Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नेपालको राजनीतिक रंगमञ्चमा नयाँ शक्ति

$
0
0

हिजो आज बजारमा हल्ला छ, नयाँ शक्तिले के गर्ला ? लहडैलहडमा आएको भिजन हो वा रणनीतिक हिसाबले आएको विचार हो ? नयाँ शक्तिमा आबद्ध भएका अभियान्ताहरूको चिन्ता छ कसरी अगाडि बढ्ने ? डा.बाबुराम भट्टराईले देश दौडाहामा धेरै व्यक्ति, संघ–संस्था राजनैतिक दलहरूसँग विचारको बहस गर्दै अन्तरक्रिया चलाई राखेका छन् । उनको विचार भिजन पहिला नै थियो या अब नयाँ सोचमा छन् ? देश बनाउने विचार त उनको मनमा पलायो तर त्यसलाई व्यवस्थापन कसरी गर्छन् ?

हरेक दलका घोषणापत्रमा लेखेको विषयअनुसार देश चलेको भए यो देश त सिंगापुर, स्विजरलेन्ड होइन त्योभन्दा पनि माथि हुन्थ्यो होला । तर देश २०४६ सालदेखि आजको मितिसम्म जस्ताको तस्तै छ । आज देशकैलागि भनेर त्याग गर्ने एकजना पथप्रदर्शक नेताको आवश्यकता खड्केको छ । तर त्यो नेता को हो ? त्यो नेताका विशेषता के र कस्तो हुुनुपर्दछ ? त्यो पनि हाम्रो गर्भमा नै छ ।

डा. राजेन्द्र केसी
डा. राजेन्द्र केसी

अहिले प्रतिदिन १२०० देखि १५०० नेपाल आमाका छोराछोरीहरू अध्ययन र रोजगारीको नाममा विश्वका कैयन देशहरूमा हिउँले कठाङ्ग्रिने ठाउँदेखि गर्मीले जलन हुने ठाँउहरूमा आफ्नो अमूल्य समयलाई दाहा गरिरहेका छन् । स्वर्गजस्तो नेपाल देशलाई छाडेर अन्य देशको नागरिकताको प्रमाणपत्र लिन बाध्य भएका छन् । यसको मूल कारक तत्व के होला ? एउटै उत्तर छ, असल राजनेताको अभाव ।

नेताहरूको काम केवल पार्टी खोल्ने, पार्टी टुक्रयाउने, पदमा जाने, अकुत सम्पत्ति कमाउने, विदेश भ्रमण गर्ने, आफ्ना पार्टीका कार्यकताहरू र नातेदारहरूलाई जागिर खुवाउने, देशविदेश घुमाउने र अर्को चुनावको जोहो गर्ने मनस्थिति मात्र रह्यो । देश निरिह अवस्थामा पुग्यो । आमजनताले साधारण न्याय समेत पाउन सकेनन् । आधारभूत जीवनशैली समेत बिताउन पाएनन् । देश परनिर्भर भयो । देश आत्मनिर्भर बन्न त सकेन, सकेन, आत्मनिर्भर रहने योजना समेत कसैमा भएन । जसको परिमाण स्वरूप देश यो अवस्था आइपुग्यो ।
नेपाल समुद्रको सतहबाट ५८ मिटर (झापा जिल्ला) देखि ८,८४८ मिटर (सोलुखुम्बु जिल्ला) को उचाईसम्म फैलिएको देश हो । भौगोलिक हिसाबले हिमाल (१५%) पहाड (६८%) र तराई (१७%) गरी तिन भिन्न प्रकारको र प्राकृतिक हिसावले भरिपूर्ण यो देशजस्तो अर्को देश संसारमै छैन भने पनि हुन्छ । तर यो भौगोलिक र प्राकृतिकअनुपम सौन्दर्यको उपयोग हामीले गर्न सकेनौं । विश्व मानचित्रमा नेपाललाई चिनाउने केही कीर्तिमानी तथ्यहरू छन्, स्रोत र साधनहरू छन् जसको बजारीकरण गर्न समेत सकेका छैनौँ । उदाहरणको लागि विश्वको सर्वोच्व शिखर सागरमाथा, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल (४९१९मिटर), विश्वको सर्वाधिक होचो अरुण उपत्यका (४५७मिटर) लगायतका दर्जनौं अन्य गल्छी, खोला, चराहरू र मानव वस्तीहरू छन् जुन चिज अन्य देशहरूमा छैन ।

एकदिन यस्तो समय आउने छ, नेपालका यी स्रोत र साधनको उपयोग गर्ने र चिन्ने सक्षम नेता आउने छन् त्यसपछि यो देश वास्तविक देश बन्ने छ, स्वर्ग बन्ने छ । विश्व रंगमञ्चमा नै यसको नाम उच्च हुने छ । आज यसको पर्खाइमा नेपाली जनताहरू छन् ।

त्यसैले विश्व सम्पदा सूचीमा सुचिकृत धार्मिक, ऐतिहासिक, सांस्कृतिक प्र्राकृतिक तथा जैविक, प्राचीन धामलगायत विविध महत्वका विषयमा नेपालले विश्वसामु प्रस्तुत गर्न सकेको छैन । यो सानो देश तर नागमणि जस्तै भरिपूर्ण छ । हावा, पानी, हिमाल, पहाड, तराई नदीनाला जस्ता विभिधताले भरिपूर्ण भएको छ । यो देशको कला संस्कृति, भाषा, जात जाति, धर्म र पेसाले सचेत अनेकतामा एकता रहेको देखिन्छ । एकदिन यस्तो समय आउने छ, नेपालका यी स्रोत र साधनको उपयोग गर्ने र चिन्ने सक्षम नेता आउने छन् त्यसपछि यो देश वास्तविक देश बन्ने छ, स्वर्ग बन्ने छ । विश्व रंगमञ्चमा नै यसको नाम उच्च हुने छ । आज यसको पर्खाइमा नेपाली जनताहरू छन् ।
नयाँ शक्ति किन ?
विश्व संरचनालाई हेर्दा हरेक १० देखि २० वर्षको अन्तरालमा विचार परिवर्तन हुन्छ, नयाँ–नयाँ वस्तुको आवश्यकता हुन्छ र नयाँ विषयहरू प्रादुर्भाव हुन्छन् । अर्काे शब्दमा भन्नुपर्दा पुरानो संस्कार, पुरानो विचार, पुरानो व्यवहारको सट्टा नयाँ विचार, नयाँ सोच, नयाँ जागरको व्यक्ति देशले खोजिरहेको हुन्छ । यो सामान्य प्रक्रिया नै हो । नेपालको सन्दर्भमा वि.सं. २००७ साल, वि.सं. २०१७ साल, वि.सं. २०३६ साल, वि.सं. २०४६ साल, वि.सं. २०६२/२०६३ सालहरूको राजनैतिक इतिहासलाई हेर्ने हो भने साना ठुला राजनैतिक परिवर्तनहरू भईरहेकै थिए । त्यस्तै हामी आफैंले काम गरेको संघ, संस्था र कार्यालयहरूमा पनि परिवर्तन भएको देख्न सकिन्छ, आफ्नै जीवनलाई हेर्नु भए पनि परिवर्तन भएकै छन् । हरेक विषयहरूमा परिवर्तन भइरहेको हुन्छ र हुनु पर्दछ पनि । हरेक पिंढीले परिवर्तन चाहन्छ र नचाहे पनि समयले परिवर्तन गरिरहेको हुन्छ, परिवर्तन रोकिंदैन ।

हाम्रो देश किन पछि पर्यो त ? हामी वा हाम्रा पुर्खा परिवर्तनमा बाधक बने ? पुरानो विचारलाई इतिहासको रूपमा लिनु पर्दथ्यो तर इतिहासलाई सम्मान गरेर राख्नुको सट्टा इतिहासलाई दैनिक प्रयोगमा ल्याइयो । पाका नेताहरू जसको शारीरिक अवस्था नै कमजोर छ, उहाँहरूबाट देश सञ्चालन गर्न थालियो । ७०-८० वर्ष पहिलाका नेताहरूले स्थापना गरेका दृष्टिकोणलाई अंङ्गीकार गर्दा देशमा परिवर्तन हुन सकेन । जसको शारीरिक अवस्था कमजोर हुन्छ, उसको मानसिक अवस्था पनि कमजोर हुन्छ । यो विज्ञानले भनेको कुरा हो । १५० वर्ष पहिलाका विदेशी नेताहरूको दर्शनलाई नेपालमा भित्र्याइयो । आज भन्दा ७०-८० वर्ष पहिला प्रतिवाद भएको दृष्टिकोण के आजको लागि पनि मान्य र आवश्यक हुन्छ ? अव परिवर्तन गर्नु परेन ? के आजसम्म दुरदृष्टि भएको मान्छे नेपालमा जन्मिएको छैन ? के त्यो पुरानो दृष्टिकोणले नै काम गर्छ ? हाम्रो देश ७०-८० वर्ष पहिलेको र अहिलेको विकासमा फरक भयो त ? अर्काे शक्तिलाई हेर्ने हो भने १५० वर्ष पहिलाको माक्र्सवाद र लेनिनवाद आज सोही देशमा परिवर्तन भइसक्यो भने हाम्रो देशमा उक्त दर्शनले काम गर्ला ?

हाम्रो विकासको दर्शन भनेको हाम्रो देशको स्रोत र साधन र जनताको आवश्यकता र चाहनालाई मध्यनजर गरेर स्थापित गरिनुपर्छ । के आज अमेरिका र युरोपियन देशहरूको मोडल नेपालमा प्रतिपादन गरेर हामी सफल हुन्छौं ? यो प्रक्रियाबाट देश र जनताको भलाई हुँदैन । यसर्थ देश र जनताहरूको भलाईको लागि हामीले यही देशको माटोको मूल्य पहिचान गर्नुपर्दछ । नेपाली जनताको महिमालाई स्वीकार्न सक्ने रणनीति हुनुपर्दछ । विदेशमा गइरहेका युवालाई यही देशमा स्वरोजगार सिर्जना गर्नुपर्दछ ।

विदेसिएका युवा र सम्पूर्ण नेपालीहरूलाई स्वदेशमा अवसरको खाजी गर्नुपर्छ । हाम्रो देशमा शिक्षा, स्वास्थ्य, जल, कृषि पर्यटन लगायतका सम्पूर्ण स्रोत र साधनहरूलाई उपयोग गरी विश्वका नागरिकहरूलाई देखाउनुपर्दछ । हाम्रो देशमा भएका स्रोत र साधनहरू विश्वका अन्य मुलुकमा छैनन् जसको उपयोग हामीले गर्नुपर्दछ । मेरो शुभकामना छ नयाँ शक्तिले नयाँ विचार ल्याउनुपर्दछ । नयाँ शक्तिको नयाँ दृष्टिकोण हुनुपर्दछ, नयाँ विचारको प्रक्षेपण हुनुपर्दछ । यो नेपालको लागि आवश्यक छ तर यसले कस्तो गति लिन्छ, कसरी अगाडि बढ्छ, विशेषतः कार्यान्वयन पक्ष कस्तो रहन्छ ? नेपालमा सही विचार र विकासको लहड धेरै रह्यो तर कार्यान्वयन र व्यवस्थापन पक्ष भने अत्यन्त कमजोर रह्यो । यसतर्फ नयाँ शक्ति सचेत रहनुपर्छ ।

नयाँ शक्ति अन्य राजनैतिक दलहरूको विरुद्धमा भन्दा विकल्पमा हुनुपर्दछ । देशमा भएको भष्ट्रचार नातावाद कृपावाद, वृद्धराजनीतिवाद, अशिक्षित राजनीतिवाद, राजनीतिक विकिृति, विसंगतिलाई अन्त्य गर्ने स्पष्ट दृष्टिकोण हुनु जरुरी छ ।

आज हरेक नेपालीले देशमा राजनेता भएको महसुस गरेकै छैन । नेतृत्व गरेको आभास समेत छैन । जता ततै समस्या नै समस्या छ । २१ औं शताब्दीमा आइपुग्दा आधारभुत आवश्यकताहरू (ग्यास, चामल, तेल, पेट्रोल, डिजल, तरकारी, फलफूल) जनताले उपयोग गर्न नपाउनु कहाँको न्याय हो ? धन्य जनता सहनशील रहेछन् । आजसम्म धैर्यताको बाँध फुटन पाएको छैन् ! जनतालाई यस्ता दैनिक आवश्यकीय वस्तु उपलब्ध गर्न नसक्ने शासकहरू के शासनको बागडोर सम्हालेर बस्नु ? नयाँ शक्तिको लागि यो धेरै अवसर र चुनौती रहेको छ ।

अवसर यो अर्थमा छ कि, प्रतिस्प्रर्धा नै नभएको मुलुक र राजनीतिक दलहरू जसले यो देशमा आजसम्म केही पनि गर्न सकेनन् यस्तो अवस्था आगामी दिनमा नेपालको मूल समस्यालाई पहिचान गरी हरेक कार्यक्रमहरू सही समयमा सही तरिकाले अगाडि बढाउन खोजेमा नयाँ शक्तिको लागि ठुलो अवसर छ । नेपाली जनताहरूको चाहना धेरै ठुलो छैन र आशा गरेका पनि छैनन् । यस्तो अवस्थामा नयाँ विचार र योजनासहित काम गरी समाज परिवर्तन गर्न पाउनु ठुलो अवसर हो । चुनौती यी छन कि नाम मात्र फरक बनाएर केही व्यक्ति प्रधानमन्त्री, मन्त्री, सांसद बन्लान् तर देश र जनताको नाममा केही हुँदैन । यस्ता पदिय दायित्व आज भन्दा २४० वर्षदेखि आजसम्म नेपाली जनताले भोग्दै आएका छन् । नयाँ ‘शक्ति’ को सरोकार समृद्धि र विकासमा जोड दिनुपर्दछ ।

राजनैतिक, आर्थिक र सामाजिक विकासको एजेन्डा हुनुपर्दछ । सुशासन र कानुनी राज्यको प्रत्याभुति हुनुपर्दछ । जीवनको हार, जीत, त्रसित, दोधार, उत्तेजीत हुने हाम्रो जीवनको क्रमिक चक्र हो । यसलाई राम्रो सँग पुष्टि गर्नुपर्दछ । केही नगर्नु भन्दा केही काम गर्नु बढी उत्तम उपाय हो । वास्तवमा केही नयाँ काम गर्दा समस्या हुन सक्छ । नयाँ विचार सवैले बुझ्न कठिन हुन्छ । विचारलाई व्यवहारमा लागु गरेर उपयोग गरेपछि मात्र राम्रो र नराम्रो थाहा हुन्छ । हरेक विषयमा जोखिम उठाऔँ र सक्रिय बनौँ अनि मात्र हामी दृढ विश्वासी र उत्साही व्यक्ति हुने छौँ । हरेक नेपाली जनतालाई आफ्नै जीवनकालमा देखिने गरी विकास गरिने एजेन्डा हुनुपर्दछ । शक्तिमा जानुभन्दा पहिला र शक्तिमा गएपछिको राजनैतिक एजेन्डा स्पस्ट हुनुपर्दछ । नेपाल देश आफ्नै इज्ज्यत, मर्म, राष्ट्रियता धरापमा भएको अवस्थामा राष्ट्रमा अवस्थित नागरिक समाजहरूको उपस्थिति र विचारलाई कार्यान्वयनमा ल्याउनु उपयुक्त हुन्छ ।

(लेखक नेपाल पिएचडी एसोसियनका संस्थापक अध्यक्ष हुन्)
kc_rajendra@hotmail.com

The post नेपालको राजनीतिक रंगमञ्चमा नयाँ शक्ति appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles