Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नेपाल र नेपाली केमा गौरव गर्दैछन् ?

$
0
0

वर्तमान नेपाली समाजमा नेपाली मौलिक भाषा, खानपिन, भेषभूषाप्रति विमोह, उपेक्षा र घृणाका आवेग अनेक रूपले प्रकट हुने गरेका छन् । विद्यालयको शिक्षामा अंग्रेजी माध्यमको हाईहाई, पारिवारिक विखण्डन, विदेशमोह विश्वउपभोक्ताको होडबाजी यसका उदाहरण हुन् । यी सबै त औपनिवेशीकृत मनोविज्ञान र आकाङ्क्षाका उपज हुन् । हामी दिनानुदिन पराधीन बनेका बन्यै छौँ । र यस्तो भासमा जाकिँदै छौँ, उम्कने उपाय निकाल्न निकै कठिन छ ।

समाज वा राज्यमाथि परचक्री राज्य वा त्यसको शक्तिसमूहको राजनीतिक नियन्त्रणलाई सोझो अर्थमा उपनिवेश भनिन्छ । परचक्रीको त्यस्तो प्रत्यक्ष शासन वा नियन्त्रणमा गुज्रनु नपरेकोले नेपाललाई औपनिवेशिकतामुक्त स्वतन्त्र राज्य भनिने गर्छ । उपनिवेशबाट स्वतन्त्र भएका मुलुक स्वतन्त्रता दिवस मनाएर गर्व गर्छन् भने स्वतन्त्र मुलुक तिनको राष्ट्रिय एकता, मौलिक संस्कृति, सामाजिक मेल र सांस्कृतिक सामाञ्जस्यमा गर्व गर्छन् । नेपाल र नेपाली केमा गौरव गर्दैछन् ? यो प्रश्नको उत्तरमै हामी कहाँ उभिएका छौँ भन्ने एकिन हुन्छ ।

रविन्द्र भट्टराई

प्रत्यक्षता र औपचारिकताको अनुपस्थितिमा भइरहने शक्ति वा आर्थिक प्रभावको निरन्तर अभ्यासलाई चाहिँ नवउपनिवेशवादले चिनाउँछ । उपनिवेशवाद वा नवउपनिवेशवाद जे भए पनि यसमा शक्ति उपनिवेश बनाउने पक्षको एकाधिकार हुन्छ र उपनिविष्ट राज्य वा समाजचाहिँ अधीनस्थ हुन्छ । पहिले मानिसै गएर कब्जा जमाउँदा उपनिवेश बन्ने मानिन्थ्यो तर अब औपनिवेशिकता कायम गर्न मानिसको समूह नै गएर ठाउँ कब्जा गरिराख्नुपर्दैन । उपनिवेशले एक जातिमाथि अर्को जातिको, एक संस्कृतिमाथि अर्को संस्कृतिको एक सामाजिक मूल्यमाथि अर्को सामाजिक मूल्य लाद्दो रहेछ ।

छिमेकी मुलुकहरूमा भएको साबिकका औपनिवेशिक शासनअभ्यासका छर्का साना र स्वतन्त्र मुलुकमा मजाले पर्ने रहेछ । नेपाल त्यसको ज्वलन्त उदाहरण हो । औपनिवेशीकृत समाज क्रमशः स्वत्वहीन, औचित्यहीन र अर्थहीन बन्दै जाँदो रहेछ । जुन कुरा अन्त्यतः विसङ्गतिका रूपमा परिभाषित हुन्छ र चिर्न नसक्ने हालतमा पनि पुग्छ । उपनिवेशका सांस्कृतिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक प्रभाव र तुसहरू प्रभावित स्वतन्त्र राष्ट्र वा समाजका लागि खतरा विष बन्दा रहेछन् । हामी नेपाली पनि अहिले त्यही औपनिवेशिकताको गरलपानले लठ्ठिएका छौँ ।

गम्भीर भएर हेर्ने हो भने नेपालले चार पटक औपनिवेशिक छार्को बेहोरेको देखिन्छ-

घोडा चढेर आएको उपनिवेश
सम्भवतः पहिलो उपनिवेश घोडा चढेर आएको थियो । मेसेडोनियाका सिकन्दरले इस्वीपूर्व ३५० छेक तत्कालीन तक्षशीला विश्वविद्यालयलाई ध्वस्त पार्दै तत्काल प्रचलित पोन तथा शैव संस्कृतिका अनुयायीलाई केकति बदले अद्यापि खोजकै विषय होला । तथापि त्यसबेलाको औपनिवेशिक छार्को नेपालसम्म परेकै थियो होला ।

बारुद र तोप लिएर आएको उपनिवेश
दोस्रो, बारुद र तोप लिएर आएको थियो । मुगलहरूको भारतमा भएको औपनिवेशिक शासनको छार्को हो । यसले नेपालको न्यायप्रणालीमा केही सकारात्मक कुरा दिएको भए पनि त्यसले त नेपाली सनातनी पोन, शैवी, किराती संस्कृतिलाई परिवर्तित गरिदियो । अहिले नेपाली नारीका चुरापोते मुगल शासनको छार्कोका रूपमा नेपाली भूमिमा भित्रिएका विषयका उदाहरण छँदैछन् । यद्यपि नेपालको कानुनी इतिहास र संस्कृतिमा परेको त्यो औपनिवेशिक प्रभावको लेखाजोखा इतिहासकारहरूबाट हुन सकेको छैन । तथापि, यसले घोडा कुट्न प्रयोग हुने कोर्राले मानिसलाई सजाय दिने परिपाटी नेपालमा ल्याइपुर्‍याएकै हो ।

पानीजहाज चढेर पसेको उपनिवेश
तेस्रो पानीजहाज चढेर पसेको उपनिवेशको छार्को थियो । पोर्चुगिज भास्को डी गामा पन्ध्रौं शताब्दीमा कोलकोतामा आएसँगै भित्रिएको यो औपनिवेशिक प्रवाहले भारतमा फिरङ्गी राज्य नै स्थापित गरायो । त्यसको प्रभाव नेपालका मौलिक भाषामाथि फिरङ्गी भाषाको हाईहाई हो । यो यति बलबान् हुँदै गयो अहिलेका हाम्रा थुप्रै बर्बरता त्यतैबाट आयात भए । राणाहरूले राजनीतिक बन्दीलाई सिक्रीले बाँध्ने र गोलघरमा राख्ने त्यही आयातको एक नमुना हो । गोलघर अद्यापि तिनै फिरङ्गीलाई राख्न पनि प्रयोग भइराखेकै छ ।

हवाईजहाज चढेर आएको उपनिवेश
चौथो उपनिवेशचाहिँ हवाईजहाज चढेर आयो २००७ सालसँगै । अंग्रेजी मूल्य, मान्यता र शिक्षा पद्धतिको हामीले अन्धानुकरण गर्ने सिलसिला त्यही हो । शिक्षालाई हामीले पूरा अंग्रेजी मात्र बनाएनौँ । जेजस क्राइस्टको चिह्नारीसहितको सुट पहिरिएर हामी सभ्य भएको अनुभूति गर्न थाल्यौँ । घलेख, हाकुपटासी, घरबुना खाँडी हाम्रा लागि असभ्य पोसाक बने । दियो बालेर अष्ट चिरञ्जीवीको पूजा गर्नेहरू बालेको मैनबत्ती निभाएर बर्थ डे पो मनाउन थाल्यौँ ।

हवाईजहाज चढेर आएको औपनिवेशिक छार्कोका अनेक प्रभावले हाम्रो संस्कृति अब पूरै बिटुलिएको छ । छोराछोरी सतासी अठासी र उनासी कुन ठूलो भनेर सोधे उनासी नै ठूलो भन्ने भएका छन् । मेरो छोराछोरी नेपाली, नेवारी, मैथिली, गुरुङ, लिम्बू, राई र मगर भाषा बोल्न जान्दैनन् भनेर छाती फूलाउन थालेका छौँ । हाम्री सुम्निमा र बुढीबजू हराउँदै गए र त्यहाँ क्रमशः इशु र मेरीको प्रार्थनाले हाम्रो ओज बढेको आभास हुँदो छ । फिरङ्गी पोसाक विद्यालय र सरकारी कार्यालयको औपचारिक पोसाक भएका छन् । नक्कल नै विकास हो भन्ने ठूलो मनोविज्ञान नै पछिल्लो औपनिवेशिक छार्काको सबैभन्दा ठूलो देन हो ।

यहाँका क्षेत्रीबाहुन वरपिप्पल रोप्छन् । त्यहाँ राई लिम्बू भारी बिसाउने चौतारो थाप्छन् । नेवार ओत लाग्ने फलैँचा बनाउँछ । बरपिप्पलसँगै उम्रिएको अर्को चिलाउनेको रूखमा तामाङ आइतबारेको थान बनाउँछ । अर्को प्रकृति पूजक परतिर अर्को यौटा ढुङ्गालाई सँगै देउराली बनाउँछ अनि अर्को बुद्धमार्गी त्यहीँ माने बनाउँछ ।

सांस्कृतिक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक उपनिवेश बडो गजबले झाँगिदो रहेछ । २००७ सालमा यो जहानिँया शासनको विरोधको आवरणमा झाँगियो । राज्य प्रणाली स्थापना गर्ने नाममा यो २०४६ सालसम्म कायम रह्यो । चालीसको दशकमा यो प्रजातन्त्रको नारामा झागिँयो । २०४६ यता अहिलेसम्म यो पहिचान र पहिचानिया स्थानको नाममा झाँगिएको झाँगियै छ । अहिले त्यो पहिचानभित्र अन्तरविरोधको नामले झाँगिएको छ । यसको स्वदेशी दूतहरू सशक्त छन् र तिनले नारा मौलिक भाषा, संस्कृति र परम्परागत अभ्यासउपर गोर्खाली एकाधिपत्य वा ब्राह्मणवादविरुद्धको नारामार्फत् नेपालका सबै मौलिक भाषा, पहिरन तथा सांस्कृतिक सम्पदाको उन्मूलनको अभियान चलाइरहेका छन् ।

मुलुक यो औपनिवेशिक मनोदशाबाट कति ग्रस्त रहन्छ ? नेपाली सांस्कृतिक सम्पदा, भाषा र पहिरनहरू कहिलेसम्ममा तिनबाट प्रतिस्थापित भइसक्छन् ? उपनिवेशकर्ताहरूको अभीष्ट कहिले पूरा हुन्छ ? र त्यो अभीष्ट पूरा गर्ने सिलसिलामा हामी नेपालीले एकआपसमै केकति क्षति बेहोर्नुपर्छ ? यी प्रश्नको सजिलो उत्तर अवश्य पनि कसैसँग छैन । तथापि, मौलिकता र स्वपहिचानका लागि मनसा, वाचा र कर्मणा सङ्कल्पित नेपालीका लागि भने यी प्रश्न मुटुमा बिझ्ने काँडा नै हुन जस्तो लाग्छ । नेपाल कहिलै फिरङ्गीको गुलाम बनेन्, हामी कहिल्यै पराधीन भएनौँ, हामीसँग हाम्रै मौलिक पहिचान छ र हामी नेपाली हौँ भन्ने कुरामा कृतसंकल्प जोकसैले अहिले यो विदेशी मनोवैज्ञानिक औपनिवेशिकताबाट नेपाल र नेपाली समाजलाई कसरी मुक्त पार्ने भन्ने कुरा सोच्नु जरुरी छ ।

नेपालको मौलिक विकासक्रमलाई हेर्दा यहाँ विभिन्न जातजातिका बीचमा युगौँदेखि सामाजिक मेल र सांस्कृतिक सामञ्जस्य रहँदै आएको देखिन्छ । उदाहरणका लागि, यहाँका क्षेत्रीबाहुन वरपिप्पल रोप्छन् । त्यहाँ राई लिम्बू भारी बिसाउने चौतारो थाप्छन् । नेवार ओत लाग्ने फलैँचा बनाउँछ । बरपिप्पलसँगै उम्रिएको अर्को चिलाउनेको रूखमा तामाङ आइतबारेको थान बनाउँछ । अर्को प्रकृति पूजक परतिर अर्को यौटा ढुङ्गालाई सँगै देउराली बनाउँछ अनि अर्को बुद्धमार्गी त्यहीँ माने बनाउँछ । सबैले सबैलाई आदर गर्दछन् । कसैले फूल चढाउँछ त कसैले फुल, कसैले पाती चढाउँछ त कसैले अक्षता कसैले पाला बाल्छ त कसैले नेपाले धूप । के यो हाम्रो संघीय सांस्कृतिक सामाञ्जस्ययुक्त मौलिक नेपाली पहिचान होइन ?

हो भने हामीले हाम्रा मौलिक पहिचान माथि औपनिवेशिकताको छार्काले रोपेका विषाक्त बिजनहरू अब पहिचान गर्नै पर्छ । औपनिवेशिक ऐँजेरु संस्कृतिमा लागेको अर्बुद रोग हो र यसले संस्कृतिको मौलिकतालाई सर्लक्क ननिलीकन त्यसै छाड्दैन । हामी बाँच्ने र मौलिकता बचाउने हो भने भाषा, पहिरन, सांस्कृतिक अभ्यासउपर पलाउँदै गएका औपनिवेशिक ऐँजेरु चिन्नु र उखल्नु अनि खुर्कनै पर्छ ।

यसका लागि एउटा जरुवा अभियानको खाँचो छ । त्यो जरुवा अभियानले नेपाली समाजमा अन्तरजागरण ल्याउनुपर्छ । अन्तरजागरण भनेको यहाँका विभिन्न जातीय समुदायबीच आआफ्ना मौलिक पहिरन, सांकृतिक चिनारी, परम्परागत असल अभ्यासको नवअन्वेषण हो । उपादेयपूर्ण र सामयिक हुन सक्ने मानवअधिकारमैत्री रीतिथिति, रहनसहन र सांस्कृतिक अभ्यासहरूको पुनरुन्नयन, पुनर्जागरण, पुनःस्थापना र पुनर्प्रतिष्ठापन हो ।

यसका लागि पहिले पूर्वाग्रहरहित स्वजागरण आवश्यक छ । स्वजागरणले आफू को हुँ भन्नेमा स्पष्ट बनाउँछ । त्यसपछि सहजागरण उदाउँछ । आफूका ठाउँमा हामीलाई हेर्न थालिन्छ र एक जातिको संस्कृति अर्को जातिका लागि पनि प्रिय लाग्न थाल्छ । एक जातिले लगाउने परम्परागत पोसाक अर्को जातिका मानिसलाई पनि लाउँलाउँ लाग्न थाल्छ । एक आपसमा हुने त्यो स्वपहिचान र सहपहिचानको जागरणबाट हामीभित्रै अन्तरजागरण अगाडि बढ्छ । अनि हामी मौलिक नेपाली बनौंला र नेपाल कहिल्यै कसैको उपनिवेश बनेन भनेर गर्विलो स्वरले समुन्नत नेपालको अर्को सुरिलो गीत गाउन थालौँला ।

The post नेपाल र नेपाली केमा गौरव गर्दैछन् ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles