौन मानव जीवनको अभिन्न, महत्वपूर्ण र संवेदनशील विषय हो । यौन सबैभन्दा ठूलो समस्याको जरो पनि हो ।
सञ्चारको युगमा फोनमा कुरा गर्ने तरिका पनि शैलीको एउटा पाटो बन्न सक्दछ । फोनमा कुरा गर्ने तरिका वा भाँती नपुग्दा मान्छे-मान्छे बीच सम्बन्ध बिग्रने जोखिम बढेको छ । सकेसम्म सबैको फोन उठाउनु र उत्तर दिनु राम्रो हो । तर त्यो काम असम्भव बन्दै गएको छ । फोनमा लामो कुरा गर्ने तरिकाले सबैलाई असजिलो पार्दछ ।
समय सबैभन्दा ठूलो सम्पति हो । समय बगिरहन्छ, मान्छेलाई पर्खेर बस्दैन । समयको महत्व जसले बुझ्न र उपयोग गर्न सक्यो, उसैले उन्नति गर्ने हो । समय पालना नगर्नु नेपाली समाजको ठूलो समस्या हो । समय व्यवस्थापनको शैली समयमा काम थाल्ने, समयमा काम सक्ने प्रकृतिको हुनु पर्दछ । लोकतन्त्रको कुरा गर्न सजिलो छ । साँच्चै लोकतान्त्रिक आचरण र शैली अबलम्बन गर्न गाह्रो छ । तथापि प्रयत्न छोड्न हुँदैन– नियत ठीक भए सबैथोक ठीक हुँदै जान्छ ।
The post लोकतान्त्रिक राजनीतिको कार्यशैली appeared first on Sajha Post.