Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

प्रजा संस्कृतिको उल्झन

$
0
0

२०७४ सालको स्थानीय तहको निर्वाचन हुँदैगर्दा केहि ऐतिहासिक मनोविज्ञानको संस्मरण गर्न मन लाग्यो । वर्तमानका मतदाताहरु भनेका अधिकांश आफ्ना अघिल्लो पुस्ताबाट एक शताब्दी लामो राणाशासनको कथा-व्यथा सुनेका र ३० वर्षे पन्चायती कालरात्री प्रत्यक्ष अनुभव गरेका मानिसहरु हुन । राणाकालमा निश्चित व्यक्तिहरु सत्ता शक्तिमा लामो समय रहिरहने हुन्थ्यो । तीनै सिमित व्यक्तिले गरेका राम्रा, नराम्रा कामको व्याख्या नै ईतिहास हुन्थ्यो । नयाँपन केहि हुँदैन थियो, जनता खान, सन्तान उत्पादन गर्न र सामान्य कामधन्दा गर्न जन्मिएकाजस्तो देखिन्थ्यो ।

उनीहरु तिनै सुब्बा, डिट्ठा, सरकार र राणासाबको प्रतिस्पर्धात्मकरुपमा चाकरी गरेर समय बिताउँथे । विरोध गर्ने, नयाँ सोंच राख्ने आदि कुरा सम्भव थिएन । त्यो मनोविज्ञान पन्चायतकालमा आउँदा थोरै परिमार्जन भयो । गाउँ, नगरबाट जनताले चुनावको माध्यमबाट व्यक्ति छान्न पाए । तर एक शताब्दीको राणाशासन सुनेका र भोगेका निमुखा जनताले एकपटक गाउँ वा नगरमा चुनाव जितेपछि सँधै त्यो व्यक्ति राणा वा राजाजस्तै हुने हो भन्ने सोंच राखे र फेरि अर्को चुनाव पनि विकल्परहित हिसाबले उसैले जित्ने भो । कतिपय व्यक्ति पाँच पटक गाउँ र नगर पञ्चायतको प्रधानपन्च भए । राष्ट्रिय पन्चायत सदस्य पटक-पटक दोहोरिए । धेरै व्यक्ति तेश्रो, चौथो पटक चुनाव जित्ने र गाउँका छोटे राजन हुने परिपाटीको विकास भयो । जनता आफ्नो अधिकारको त कुरै छाडौं, लामो समय भएपछि तिनै गाउँ, नगर पञ्चायतका प्रतिनिधिहरुको नराम्रा र कम्जोर पक्षलाई विस्तारै वैधता दिदै गए । उनीहरुमा राणाकालदेखिको प्रजा संस्कृति बाँचिनै रह्यो ।

आरसी तिवारी

निश्चित व्यक्ति र पार्टी पटक-पटक चुनाव जित्ने र राज्य शक्तिमा रहने प्रवृत्ति ०४६ सालपछि पनि देखा पर्‍यो । ५० को दशकमा क्रियाशील पार्टी कांग्रेस र कम्युनिस्ट अनि तिनका निश्चित संख्याका नेता ०७० को दशकमा आईपुग्दा पनि राजनीतिको केन्द्रमा नै छन् । यसबाट के धारणाको विकास भयो भने नयाँ पार्टी, नयाँ व्यक्तिमा अनुभव र विश्वास दुवै हुँदैन । चलन चल्तीका खान्दानी पार्टीवाहेक अरुलाई मतदान गर्नु ठूलो जोखिम मोल्नु हो । साथै, त्यस्ता नयाँ पार्टी र व्यक्तिसँग व्यक्तिगत सम्बन्ध र चिन्जान पनि कम हुने सोंचको विकास हुँदै गयो ।
सामान्यतय मानिसहरु संस्थागत सम्बन्धभन्दा व्यक्तिगत सम्बन्धमा रमाउने गर्दछन् । यसरी २०७४ सालमा आइपुग्दा पनि जनता जनसंस्कृतिमा होइन बरु प्रजा संस्कृतिमा नै रमाएको देखिन्छ । जनताले राज्य व्यवस्था परिवर्तन गर्न भूमिका त खेले तर उनीहरुमा प्रजा संस्कृतिले राणा शासन, पन्चायती शासन हुँदै बहुदलीय शासन व्यवस्थासम्म आउँदा पनि निरन्तरता पायो । यो मुलतः राजनीतिक दलहरु भित्र छ । राज्य व्यवस्था परिवर्तन गर्न अग्रभागमा रहेर भूमिका खेल्ने व्यक्तिहरुले नै प्रजा संस्कृतिको अगुवाई गरे । जनतालाई पन्चायती व्यवस्ताबाट खोसेर पार्टी भित्रका प्रजा बनाए । यो प्रजा संस्कृतिबाट मुक्त हुन ठूलो मनोवैज्ञानिक उथलपुथल हुनुपर्दछ । किनकी एक दुईवटा तथ्य हेर्नुहोस्, २००७ सालपछि सबैभन्दा बढी राज्य शक्तिको दोहन र भ्रष्टाचार २०५० सालपछि हालसम्मको अवधि हो ।

ठूला राजनीतिक व्यक्ति र कम्पनीहरु भ्रष्टाचारमा तानिएका छन । राजनीतिक दलका नेताहरु पूरै भ्रष्ट भएको कुरा खुल्ला गोप्यजस्तै छ । नेताहरु कुनै निकायले राजनीतिक तहमा हुने भ्रष्टाचार र अनियमितताको विषय छानविन गर्न सुरु गर्‍यो भने त्यसका विरुद्ध संयुक्त अभियान चलाउँछन् । एक्लै अनियमितता गरे दोषी देखिने ज्यादा सम्भावन भएकोले संयुक्त अभियान चलाउँछन् । कर्मचारीतन्त्रलाई पहिले नै पार्टीका प्रजा बनाई सकेका हुन्छन् । कर्मचारीले विरोध गर्ने हैसियत राख्दैनन् । अझ तिनीहरु राष्ट्रसेवक कर्मचारी हुनुभन्दा राजननीतिक दललाई भ्रष्ट बनाउने र आफु पनि थोरै हिस्साको जोहो मिलाउन उद्धृत हुन्छन् र तिनै कर्मचारी फेरि दलहरुलाई चुनाव जिताउन भूमिका खेल्छन् । यती हुँदाहुँदै फेरि यी नै पार्टीहरु जनतालाई प्रजा बनाएर भोट हाल्न लगाई रहेका छन् ?

राणाहरु र पन्चायती व्यवस्थामा राजा भारदारहरुले जनतालाई अव्यस्त बनाएको प्रजा संस्कृति ०४६ सालपछि दलहरुले अहिलेसम्म पनि निरन्तरता दिएका छन । यसले देशको तिव्र आर्थिक समृद्धिका लागि सचेत पार्टी र नागरिकको अभाव पैदा गर्दछ । त्यसैले प्रजा संस्कृति यस्तो प्रतिकुलतामा पनि मौलाउने हुँदा यो संस्कृति समृद्ध राष्ट्र निर्माणमा ठूलो गतिरोध हुन सक्छ ।

जनताको प्रजा संस्कृतिको मात्र विषय हाईन प्रजाको जनता संस्कृतिको प्रसंग पनि यस चुनावको क्रममा मननयोग्य छ । यस चुनावमा राज्यको सिमांकनको चर्को विरोध गर्ने तथा संघीयताको आन्दोलनलाई जातिय आन्दोलनको बिल्ला भिराउने दलहरु नै निर्वाचनमा विजय भए । के जनताहरु सीमांकनमा पुनःविचार गर्न चाहँदैनन् त ? त्यसो होइन जनताहरु चाहन्छन तर त्यसैमा लामो समय अल्झिन भने चाहँदैनन् ।

जनतालाई यो पनि थाहा छ कि समृद्ध राष्ट्र संघीयता भएर मात्र हुने होईन । विश्वका अति केन्द्रीकृत राज्य व्यवस्था भएका देशहरु र पूर्ण संघीयता भएका देशहरु सबैको विकास भईरहेको छ । कारण हो सुसाशन त्यसैले यसमा पनि जनता अलमल गर्ने पक्षमा छैनन् । यसले नयाँ बन्ने राजनितिक दललाई राजनीतिक विषयवस्तु भन्दा आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्न सन्देश दिएको छ । यो स्थानीय निर्वाचन आर्थिक समृद्धिको ज्ञान भएका धेरै युवा तप्का विदेशमा रहेको बेला भएको छ ।

यहाँ त एउटा सामान्य तथ्यको पनि ख्याल नगरी भोट हाल्ने चलन छ । २०४६ सालमा नेपाल र मलेसियाको प्रतिव्यक्ति आय लगभग बराबर थियो । आज हामी त्यो देशमा काम गर्न जाँदैछौ । झण्डै २८ वर्षसम्म हामीले गरिबी बाँढ्ने राजनीति गर्‍यौं । उसले धनी बन्ने राजनिति गर्‍यो । गरिबी बाँढ्ने राजनीतिका डन र खेलाडीहरु यी नै कांग्रेस, कम्युनिष्ट दलहरु हुन् । तर हाम्रा प्रजाले तिनैलाई मत लिएर सम्मान गरे । के भनु खै ? मलेसियाले संसारका ठूला बहुराष्ट्रिय कम्पनी भित्र्यायो आफ्नो क्षमताभन्दा हजारौं गुणा बढी पुँजी लगानी गर्‍यो र समृद्धिको सिढी चढ्यो हाम्रो आँखा अगाडि । तर हामीले अरुण नदीमा विदेशी लगानी आयो भने…भन्दै कालो झण्डा देखाएर बस्यौं । यसो गर्न हामी प्रजालाई यिनै राजनीतिक दलहरुले सिकाएका होइनन् ? राजनीतिक दलका नेताहरुको आर्थिक हैसियत हेर्नुहोस् । पछिल्लो २० वर्षमा कहाँबाट कहाँ पुग्यो ? एक तथ्याङ्कअनुसार १० हजार नेता, कार्यकर्ताहरुको मासिक आय १ लाखभन्दा बढी छ । ६० हजार मानिस राजनीतिको व्यवसायसंग मात्र जोडिएका छन् । एनजिओ, चन्दा आतंक र ठेक्का पट्टा यी नै पार्टीहरुको नियन्त्रणभित्र हुन्छन् । युवा विद्यार्थीहरुलाई डाक्टर, ईन्जिनियर, पाइलट बनाउँदैनन् । पहिला नेविसंघ र अखिल बनाउँछन र बाँचिन्जेल त्यही पार्टीमा रहने मरेपछि त्यही पार्टीको झण्डा ओढ्ने बनाउँछन । यति भएपछि प्रजा संस्कृति फैलन र मौलाउन कति सझिलो छ ।

प्रजा संस्कृति भनेको पिछिलग्गु, हिनताबोध र दासत्व प्रवृत्ति हो । हिजो राणाहरुको प्रजा बन्यौ हामी फेरि राजाहरुको प्रजा, आज भ्रष्ट दलहरुको प्रजा हाम्रो नियति यहि रहेछ । दलहरु कहिलेसम्म आवरणमा असल र शासक बनी रहन्छन ? जबसम्म जनता प्रजा भएर बाँचिरहन्छन् । पन्चायती व्यवस्था राम्रो भएर ३० बर्षसम्म चलेको हो र ? त्यहाँ त जनता सचेत नागरिकको भूमिकामा देखिएनन् । त्यसैले ३० वर्ष वर्वाद भयो । ०७४ सालमा पनि प्रजाकै भूमिका निर्वाह गर्ने र राजनीतिक दलहरुको निगाहाको प्रतिक्षा गर्ने हो भने, हाम्रो जीवनकालमा कसरी समृद्ध राष्ट्र सम्भव हुन्छ ? आजको सवाल यति हो, प्रजाबाट हामीहरु जनता बन्ने कि नबन्ने ?

The post प्रजा संस्कृतिको उल्झन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles