‘नेपालका विश्वविद्यालयमा ग्रामीण विकास र विकास अध्ययन पढाउने विकास विद् प्रा. डा. फलाना गुर्जुहरू टिभी रेडियो अन्तर्वार्तामा म राजनीतिको कुरा गर्दिनँ, विकासको कुरा गर्छु भन्छन् । अनि देउवाले यसो गर्नुपर्थ्यो, पर्छ; प्रचण्डले यसो गर्नुपर्थ्यो, पर्छ; ओलीले यसो यसो गर्नुपर्थ्यो, पर्छ भन्छन् । उनीहरू आफूले के गर्नुपर्थ्यो, पर्छ भन्दैनन् ।
नेपालका विश्वविद्यालयहरूमा ग्रामीण विकास (रुरल डिभलपमेन्ट) पठनपाठन हुन थालेपछि गाउँमा जमिन बाँझो रहन थाल्यो । गाउँका ८०० गुना बढी युवा मजदुरी गर्न बिदेसिन थाले । विकास अध्ययन (डिभलपमेन्ट स्टडिज) पठनपाठन हुन थालेपछि निर्यात घटेर कुल गार्हस्थ्य उत्पादनको ८ प्रतिशतमा झर्यो । आयात बढेर ९२ प्रतिशत पुग्यो । सरकारी प्रशासनिक खर्च १४ प्रतिशतबाट बढेर ३६ प्रतिशत पुग्यो । जनताको खुन पसिना उठाएर, उद्योगधन्दा बेचेर सरकारले खर्च गरेको देशको कुल बजेटको ४२ प्रतिशत रकम बेरुजु निस्किन्छ । यो सरकारको फुर्माइस खर्च होइन भनेर प्रमाणित गर्ने आधार न सरकारले दिन्छ, न विकासविद्ले । चिया पसलमा दुनियाँले गरेको गफभन्दा गएगुज्रेको विकासविद्को विकास अन्तर्वार्ता सुन्दा आँखा बिझाउँछ, कान चिलाउँछ, पारो चढ्छ । यो हबिगत हेर्दा सुन्दा नेपाल देशको नियतिमाथि दया लाग्छ र कहिलेकाहीँ त जरोकिलो नेपालमै भएको मौलिक राजनीति गर्न थालौँ जस्तो पनि लाग्छ । तपाईँलाई कस्तो लाग्छ ?’
यसो भनेर डा. लक्ष्मीप्रसाद खतिवडाले उहाँकै मुहारकिताबको भित्तामा तेर्स्याउनुभएको प्रश्नबाट म विषय घोत्लँदै थिएँ । टिप्पणी गरौँ भन्दै थिएँ दुइटा प्रतिक्रिया आइहाले । चन्द्र त्रिपाठीको प्रतिक्रिया थियो- ‘बिल्कूल ठीक । नेपालमै जरोकिलो रहेको राजनीति भनेको ‘महेन्द्रवाद’ हो । त्यसैलाई पुनस्स्थापना गर्नसके मात्र नेपाल र नेपालीको कल्याण हुनेछ’ । उहाँको पोतो सुकेकै थिएन, कृष्णशङ्कर घिमिरेको पुनर्प्रतिक्रिया देखियो ‘महेन्द्रवाद पनि एकपक्षीय भएको हो । उनले खस बाहुल्य भएको ‘राष्ट्रराज्य’ निर्देशित शासन गरेका थिए । उत्पादन बढाउने नाममा काठमाडौंका रैथाने जनताको गुठी खोसेर नेवार संस्कृति मास्नमा उनको ठूलो योगदान रहेको छ यद्यपि राजनीतिक रूपले त्यतिबेला उनले त्यो कदम नचालेका भए राष्ट्रको अस्तित्व रहने थिएन भन्ने तर्क पनि गरिन्छ । तर उनको ‘वाद’ एकाङ्गी थियो’ ।
केही समयअगाडि मैले एउटा लेखमा भनेको थिएँ- ‘हामीले हाम्रा मौलिक पहिचान माथि औपनिवेशिकताको छार्काले रोपेका विषाक्त बिजनहरू अब पहिचान गर्नैपर्छ । औपनिवेशिक ऐँजेरु संस्कृतिमा लागेको अर्बुद रोग हो र यसले संस्कृतिको मौलिकतालाई सर्लक्क ननिलीकन त्यसै छाड्दैन । हामी बाँच्ने र मौलिकता बचाउने हो भने भाषा, पहिरन, सांस्कृतिक अभ्यासउपर पलाउँदै गएका औपनिवेशिक ऐँजेरु चिन्नु र उखल्नु अनि खुर्कनै पर्छ’ । खतिवडाज्यूको लेखाइलाई मैले सजिलै बुझ्नमा यो दृष्टिसाम्यताले पनि काम गरेको हुन सक्छ ।
नेपालमा कुनै पनि काम रैथाने स्रोत र सामर्थ्यमा गरौँ भन्ने मानिसले ‘महेन्द्रवादी’ उपाधि पाइहाल्छ । हामी मौलिकतालाई पाखेपन, असभ्यता, जडवाद, रूढीवाद, अविकास, पछौटेपनामा समीकरण गरिरहेका छौँ । बतासे उडन्ते र हावादारी स्वैरकल्पनाको समृद्धितिर हाम्रो विश्वास गज्जबसँग स्थापित हुँदैछ । नभए खतिवडाज्यूको प्रस्तुतिलाई महेन्द्रपथको धङधङे नदेखिँदो हो नि, हैन र ?
भारतले नाकाबन्दी लगाउँदा साइकल चढ्ने, हिँडेरै जाने, दाउरा बालेर गुजारा गर्ने हामी नेपालीमध्येकै कतिले त्यसपछि गाडी, मोटरसाइकल किनेर काठमाडौँलगायत मुलुकका सहरी क्षेत्रमा सवारीको भीडभाडलाई तीब्र बनायौँ । अहिले विकासका नाममा गाउँगाउँमा बाटो खनिँदैछ त्यो नेपालमै उत्पादन हुने र विद्युत ऊर्जाले चल्ने साधन चलाउन कि विदेशमा बनेका डिजेल पेट्रोलबाट चल्ने गाडीका लागि? देशको उत्पादनलाई देशभित्र र बाहिरको बजारमा लैजानका लागि कि सजिलो गरी कोकाकोला, पेप्सी, चाउचाउ र अन्य विदेशी पत्रु खानेकुराका पोका गाउँगाउँमा लगेर नवउपभोगवादी औपनिवेशिक खानपान समृद्धि हासिल गर्नका लागि ?
मनोरेल र मेट्रो रेलका कुरा गर्नेले सायद काठमाडौँका चक्रपथ र सहरका भित्री भागमा चल्ने सार्वजनिक सवारी साधनमा यात्रा गर्नुपर्दैन । त्यसैले त उनीहरू तिनको स्वैरकल्प भविष्यप्रति विश्वस्त छन् । माइक्रोबसमा यात्रा गरेमा त एउटा सर्वसत्तावादी शासन कस्तो होला भन्ने कुराको अनुभव बटुलेर सार्वजनिक सवारी प्रणाली बदल्नमा तिनको ध्यान गइहाल्थ्यो होला नि ? मेरा सहयात्रीहरूले माइक्रोबसमा रामदेवले गर्ने वा सैनिक अभ्यासमा गरिने कमान्डोभन्दा चर्को खालको कठोर अभ्यासले पक्कै कुनै रैथाने सोच उत्पादन गर्दो हो ।
हामी अझै पनि नक्कललाई नै विकास ठानेर विकसित बन्ने धुनमा मस्त छौँ । मौलिक, रैथाने वा जरुवा विकास भनेको पाखेपन, असभ्यता, जडवाद, रूढीवाद, अविकास, पछौटेपनालाई निरन्तरता दिनु हुँदै होइन तर कसैले मौलिक विकासको कुरा उठायो भने किन हामीलाई त्यसमा पुनरुत्थान वा प्रतिगमन देखिहाल्छौँ ? बुझिसक्नु छैन ।
वास्तवमा विकासलाई नक्कलबाट छुट्याउने भनेकै मौलिकताले हो । मौलिक रूपले उठान हुने कुनै पनि कुराको धरातल त्यही ठाउँको हुन्छ, रैथाने हुन्छ । समृद्धि भनेको उत्पादन र सेवा दुवै क्षेत्रको गुणात्मक उन्नयन हो । नेपालको समृद्धिका लागि नेपाली मौलिक उत्पादन र सेवाक्षेत्रको वैज्ञानिक स्तरोन्नति अत्यावश्यक छ । मौलिक रहनका लागि विदेशी प्रविधिको अनुकरण नै गर्नु हुँदैन वा कुनै बाहिरी ज्ञान र प्रविधि ल्याउनै नहुने कुरा होइन तर उत्पादन र सेवा दुवै क्षेत्रमा नेपाली मौलिकताले त्यसको आधारभूमिको काम गर्नुपर्छ । यसमा हामी धेरै पछाडि धकेलिँदै गएका छौँ ।
माछालाई पौडिन सिकाउनुपर्दैन र वनको काँडालाई तिखार्नु पर्दैन भन्ने उखानलाई हामीले कहिलेकाँही मौलिकता वा जरुवा विकासको दृष्टान्त बनाउने गरेकाले मौलिकताको कुरा गर्नुलाई यथास्थितिवादी सोचको उत्पादनका रूपमा हेरिने गर्छ । तर मौलिकता त्यस्तो कुरा होइन । मौलिक विकास भनेको उद्विकास (इभोलुसन) का रूपमा गरिने दिगो विकासको अवधारणा हो । उत्पादन र सेवाका आधारभूत पूर्वाधार तथा साधन (भौतिक साधान र कच्चा पदार्थ), जनशक्ति र प्रविधि तीनै पक्षमा मौलिकता र आयातितता केकति हुन्छ जाँच्न सकिन्छ ?
आजको विश्वबजारमा यो चाहिँ नेपाली उत्पादन, यो चाहिँ नेपाली प्रविधि, यो चाहिँ नेपाली पद्धति भन्ने चिज हामीले देखाउन सकेका छौँ ? छौँ भने नेपालमा मौलिक विकासको पहिचान छ नभए छैन । नेपालका मौलिक स्रोतसाधनको सर्वोत्तम प्रयोग गर्न सक्ने नेपाली सामथ्र्य नै नेपालको मौलिकताको परिचायक हो । चिउरा, गुन्द्रुक, सखर, कुराउनी, घिउजस्ता नेपाली उत्पादनको पुनरुन्नयन, नेपाली भाषामै ज्ञानविस्तार, आयुर्वेद र एलोपेथिक चिकित्साको समिश्रित नेपाली चिकित्सा प्रणाली, नेपाली प्रविधिको पहिचानको पुनःस्थापना र पुनप्रतिष्ठापनबाट मात्र मौलिक विकास सम्भव हुन्छ ।
विश्वविद्यालयका नाममा विदेशी कुरा पढाएर र मौलिक वा जरुवा कुरामा जोड दिनुपर्छ भन्ने आवाज उठाउने बित्तिकै त्यसलाई महेन्द्रपन्थी भनेर नामकरण गरेर हामीले सन्सारसँग प्रतिस्पर्धी फड्को मार्न कठिन छ । हाम्रो समृद्धिको सपना ईश्वरको वरदानले कि विदेशीको दानले साकार पार्ने ? कि हाम्रै जरुवा प्रयासले साकार पार्नुपर्ने हो ?
The post समृद्धिको सपना साकार पार्ने वरदानले कि दानले ? appeared first on Sajha Post.