Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

वैकल्पिक राजनीतिको दर्शन

$
0
0

प्रारम्भः
दर्शनशास्त्रलाई अंग्रेजीमा ‘फिलोसफी’ भन्ने गरिन्छ । ‘फिलोसफी’ प्राचीन ग्रिक शब्द ‘फिलेओ’ र ‘सोफिया’ बाट बनेको हो । ‘फिलेओ’ शब्दको अर्थ ‘प्रेम’ र ‘सोफिया’ को अर्थ ‘विवेक’ वा ‘बुद्धि’ भन्ने हुन्छ । मानिसमा प्रष्फुटित हुने ‘विवेक–प्रेम’ को भावनाबाट विकास हुने शास्त्र ‘फिलोसफी’ वा दर्शनशास्त्र हो । पूर्वीय सभ्यतामा ‘फिलोसफी’ सँग मिल्दोजुल्दो हुने शब्द ‘दर्शन’ हो । संस्कृतभाषाको ‘दृश्’ धातुबाट बनेको ‘दर्शन’को अर्थ ‘हेर्नु’ वा ‘देख्नु’ हो । त्यसको अझ गहिरो अर्थ ‘हेरेको’ चीजलाई ‘बुझ्नु’ वा ‘बोध गर्नु’ हुन्छ । प्राकृतिक परिघटना वा जीवन पद्धतिलाई नजिकबाट नियालेर हेर्न, बुझ्न, विश्लेषण गर्न र विवेकसम्मत निष्कर्ष निकाल्न चाहने मानवीय प्रवृत्तिलाई ‘दर्शन’ भनिएको हो । त्यस्तो ज्ञानशाखा नै दर्शनशास्त्र हो ।

‘फिलोसफी’ शब्दको पहिलो प्रयोग इसापूर्व ६०० तिर ग्रिक दार्शनिक तथा गणितज्ञ पाइथागोरसले गरेका थिए । तर पाश्चत्य दर्शनशास्त्रको इतिहासमा प्राचीन ग्रिक चिन्तक ‘थेल्स’ लाई पहिलो दार्शनिक मानिन्छ । पूर्वमा महर्षि कणादले पहिलो पटक ‘दर्शन’ शब्द प्रयोग गरेको विश्वास गरिन्छ । दक्षिण एशियामा ‘उद्दलक आरुणी’ लाई पहिलो दर्शनिक मानिएको छ ।

चार ज्ञानशाखा :
दर्शनशास्त्र ज्ञानको एउटा शाखा हो । मानवीय ज्ञानशाखाहरु मुख्य चार प्रकारका हुन्छन् । पहिलो–धर्म हो । परम्परा, आस्था र विश्वासलाई धर्मको आधार मानिन्छ । यसले खास प्रकारको मानवीय जीवन पद्धति र संस्कृति निर्माण गर्दछ । दोस्रो–विज्ञान हो । विज्ञानले प्रयोगद्वारा सत्यको पुष्टि गर्दछ र प्रविधिको विकास गर्दछ । तेस्रो–कला हो । कलामा मानवीय भावना र संवेदना प्रमुख हुन्छ । चौथों– दर्शन हो । दर्शनमा तथ्य, तर्क, विश्लेषण र संश्लेषण मुख्य हुन्छ । दर्शनले खास प्रकारका वैचारिक संकटहरुलाई हल गर्ने प्रयास गर्दछ ।

डम्बर खतिवडा

दर्शनशास्त्र धर्मग्रन्थझैं आस्था र विश्वासको विज्ञान होइन न त विज्ञानझैं प्रयोगशाला र तकनिकीको धर्मशास्त्र हो । धर्मशास्त्र मान्यता र तर्कमा आधारित हुन्छ । विज्ञान तथ्य र तथ्यांकमा आधारित हुन्छ । धर्मशास्त्रले अनुयायीहरु बनाउँछ । विज्ञानले प्रयोग, आविष्कार र उत्पादन गर्छ, अनि उपभोक्ताहरु बनाउँछ । दर्शनशास्त्र भने तर्क र तथ्यमा आधारित हुन्छ । यसले न अनुयायी बनाउँछ न प्रयोग र आविष्कार नै गर्छ । यसले जीवनलाई मार्गनिर्देश गर्ने प्रयास गर्दछ । धर्मग्रन्थमा निहित अन्धता र विज्ञानमा निहित तकनिकीको सीमा नाघ्न सक्ने शास्त्रलाई नै दर्शनशास्त्र भनिन्छ ।

दर्शनशास्त्रका विषयवस्तु :
दर्शनशास्त्रको पहिलो विषय स्वयं सृष्टि हो । यसले सृष्टिका आधारभूत नियमहरुको खोजी गर्दछ । विश्व ब्रमाण्डको उत्पति कसरी भयो ? यसको संचालन कसरी भइरहेको छ ? के यसको विनाश हुन्छ ? मानव जीवनको उत्पति कसरी भयो ? मानव समाज कसरी चलिरहेको छ ? के कुनै दिन यसको विनाश वा अन्त्य हुन्छ ? ब्रमाण्ड र मानव जीवन बीच के सम्बन्ध छ ? के मानव चेतना पनि ब्रह्माण्ड कै उत्पति हो ? यस्तो चिन्तनको शाखालाई ‘तत्वशास्त्र’ (अन्टोलजी) भनिन्छ ।

दोस्रो– यसले प्रकृति वा मानव जीवनमा लागू हुने नियमहरु बीचको अन्तर्सम्बन्ध वा संगति स्थापित गर्ने प्रयास गर्दछ । सृष्टिका नियमहरु प्रकृति जगतबाट मानव समाजमा आउँदा वा मानव जगतबाट प्रकृति जगतमा जाँदा कसरी विकास, पतन, रुपान्तरण वा विचलन गर्छन ? मानव अस्तित्व, त्यसमा हुने चेतनाको विकास र त्यसले ब्रमाण्डमा पार्ने प्रभाव के हो ? यस्ता विषय केन्द्रित चिन्तनलाई ज्ञानमिमांसा (इपिस्टिमोलजी) भनिन्छ । यही शाखाको विस्तारबाट समाजशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्रको विकास हुन्छ ।

तेस्रो– यसले सृष्टिका आधारभूत नियममा निहित रहेका संगति–असंगतिबीचको प्रवर्गीय सम्बन्धलाई व्यक्त गर्ने प्रयास गर्दछ । हरेक अस्तित्व, एकाई र परिघटनालाई राम्रो–नराम्रो, ठीक–बेठीक, उचित–अनुचित, हुन पर्ने–हुनु नहुने, मानवोचित–अमानवोचित, स्तरीय–अस्तरीय, सुन्दर–असुन्दर, न्याय–अन्याय, समानता–असमानता, वर्गीय–अवर्गीय, नैतिक–अनैतिक जस्ता प्रश्नहरुमा निष्कर्ष दिने प्रयास गर्दछ । यस्ता असंगति, अन्तर्विरोध र विरोधाभाषभित्र मान्छेले के गर्नु राम्रो हो भनेर निर्णय दिने प्रयास गर्दछ । तसर्थ, नीतिशास्त्र (इथिक्स) पनि दर्शनशास्त्रकै विषयवस्तु हो ।

चौथो– यसले मानव मनको अन्तर्यलाई खोतल्ने प्रयास गर्दछ । मानिसको मानसिक संरचना कसरी बनेको छ ? मानसिक मनोदशाका विभिन्न अवस्थाहरु के के हुन ? कुन मानसिक मनोदशामा मानिसले कस्तो चरित्र, स्वभाव र व्यवहार प्रस्तुत गर्दछ ? यी प्रश्नको उत्तर मनोबनौटशास्त्र (फेनोमेनालोजी) ले दिने प्रयास गर्दछ ।

पाँचौं– यसले कला, साहित्य, संस्कृति, विचारधारा, राजनीति र समाज व्यवस्थाको सौन्दर्य चिन्तन गर्दछ । तसर्थ सौन्दर्यशास्त्र (एथेटिक्स) लाई पनि दर्शनशास्त्रकै शाखा मानिन्छ ।

दर्शनशास्त्रको उद्देश्य उपरोक्त ज्ञानशाखाहरुबीच संगति कायम गरी मानव जीवनको सर्वोत्तममुखी हित गर्नु हो ।

वैकल्पिक राजनीति :
वैकल्पिक राजनीति भन्नाले भइरहेको भन्दा फरक, नयाँ र अझ उन्नत राजनीति भन्ने बुझिन्छ । राजनीति आज विश्वव्यापी रुपमा रुखो र असंवेदनशील हुँदै गएको छ । यसले आफूलाई शक्तिको खेलमा सीमित गर्दै लगेको छ । सत्य तिरस्कृत हुँदैछ । निर्वाचनहरु औपचारिक हुँदैछन । मानवीय भावना र संवेदनाहरु ओझलमा परेकाछन । राजनीतिमा जालझेल, षडयन्त्र र झुठ बढेको छ । असंवेदनशील, शुष्क, भ्रष्ट र बेइमान हुँदै गएको राजनीतिलाई सभ्य, पारदर्शी, मानवीय र रचनात्मक बनाउनु नै वैकल्पिक राजनीति हो ।

यसका लागि कस्तो दर्शन चाहिन्छ त ? वस्तुतः एउटा यस्तो चिन्तनपद्धित जो शक्ति होइन्, सत्यमा आधारित होस । जसका सबै ज्ञानशाखाहरु बीच संगति होस । जो वास्तविक रुपमा मानव जीवनमा उतार्न सकियोस् । जसले न्याय, स्वतन्त्रता र समानतालाई सधै अभिप्ररित गरोस । जसले भौतिक, आत्मिक र नैतिक हिसाबले नै मानव समाजलाई गरिमामय बन्न, खुशी र सुखी बन्न प्रेरित गरोस् ।

विद्यमान दर्शनका सीमा :
अठारौं, उन्नाइशौं र बीसौं–बितेका तीन शताब्दिको राजनीति मूलतः साम्यवादी र पुँजीवादी दर्शनका बीचमा विभाजित भयो । साम्यवादी दर्शन मूलतः शास्त्रीय जर्मन दर्शन र पुँजीवादी दर्शन बेलायती शास्त्रीय अर्थशास्त्रको धारामा आधारित थियो । पुँजीवादी दर्शनले एडम स्मिथको ‘वेल्थ अफ नेशन’ र साम्यवादी दर्शनले कार्ल म को ‘दास क्यापिटल’ लाई अर्थशास्त्रीय चिन्तनको स्रोत मान्यो ।

राजनीतिक हिसाबले एउटाले ‘संसदीय बहुदलीय’ र अर्कोले ‘सर्वहारा अधिनायकत्व अर्थात् एकदलीय प्रणाली’ अपनायो ।
यी विचारहरुको स्रोत स्वतन्त्रता भर्सेज समानता थियो । पुँजीवादले स्वतन्त्रताको कुरा गर्‍यो । निजत्व र निजी सम्पतिको कुरा गर्‍यो । खुल्ला बजार (आर्थिक स्वतन्त्रता) र बहुदलीय प्रणाली (राजनीतिक स्वतन्त्रता) को कुरा गर्‍यो । पुँजीको जन्म बचत, पुनर्लगानी, उद्यमशीलता र मुनाफाबाट हुन्छ भन्यो । अर्को पुँजीको जन्म उपनिवेशबाट लुटिएको धन, किसानबाट कुतमा लिइएको अतिरिक्त अन्न र अतिरिक्त मूल्यको शोषणबाट हुन्छ भन्यो । यस्ता चिन्तनले पुँजी र श्रमलाई एकले अर्कालाई ‘निषेध’ गर्न सक्ने प्रवर्गका रुपमा चित्रण गरे । यस्तो सोच दर्शनशास्त्रीय हिसाबले एकांकी थियो । द्वन्द्ववादको गलत व्याख्याबाट यस्ता चिन्तनहरु हावी भएका थिए । वैकल्पिक राजनीतिको दर्शनले यस्तो दुवै चिन्तन पद्धतिलाई अस्वीकार गर्दछ ।

अस्तित्वमा विद्यमान प्रवर्गहरु एकले अर्कालाई निषेध गर्न सक्दैनन् । जस्तै रातले उज्यालोलाई, उज्यालोले रातलाई पूर्ण निषेध गरी अध्यारो मात्र वा उज्यालो मात्र भएको दिन बन्न सक्दैन । पुरुषले स्त्रीलाई स्त्रीले पुरुषलाई पूर्ण निषेध गरी कित स्त्री मात्र भएको, कि त पुरुष मात्र भएको समाज बन्न सक्दैन ।

ठीक यस्तै सम्बन्ध स्वतन्त्रता र समानता, निजत्व र सामूहिकता, निजी स्वामित्व र सामूहिक स्वामित्व, श्रम र पुँजीका बीचमा पनि लागू हुन्छ । श्रमले पुँजीलाई निषेध गरेको वा पुँजीले श्रमलाई निषेध गरेको, श्रम नै श्रम मात्र भएको वा पुँजी नै पुँजी मात्र भएको समाज व्यवस्था सायद संभव छैन ।

आजको युगमा राजनीतिको चिन्तन स्वतन्त्रता भर्सेज समानतामा आधारित हुन सक्छ । वैकल्पिक राजनीतिले राजनीतिलाई स्वतन्त्रता, समानता, न्याय, ऐक्यबद्धता र बहुलताको समष्टि मान्दछ ।

द्वन्द्ववादको संमृद्धिकरण :
द्वन्द्ववाद एक प्रचलित विश्लेषण पद्धति हो । आधुनिक युगमा हिगेलले यसको प्रचलन र लोकप्रियता व्यापक बनाए । कार्ल मार्क्सको दार्शनिक पद्धति पनि हिगेलबाट प्रभावित थियो । मार्क्सको द्वन्द्ववादमा मुख्यत: तीन वटा नियमहरु थिए ।

प्रतिपक्षीहरुको एकता र संघर्ष, मात्रात्मकबाट गुणात्मक रुपान्तरण र निषेधको नियम । त्यसका अतिरिक्त मार्क्सले आधार र अधिरचना प्रवर्गको उपयोग गरेका थिए । आजको युगमा द्वन्द्ववादको संमृद्धिकरण उपरोक्त नियमहरुको सीमामा बस्न सक्दैन । त्यसमा निम्न नियमहरुलाई उपयोग गर्नु पर्ने हुन्छ ।

१. कण–तरंग द्धैधता :
भौतिकशास्त्रको पछिल्लो खोजले पदार्थमा हुने कण–तरंग द्धैधताको स्थितिलाई पुष्टि गरेको छ । सुक्ष्मस्थितिमा कण भनेको तरंग पनि हो र तरंग भनेको कण पनि हो । कण जडतत्वको परिचायक हो । तरंग चेतनतत्वको । तसर्थ पदार्थवादी वा चेतनावादी दर्शनका दुई रुप हुन्छन भन्ने वर्गीकरण अबको युगका उपयोगी छैन । सृष्टिको परमसत्तामा जसरी कण र तरंग दुवै एकाकार हुन्छन्, त्यसरी ज्ञानको क्षेत्र पदार्थ चेतना एकाकार भएका हुन्छन् ।

२. व्यतिकरण :
आर्थिक आधारमा सबै सामाजिक अधिरचनाहरु उभिएका हुन्छन् भन्ने सोच हिजोको द्वन्द्ववादी चिन्तनमा हावी थियो । यस्तो चिन्तन पद्धतिले आर्थिक नियतिवादी सोच हावी भयो । धन मान्छेको एउटा मुख्य प्रेरणा हो तर सम्पूर्ण प्रेरणा होइन । मान्छे बहुआयामिक प्राणी हो । धन, प्रेम, यौन, शौख, शक्ति, संगठन, पहिचान र आत्मतुष्टि मान्छेको जीवनको वरिपरि घुमिरहेका हुन्छन । यी तत्वहरुको व्यतिकरण मानव जीवनको द्वन्द्ववाद हो । तसर्थ मान्छेलाई केवल आर्थिक आधारमा मात्र हेर्नु हुन्न । बहुआयामिक तत्वहरुको सन्तुलनले मात्र मान्छे खुशी र सुखी हुनसक्छ ।

३.गतिशील सन्तुलन :
वैकल्पिक दर्शनले कुनै अस्तित्वमा विद्यमान प्रवर्गहरुले एकले अर्कालाई कहिल्यै निषेध (नेगेसन) गर्दैनन् भन्ने विश्वास गर्दछ । बरु ती गतिशील सन्तुलनमा हुन्छन् । जस्तै रात र दिन । यी दुईको सम्बन्ध कहिल्यै निषेधमा हुँदैन । रातले दिनको अस्तित्वलाई, दिनले रातको अस्तित्वलाई अन्त्य गर्दैन, क्षणिक रुपमा एकअर्काको भूमिका र स्पेशलाई सीमितीकरण वा विस्तारिकरण मात्र गर्दछ ।

सबै प्रवर्गहरुहरुको सम्बन्ध ठीक यस्तै हुन्छ । जस्तै श्रम र पुँजी, निजत्व र सामुहिकता, निजीस्वामित्व र सार्वजनिक स्वामित्व । श्रमवादीहरुले सरकार चलाउँदैमा सबै चिज सामुहिक हुन वा सबै अर्थतन्त्र श्रमिकहरुको हुन सक्दैन । पुँजीवादीहरुले सरकार चलाउँदैमा सबै चिज निजी हुन वा सबै चिज पुँजीपतिहरुको हुन सक्दैन । बनाउन खोजे पनि त्यो सफल हुँदैन । पुँजीवादी भनिएका अमेरिका लगायतका देशहरु निरपेक्ष बजार अर्थतन्त्रबाट सामाजिक सुरक्षा स्वीकार गर्ने अवस्थामा पुग्नु र कम्युनिष्ट भनिएका चीन लगायतका देशहरु बजार अर्थतन्त्र र निजी स्वामित्वलाई स्वीकार गर्ने अवस्थामा पुग्नुले परम्परागत पुँजीवादी र साम्यवादी दुवै चिन्तन सही थिएनन् भन्ने पुष्टि हुन्छ । अर्थात् श्रम र पुँजी, निजी र सार्वजनिक स्वामित्व जहिल्यै गतिशील सन्तुलनमा हुन्छन्, त्यो गति र सन्तुलनको महत्व बुझ्न सकियो भने एक साथ पुँजी र श्रम दुबैको विकास गर्न सकिन्छ, त्यो अवस्थामा नै आर्थिक विकास र संमृद्धि संभव हुनेछ । त्यो भनेको श्रम र पुँजी, निजी र सार्वजनिक दुवै स्वामित्व सम्बन्धको निरन्तर पुनरावलोकन गर्नु हो ।

४.अग्रपन्थ :
हिजोको द्वन्द्ववादले मूलतः बामपन्थी वा दक्षिणपन्थी चिन्तनलाई प्रवर्द्धन गर्‍थ्यो । ती चिन्तनहरु दाया वा बायाँ कुनै एक पक्षमा बढी जोड दिएर हिँड्थे । बायाँ जोड दिनुको अर्थ क्रान्तिकारी एजेण्डालाई जोड दिनु तर लोकतान्त्रिक मूल्य, मान्यता, विधि, पद्धतिलाई कम महत्व दिनु वा महत्व नै नदिनु हुन्थ्यो । दाया महत्व दिनुको अर्थ उदार लोकतन्त्रलाई महत्व दिनु, त्यसभन्दा समाजको परिवर्तन र क्रान्तिकारी एजेण्डालाई खासै महत्व नदिनु हुन्थ्यो । वैकल्पिक राजनीति न बामपन्थी न दक्षिणपन्थी बरु अग्रपन्थी हुन्छ । अग्रपन् यसले ‘निरन्तर क्रान्ति’ को सिद्धान्तमा विश्वास गर्दछ ।

अग्रपन्थ ( फ्रान्टिज्म ) न दायाँ ढल्किन र बायाँ ढल्किने बरु दाया र बायाँको गतिशील सन्तुलनमा निरन्तर अगाडि बढ्ने दर्शन हो । जसको अर्थ हो– परिर्वतनकारी एजेण्डा र लोकतन्त्र अविभाज्य हुन्छन् । जो वास्तविक रुपमा क्रान्तिकारी छ, उसैले सबैभन्दा बढी लोकतन्त्र प्रत्याभूत गर्न सक्छ, सक्नुपर्छ । जो वास्तविक रुपमा लोकतन्त्रवादी छ, उसैले सही क्रान्तिको नेतृत्व गर्न सक्दछ भन्ने चिन्तन नै अग्रपन्थी दर्शन हो । अग्रपन्थको दर्शनमा बामपन्थी र लोकतन्त्रवादी भन्ने राजनीतिक ध्रुवीकरण नै अर्थहीन बन्न पुग्छ । यस दर्शनमा आएर सच्चा क्रान्तिकारी र सच्चा लोकतन्त्रवादी एकै दर्शनमा एकाकार हुन्छन् ।

५.गैरएकल रेखीय चिन्तन :
वैकल्पिक दर्शनले समाजको विकासक्रमलाई एकल रेखीय (लिनियर) नभए र गैरएकल रेखीय (ननलिनियिर डाइनामिक्स) मा बुझ्ने प्रयास गर्छ । व्यतिकरण नियम अनुसार सबै चिजहरु निरन्तर विकासमा मात्र हुँदैनन्, बरु खासखास अवस्थाहरु आरोहअवरोह (अपडाउन) मा पनि हुन सक्दछन् । तसर्थ कुनै पनि दार्शनिकले कल्पना गरेजस्तो समाज सिधा रेखामा हिँड्दैन । यसले कुनै खास राजनीतिक प्रणाली र व्यवस्थापछि मानव जीवन खुशी र सुखी हुने प्रस्तावनालाई अस्वीकार गर्दछ । राज्यले ‘सबैका लागि काम र सम्मानजनक जीवनस्तर’ का लागि निरन्तर प्रयास गर्नु पर्छ । अन्यथा जुनसुकै प्रणाली र व्यवस्थाका पनि पतन हुनसक्छ भन्ने ज्ञान दिन्छ ।

६.सर्वाङ्गिक सोच :
पुराना दर्शनहरुले मान्छेलाई कुनै एक आयामबाट ब्याख्या गर्न खोज्थे । कसैले मानव जीवनको प्रमुख प्रेरणा धन हो भन्थे । कसैले यौन हो भन्थे । कसैले अहं हो भन्थे । कसैले पहिचान हो भन्थे । कसैले शक्तिसम्बन्ध हो भन्थे । कसैले आत्मसम्मान हो भन्थे । यी सबै दाबीका बीच पनि मान्छे सिंगो थियो । मान्छे सिंगो थियो तर दर्शनहरुले उसलाई टुक्राएर कुनै एउटा अंशमा महत्व दिएर ब्याख्या गर्‍थ्यो । वैकल्पिक दर्शनले जीवनलाई कुनै एक तत्वको एकांकी सोचमा होइन, सर्वाङ्गिकरुपमा बुझ्न, व्याख्या गर्न र सोही अनुरुपको व्यवहार गर्न चाहन्छ ।

७.खुशीशास्त्र :
निसन्देह आर्थिक विकास र संमृद्ध जीवनस्तर जरुरी छ तर त्यसले मात्र मानिसलाई खुशी दिन सक्दैन । धनी र विकसित भनिएका देशहरुमा हुने हत्याहिंसा, पारिवारिक विग्रह, डिप्रेसन र आत्महत्याको दरले त्यसलाई पुष्टि गर्दछ । तसर्थ सन्तुलित मानव जीवन र खुशीको प्रवर्द्धन कसरी गर्ने भन्ने चुनौति सबैका सामु छ । त्यसका लागि भौतिक सुखसुविधा मात्र पर्याप्त हुँदैन । मानिसको आत्मिक जीवन पद्धतिलाई जोड दिएर सदाचार, सन्तुलित सोच र खुशीलाई प्रवर्द्धन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेको छ । यसमा लागि पूर्वीया दर्शनमा आधारित योग, ध्यान, मनोसाधना, प्रणायम र वितराग अभ्यासजस्ता विधिहरु बढी उपयोगी हुन सक्छन् ।

भोगवादलाई प्रवर्द्धन गर्ने पश्चिमा भौतिकवाद र सन्यासमार्गलाई प्रवर्द्धन गर्ने पूर्वीया आध्यात्मवाद दुवै संमृद्ध जीवन र मानवीय खुशीका लागि उपयोगी छैन, त्यसका लागि भौतिक सुविधा र जीवनस्तर सहितको सन्तुलित आत्मिक जीवन पद्धतिको विकास गर्न जरुरी छ ।

राजनीतिक प्रणाली, वैकल्पिक दर्शनका आँखाबाट :
वैकल्पिक राजनीतिका आँखाबाट हेर्दा मुख्यतः राजनीतिक प्रणालीहरु ५ प्रकारका हुन्छन् । जहाँ समानता र स्वतन्त्रता, दुवै तत्वको अनुपस्थिति हुन्छ, त्यो तानाशाही हो । यसभित्र राजतन्त्र, सैनिक शासन, धार्मिक शासन र फासिष्ट शासन पर्छ । जहाँ आर्थिक समानताको प्रयास हुन्छ तर स्वतन्त्रता हुँदैन, त्यो लेनिन/स्तालिन/माओवादी साम्यवाद हो । जहाँ आर्थिक असमानता र राजनीतिक स्वतन्त्रता हुन्छ त्यो उदारवाद वा पुँजीवाद हो । जहाँ आर्थिक समानताको प्रयास र राजनीतिक स्वतन्त्रता दुवै हुन्छ, त्यो सामाजिक जनवाद हो ।

वैकल्पिक राजनीति यी सबैभन्दा फरक पाँचौं दृष्टिकोण हो । यसले समानता र स्वतन्त्रतालाई अभिवाज्य मान्दछ । साथै न्याय, ऐक्यबद्धता, पादरर्शीता, उत्कृष्टता र बहुलताको गतिशील सन्तुलनबाट सर्वाङ्गिक समाज व्यवस्थालाई मूर्त रुप दिने प्रयास गर्छ ।

The post वैकल्पिक राजनीतिको दर्शन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles