नेपालमा राजनीतिक विकल्प दिनको लागि होइन, वैकल्पिक राजनीतिक शक्ति स्थापनाको ध्येयसहित नयाँ शक्ति बनाउने अभियान सुरु भएको पाइन्छ । त्यसभन्दा अगाडि नै केही उत्साही युवाहरुले विवेकशीलमार्फत काम सुरु गरेका थिए । जन्मनासाथ नयाँ शक्तिले तीनवटा चुनावहरुको फेस गर्नुपर्यो । हामीलाई थाहै छ, नेपालमा कुनै पनि राजनीतिक पार्टीले आफ्नो स्थापनाको यति छोटो अवस्थामा देशव्यापीरुपमा पार्टीको बिस्तार गर्न सकेका थिएन । यसले सबै जिल्लाहरुदेखि डायस्पोरामा पनि ३० भन्दा बढी देशहरुमा संगठन बिस्तार गर्न सफल भएको छ । स्थानीय तहमा पराजयपछि अहम्हरु त्यागेर एकतापछि बनेको विवेकशील साझा दलले पनि यो चुनावमा राम्रो गरेको छ । मुख्य कुरा कति सिट जित्यो भन्ने होइन, वैकल्पिक शक्तिहरु ७ दशकभन्दा बढी समयदेखि राजनीति गर्दै आएका शक्तिहरुलाई च्यालेन्ज गर्न सफल भएका छन् ।
विकल्प जहिले पनि मूल प्रवाहको सापेक्षतामा हुन्छ । यसरी हेर्दा यहाँको मूल प्रवाहको राजनीतिको लागि नेपाली मतदाताले दिएको यो अन्तिम अवसर हो । निर्वाचन जितेपछि नेताहरुको अभिव्यक्ति हेर्दा उनीहरुमा युग र युवाले चाहेको रुपान्तरण हुने छाँटकाँट देखिएको छैन । उनीहरुको अभिव्यक्ति, दम्भ र परिवर्तन र रुपान्तरणप्रतिको बेवास्ता निन्दनीय छ । पुराना पार्टीहरुमा रुपान्तरणको छनक छैन । उनीहरु सत्ता स्वार्थमा जेलिएका छन्, भ्रष्टाचारमा लिप्त छन् । राजनीतिक नैतिकताको अभाव छ । पटक पटकको झूटा आश्वासनबाट जनता वाक्क दिक्क छन् । गठबन्धनहरु नकरात्मकताको केन्द्रीकरण जस्तो भएको छ । गठबन्धनपछि केही रुपान्तरण हुन्छन् कि भन्ने जनताको आशा निराशामा बदलिएको छ ।
Image may be NSFW.
Clik here to view.
अब निर्वाचन सकिएको छ । यो समय वैकल्पिक शक्तिहरुले पनि आफ्नो समीक्षा गर्ने समय हो । नयाँ शक्तिले यो बीचमा राजनीतिक स्टेपहरु मिलाउन सकेन । नयाँ शक्तिको बारेमा कुरा गर्दा मलाई लाग्छ, यसको पुनर्संरचना आवश्यक छ । विभिन्न स्वार्थले केन्द्रित भएका मानिसहरुको राजनीतिक प्रतिकूलतामा भागदौड मच्चियो । रातारात परिवर्तनको कुरा गर्नेहरु, रातारात सत्तामा पुगिन्छ भनेर भाषण गर्नेहरु मैदान छाडेर हिँडे । स्वार्थका झुण्डहरुले पार्टी छोडेर गएकै राम्रो हो भन्ने लाग्छ ।
राजनीति भनेको एउटा दौडिरहेको रेल हो, जहाँ मानिसहरु आउने जाने प्रक्रिया चलिरहन्छ । स्वार्थ नमिल्नेहरु छाडेर जान्छन् । राजनीति आयाराम गयारामहरुको हिसाब गरेर बस्ने कुरा होइन । यस्ता ढुलमुले र अवसरको खोजी गर्नेहरुको पनि समाजमा एउटा निश्चित संख्या हुन्छ । अब सम्भवतः अवसरका लागि आएकाहरु कोही बाँकी छन् भने उनीहरुले पनि छाड्नेछन् । त्यो पनि नराम्रो कुरा हुनेछैन । जसले बाबुरामको पछि लागेर एक वर्षभित्रै सत्तामा पुगिन्छ भनेर आशा गरेका थिए र सोही अनुसारकै गफ दिए, उनीहरु गए । जो वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाउन ५ देखि १० वर्ष कम्तिमा लाग्छ भनेर यो अभियानमा इमान्दारितापूर्वक आएका थिए, तीनै इमान्दार मानिसहरुले अहिले पनि यही छन् । उही उत्साह, जोश र आशावादिताका साथ अभियान सञ्चालन गरिरहेका छन् ।
अहिले बल्ल यहाँका युवाहरुले अवसर पाएका छन् । तथ्यांकलाई नै हेर्ने हो भने हालसालैका चुनावहरुमा सबैभन्दा बढी युवा उम्मेदवार उठाउने वैकल्पिक शक्तिहरु नै हुन् । नयाँ शक्तिका ठूला र पाका भन्ने उम्मेदवारहरु मैदानमा उत्रन डराए । चुनावी गठबन्धनहरु बनेपछि त युवाहरुले मात्रै वैकल्पिक राजनीतिको अभिभारा आफ्नो काँधले उठाए ।
Clik here to view.

अरुले भन्दा नयाँ शक्तिकै नेता कार्यकर्ताले यो बुझ्न जरुरी छ कि नयाँ शक्ति भनेको रातारात राजनीतिक परिवर्तनको लागि होइन । उनीहरुले वैकल्पिक बाटो बनाउनुछ । वैकल्पिक राजनीतिको जग बसाउनुछ । वैकल्पिक राजनीतिक संस्कारको विकास गर्नुछ । यसको लागि उनीहरुलाई कम्तिमा पनि पाँचदेखि १० वर्ष लाग्छ । यद्यपि अपेक्षाभन्दा छिटै यसले विकास गरिरहेको छ ।
मानिसहरुले नयाँ शक्ति छाडेर गए भनेर प्रचार गरिरहेका थिए । यस्तो लाग्छ कि सबै पार्टीहरु नयाँ शक्ति छाडेर जाने मानिसहरुले भरिएका छन् । तैपनि नयाँ शक्ति चलेकै छ । उम्मेदवार उठेकै छन् । केही सिटहरु जितेको छ । अहिले पनि नयाँ शक्तिको राजनीतिक अभियान चलेकै छ । केहीले चुनाव पनि जित्ने, केहीले सम्मानजनक मत पनि ल्याउने र केहीले भविष्यका लागि आधार बनाउने कुराको राजनीतिक मूल्य ठूलै हुन्छ । समग्रमा यो सोचेभन्दा राम्रो भइरहेको छ ।
नेपालमा फैंलँदो वैकल्पिक शक्तिको लहरबाट उनीहरु भयाक्रान्त छन् । तर्सिएका छन् । उनीहरुले थाहा पाइसके कि अब नेपालमा वैकल्पिक शक्तिको लहरलाई कसैले रोक्न सक्दैन । तर, वैकल्पिक राजनीतिमा लाग्नेहरुले नै आफ्नो शक्ति आफैंले थाहा नपाएर हिनताबोध गरेजस्तो महसुस हुन्छ ।
समानुपातिकमा भने अपेक्षाकृत नतिजा पाउन सकेन । यसमा नयाँ शक्तिले उठाएको राजनीतिक स्टेपहरु सही नहुनु पनि एउटा कारण हो भने वितृष्णाको मत तान्न साझा विवेकशील आएकोले पनि हो । हामीले बुझ्नै पर्दछ, नयाँ शक्तिको लागि आएको मत भनेको प्रतिवद्ध नेता कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरुको मत हो । यो रातारात बन्ने आउने र रातारात जाने शक्ति होइन । वितृष्णाको मत तरल हुन्छ । काठमाडौंमा यस्तो मत अलि बढी छ । तर पुरानो पार्टी र नेताप्रति वितृष्णा जागेका मतदाताको हामी किन विकल्प बन्न सकेनौं भनेर नयाँ शक्तिले पनि गम्भीरतापूर्वक समीक्षा गर्नु आवश्यक छ ।
इतिहास नियालौं, नेपालका सबै पार्टीहरुको स्थापना एक्लै भएको छैन । कांग्रेसको इतिहास हेर्दा सुवर्ण शम्शेर र विपीले फरक फरक कांग्रेस पार्टी सुरु गरेका थिए । कम्युनिष्टहरु पनि एक्लै एक्लै भएर विकास भएका होइनन् । विभिन्न हाँगा र शाखाहरुमा विभक्त भएर फुट र एकताका श्रृंखलाहरुबाट गुज्रिएका छन् । राप्रपाको इतिहास पनि त्यस्तै छ । एकैदिन सूर्यबहादुर र लोकेन्द्रबहादुरले दुई पार्टीको घोषणा गरेका थिए । स्थापनादेखि नै उनीहरु दुईवटामा विभक्त भएका थिए । पछि मिल्ने र फुट्ने प्रक्रिया निरन्तर जारी नै छ ।
अहिले नयाँ शक्ति र विवेकशील साझा वैकल्पिक राजनीतिको झण्डा लिएर मैदानमा उत्रिएका होलान् । राजनीतिमा सहकार्य र प्रतिष्पर्धा सँगसँगै हुन्छ । कहिले सहकार्य प्रधान हुन्छ, कहिले प्रतिष्पर्धा । सहकार्य हुँदा प्रतिष्पर्धा बिर्सने र प्रतिष्पर्धा हुँदा सहकार्य बिर्सनु हुँदैन । आज विवेकशील साझासँग नयाँ शक्तिको प्रतिष्पर्धा होला, भोलि सहकार्य हुनसक्छ । राजनीतिक मैदानमा जसले वैज्ञानिक र जनताको चाहनाअनुसारको विचार, एजेन्डा र कार्यक्रम लिन्छ, आफूलाई युगको आवाज बोल्न सक्ने पार्टीको रुपमा उभ्याउँछ, उही अब्बल भएर निस्कला । यसमा कुनै चिन्ताको कुरा छैन । चिन्ताको कुरा त आम मतदाताले विकल्प खोजिरहेका छन् कि छैनन् भन्ने हो । यसरी हेर्दा मतदाताले विकल्प खोजिरहेका छन् भन्ने स्पष्ट देखिएकै छ ।
Image may be NSFW.
Clik here to view.
नेपालमा वैकल्पिक शक्तिको तिव्र विकास र लहर देखेर नै पुराना शक्तिहरुले यसविरुद्ध विभिन्न गालीगलौज गरिरहेका छन् । तर, उनीहरु वैकल्पिक शक्तिले उठाएका एजेन्डाहरु आफूमा ग्रहण गर्न बाध्य भएका छन् । केपी ओलीहरु विवेकशील साझा र नयाँ शक्तिलाई गाली गर्दै हिँडिरहेका छन् । प्रचण्डलगायतले पनि यस्तै गरिरहेका छन् । किन ? किनकी नेपालमा फैंलँदो वैकल्पिक शक्तिको लहरबाट उनीहरु भयाक्रान्त छन् । तर्सिएका छन् । उनीहरुले थाहा पाइसके कि अब नेपालमा वैकल्पिक शक्तिको लहरलाई कसैले रोक्न सक्दैन । तर, वैकल्पिक राजनीतिमा लाग्नेहरुले नै आफ्नो शक्ति आफैंले थाहा नपाएर हिनताबोध गरेजस्तो महसुस हुन्छ ।
मतदाताहरुले विकल्प खोजिरहेका छन् । यो चुनावमा गठबन्धनले मत प्रभावित भयो । जब मानिसहरुलाई लाग्छ कि यो गठबन्धन भन्ने कुरा भेंडाको छाला लगाएका ब्वाँसाहरुकै हो जनता झुक्याउने चाल हो, त्यसपछि नागरिकको मोहभंग हुनेछ र उनीहरुले विकल्पको पक्षमा मतदान गर्न बाध्य हुनेछन् । त्यसपछि नपत्याएका शक्तिहरुले भारी मत ल्याउन सक्छन् । यो चुनावमा कति खुल्न सकेका छन्, कति खुल्न सकेनन् । तर, गोप्य मतदानमा नेपाली मतदाताले केही न केही परिवर्तनको सन्देश दिएका छन् । पुराना शक्तिहरु रुपान्तरण भएर आफैं युगको आवाज सुन्न थाले र नयाँ शक्तिमा रुपान्तरण भए भने नयाँ पुस्ताले किन दुःख गर्नु पर्थ्यो र !
सार्वभौम मतदाताहरुले निर्धक्कका साथ विकल्पको पक्षमा मतदान गर्ने अवस्था सिर्जना गर्न वैकल्पिक शक्तिहरुकै तयारी पुगेन । सुरु सुरुमा सबैलाई दम्भ हुन्छ, एक्लै संसार जित्न सक्छुजस्तो लाग्छ । तर, जब राजनीतिक परिवर्तन भनेको सामूहिक अभियान हो भन्ने बुझ्छन्, आधारभूतरुपमा विचार र लक्ष्य मिल्नेहरु एकठाउँमा आउनुको विकल्प हुन्न । राजनीति पढेर मात्र बुझिन्न, परेपछि मात्र बुझिन्छ । केही वैकल्पिक राजनीतिक अभियन्ताहरु बुझ्ने क्रममा हुनुहुन्छ । सानोमा आफ्नो अभिभावकलाई गाली गर्नेहरु जब आफैं अभिभावक हुन्छ, त्यसपछि सानोमा अभिभावकलाई गाली गरेकोमा पश्चात्ताप गर्न थाल्छ । यो क्रम राजनीतिमा पनि चलिरहन्छ ।
अन्ततः नेपाल नेपाल नै हो र यहाँको वैकल्पिक राजनीति यहीँको मौलिकतामा चल्दछ । न पुरानाले नयाँलाई निषेध गर्न सक्छ न नयाँले पुरानोलाई । नयाँ र पुराना शक्तिमा भएका असल मान्छेहरुलाई केन्द्रीकृत गर्नु नेपाली वैकल्पिक राजनीतिको नयाँ अभिभारा हुनेछ । गाउँ र शहरलाई, हिमाल, पहाड र तराईलाई जोड्नु, यहाँको विविधतालाई जोड्दै समानहरुको समान प्रतिष्पर्धा सुनिश्चित हुने लोकतन्त्रको खोजी गर्दै अगाडि बढ्नु उचित हुनेछ । पुरानो राजनीतिले खडा गरेको आर्थिक, राजनीतिक र सामाजिक मर्यादाक्रमहरुको पर्खाल भत्काउँदै पुराना होइन, योग्यलाई रोज्ने प्रणालीको खोजी पनि वैकल्पिक राजनीतिको अर्को महत्वपूर्ण अभिभारा हो ।
The post नयाँ शक्ति र विवेकशील साझा, अब संघर्ष कि सहकार्य ? appeared first on Sajha Post.