Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

यसकारण लडेँ चुनाव, यसरी गरेँ खर्च

$
0
0

यहि मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । यसपटकको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका अन्य केही कम्युनिष्ट पार्टीहरुको संयुक्त वामपन्थी गठनबन्धले उल्लेखनीय अग्रता हासिल गरिरहेको छ । नागरिकले विद्यमान राजनीतिक अस्थिरतालाई अन्त्य गरी स्थिर सरकारका लागि वाम गठबन्धनलाई स्पष्ट बहुमत दिने देखिएको छ । तर पनि अहिलेकै शासकीय स्वरुप अनि राजनीतिक संरचनाले वाम गठबन्धनले बहुमत नै ल्याए तापनि राजनीतिक स्थायित्व पाउनेमा विश्वस्त हुने आधार देखिंदैन ।

मनिकरण कार्की ‘निवर्तमान’
त्यसैले यो देशमा राजनीतिक स्थायित्व कायम गरी देशलाई तीव्रत्तर आर्थिक विकास र समृद्धिको दिशातिर लैजानको लागि सबैभन्दा पहिले विद्यमान शासकीय स्वरुपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली कायम गर्न जरुरी छ । त्यस्तै भड्किलो र खर्चिलो बन्दै गएको चुनावी प्रतिस्पर्धालाई सहज बनाउन र देशको विविधतालाई सम्बोधन गर्न पूर्ण समानुपातिक व्यवस्थापिका संसद अपरिहार्य देखिन्छ । यी दुई व्यवस्थासँगै संविधानमा रहेका केही त्रुटीहरुलाई सच्याउँदै मुलुकलाई विकास र समृद्धिको मार्गमा दौडाउनको लागि अब नयाँ जनमतसँगै उदाएका ठूला पार्टीहरुले पहिलो पहलकदमी लिउन् भन्ने आशा गर्दछु ।

साथै, यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा परिवर्तित राजनीतिक लक्ष्य हासिल गर्नका लागि युवापुस्ता राजनीतिमा सक्रिय हुनुपर्छ र यो पुस्ताले मात्रै अबको राजनीतिक लक्ष्य हासिल गर्न सक्छ भन्ने मान्यतालाई स्थापित गर्दै मैले रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेको हुँ । यस निर्वाचन क्षेत्रबाट नेकपा एमालेको तर्फबाट वाम गठबन्धनका साझा उम्मेदवार बन्नुभएका पूर्वमन्त्री विष्णु पौडेलले विजयी प्राप्त गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई दिँदै अबको कार्यकालमा यस क्षेत्रको विकास र समृद्धिका साथै नागरिक समक्ष आफूले गरेका प्रतिबद्धता नबिर्सिन आग्रह गर्न चाहन्छु ।

मेरो राजनीतिक यात्रा तत्कालीन पदीय लाभका लागि पटक्कै होइन, यो एउटा भविष्यमुखी वैकल्पिक राजनीतिक यात्रा हो । मेरो राजनीतिक उद्देश्य अपारदर्शी र भ्रष्टिकृत बन्दै गएको राजनीतिलाई असल र पारदर्शी बनाउँदै कुशल राजनीतिक संस्कार स्थापित गर्नु हो । मैले यसपटक आफ्नो एजेण्डालाई मतमा होइन, नागरिकको मनमा स्थापित गर्न सफल भएको महशुस गरेको छु । मैले चुनावी अभियानका दौरान बदलिएको राजनीतिक गन्तव्यसँगै असल र सुसंस्कृत राजनीतिको एजेण्डालाई आम नागरिकसमक्ष पुर्याउन सफल भएँ, त्यही नै मेरो विजयी हो ।

राजनीति स्वयं सेवा हो, हुनुपर्छ र बनाउनुपर्छ भन्दै मैले चुनावी अभियानका लागि आम नागरिकसमक्ष सार्वजनिक रुपमा असल राजनीतिमा लगानीका लागि हार्दिक आह्वान गरी स्वेच्छिक सहयोग प्राप्त गरी चुनावी खर्च व्यवस्थापन गरेको छु । जसक्रममा हालसम्म रु. २ लाख २३ हजार ५ सय सहयोग संकलन भएको छ, भने चुनावी अभियान संचालनका लागि हालसम्म रु. १ लाख ९६ हजार खर्च भएको छ ।

मेरो भविष्यमुखी वैकल्पिक राजनीतिक यात्रामा साथ, सहयोग र समर्थन गर्दै चुनावी अभियानका क्रममा साथ दिनुहुने सम्पूर्ण महानुभावहरुप्रति कृतज्ञ छु । साथै मतदानका दिन उत्साहपूर्वक सहभागी बनी राजनीतिक विकल्पका लागि नयाँ शक्ति पार्टीको चुनाव चिन्ह आँखामा मतदान गर्नुहुने सम्पूर्ण मतदाता नागरिकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
(कार्की नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही, क्षेत्र नं. २ को उम्मेदवार हुन्)

The post यसकारण लडेँ चुनाव, यसरी गरेँ खर्च appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles