मुलुकको राजनीतिक इतिहासमा डा. बाबुराम भट्टराईको फरक छवि छ । उनी नेपाली राजनीतिको इतिहासमा एउटा ‘एन्टी-करेन्ट’को रुपमा स्थापित हुँदै आएका छन् । दुर्गम गाउँको विद्यालयबाट प्रवेशिका परीक्षामा बोर्ड फस्ट भएर नयाँ सन्देश दिएका उनले व्यक्तिगत हजार सम्भावना त्यागेर राजनीतिक परिवर्तनको जोखिमयुक्त बाटो रोजे । यतिसम्मकी जनयुद्धको नेतृत्व गर्ने स्थानमा आफूलाई उभ्याए ।
जनयुद्ध एउटा उत्कर्षमा पुग्दैगर्दा उनले संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्रको बाटो देखाए । उनले देखाएको बाटो सुरुमा उनकै पार्टी अध्यक्ष प्रचण्डलाई सह्य भएन र विभिन्न आरोपसहित आन्तरिक जेलमा राखे । तर, बाबुरामले आफ्नो बाटोमा सम्झौता गरेनन् । अन्ततः यो लाइन माओवादीको लाइन भयो । तर, माओवादीभित्रै यो एजेन्डा सबैले मनैदेखि स्वीकारेका थिएनन् । पहिलो संविधानसभाको निर्वाचनपछि सरकारको नेतृत्व गरेको माओवादीले पालुङटारबाट विद्रोहमा जाने निर्णय गरेर काठमाडौंमा असफल सत्ता कब्जाको रिहर्सल गर्नु यसैको उदाहरण हो । तर, अल्पमतमा परे पनि बाबुरामले नोट अफ डिसेन्ट लेखेर शान्ति र संविधानको पक्षमा आफ्नो अभिमत पालुङटारमा राखेका थिए ।
पछि जस्तोसुकै सम्झौता गरेर भएपनि एक थान संविधान बनाउने ठाउँमा माओवादी उभियो । कल्पना गरौं, पालुङटार प्लेनमबाट माओवादीले शान्ति र संविधान निर्माणको पक्षमा निर्णय गरेको भए हामी अहिले कहाँ हुनेथियौं होला ?
दोस्रो संविधानसभाबाट संविधान जारी गर्नुअघि उनले अथाह मेहनत गरे र संविधान निर्माणको नेतृत्व गरे । उनले मधेसलगायत असन्तुष्टहरुको माग सम्बोधन गर्न आह्वान गरेनन् । त्यतिबेला रुमानी राष्ट्रवाद र मधेसवादको कुरा गर्ने अतिवादीहरु क्रमशः ओली नेतृत्वको एमाले समूह र मधेसवादी दलहरु अडानबाट पछि हटिसकेका छन् । केही अतिवादी नेताहरुको हठ र प्रतिगामी सोचका कारण मुलुकले केही सयौं नागरिक गुमायो र नाकाबन्दी समेत व्यहोर्नु पर्यो ।
आज प्रचण्ड नयाँ पार्टीको दस्तावेजमा एउटा शब्द ‘जनयुद्ध’ लेखिदेऊ भनेर केपी ओलीलाई बिन्तीपत्र हालिरहेका छन् । बाबुरामले नयाँ शक्तिको दस्तावेजमा जनयुद्धप्रति गर्व गर्दै यसको निरन्तरताको रुपमा वैकल्पिक शक्तिको नारा दिएका छन् ।
जतिबेला बाबुरामले समृद्धिको नारा लगाउँदै ४ दशक रगत र पसिना लगानी गरेको माओवादी त्यागे, त्यतिबेला उनी अल्पमतमा मात्र परेनन्, दुनियाँको खिस्युटिरीको पात्र बने । राजनीतिक उद्देश प्राप्तिको लागि गठन गरेको पार्टी अब समृद्धिको लागि काम छैन । कि पुरानै पार्टी नयाँ आधारमा जगैदेखि नयाँ बनाउनुपर्छ, कि पूरै नयाँ पार्टी बनाउनुपर्छ भने । आज कांग्रेसमा जगैदेखि नयाँ कांग्रेस बनाउने नारा लागिरहेको छ । गगन थापालगायतका युवाहरुले ५१ बुँदे दस्तावेज नै पेश गरेका छन् । एमाले र माओवादी विघटन गरेर नयाँ पार्टी बनाउने छलफलमा छन् । साझा विवेकशील भन्ने पार्टी बनेको छ ।
हिजो बाबुरामलाई माओवादी छाड्यो, जनयुद्धलाई धोका दियो भन्ने माओवादीका नेताहरुको अवस्था हामीले देखे बुझेकै छौं । आज प्रचण्ड नयाँ पार्टीको दस्तावेजमा एउटा शब्द ‘जनयुद्ध’ लेखिदेऊ भनेर केपी ओलीलाई बिन्तीपत्र हालिरहेका छन् । बाबुरामले नयाँ शक्तिको दस्तावेजमा जनयुद्धप्रति गर्व गर्दै यसको निरन्तरताको रुपमा वैकल्पिक शक्तिको नारा दिएका छन् । अन्ततः खिस्युटिरीका पात्र बनेका बाबुरामकै बाटोमा दलहरु हिंडिरहेका छन् । कमल थापाले पनि समृद्धिको नारा लगाउन थालेका छन् । केपी ओलीले बाबुरामको पाँच ‘स’को व्याखा गरिरहेका छन् । दलहरु मात्र होइन, देश नै बाबुरामको बाटोमा हिंडिरहेको छ ।
एउटा श्रृंखलामा हेर्ने हो भने बाबुरामले लिएका निर्णयहरुको बाटोमा नै देश हिंडेका छन् । अरु नेताहरु पछि लागिरहेका छन् । तर, नेतृत्व भने बाबुरामको छैन । उनी अहिले संसदभित्र फरक विचार बोक्ने ‘ब्याक बेञ्चर’को हैसियतमा छन् । गहिरोगरी हेर्ने हो भने नयाँ एजेन्डा ल्याउँदा बाबुराम सुरुमा सधैं ब्याकबेञ्चमै थिए । लोकतान्त्रिक गणतन्त्रको नारा ल्याउँदा माओवादीको ब्याक बेञ्च मात्र होइन, प्रचण्डको हिरासतमा रहे र पार्टी सदस्य समेत गुमाए । पालुङटारमा शान्ति र संविधान भन्दा अल्पमतमा परे । समृद्धिको नारा लगाउँदा उनी अल्पमतमा परे । पुरानो पार्टीहरु विघटन गरेर नयाँ बनाउने नारा लगाउँदा अल्पमतमा परे । तर अन्ततः सबै त्यही बाटोमा हिड्न विवश छन् जुन बाटो सुरुमा बाबुरामले देखाउँछन् ।

बाबुराम दार्शनिक सोफेन्आवरले भनेजस्तै सत्यका अन्वेषक हुन् र उनको सुरुमा विरोध हुन्छ, त्यसपछि शक्तिशालीरुपमा विरुद्धमा लागिन्छ र अन्ततः स्वयम्सिद्ध सत्यको रुपमा स्वीकार गरिन्छ । बिप्पाको विरोध गर्नेहरु विदेशी पुँजी ल्याउन कोकोहोलो गरिरहेका छन् । राष्ट्रवादको नारा दिएर जनता झुक्याउनेहरु कसरी मोदीको शरणमा आत्मसमर्पण गरे ? समयले बिस्तारै पर्दाहरु उठाउँदै गइरहेको छ । चीन भ्रमण स्थगित गरेर मोदीलाई माला लगाउनेहरुको अनुहारबाट कसरी राष्ट्रवादका धुमिला धर्काहरु मेटिँदैछन्, केही भ्रममा परेका नागरिकले बिस्तारै थाहा पाउँदै गएका छन् ।
यी श्रृंखलाहरु हेर्दा बाबुराम एन्टी करेन्ट नै हुन् । उनी आफैं भन्छन्- पानी बगेतिर त मरेको माछा पनि जान सक्छ, जिउँदो माछा त्यो हो जो पानीको उल्टो प्रवाहमा तैरिन्छ । उनी जीवनमा यस्तै गर्छन् । उनले बिरामी भएको बेला स्वदेशकै एक सामान्य अस्पतालमा उपचार गरे । पछिल्लो समय उनले पूर्वप्रधानमन्त्रीको रुपमा पाएको सुरक्षाकर्मी कटौती गरे । उनको यो कदम अहिले चर्चामा छैन । तर जब नागरिकले जनताको नेताको पगरी गुथेर राज्यकोष रित्याउँदै सुरक्षाकर्मीको दुरुपयोग गर्नेहरुको रुप देख्नेछन्, त्यतिबेला कुरा बुझ्नेछन् ।
अहिले थुप्रै नेताहरू जनताबाटै असुरक्षाको महसुस गर्छन् । आखिर किन ? हिजो जनताको सुरक्षा घेरामा राजनीति गरेका नेताहरु आज तिनै जनताबाट असुरक्षाको महसुस गरिरहेका छन्, किन ?
बाबुरामको हरेक अभ्यासहरु सुरुमा विवादमा पर्छन् । नेता भनेको अग्रचेतना हो । नेताको चेतना सबैले बुझ्छन् भन्ने होइन । तर, अन्ततः त्यही सत्यको रुपमा स्थापित हुन्छ । अन्ततः नतिजाले देखाउने बाबुरामको छवि ऐतिहासिक र मर्यादित प्रमाणित हुँदै आएको छ । जब मुलुकले संकटको महसुस गर्छ, नागरिकहरू नयाँ निकास खोजिरहेका हुन्छन्, त्यतिबेला बाबुराम संकटमोचनका लागि नयाँ बाटो रोज्ने गर्छन् । नयाँ प्राप्तिको संघर्ष यात्रामा सुरुमा धेरैले साथ दिँदैनन् । जतिबेला धेरै मानिसले कुरा बुझ्छन्, त्यतिबेला समय धेरै बितिसकेको हुन्छ, मुलुकले धेरै क्षति व्यहोरिसकेको हुन्छ ।
अस्थिर राजनीतिक व्यवस्थाका कारण १० वर्षमा १० प्रधानमन्त्री जन्मिएका छन् । हरेक प्रधानमन्त्री गरिब देशका धनी राजाका रुपमा राज्यकोषबाट सेवासुविधा लिन्छन् । उनले बिस्तारै यो आडम्बरबाट आफूलाई मुक्त गर्दै लगेका छन् । उनका पछिल्ला निर्णयहरुले उनको मष्तिष्कमा के छ भन्ने कुरा देखाउँछ । नयाँ वर्ष २०७५ लाई लक्षित गरी उनले सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता गरे । निरन्तर त्याग र अभावमाथि अभावबाट विचलित नभएर भिडभन्दा सत्यको बाटोमा एक्लै पनि हिड्न सक्नु उनको विवेशषता नै बनेको छ । के अन्य नेताहरुले उनीबाट सिक्न सक्छन् ? जनताको दबावबाट छोड्नु र आफैंले बुझेर छोड्नुले नेताहरुको निश्चित स्तरको प्रतिनिधित्व गर्दछ ।
जनतामाथि विश्वास गर्ने नेता कहिले पनि जनताबाट असुरक्षाको महसुस गर्न सक्दैन् । जसले जनतामाथि घात गरेको हुन्छ त्यहि मान्छे जनताबाट असुरक्षाको महसुस गर्छन् । मुलुकको राजनीतिक वृतमा फरक इतिहास भएको डा. बाबुराम भट्टराईको जनतासँगको सम्बन्ध र पहिचान अरू नेताभन्दा फरक छ । सबैखाले नागरिकसँग सम्मानजनक सम्बन्ध र व्यवहार कायम राख्न सक्नु उनको पहिचान र कर्तव्य नै बनेको छ । उनी मुलुकको प्रधानमन्त्री हुँदा पनि महिनामा एक दिन दलित मुसहरलगायत विपन्न नागरिकका बस्तीमा जान्थे र सामान्य नागरिकको जीवनसँग साक्षात गर्थे । अहिले थुप्रै नेताहरू जनताबाटै असुरक्षाको महसुस गर्छन् । आखिर किन ? हिजो जनताको सुरक्षा घेरामा राजनीति गरेका नेताहरु आज तिनै जनताबाट असुरक्षाको महसुस गरिरहेका छन्, किन ?
जनताको मुक्तिको नारा दिएका नेताहरुको वर्ग उत्थान भएको छ । जनताको मालिक बनेका छन् । आलिसान महल बनाएका छन् । वर्गउत्थानले जनतासँग दूरी बनाएको छ । त्यसर्थ, जनताको मनमा ठूला भनिने नेताविरुद्ध घृणा हुर्किएको छ । त्यसको उपचार सुरक्षाकर्मीको घेरा बढाउनु हो कि आफ्नो जीवनशैली र सोचमा रुपान्तरण ल्याउनु हो ? बाबुरामले दोस्रो बाटो रोजेका छन् ।
सुरक्षा जनतासँग गरेको वाचा पूरा गरेर हुन्छ । जनतालाई धोका दिएर होइन, विश्वास गरेर हुन्छ । जनताबाटै असुरक्षाको महसुस गर्नुपर्ने दिन भनेको कुनै पनि नेताहरुका लागि लोकतन्त्रमा लज्जास्पद दिन हो ।
बाबुरामले वैचारिकरुपमा संकटग्रस्त विश्वका लागि नयाँ विचार दिने प्रण गरेका छन् । झट्ट हेर्दा यो महत्वाकांक्षी देखिन्छ । हामी नेपाली सन्दर्भकै कुरा गरौं । उनले पाँच ‘स’को रुपमा आफ्ना विचार अगाडि ल्याएका छन् । विकास र समृद्धिको पूर्वशर्तका रुपमा समावेशिता र सहभागितामुलक लोकतन्त्रको कुरा गरेका छन् । प्रगतिशील राष्ट्रवादको कुरा गरेका छन् । उनले राज्य समाजवाद र पुँजीवादको असफलताबाट सिक्दै र ज्ञान र विज्ञान विकासको समुच्चताको संश्लेषण गर्ने दिशामा आफूलाई मुखरित गरेका छन् । यी कुरा सुरुमा सामान्य बहसको विषय बन्न सक्छ, तर बिस्तारै आम मानिसले स्वीकार्ने सत्य बन्दै जान्छ । बाबुरामको विगतले पनि यही कुरा स्वीकार्न हामीलाई सघाउँछ ।
हिजो मार्क्सवादी बन्न ‘बन्दुकको नालमा टिकेको राज्यसता बन्दुककै नालबाट समाप्त हुन्छ’ भन्ने भनाईलाई मेरुदण्ड मान्नेहरु थिए । बाबुराम अहिले पनि द्वन्दात्मक भौतिकवादको समृद्धिकरणकै पक्षमा छन् । उनी यसलाई नयाँ, परिवर्तनशील र युगसापेक्ष विचारको रुपमा संश्लेषण गर्नुपर्ने आवश्यकतामाथि जोड दिइरहेका छन् । केही यथास्थितिवादी र जडसुत्रवादीहरु यसलाई विचलन देखिरहेका छन् भने कतिले यो नयाँ यथार्थलाई बुझ्ने चेष्टा नै गर्न सकेका छैनन् । बाबुरामले वर्ग बिर्सियो भन्ने आरोप पनि यसैको प्रतिफल हो । पाँच ‘स’को प्राथमिकता समानहरुको समान प्रतिष्पर्धा हो । यसले वर्गीय मुक्तिलाई प्राथमिकतामा राखेको छ ।
केही नेताहरु रातारात धनी हुने र जनता गरिबीको दुष्चक्रमा फसिरहने व्यवस्थाका पक्षपातीहरुले वर्गको कुरा गर्दा केवल मजाकजस्तो लाग्छ । केपी र प्रचण्डहरुको जीवनशैलीले कुन वर्गको प्रतिनिधित्व गर्छ ? वा अन्य स्वनामधन्य नेताहरुको जीवनशैलीबाट ? राजनीतिको मक्सद मानवताको सेवा गर्नु हो । यसमा बाबुराम खरो उत्रिरहेका छन् । सुरुमा गलत भनेर पुष्टि गर्न खोज्नेहरु अन्ततः आफैं गलत पुष्टि हुँदै आइरहेका छन् । आशा गरौं, समृद्धिकरणको युगमा रणनीतिक सिफ्ट हुन लागिरहेको नेपाली समाजको आगामी बाटोबारे बाबुरामले संकेत गरेका कुराहरु पनि विगतमा जस्तै सत्य सावित हुनेछन् । यो मुलुककै हितमा छ । नागरिकको हितमा छ ।
The post के बाबुरामले गल्ती गरिरहेका छन् ? appeared first on Sajha Post.