Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नयाँ शक्ति र वैकल्पिक राजनीति

$
0
0

नयाँ शक्ति, नेपाल नेपालको मात्र नभई विश्व राजनीतिको ऐतिहासिक सार संक्षेप हो । वैकल्पिक राजनीतिको मुल भंगालो हो । यसलाई नेपाली माटोको विशेषता अनुसार विकसित गरिँदैछ । आज विश्वमा वैकल्पिक राजनीतिको बहस ब्यापक रुपमा चलिरहेको छ । यसको सम्बन्धमा नेपाली राजनीतिक वृत्त सामान्यतः अनविज्ञ देखिन्छ । किनकि यहाँ पुरानो राजनीति, राजनीतिक विचार, संस्कार, प्रणाली र पुरानै राजनीतिक विरासतलाई निरन्तरता दिनेको हुल हुज्जत छ । यसको अर्थ हुन्छ कि नेपालका राजनीतिक नेतृत्वहरु पछौटे मानसिकतामा घिसिपिटि गरिरहेका छन् । यो नेपाली राजनीतिको निम्ति बिडम्बना हो । पछौटेपनको कारण हो । नेपाली राजनीतिज्ञहरुको अयोग्यता हो । नयाँ राजनीतिक विचार र प्रणालीको विकास गर्न नसक्नुको परिणाम हो ।

प्रजातान्त्रिक समाजवादको वैचारिक आधार भन्ने तर व्यवहारतः संसदीय व्यवस्थाको पुरातन मान्यताको वैशाखीको रुपमा परिचित पार्टी नेपाली कांग्रेस वैकल्पिक राजनीतिको कुचोले बडारिने अवस्थाको राजनीतिक शक्ति हो । आजको विश्वका मुल्य र मान्यतामा आधारित विकसित वैकल्पिक राजनीतिको आगमन र सांगठानिक प्रभावसँगै यसको पतन सामान्य विषय हो । स्वभाविक पनि हो । निषेधको निषेध अर्थात् विकास क्रममा पुरानालाई नयाँले विस्थापित गर्नु प्राकृतिक विज्ञान हो । वैकल्पिक राजनीतिको अभावमा यो शक्ति आजका दिनसम्म नेपाली राजनीतिमा प्रभावी बनिरहेको छ । यस पार्टीको वैचारिक आधार प्रजातान्त्रिक समाजवाद आजको विश्व अनुकुल छैन । ०३ सालमा पार्टी निर्माण गर्दाको विश्व ०७३ सालमा आउँदा पूर्ण रुपमा फेरिएको छ ।

परिवर्तन भट्टराई कृति
परिवर्तन भट्टराई कृति

सात दशकको यो अवधिमा विश्वले कायापलट गरि सकेको छ । आर्थिक तथा सामाजिक क्षेत्रमा व्यापक फेरबदल भएको छ । राजनीतिमा पनि विकसित दृष्टिकोणहरु भित्रिएको छन् । आर्थिक विकासले पुरानो आर्थिक सम्बन्धलाई तोडेको छ । उत्पादनको साधन र सम्बन्ध पुरानो अवस्थामा छैन । सामाजिक रुपान्तरण तिब्र गतिमा छ । समाजको परम्परागत बनोट भत्किने र नयाँ सामाजिक संरचनाको जबर्जस्त संक्रमण भइरहेको छ । यसको विश्वव्यापी प्रभाव छ । पछिल्लो सामाजिक रुपान्तरणलाई आधार मान्ने हो भने प्रत्येक अघिल्लो दशक पछिल्लोका लागि इतिहासको सन्दर्भ सामग्री बन्ने गरेको छ । सामाजिक रुपान्तरणको यस बेगलाई रोक्नु असम्भव छ । बेगको गति झनै तिब्र अवस्थामा छ ।

नेपालका साम्यवादी ब्राण्डका संसदीय पार्टीहरुको वैचारिक आधार जीर्ण अवस्थामा छ । समाकालिन विश्वबाट अलग्गिएर शताब्दी पुराना मुल्य मान्याताको भजन किर्तन गरिरहेका छन् । विगतबाट पाठ सिक्दै आजको विश्वमा टेकेर भविष्यको यात्रा गर्नु पर्ने साश्वतः सच्चाईलाई लत्याउँदै समयको शृङ्खलाबाट अलग्गिएका राजनीतिक विचार, संस्कार, पद्धति र दर्शनको स्तुति गान गरिरहेका छन् । उनिहरुका लागि आजको मुल्य छैन । विगतको रागमा गल्लीको यात्रा गर्दैछन् । राजमार्ग उनीहरुका लागि अपाच्य छ । मार्क्स, एंगेल्स, लेलिन, स्टालिन र माओका उठबस कण्ठ पार्नमा व्यस्त छन् । उनिहरु हिजोलाई आज बनाउन खोजिरहेका छन् । अर्थात आजलाई हिजोमा धकेल्ने लिँडे ढिपी गरिरहेका छन् । यो उनिहरु मुर्ख्याइँ हो ।

एमालेको मालेवाद र माओवादीहरुको मालेमावादको एक्काइसौँ शताब्दिको दोस्रो दशकमा के सम्बन्ध छ ? उपर्युक्त विचारहरु आजको विश्वमा सन्दर्भ विचार हुन सक्छन तर बाहक भने हुन सक्दैनन् । जसले सन्दर्भ सामग्रीको रुपमा लिन सफल छन् उनीहरु नै वैकल्पिक राजनीतिका असली अभियान्ता हुन । श्राद्धमा बिरालो बाँध्नुको ऐतिहासिक सन्दर्भ केलाउनुमा वैकल्पिक राजनीतिको आधार छ । आँखा चिम्लिनुमा पुरानाहरुको विशेषता निहित छ । साम्यवादी ट्यागमा आजको विश्वबाट अलग्गिएकाहरुलाई वैकल्पिक राजनीतिक शक्तिले निषेध गर्छ । यो स्वभाविक प्रक्रिया अन्तर्गत पर्छ । यिनीहरु निषेधको पर्खाइमा छन् । वैकल्पिक राजनीतिक विचारको अपडेड दशकको अन्तरालमा हुनु यसको विषेशता हो । अघिल्लो दशक आजलाई प्रमुख होइन सहयोगी बन्छ ।

आज नेपाली राजनीतिमा नयाँ शक्ति चर्चा र चासोको विषय बनेको छ । यस शक्तिले राजनीतिक दलको रुप धारण नगर्दै यस तहमा टिका टिप्पणी, बहस र छलफल हुनु अपेक्षित छ । जे खोजिएको थियो त्यही भइरहेको छ । यसले उत्कर्ष चुम्नु आवश्यक छ । नयाँ शक्ति नामको अभियान नयाँ राजनीतिक शक्ति निर्माण लक्षित छ । लक्षित लक्ष्य प्राप्त गर्न आजको नेपाली समाजको मनोविज्ञानको सार खिच्न आवश्यक छ । समाजको चाहना, आवश्यकता र माग नयाँ राजनीतिक शक्तिमा प्रतिबिम्बित हुनु पर्छ । वैकल्पिक राजनीतिको आधार जनतासँग अन्तरक्रिया आधारित छ । प्रत्येक क्षण रुपान्तरित हुने यसको विशेषतालाई उपर्युक्त गतिबिधिले आवश्यक टेवा पुर्‍याएको छ ।

स्वाधीनता/सार्वभौमिकता, समातामूलक समृद्धि, सदाचार/सुशासन/सुसंस्कृति, समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवादको आधारमा नयाँ राजनीतिक शक्तिको निर्माण अभियान सञ्चालित छ । उपर्युक्त पदावली घोक्ने होइन सान्दर्भिकताको खोजी गर्नु पर्छ । विश्व राजनीतिमा मूल भंगालोको सम्भावनाको खोजीको तहमा विश्लेषण हुनु पर्छ । आगामि दिनमा वैकल्पिक राजनीतिक धार मूल धार बन्दैछ । नेपालको विशिष्टतामा उपर्युक्त विषयहरुको उठान भएको छ । तिनीहरुमा आवश्यक थपघट गर्ने तहहरुमा विषयको उठान र बैठान आजको प्रमुख आवश्यकता हो । दलको संख्या थप्नुमा कुनै मुल्य छैन । नदीको दायाँ बायाँ भित्ता चढ्न खोज्ने छाल हुनुमा कुनै वीरता हुँदैन । सार्थकता त्यहाँ हुन्छ जहाँ नदीको बिच भागको भंगालो हुन सम्भव छ ।

दुःखका साथ भन्नु पर्छ कि नेपाली समाजको ठूलो क्षेत्र भ्रष्ट छ । मौका मिले अधिकांश भ्रष्टाचार गर्न तयार देखिन्छन् । समाजको यो अवस्था शासक तथा प्रशासकहरुमा प्रतिबिम्बित भएको मात्रै हो ।

नेपालको सन्दर्भमा वैकल्पिक राजनीतिक धारको मौलिक विशेषता हुन्छ । विश्वका अन्य देशको विशिष्टतामा फरक हुन्छ । पूर्णतः समानताको चाहना गर्नु पुरानाहरुको विरासत हुन जान्छ । नेपालको वैकल्पिक राजनीतिक धारमा नेपाली समाज बोल्नु पर्छ । नेपाली समाज जरैदेखि प्रतिबिम्बित हुनु पर्छ । यसका लागि नयाँ शक्तिका प्रमुख अभियान्तादेखि लाखौँ अभियान्ता यस प्रयोजनका निम्ति उत्रिनु पर्छ । यो पार्टी घोषणापूर्व गर्नै पर्ने जिम्मेवारी हो । गरिबी र बेरोजगारी यहाँको प्रमुख समस्या हो । वैकल्पिक राजनीतिक शक्ति यसको आवाज बन्न सक्नु पर्छ । गरिबी अन्त्यको उपाय बन्न सक्नु पर्छ । बेरोजगारीले पारेको प्रभावको छिनोफानो हुनु पर्छ । विश्वभरि छरिएका युवाहरुको लामबद्ध फिर्तीको सपना देखिनु पर्छ ।

भ्रष्टाचारपूर्ण समाजको अन्त्य र सदाचारपूर्ण समाजको खाका नयाँ शक्तिको मुहारमा झल्किनु पर्छ । दुःखका साथ भन्नु पर्छ कि नेपाली समाजको ठूलो क्षेत्र भ्रष्ट छ । मौका मिले अधिकांश भ्रष्टाचार गर्न तयार देखिन्छन् । समाजको यो अवस्था शासक तथा प्रशासकहरुमा प्रतिबिम्बित भएको मात्रै हो । यसको सम्बोधन गर्न नयाँ शक्तिको आवश्यकता परेको हो । भ्रष्ट मनोविज्ञानलाई हठात परिवर्तन गर्नु चुनौतिपूर्ण हुन्छ । भ्रष्ट आचरण जीवन पद्धतिको रुपमा विकास भएको अवस्थामा सुधारको गुञ्जायस एकदमै कम हुन्छ । वैकल्पिक राजनीतिक धारले यस चुनौतिको ठाडो सामना गर्ने क्षमता राख्नु पर्छ । विकृत चिन्तन प्रणालीलाई सुधार गरेर सभ्य समाजको निर्माण गर्नु नयाँ शक्तिको विशेषता हो ।

नयाँ शक्तिको विचार आयातित हुँदैन, घरेलु हुन्छ । नक्कली हुँदैन, मौलिक हुन्छ । वादेवादे जायते तत्व वोध अर्थात द्वन्द्वात्मक भौतिकवादी हुन्छ । प्रथा र परम्पराबाट सम्बन्ध बिच्छेद गरेको विज्ञान सम्मत् हुन्छ । नेपाल आर्थिक रुपमा मात्रै नभई सामाजिक रुपमा पनि पछौटे अवस्थामा छ । आर्थिक रुपमा जर्जर हुँदाको पीडा अथाहा छ । अन्धविश्वास आधारित थुप्रै प्रथा, परम्परा र मुल्यमान्यताहरु जीवित छन् । तिनिहरु आधुनिक समाजका लागि चुनौति बनिरहेका छन् । विज्ञानको कुनै साइनो सम्बन्ध नभएका सामाजिक गतिबिधिहरुले व्यक्ति, समाज र देशलाई नै पछाडी धकेलिरहेको छ । परिणमतः ठूलो संख्याका जनता नारकीय अवस्थामा छन् । नयाँ शक्ति समृद्धि र उन्नतिको जग बन्न सक्नु पर्छ ।

The post नयाँ शक्ति र वैकल्पिक राजनीति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles