अझै उजाड छन् बस्तीहरू । उराठलाग्दा छन् पाखाहरू । भोगी साध्य छैनन् पीडाहरू । राज्यको अत्तोपत्तो छैन । २ वर्षअघिको महाभूकम्पले दिएको घाउ गोरखादेखि दोलखासम्म, सिन्धुपाल्चोकदेखि काभ्रेसम्म अझै चहर्याइरहेको छ ।
८ हजार ५ सय ५६ जनाको चिहानमा रित्तिएका छन् हजारौं आँखाका आँशु । २२ हजार ३ सय ९ जनाले भोगिरहेका छन्, घाइते हुनुको परिणाम । घरवारविहlनले पाएका छन् खुला आकाशको छत जहाँ सरकारी जस्ता पनि पुगेको छैन ।
आखिर भुकम्पपछि के भयो ? राजनीतिक दलहरूले सहमति जुट्यो भने र विवादबीच संविधान जारी गरी सत्ताकै खेलमा आफूलाई अभ्यस्त पारे । तीनथरी फरक पार्टीका अलग विचार बोकेका प्रधानमन्त्री फेरिए । राष्ट्रपति पनि फेरिए । आइजीपी पनि फेरिए । दर्जनौ मन्त्री फेरिए । त्यतिमात्र कहाँ हो र ? भूकम्पपीडितलाई राहत दिन भनी बनाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीइओ पनि फेरिए । कर्मचारी फेरिए ।
उनीहरुले देशको ढुकुटीमा रजाइँ गर्दै विभिन्न देशको भ्रमण गरे तर, बिडम्बनापूर्वक भन्नुपर्छ भूकम्पपछि हजारौं पीडितका खोसिएका हाँसो फिर्ता भएनन् । ढलेको धरहरा उठेन । मच्छिन्द्रनाथको मन्दिर फेरिएन । हजारौं गाउँबस्तीका चिरा परेका अनुहार फेरिएनन् । व्यक्तिगत स्वार्थको फाइदा उठाउन माहिर राजनैतिक दलका नेताहरू आसन्न निर्वाचनका अघिल्तिर ठूला-ठूला मञ्चहरूमा भाषण छाँट्दैछन्, ‘यो देश हाम्रो पार्टीले बनाएको हो । यो देशमा जति पनि परिवर्तन भयो हाम्रो पार्टीले गर्दा भयो । यो देशको विकास हाम्रो दलबिना सम्भव छैन ।’
यो देशमा फरक-फरक भेष धारणा गरेका दलहरू छन् । एउटा अंहकारको मातमा डुबेको दल छ जसको ‘राष्ट्रवादी’ भाषण सुन्दा लाग्छ कि उसले राष्ट्रवादको पूरै जिम्मा लिएको होस् । जसले पहाडी राष्ट्रवादको नाममा हिमाल, पहाड र तराईबीचको सम्बन्ध टुटाउँदैछ । अर्को एउटा दल छ, जसले नेपाली राजनीतिमा बूढो रूखको जरो जस्तो भएर बसेको छ, उसको व्यवहारले लोकतन्त्रिक शैलीको धज्जी उडाए पनि सभा र भाषणमा प्रजातन्त्रको पूर्ण जिम्मेवार भन्छ, आफुलाई ।
त्यसैगरी देव्रे ढल्कुवाहरूका केही घटक छन् । जुन देशको विकासभन्दा पार्टीको आन्तरिक बाँडफाँट, सत्ताको जोड-घटाऊ र पार्टीभित्र गुट र उपगुट सिर्जना गर्दै फुट्नु र जुट्नुमै व्यस्त देखिन्छन् । केही नयाँ दलहरु राजनीतिक बजारमा उदाएका छन् । कतिपयले नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिइरहेका छन् । ‘नयाँ’ भनिने शक्तिहरुको पनि व्यवहारतः नवीनता खासै देखिँदैन । यसैको पेरीफेरिमा विभिन्न दलहरूबीच एकता गरेको ‘राष्ट्रिय जनता पार्टी’ले आसन्न निर्वाचनमा भाग नलिन विभिन्न बहानाहरू बनाइरहेको छ । पूरै राज्य त्यहिँभित्र रुमल्लिरहेको छ ।
नेपालमा जनताको सेवा गर्ने र देश विकास गर्ने भन्दै १८२ भन्दा बढी दल छन्, जसले जनताको पसिनामा दिनरात पौडी खेलिरहेका छन् । आफू सरकारमा हुँदो आसेपासेलाई समेत भुँडी भर्न माहिर छन्, देशका ठूलाबडाहरू । राजनीतिको नाममा ‘राक्षसनीति’ गर्नेहरूका प्रत्येक दलमा गुण्डागर्दी र हत्याहिंसालगायत अराजक गतिविधिको पहुँच बलियो छ, निर्धाको भन्दा । हत्याहिंसाको मुद्दामा जेल परेकाहरूले एउटा राजनीतिक पार्टीको सदस्यता लिए पुग्छ । अदालतले दोषी ठहराएकाहरू जेलबाट निस्कँदा १०० किलोको मालाले सम्मान पाउँछ ।
तर, यो देशमा धुर्मुस-सुन्तलीलाई हिमाल, पहाड र तराई जोड्ने खस-खस किन लागेछ ? कसैले अनुमान गरेको छैन । कसैले बुझ्ने प्रयत्न गरेको छैन ।
उनीहरूलाई कलाकारिताले नै खान पुगेको, देश विदेश घुम्न पाएको बेलामा भूकम्पपछि आफू बस्दै आएको घर समेत बचेर हिमाल, पहाड र तराईका बस्तीहरूका आँसु पुछ्दै हिड्न के को खसखस थियो ? राज्यले बुझेन । महाभूकम्पपछि धुर्मुस-सुन्तलीले पहाड र तराईलाई जोड्ने गरी तीन वटा नमूना बस्ती बनाइसकेका छन् ।
पहिलो भूकम्पको तीन महिना नबित्दै काभ्रे डाँडागाउँस्थित पहरी बस्ती जहाँ केही परिवारको हाँसो फर्काए । पहरी बस्तीमा ५५ परिवारमध्ये १८ परिवार बसोबास गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले पहरी बस्तीको अवलोकनका क्रममा धुर्मुस-सुन्तलीको सामाजिक कामको प्रशंसा गर्दै सरकारले पनि पुनः निर्माणको काम छिट्टै थाल्ने बताए पनि उनको त्यो वाचा आश्वासनमै सीमित रह्यो ।
दोस्रो नमूना बस्ती कात्तिक १२ गते सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती बन्यो । जहाँ ६५ वटा नमूना घरहरू निमार्ण गरे । आपांग मैत्री अवधारणा अनुरूप बनेको बस्तीका हरेक घरमा अपांगता भएका व्यक्ति पनि ह्विलचियर र एक्लै पनि आवतजावत गर्न सक्ने भएका छन् । भूकम्पपछि लथालिंग बनेको गिरान्चौर र अहिलेको एकीकृत बस्ती निर्माण पछिको सोही ठाउँमा आकाश पातालको अन्तर छ । झन्डै ३५ रोपनी क्षेत्रफलमा रहेको करिब ५ करोड लागतमा निमार्ण सम्पन्न सो बस्तीमा ६५ वटा घर रहेका छन् । धुर्मुस सुन्तलीले गत कार्तिक १२ गते ६५ वटा घर निर्माण गरेर सिन्धुपाल्चोकको गिरान्चौरबासीलाई घरमात्र दिएनन्, सबैलाई समान धारा, खेल मैदान, अपांगमैत्री बस्ती उपहार दिए । त्यहाँ ६५ परिवारको मुस्कान फर्कियो । तर, बाँकीको खै ? यो काम राज्यको हो कि होइन ? राज्यले गर्नुपर्दैन ? के धुर्मुस-सुन्तलीले मात्रै लिएका छन् यो देश बनाउने जिम्मा ?
यतिमै धुर्मुस सुन्तलीको अभियान रोकिएन । राजनीतिले तोड्दै गरेको हिमाल, पहाड र मधेसको सम्बन्धलाई जोड्ने सुत्राधार अभियान पनि उनीहरूले सम्पन्न गरे । तेस्रो नमूना बस्तीको रूमपा महोत्तरी जिल्ला बर्दिवासस्थित मुसहर बस्ती बन्यो । हरुवाचरुवाको काम गरी जीवनयापनको मुस्किल काटिरहेका परिवारको दुखलाई उनीहरूले सुखमा परिणत गर्ने प्रण गरे । बर्दिबास–२ मा निर्माण भएको उक्त बस्तीमा ५३ घर छन् । बस्तीका प्रत्येक घरमा शौचालय, खानेपानीका लागि टयांकीसहितको धारा, सुत्ने खाट, हरेक घरमा ग्याँससहितको चुल्हो जडान गरिएका छन् ।
५ करोड ४ लाख ३६ हजार रूपैयाँ खर्च गरेर निर्माण गरेको एकीकृत नमूना बस्ती धुर्मस–सुन्तलीले नयाँ वर्षको अवसर पारेर मुहसर समुदायलाई हस्तान्तरण गरे । गरिबी र अशिक्षाको मारमा परेको मुसहर समुदायमा नमूना बस्ती निर्माणपछि खुसी छायो । ‘हामी नेता बन्दैनौं । राजनीतिमा जाँदैनौ तर, जनताले हामीलाई अगाडी सारे भने पक्कै पनि देश र जनताको लागि यस्ता तराई, मधेस, पहाड र हिमालको आवाजलाई बुलन्द गर्नपछि पनि हट्दैनौं,’ बस्ती हस्तान्तरण कार्यक्रममा धुर्मुसले भनेका थिए ।
धुर्मुस-सुन्तलीले विश्वास, साहस र नयाँ ऊर्जा दिए, जसका कारण भूकम्पसँगै गर्लम्मै ढलेका मनमा पुनः आशा र भरोशा टुसायो । व्यक्ति-व्यक्ति मिलेर विश्व बनाउन सकिँदो रहेछ भन्ने पाठ भूकम्पपछि पीडितका लागि एकीकृत बस्ती बनाउँछु भनेर पनि बनाउन नसकेको सरकारले हुइयाँ हाँक्नु बेकार छ । यस्तो सरकार जसले अपराधीको संरक्षण, भ्रष्टाचारलाई सहजीकरण गर्दै राज्यको ढुकुटी राजनीति गर्नेलाई नै रित्तो हुनेगरी उपलब्ध गराइरहेको छ, यस्तो देशमा साहसी र सहयोगी हातको के काम ? हिमाल, पहाड र तराईका बस्तीहरू निर्माण गर्दै हिंड्ने धुर्मुस-सुन्तलीलाई तुरून्त देश कारबाही गर सरकार ! भूकम्पपीडितका लागि आएका जस्ता र सहयोग हसुर्नेहरूलाई सम्मान गर ।
खरबौंको राज्यकोष हातमा लिएर सिन्को भाँच्न नसक्ने असक्षमहरुलाई व्यक्तिगत पहलमा काम गरेर देखाउँदै नैतिक प्रश्न गर्ने अधिकार कसले दियो धुर्मुस-सुन्तलीलाई ? चुनाव आएको छ । भत्किएका बस्तीमा भोट माग्न जानु छ । जनताले ‘धुर्मुस-सुन्तली पठाइदेउ’ भने भने के गर्ने ? भूकम्पले भत्काएको घरको भग्नावशेषमा मृत्यू कुरिरहेका वृद्धवृद्धाहरुलाई आफ्नो सन्तानको भविष्यको चिन्ताले सताइरहेको बेला सरकारलाई निकम्मा सावित गरिदिने ऊर्जा कसले दियो यो जोडीलाई ? भूकम्पजस्ता दैवीप्रकोप मात्रै होइन, राज्ययन्त्रको नाकामी र नेताहरुको नालायकीले अभावले ग्रस्त र रोग, भोक र शोकले दफारेका मुसहर बस्तीमा गरेत हुने रहेछ नि ? नेताहरुले नगरेरै हामीले नारकीय जीवन बाँच्न बाध्य भएका रहेछौं भन्ने सन्देश दिने अधिकार कसले दियो धुर्मुस-सुन्तली ? त्यही पनि चुनावको मुखमा ।
सक्छौ, सत्तासिन दलहरुको झन्डा बोकिदेऊ । कुलमानजस्तै भोट माग्ने हतियार बनिदेऊ । सक्दैनौ महाकाली बेच्नेहरुलाई राष्ट्रवादी बनाइदिन उनीहरुको नक्कली झन्डा बोकिदेऊ । राजनीति नै नगरी नागरिक बनेर पनि देश फेर्न सकिन्छ भनेर यस्तो भयंकर ‘दुस्साहस’ किन गर्यौ धुर्मुस-सुन्तली ? गालीको गोली र्यान्डम्ली फायर गरेर दिन कटाउने नागरिक समाजलाई समेत नैतिक प्रश्न तेर्स्याउँदै तिमीले किन पुछ्यौं मुसहर बस्तीका राज्यद्वारा अनागरिक बनाइएकाहरुको आँसु ?
टेलिभिजनको स्क्रिनमा आएकै थियौ । हाँस्य र व्यंग्यको सहारामा आफ्नो कर्तव्य निर्वाह गरेकै थियौ । नेताहरुको जनसेवाको लाइसेन्सको वैधानिकता माथि धावा बोल्न तिमी किन उक्लियौ गाउँघर पखेरातिर । किन झर्यौ मुसहर बस्तीमा खुसी खोज्न ? सबै नेताहरुले तिम्रो पेशामाथि धावा बोलेका थिएनन् । एकाधले बाहेक । अनि, तिमीले किन हाम्रो पुर्ख्यौली पेशामाथि धावा बोल्यौ ? यसर्थ, सरकार ! तिमीलाई लायकको अगाडि उनीहरुले ‘ना’ थपिदिएका छन् । चुनावको मुखैमा तिम्रो सक्षमताको दावीको अगाडि उनीहरु ‘अ’ थपिदिएका छन् । कुराले राज्य चलाउने परम्पराको विरुद्ध काम गरेर देखाएका छन् । यसर्थ सरकार ! काम गर्न नसकेकोमा आफूले आफूलाई कारवाही गर्न त नमिल्ला ! सक्छौ पार्टी प्रवेश गराऊ धुर्मुस सुन्तलीलाई । सक्दैनौ, कार्यक्षेत्र मिचेको अभियोगमा तिमीले धुर्मुस सुन्तलीलाई कारबाही गर । शालिकजस्तै टुलुटुलु हेरेर नबस । नत्र, शालिकले जस्तै इतिहासको ब्याज खाएर धूलमाण्डूको कुनै निस्सासलाग्दो चोकमा तिमीलाई पनि ठड्याइदेला, इतिहासमा कुनै दिन यिनीहरु पनि यही देशमा थिए शासकको रुपमा भनेर !
The post सरकार ! चुनावको मुखमा चुनौती दिने धुर्मुस-सुन्तलीलाई कारबाही गर appeared first on Sajha Post.