Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कस्तो शिक्षा, कस्तो राजनीति, कस्तो विद्यार्थी संगठन

$
0
0

नेपालको संविधान २०७२ को निर्माणसँगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । आज देश एउटा राजनीतिक चरण पूरा गरी आर्थिक विकास र समृद्धिको अर्को नयाँ चरणमा प्रवेश गरेको छ । तथापि विद्यमान राजनैतिक पार्टी र नेतृत्त्वसँग स्पष्ट दृष्टिकोण र इच्छाशक्ति नहुँदा समृद्ध नेपाल निर्माणको जन चाहना पूरा हुने देखिँदैन ।

राज्य र सरकारको नेतृत्त्व गरिरहेका दलहरुको चरम सत्ता स्वार्थ, भ्रष्टचार र नालायकीपनका कारण आज यो देश दक्षिण एसियाकै सबैभन्दा धेरैपटक सरकार फेरबदल हुने मुलुकको रुपमा स्थापित भई अस्थिरताको सामना भोगिरहेको छ । ९/९ महिनामा सरकार फेरबदल भइरहने, सीमित व्यक्तिहरु सरकारमा पटकपटक दोहोरिरहने जस्ता कारणले देश विकासमा अवरोध उत्पन्न भइरहेको छ । ९/९ महिनामा सरकार परिवर्तन भइरहने खेललाई रोक्नको लागि र देशमा स्थिर सरकार कायम गर्नको लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्न ढिला गर्नु हुँदैन ।

प्रेमबहादुर अर्याल

अबको विद्यार्थी आन्दोलनको चरण नयाँ युगमा प्रवेश गरेसँगै हाम्रो कार्यभारहरु पनि बदलिएको छ । अबको बदलिँदो परिवेशलाई नेतृत्त्व प्रदान गर्न र विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन समृद्ध उन्मुख शैली, संस्कार, सोँच र दृष्टिकोणसहितको नयाँ शिक्षा प्रणाली र नयाँ ढङ्गको सङ्गठनात्मक संरचना एवम् संगठन सञ्चालन गर्ने विधिको आवश्यकता छ । अनुसन्धान तथा व्यवसायमा आधारित शिक्षा, शिक्षामा आधारित कार्य योजना, कार्य योजना कार्यान्वयनका लागि समयको अधिकतम सदुपयोग गर्दै संगठनको चरित्रमा आधारभूत इमान्दारिता र कडा मेहनत नै अहिलेको आवश्यकता हो ।

अबको समय हामी बहसमा हैन, काममा र कामबाट प्राप्त हुने परिणाममा विश्वास गरौं । हामी जे बोल्छौँ त्यही गर्दैँ र समयको पालना गर्दै अगाडि बढ्न जरुरी छ । २००७ सालदेखि २०७२ सालसम्म हाम्रो झण्डै ६५ वर्ष राजनैतिक क्रान्तिका नाममा खर्च भयो । हामीले मुलतः लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता, समानुपातिकतालाई संस्थागत गर्दै नयाँ संविधान निर्माण गर्न सफल भएका छौँ । यसलाई संस्थागत गर्नु सबै नेपालीको दायित्त्व हो । यससँगै हामी नयाँ युगमा प्रवेश गरेका छौँ । यो परिवर्तनलाई संस्थागत गर्न महान जनयुद्ध, २०६२/०६३ को जन आन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायत कयौँ न्यायप्रेमी आन्दोलनमा बलिदान गर्ने ज्ञात अज्ञात सहिदप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी यात्रा आर्थिक विकास, समृद्धि र समाजवादी व्यवस्था उन्मुख नै हुनुपर्दछ । नयाँ विचार, नयाँ शक्ति र नयाँ नेतृत्त्व विना यो सम्भव देखिँदैन ।

शिक्षा आर्थिक विकास र समृद्धिको मेरुदण्ड हो । दक्ष जनशक्ति र उन्नत प्रविधि विना राष्ट्र आत्म निर्भर र विकसित बन्न सक्दैन । शिक्षा सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचको विषय बन्नुपर्दछ । नयाँ संविधानले पनि शिक्षालाई मौलिक हकका रुपमा समावेश गरेको छ । हाल नेपालको साक्षरता दर करिब ६६ प्रतिशत रहेको छ । झण्डै एक तिहाई जनसङ्ख्या अझै निरक्षर छ । शत प्रतिशत साक्षरता आजको आवश्यकता हो । सामुदायिक विद्यालयको स्तर उन्नति र गुणस्तर सुधार विना शिक्षालाई सुदृढ र व्यवस्थित बनाउन नसक्नुका साथै सबैमा शिक्षाको पहुँच पुर्‍याउन सकिँदैन । अब विश्व विद्यालय शिक्षालाई अनुसन्धानमुलक बनाउनु अनिवार्य शर्त बन्नुपर्दछ ।

आजको शिक्षा समतामुलक, आधुनिकीकरण, विकेन्द्रित र स्थानीय विविधतालाई जोड दिने हुनु पर्दछ । शिक्षा सबैका लागि र सधैका लागि हुनु पर्दछ । आजको हाम्रो शिक्षाले उत्पादन गरेको जनशक्ति न रोजगार पाउने न रोजगार सृजना गर्ने, बेरोजगार र परनिर्भर बनेको छ । शिक्षा क्षेत्रलाई अनावश्यक राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नु पर्दछ । आधारभूत शिक्षालाई स्थानीय तहमा र उच्च शिक्षालाई राष्ट्रिय नीतिभित्र रहने गरी प्रादेशिक तहमा सम्बोधन गर्नु पर्दछ । प्राविधिक र व्यवसायिक शिक्षालाई सबै प्रदेशहरुमा समावेशी ढङ्गले स्थानीय विविधता, स्रोत र साधनको उपलब्धताका आधारमा आत्मनिर्भर बनाइनु पर्दछ । एक प्रदेश एक विश्वविद्यालयको स्थापनामा विशेष जोड दिनु पर्दछ । प्रदेशको विशेषता पहिचान गरी सो को अध्ययन अध्यापनलाई व्यवस्थित गरिनु पर्दछ । खुला विश्वविद्यालयको अवधारणालाई निशर्त कार्यान्वयन गरिनु पर्दछ । अबको शिक्षाले शान्ति, न्याय, मानवअधिकार, सुशासन, विकास र समृद्धिलाई समेट्न सक्नु पर्दछ ।

एक्काइसौँ शताब्दि जनताको शताब्दि हो । समानुपातिक/समावेशी लोकतन्त्रको शताब्दि पनि हो । संसारको इतिहास साक्षि छ, राजनीतिक अधिकार प्राप्तिको आन्दोलन मुलतः हिंसात्मक र ध्वंसात्मक चरित्रको नै हुने गर्दछ । हिजोको विद्यार्थी आन्दोलनहरु शैक्षिक एजेण्डाहरुमा भन्दा राजनीतिक एजेण्डामा केन्द्रित भयो जुन स्वभाविक थियो । राजनीतिक अधिकार प्राप्तिको लागि विद्यार्थीहरुले अग्र मोर्चामा डटेर लडे, हजारौँ हजार सहिद भए । अब विगतको समीक्षा गर्दै विद्यार्थी आन्दोलन नयाँ चरित्रको हुनु जरुरी छ ।

हामी अब समस्या बनेर होइन समाधान बनेर, ध्वंस होइन निर्माण गरेर, अराजक बनेर होइन सिर्जनशील बनेर, अरुलाई होइन आफैलाई विश्वास गरेर, अबका विद्यार्थी युवाहरु उपयोग भएर होइन आफै नेतृत्त्व लिएर स्वाधीन, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको अभियानमा हातेमालो गरी अगाडी बढ्नु जरुरी छ ।

यो ऐतिहासिक जिम्मेवारीबाट हामी पछि हट्यौँ भने भावी सन्ततिले हामीलाई घृणा गर्नेछन् । देशको रक्षा र विकास व्यक्तिगत स्वार्थ र पार्टीभन्दा माथि हुन्छ । तसर्थ यो समयमा खुला र स्पष्ट ढङ्गले व्यापक बहस र छलफल गरी आर्थिक समृद्धिमा अगाडि बढौँ । वैकल्पिक विद्यार्थी सगंठनको अबको भूमिका विद्यार्थीहरुको हक, हित र अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्दै समकालिन मुद्दाहरु प्रति सचेत एवम् क्रियाशील गराउनतर्फ प्रेरित हुनुपर्दछ । ‘सबैका लागि शिक्षा’को नीतिलाई मौलिक अधिकारको रुपमा रहेको संवैधानिक व्यवस्थालाई ‘निशुल्क र सर्वसुलभ’ गराउन कार्यान्वयनका लागि जोड दिन अग्रसर हुनुपर्दछ ।

देशमा व्याप्त भ्रष्टचार, कालो बजारी एवम् राजनैतिक क्षेत्रका तमाम विकृत विसंगतिहरुको अन्त्य गर्दै सदाचार र सुशासनको पक्षमा उभिनु पर्दछ । देशको राष्ट्रियता, स्वाधिनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डता जस्ता पक्षमा उभिँदै असमान सन्धि, सम्झौता विरुद्ध संघर्ष गर्दै, श्रम र सिपलाई उत्पादनसँग, ज्ञानलाई व्यवहारसँग जोड्दै, वैज्ञानिक र प्रविधिमा आधारित शिक्षा प्रणाली स्थापना गर्न अनवरत प्रयासरत रहनु पर्दछ ।

शिक्षामा समान पहुँचको मान्यतालाई स्थापित गर्न समानुपातिक समावेशिताको सिद्धान्त लागु गराउनु पर्दछ । अबको विद्मर्थी आन्दोलन ढुङ्गामुढा गर्ने, टायर बाल्ने र क्याम्पसका पूस्तकालयहरु जलाउने नभइ रचनात्मक हुनुपर्दछ । विद्मथीहरुको जिवनस्तरमा सुधार ल्याउन सहुलियतमा ऋण र फन्ड उपलब्ध गराउन सरकारलाई दबाब दिनुपर्दछ । पुस्तकहरु कम र सस्तो मूल्यमा पाउने व्यवस्था मिलाउनु पर्दछ । यातायातका साधन तथा अस्पतालमा सहुलियतमा भाडा तथा उपचार पाउने व्यवस्था मिलाउनु पर्दछ ।

विद्यार्थी कसैको हुकुमी आदेशहरु चुपचाप सहन गरेको इतिहास कदापि लेख्न रुचाउँदैनन् । विद्यार्थी जहिले पनि नयाँ खोजको अंकुरणको लागि अगाडी बढिरहेका हुन्छन् । विद्यार्थीको जोंस, जांगर र चेतना विना यो देशको विकास सम्भव छैन । अबको विद्मार्थी आन्दोलन र अबका मुद्दाहरु माथी उल्लेखित कुरामा निर्भर रहनुपर्दछ ।

(अर्याल नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सदस्य हुन्)

The post कस्तो शिक्षा, कस्तो राजनीति, कस्तो विद्यार्थी संगठन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles