Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

‘मैले अमेरिकामा के सिकेँ ?’बाबुरामको अमेरिका अनुभूति

$
0
0

हाम्रो अमेरिका भ्रमण अत्यन्त उपलब्धिमुलक र सफल रहेको हामीले अनुभूति गरेका छौं । नेपालमा विकास र समृद्धिको नयाँ चरणमा हामी प्रवेश गरिरहेको सन्दर्भमा विभिन्न देशका अनुभवहरु के छन्, त्यसबाट सिक्ने हाम्रो लक्ष्य हो । त्यसैले हामीले यूरोपपछि अमेरिकाको भ्रमण गर्‍यौं । अमेरिकामा पनि केही विशेष ठाउँहरुमा हामी गयौं, जहाँ गएपछि अमेरिकालाई बुझ्न सकियोस् । अमेरिका संसारमा ज्ञान उत्पादनको मुख्य केन्द्र पनि बनेको छ । त्यहाँका राम्रा विश्वविद्यालयहरुमा पुगेर विचारक र चिन्तकहरुसँग पनि अन्तरक्रिया गर्‍यौं । र, त्यहाँ गएर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरुका अनुभव पनि सुनौं भन्ने हाम्रो सोच थियो । यी काम सफलतापूर्वक गर्न सकियो । यस दृष्टिले हाम्रो भ्रमण सफल रह्यो ।

भ्रमणको क्रममा हामी अमेरिकाका पूर्व–पश्चिम, उत्तर–दक्षिणका चार ठाउँमा जानेक्रममा सबैभन्दा पहिला हामी दक्षिणी भेग टेक्सस गयौं । जहाँ हयुस्टन स्पेश अन्तरिक्ष केन्द्र छ । मानव जातिले चन्द्रमामा पहिलोपटक पदार्पण गरेको र त्यसलाई नियन्त्रण गरेको ठाउँ । त्यसलाई विकासको बिम्बात्मक ढंगले पनि अनुभूति गने मेरो चाहना थियो ।

त्यसपछि हामी उत्तरमा गयौं मिनिसट्टा । उक्त ठाउँ कृषिको विकास र कृषि विश्वविद्यालयका लागि चर्चित छ । त्यहाँ हामीले कृषिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्ययन गर्‍यौं । त्यसपछि हामी पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको केन्द्र मानिने क्यालिफोर्निया गयौं । सिलिकन भ्याली रहेको उक्त क्षेत्रमा पुगेर हामीले गुगल, फेसबुक, ट्वीटर लगायतका केन्द्रहरुको हामीले अवलोकन गर्‍यौं ।

क्यालिफोर्निया शिक्षाको लागि पनि निकै विकसित मानिन्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियामा पुगेर हामीले त्यहाँको शिक्षा पद्धति, प्रणालीबारे अवलोकन गर्‍यौं । सिनेमा उद्योगको केन्द्र मानिने लस एञ्जेल्स पुगेर सिनेमाको पछिल्लो प्रविधिको बारेमा हामीले अवलोकन गर्‍यौं । नजिकै रहेको कोलोराडोमा बनेको हुभर ड्यामको अवलोकन गर्‍यौं । त्यो २०औं शताब्दीको सबैभन्दा ठूलो बिजुलीको केन्द्र थियो । ठूला पूर्वाधारको विकास गरेर नै अमेरिकाको आजको विकास सम्भव भएको हामीले अनुभूत गर्‍यौं ।

त्यसपछि हामी अमेरिकाको दक्षिणी भेग न्यूयोर्क, वासिंग्टन डिसी, बोस्टनको हामीले अवलोकन गर्‍यौं । यी क्षेत्रहरु संसारमा ज्ञान उत्पादनका लागि चर्चित छ । त्यहाँका विभिन्न विश्वविद्यालयहरुमा पुगेर प्राध्यापक, नोबेल पुरस्कार बिजेताहरु, अर्थशास्त्रीहरुसँग हामीले अन्तरक्रिया गर्‍यौं । यसले पछिल्लो समयको अर्थशास्त्रीय विकास बुझ्न धेरै मद्दत पुग्यो ।

यसका साथै अमेरिकामा रहेका नेपालीहरु जो विभिन्न व्यवसाय, विश्वविद्यालय, अनुसन्धानमा संलग्न हुनुहुन्छ, उहाँहरुसँग पनि हामीले भेटघाट, छलफल र अन्तक्रिया गर्‍यौं । नेपालको विकासका निम्ति उहाँहरुको के योगदान हुनसक्छ ? लगायतका विषयहरुमा उहाँहरुसँग गहन छलफल भयो ।

समग्रमा, यस भ्रमणमा हामीले मुख्यतः पछिल्लो ज्ञान कहाँ पुगेको छ ? विज्ञान र प्रविधिको विकास कहाँ पुगेको छ ? त्यसलाई बुझ्ने र त्यसबाट नेपालजस्तो अल्पविकसित देशहरुले विकासका निम्ति के गर्नसक्छ भन्नेबारेमा हामीले चिन्तन मनन गर्‍यौं । किनभने, पछिल्लो समय के मानिन्छ भने मानव जातिको विकास विचारको संसर्ग अर्थात् सेक्स अफ आइडियाज् अर्थात् विभिन्न विचारहरुको सम्मिलनबाट नयाँ विचार पैदा हुन्छ र हाम्रो सभ्यताको विकास हुन्छ भन्ने एउटा सोच पनि अगाडि आएको छ । त्यसैले बुद्ध दर्शन लगायत पूर्विया दर्शनमा भएका विचार र पश्चिमा आधुनिक सभ्यतामा भएका विचारका विकासको उचित संयोजनबाट नेपालजस्तो अल्पविकसित देशले एउटा नयाँ विकासको बाटो लिनसक्छ । यिनै अनुभव र अनुभूतिसहित हामी स्वदेश फर्किएका छौं । त्यसर्थ, हाम्रो यो भ्रमण निकै सफल भएको छ भनेका छौं । र, म आफू व्यक्तिगतरुपमा पनि अत्यन्त सन्तुष्ट छु ।

हुन त, सिक्ने कुराहरुको कहिले पनि अन्त्य हुँदैन । त्यहाँ गएर मात्रै सिकिन्छ भन्ने पनि होइन । अहिलेको युगमा पुस्तक र इन्टरनेटबाट पनि सिक्न सकिन्छ । तर, प्रत्यक्ष अवलोकन र अनुभूति गरेर र त्यहाँका विद्धान प्राध्यापक, अनुसन्धातासँग प्रत्यक्ष छलफल गर्दा धेरै विषयमा प्रष्ट हुन मद्दत पुग्दो रहेछ । त्यहाँ विभिन्न क्षेत्रका विकासका केन्द्रहरु जस्तो, मैले भनेँ, अन्तरिक्ष विज्ञान विकासको केन्द्र, प्रविधिको विकासको केन्द्र सिलिकन भ्याली र ज्ञानको उत्पादनको केन्द्र हार्वाड विश्वविद्यालयमा पुग्दा फरक र जीवन्त अनुभूति भयो । जस्तो नोबेल पुरस्कार बिजेता जोसेफ स्टिगलिट्ज र दिगो विकास नीतिका प्रणेता जेफ्री स्याक्स् जस्ता अर्थशास्त्रीसँग भेटेर कुरा गर्दा हिजोका पुँजीवादी र साम्यवादी बाटोको कुरा गरिन्थ्यो, ती दुवै बाटोको अपूर्णता र अहिले बजार र राज्य दुवैको उचित संयोजनसहितको विकास नीति आवश्यक छ । नयाँ शक्ति निर्माण अभियानको बेला पनि मलाई जे लागेको थियो, उहाँहरुसँग छलफल गर्दा पनि हाम्रो सोच मुलभूतरुपमा सही रहेको भन्ने मलाई अनुभूति भयो ।

बजारलाई सबैकुरा छाडिदिने पुँजीवादी बाटो र राज्यलाई नै सबैकुरा छाडीदिने साम्यवादी बाटो, यी दुवै बाटोबाट २१औं शताब्दीमा सबैका लागि विकास र समृद्धि सम्भव हुँदैन । खासगरी एमआइटी र हार्वाड विश्वविश्वालयका चिन्तकहरुसँग जस्तै, ह्वाई नेशन फेल्स्का लेखक ड्यारन एसीम्याग्लु र पछिल्लो मानवशास्त्र र मनोविज्ञानका वेत्ता स्टिफन पिंकरलगायतका चिन्तकहरुसँग कुरा गर्दा २१औं शताब्दीमा विकासको एउटा नयाँ मोडल खोज्न आवश्यक छ र हिजोको पुँजीवाद र साम्यवादभन्दा माथि उठेर विचारकै विकास पनि गर्न आवश्यक छ भन्ने हामीलाई लागेको यी कुराहरु उहाँहरुसँग छलफल गर्दा अझ गहिरोसँग महत्वबोध भयो । त्यस दिशामा अगाडि बढ्नका निम्ति थप मनोबल र आत्मबल बढेको अनुभूति भइरहेको छ । किनकी आफ्नो जुन सोच थियो, त्यसलाई वैज्ञानिक चिन्तकहरुले पनि आड दिँदा अगाडि बढ्न बाटो खुल्छ । त्यसअर्थमा, हाम्रो भ्रमण उपयोगी भएको मैले ठानेको छु ।

(बुधबार एक महिना लामो अमेरिका भ्रमणबाट फर्किएका डा. भट्टराईसँग विमानस्थलमा भएको संक्षिप्त कुराकानीमा आधारित)

The post ‘मैले अमेरिकामा के सिकेँ ?’ बाबुरामको अमेरिका अनुभूति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles